Blog

  • गोदावरीका प्रमुखसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, एक अर्ब बढी राजश्व हिनामिना

    गोदावरीका प्रमुखसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, एक अर्ब बढी राजश्व हिनामिना

    ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेसँगै मेयर महर्जन निलम्बन हुने भएका छन्।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा सोमबार उनीहरूविरुद्ध एक अर्बभन्दा बढी बिगो माग दाबीसहित मुद्दा दायर गरेको हो। फरक–फरक शीर्षकमा पाँच वटा मुद्दा दर्ता भएको अख्तियारले उल्लेख गरेको छ।

    नदीजन्य पदार्थ सरकारी दररेटभन्दा कम कायम गरी ठेक्का दिएर राजश्व हिनामिना गरी भ्रष्टाचार गरेको अख्तियारको अभियोग पत्रमा दाबी गरिएको छ।

    राजश्व हिनामिनामा बिगो र बिगोको दोब्बर जरिवाना तथा भ्रष्टाचार निवारण ऐन अनुसार कैद पनि गर्न माग गरिएको छ। लेले र नल्लुका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको अख्तियारको दाबी छ।

  • न्युरोडमा महानगर र सडक विभाग आम्नेसाम्ने

    न्युरोडमा महानगर र सडक विभाग आम्नेसाम्ने

    न्युरोड क्षेत्रका सडकमा सडक विभाग र काठमाडौं महानगर आम्नेसाम्ने भएका छन्।

    सडक विभाग र महानगर प्रहरीबीच विवाद हुँदा केही समय न्युरोड क्षेत्र असामान्य बनेको थियो ।महानगरले फुटपाथ बिस्तारका लागि न्युरोड क्षेत्रको सडक भत्काएको सडक विभागले पिच गर्न शुरु गरेसँगै विवाद भएको थियो।

    न्युरोडका स्थानीय अमररत्न बज्राचार्यले काठमाडौं महानगरले इन्द्रचोकको बाटो भत्काएको र सडक विभागले पिच गर्न थालेपछि बिरोध शुरु भएको बताएका थिए । उनले महानगर प्रहरीले रोकेपछि झडपको स्थिति सिर्जना भएको बताए।

    उनले सडक विभागले सडक नकाट्नु भन्दाभन्दै पनि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अहंकारले गर्दा यो स्थिति सिर्जना भएको बताए । अन्य स्थानीयहरुले महानगरपालिकाको नेतृत्वले घमण्ड देखाउँदा यो स्थिति सिर्जना भएको आरोप लगाए । महानगर प्रहरी फर्किएसँगै सडक विभागका कर्मचारीले पिचको काम जारी राखेका छन् ।

    मेयर बालेनको निर्देशनमा जेठ १२ गते इन्द्रचोकदेखि जुद्धशालिकतर्फको विशाल बजारअगाडि पीच काटिएको थियो।

    सडक डिभिजन कार्यालयले आफ्नो क्षेत्राधिकारको सडकमा हात हालेको भन्दै महानगरलाई दुई दिनभित्र पुन:स्थापना गर्न १६ गते अल्टिमेटम दिएको थियो। महानगरले नबनाएपछि सडक विभागले आज कर्मचारी र मजदुर खटाएर उक्त पीच टाल्न सुरू गरेको हो।

  • सिंहदरबारमा दाहाल, ओली र नेपालबीच भेटवार्ता

    सिंहदरबारमा दाहाल, ओली र नेपालबीच भेटवार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ।

    सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा तीन नेताहरुबीच भेटवार्ता भएको हो।

    भेटवार्तामा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल भएको बताइएको छ। बालुवाटारमा तीन शीर्ष राजनीतिक दलका नेताहरुबीच करिब तीन घण्टाको भेटपछि बालुवाटारमा अध्यक्ष नेपालसँग पनि भेट भएको हो।

    बालुवाटारमा प्रधानमन्त्री दाहाल, अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको थियो।

    लगत्तै सिंहदरबारमा प्रधानमन्त्री, ओली र नेपालबीच भेट भएको हो।

  • मेरा लागि पद भन्दा जनता ठुलो: माधव नेपाल

    मेरा लागि पद भन्दा जनता ठुलो: माधव नेपाल

    नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट विभाजन भएर गठन भएको तीन वर्ष पुग्नै लाग्दा नेकपा (एकीकृत समाजवादी) आफ्नो राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ।

    कुनै पनि दलको बहुमत नरहेको वर्तमान प्रतिनिधिसभामा १० स्थान रहेको सो एकीकृत समाजवादी सङ्घ र प्रदेशका सत्ता गठबन्धन हेरफेरमा कतिपय अवस्थामा निर्णायकसमेत रहँदै आएको छ।

    आफूहरूलाई बेवास्ता र अपमान नगर्न आग्रह गर्दै आएका सो दलका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग राष्ट्रिय राजनीति र एकीकृत समाजवादीको दसौँ महाधिवेशनका सन्दर्भमा राससका समाचारदाताद्वय प्रकाश सिलवाल र सिबी अधिकारीले गरेको संवादको सम्पादित विवरण :

    पछिल्ला राजनीतिक घटनाक्रममा तपाईं र तपाईंको पार्टी चर्चाकै केन्द्रमा रहेको देखिन्छ। हालै मात्रै तपाईंले विपक्षी दलका नेताहरूसँग बैठक भएको सन्दर्भमा वर्तमान सत्ता गठबन्धनमा केही समस्या आउने हो कि भन्ने कोणबाट हेरिएको छ, स्थिति त्यस्तो हो ?

    –स्वाभाविकरुपमा विभिन्न विषयमा राजनीतिक दलहरूबिच भेटघाट र छलफल हुन्छ। म एक राजनीतिक दलको नेता भएकाले मलाई विभिन्न पक्षले बोलाउँछन्। छलफलमा सहभागी हुने अवस्था बन्छ, त्यसमा कुनै आत्तिनुपर्ने कुनै अवस्था छैन। त्यसमा पनि अहिले हामी विशेष अवस्थामा रहेका छौँ। त्यो अवस्थालाई पनि ध्यानमा राखेर चल्नुपर्छ। त्यसो हुनाले सबैले सामूहिक पक्षमा छलफल चलाउनुपर्छ। बेवास्ता गरियो भन्ने खालको मनस्थिति कसैको नबनोस्। काम परुन्जेलसम्म भाँडो काम सकिएपछि ठाँडो ठान्ने ढङ्गबाट व्यवहार नहोस्। विश्वासको सम्बन्ध र वातावरण बनोस्।

    हामी देशभक्त शक्तिहरू, लोकतान्त्रिक, शक्तिहरू, वामपन्थी र परिवर्तनकारी शक्तिहरू समाजवादको यात्रामा अगाडि बढ्न चाहने समाजवादी शक्तिहरू एकताबद्ध भएर बढुन् भन्ने हाम्रो चाहना छ। हामी अहिले सङ्घीय सरकारको गठबन्धनमा छौँ। विशेष अवस्था भएकाले मधेस प्रदेशको सरकारमा पनि छौँ। कसरी देशको भलो, जनताको कल्याण र पार्टीको पनि हित हुन्छ, यी तीनवटै विषयमा उचित सन्तुलन कायम गरेर हामी अगाडि बढ्छौँ।

    मधेस प्रदेशमा तपाईंहरुको पार्टीले हालका मुख्यमन्त्रीलाई समर्थन गर्ने सम्भावना छ ?

    – देश र जनताको हितभन्दा हाम्रो अरू ठुलो केही पनि छैन। अहिले हामी त्यहाँ छौँ र त्यहाँ रहुन्जेल त समर्थन भइहाल्छ। त्यसपछि कसरी अगाडि बढ्ने भन्ने पार्टीले छलफल र परामर्श गरेर आगामी रणनीति लिन्छ।

    तपाईंहरुलाई गठबन्धनमा भए पनि सरकारमा रहेका प्रमुख दलहरूबाट वास्ता गरिएन भन्ने गुनासो हो ?

    – वास्ता गरियो–गरिएन भन्ने कुराहरूको बारेमा गुनासो गर्नुपर्ने केही पनि आवश्यकता छैन। जे भए पनि व्यापक छलफल र परामर्शको आवश्यकता छ।

    पाँच वर्षको अवधिमा तपाईँलाई पनि प्रधानमन्त्री बनाउनुपर्छ भन्ने विभिन्न प्रस्ताव सुनिन्छ । त्यस्तो केही कुरा वा समझदारी भएको छ ?

    – मेरो लागि पद ठुलो कुरा होइन। प्रधानमन्त्री मेरो प्राथमिकताको विषय होइन। मेरो निम्ति प्राथमिकताको विषय भनेको जनता हो, देश हो। त्यसैले देश र जनताको हितमा हामीले आफूलाई समर्पित गर्नुपर्छ। त्यसकारण मैले के पाउँछु के पाएँ भन्ने विषयलाई केन्द्रविन्दुमा राख्ने हैन। मेरो सोच पनि त्यस्तो छैन। म पदका लागि मरिहत्ते गर्ने मान्छे पनि हैन। पदकै निम्ति जन्मेको र पदकै निम्ति मर्ने पनि हैन। त्यसकारण देश र जनताको हित र कल्याण हुँदा त्योभन्दा सन्तोष अरू केही पनि हुँदैन।

    प्रस्ताव आएमा वा पार्टीलाई पनि स्थापित गर्नुपर्ने अवस्थामा प्रधानमन्त्री बन्न तयारै हुनुहुन्छ नि ?

    –देश र जनताको पक्षमा कुनै काम गर्नुपर्यो भने बरु हामी त्यस्ता छलफल र बहसहरूमा लागू गर्ने सबै कुरामा सधैँ सकारात्मक नै रहन्छौँ। नेपालको उत्पादन क्षेत्रमा सम्भाव्य वस्तु जे जति छन् तीनको प्रवर्द्धन गर्नुपर्छ। अर्को नेपालको अर्थतन्त्रको दुईवटा महत्त्वपूर्ण क्षेत्र ऊर्जा र पर्यटन हुन्। जलविद्युत्को क्षेत्रमा धेरै गर्न सकिन्छ। यसका निम्ति आन्तरिक र बाह्य लगानीलाई आकर्षित गरिनुपर्छ। जे–जे बाधा र अवरोधहरू छन् त्यसलाई सहजीकरण गर्न सरकारले तदरुकता देखाउनुपर्छ। त्यसपछि पर्यटन क्षेत्रको विस्तार गर्ने सन्दर्भमा कस्ताकस्ता पर्यटकहरु नेपालमा बढी आकर्षित हुन्छन्, चाहे त्यो नेपालको प्राकृतिक सौन्दर्य अवलोकन गर्न या नेपालको ऐतिहासिक परम्परागत सम्पदा र संस्कृतिका बारेमा जानकारी लिन वा धार्मिक अवस्थाबारे जानकारी लिन आएका किन नहुन्। जुनसुकै उद्देश्यले नेपाल आएका भए पनि पर्यटकको बसाइ लम्ब्याउने कार्ययोजना आवश्यक छ।

    तर, सबै कुराहरू हुँदाहुँदै पनि विकास निर्माणको काम गर्दा सामूहिक सोचको अभाव छ, प्राथमिकीकरणको बारेमा गम्भीर सोच र विश्लेषणको अभाव छ, यी सबै कुराको लागि योजना निर्माण गर्दा ध्यान दिनुपर्छ। काम गुणस्तर र समयमै सम्पन्न गर्ने त्यसका लागि अनुगमन प्रणाली प्रभावकारी बनाइनुपर्छ। यी सबै कुरामा नेपालको गणतान्त्रिक व्यवस्था सुदृढ भई अर्थतन्त्रको विकासले फड्को मार्छ। गणतन्त्रले यही कुराको अपेक्षा गरेको छ। हरित अर्थतन्त्र, डिजिटल इकोनोमीको विकासलाई जोड दिनुपर्छ अहिलेको बजेटले यसलाई समेटेको छ। कमीकमजोरीलाई सच्याएर आगामी १६औँ पञ्चवर्षीय योजनामा यस्ता विषय समेटेर प्रभावकारी कार्यान्वयनमा लैजानुपर्छ। यी सबै कुरामा सम्बन्धित निकायले ध्यान दिनुपर्छ।

    पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्नुभएको छ। पार्टीको महाधिवेशनलाई कसरी लिनुभएको छ ?

    –हाम्रो पार्टी दसौँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ। हामी आगामी असारको १६ देखि २० गतेसम्म महाधिवेशन गर्न गइरहेका छौँ। महाधिवेशनका लागि हामीले चारवटा दस्ताबेज तयार गरेका छौँ। ती दस्ताबेज सामूहिक छलफल र सहमतिबाट अघि बढेको छ। उक्त दस्ताबेज सहमतिबाट अगाडि बढ्छ।

    पार्टी स्थापना भएको तीन वर्ष हुँदैछ १०औँ महाधिवेशन भन्नुभएको छ, दसौँ महाधिवेशन भन्न मिल्छ रु महाधिवेशनपछिको नीति र नेतृत्वबारे के गृहकार्य भएको छ ?

    –तपाईं हामी सबैलाई थाहा छ कि पुष्पलालले कम्युनिस्ट पार्टीको स्थापना गर्नुभयो। पछि पार्टी विभाजित भयो। विभाजनपछि पुष्पलालले तेस्रो सम्मेलन गर्नुभयो। पहिलो र दोस्रो महाधिवेशन भइसकेको थियो। उहाँले महाधिवेशन गर्न पाउनुभएन। मोहनविक्रम सिंह पनि पार्टीबाट अलग हुनुभयो र चौथो महाधिवेशन गर्नुभयो। जो जहाँबाट विभाजन भयो त्यही अवस्थामा महाधिवेशनको निरन्तरता गरिँदै आएको छ। त्यसैले हामी एमालेबाट विभाजन भएर आयौँ अब, हामीले गर्ने महाधिवेशन १० औँ महाधिवेशन नै हुन्छ।

    नेतृत्व पनि सहमतिबाटै जान्छ कि ?

    –हाम्रो अधिकतम प्रयास त्यही नै रहन्छ। सोही अनुरुपको वातावरण बनोस् भन्ने हामीलाई लागेको छ।

    तपाईंले नेतृत्वको निरन्तरताकै तयारी त गर्नुभएको होला नि ?

    –मैले के सोच्छु भन्ने महत्त्वपूर्ण होइन। पार्टी र कार्यकर्ताले के सोच्छन्, त्यो महत्त्वपूर्ण कुरा हो। व्यक्तिगत स्वार्थभन्दा पनि पार्टीको हितलाई हेरेर नेता कार्यकर्ताको चाहनाबमोजिम नेतृत्व चयन हुन्छ।

    तपाईंहरुकै पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले हाम्रो पार्टी अहिलेकै संरचना र कार्यशैलीबाट चुन्न सक्दैन, यसमा व्यापक परिवर्तन जरुरी छ भन्नुभएको थियो, सुधार्नेबारे के सोच्नुभएको छ ?

    –समाजवादी क्रान्तिका क्रममा हामी निरन्तर परिवर्तनका पक्षमा हुन्छौँ। हामीले अहिलेको अवस्थामा सन्तुष्टि छैनौँ, अग्रगमनका लागि यात्रारत हुन्छौँ। संसार नै परिवर्तनशील छ। संसार परिवर्तनशील भएपछि मान्छे परिवर्तनशील हुनुपर्छ। पार्टी र विचार परिवर्तनशील हुनुपर्छ। यस अर्थमा हामीले नेपाली विशेषताको समाजवाद भनेका छौँ। नेपालको विशेषता के हो भने यहाँ रहेका बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले भरिएको नेपाली समाज अनुकूलको सोचको कुरा हो। यहाँ वर्गभित्र जात पनि छ। हाम्रो विशेषता के हो भौगोलिक रुपमा पनि विविधता छ। अनेकौँ सम्पदा छन्। दुई ठुला देशको बीचमा छौँ। यहाँ बहुदलीय प्रणाली पनि छ। राजनीतिक अवस्था र बहुदलीय प्रतिस्पर्धा पनि हुन्छ। हामी एकल पार्टीको पक्षमा छैनौँ। समाजवादमा वर्ग हुन्छ र पार्टी पनि हुन्छ। हामी स्वार्थ र भ्रष्टीकरणबाट मुक्त हुनु पर्नेछ। अहिले नेपालको राजनीतिलाई भ्रष्टीकरणले गाँजेको छ। भ्रष्टीकरणबाट मुक्त हुन व्यक्तिवाद र मपाईंवादबाट मुक्त हुनुपर्छ।

    लोकतान्त्रिक कार्यशैली र पारदर्शी र वैज्ञानिक कार्यपद्धति अपनाउन सकियो भने अवश्य पनि कुनै पनि पार्टीभन्दा उत्कृष्ट हुन सकिन्छ। हाम्रो पार्टीको भविष्य उज्यालो छ। कसैकसैलाई यो पार्टीको भविष्य छैन भन्ने पनि लागेको होला। यो पार्टीलाई विलीन बनाएर लैजानुपर्छ भन्ने पनि लागेको हुनसक्छ। तर यो विलीन भएर समापन भएर जाँदैन। यो पार्टी आफ्नो सोच, दृष्टिकोण, वैज्ञानिक समाजवादको यात्रामा दृढताका अगाडि बढ्छ। अरूलाई पनि साथमा लिएर जान्छ। किनभने हामी अलगअलग पसलहरु होइनौँ। सकेसम्म विचार मिल्नेहरुलाई एकताबद्ध बनाएर लैजाने सोचमा छौँ। सबै देशभक्त र लोकतान्त्रिक शक्तिहरू पनि मिलुन्। वामपन्थी शक्तिहरू त मिल्नैपर्छ। किनभने वामपन्थी शक्तिहरूले नै नेपाल राष्ट्रमा ठुला ठुला परिवर्तन गरेका छन् र त्यसको अगुवाइ पनि गरेका छन्। हामीहरू मिल्नुको विकल्प छैन।

    पहिला फुटेर जाने अनि फेरि मिल्नेपर्छ भन्ने क्रम पनि चलिरहने रहेछ है ?

    –फुट र जुट चलिरहन्छ। नदी पनि त फाट्छ, कहिले मिसिन्छ। दुई धार हुन्छ। अन्त्यमा गन्तव्य त समुद्रमा गएर मिसिने हो। त्यसो हुनाले फुटमा आत्तिनुपर्ने अवस्था छैन। नदी एक किसिमको भौगोलिक संरचनामा पुग्छ, त्यहाँ फाट्छ अर्को भौगोलिक संरचनामा मिसिन्छ। त्यसैले प्रकृतिको नियम यस्तै छ। सकेसम्म फाट्नु राम्रो होइन, तर के गर्नु घरै फाटिरहेको हुन्छ। श्रीमान् श्रीमतीको पनि फाटिरहेका हुन्छन्। कोही कसैको दास बनिरहन सक्दैन। दासत्वलाई स्विकार्न सकिँदैन। यस अर्थमा हामी आफ्नो स्वाभिमान, देश र जनताको स्वाभिमान र हितका लागि लागिरहेका छौँ। हामी नक्कली गफको क्रान्तिकारी होइन, व्यावहारिक र साँचो अर्थमा जनताको परिवर्तनको खातिर उभिन जरुरी छ।

  • भक्तपुरमा खाटबाट खसेर १६ महिने बालकको मृत्यु

    भक्तपुरमा खाटबाट खसेर १६ महिने बालकको मृत्यु

    भक्तपुरमा खाटबाट खसेर एक १६ महिने बालकको मृत्यु भएको छ।

    भक्तपुर नगरपालिका वडा नं- १० कमलविनायकमा डेरा गरी बस्ने रामेछाप घर भएकी सरु खड्काको १६ महिने छोरा सम्राट् खड्काको खाटबाट खसेर मृत्यु भएको हो।

    जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजन कार्कीका अनुसार बालक झ्याल नजिकैको खाटमा खेल्ने क्रममा भुईँमा खसेका थिए। खाटबाट खसेर गम्भीर घाइते भएको उनलाई तत्कालै उपचारको लागि मध्यपुर अस्पताल लगिएको थियो।

    उपचारकै क्रममा बालकको सोमबार मृत्यु भएको हो। घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

  • वैदेशिक ऋण लिएर सङ्घीयता धान्ने कुरा गलत छ: चित्रबहादुर केसी

    वैदेशिक ऋण लिएर सङ्घीयता धान्ने कुरा गलत छ: चित्रबहादुर केसी

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले वैदेशिक ऋण लिएर संघीयता धान्ने कुरा गलत भएको टिप्पणी गरेका छन्।

    सोमवार प्रतिनिधि सभा बैठकमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बएका हुन । सांसद केसीले संघीय संरचनाका कारण मुलुकमा साधारणतर्फको खर्चको अनाआवश्यक बोझ नेपाली जनताले झेल्नुपरेको दाबी गर्दै उनीहरुलाई त्यसबाट मुक्त गराउन पनि आफूहरुले संघीयता खारेजी गर्नुपर्ने कुरामा जोड दिनुपरेको बताए ।

    उनले संघीयता कायम राखेर मुलुकमा साधारणतर्फको खर्च घटाउन नसक्ने कुरामा ख्याल गर्न पनि सरकारलाई सचेत गराए । सांसद केसीले संघीय संरचना रहेसम्म आम नेपाली जनताले आर्थिक बोझ झेलिरहनुपर्ने तर्क समेत व्यक्त गरे ।सांसद केसीले उत्पादन र उत्पादकत्वमा वृद्धिमा सरकारले बजेटको व्यवस्था गर्न नसकेको पनि बताए ।

  • सरकारमा सहभागी हुने वातावरण छैन: राजेन्द्रसिंह रावल

    सरकारमा सहभागी हुने वातावरण छैन: राजेन्द्रसिंह रावल

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलले सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनको वातावरण अझै नबनेको बताएको छ।

    धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घबहादुर सोडारी नेतृत्वको प्रदेश सरकारमा आफूहरु सहभागी हुने वातावरण बन्न नसकेको बताए। ‘हामी सरकारमा सहभागी हुने वातावरण बनेको छैन,’ उनले भने।

    समाजवादीका नेता सोडारी नेतृत्वको सरकारलाई विश्वासको मत दिएको एमालेले तत्काल सरकारमा भने नजाने निर्णय पहिले नै गरेको हो।

    एमालेले यो निर्णय परिवर्तन नगर्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेशसभामा पेस गरेको नीति तथा कार्यक्रमप्रति भने आफूहरुको स्वामित्व रहेको बताउँदै नेता रावलले पत्रकार सम्मेलनमा भने, ‘अब बजेट कस्तो आउँछ त्यसका लागि दबाब बनाउँदै छौँ।’

  • साफ महिला च्याम्पियनसिप नेपालमा हुने

    साफ महिला च्याम्पियनसिप नेपालमा हुने

    साफ महिला च्याम्पियनसिप २०२४ नेपालमा आयोजना हुने भएको छ।

    दक्षिण एसियाली फुटबल महासंघ (साफ) प्रतियोगिता समितिको सोमबार बसेको बैठकले प्रतियोगिता आयोजनाका लागि नेपाललाई स्वीकृत दिएको हो।

    प्रतियोगिता अक्टोबर १७ देखि ३० सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साफले जनाएको छ।प्रतियोगितामा साफका सात वटै सदस्य संघको सहभागिता रहनेछ।

  • प्रदेशहरूमा भूगोल र जनसङ्ख्याको आधारमा बजेट छुट्याउनुपर्छः सांसद महतो

    प्रदेशहरूमा भूगोल र जनसङ्ख्याको आधारमा बजेट छुट्याउनुपर्छः सांसद महतो

    जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोले प्रदेशहरुमा भुगोल र जनसङ्ख्याको आधारमा बजेट छुट्याउनुपर्ने बताएका छन।

    सोमवार प्रतिनिधि सभा बैठकमा आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद महतोले प्रदेशहरुमा भुगोल र जनसङ्ख्याको आधारमा बजेट छुट्याउनुपर्ने बताएका हुन । उनले प्रदेश र स्थानीय तहको बजेट कटौती गर्नु नहुने बताए । उनले संघीयालाई सवल बनाउनका लागि प्रदेश र स्थानीय तहलाई अझ बजेट आवश्यक पर्ने बताए ।

    त्यस्तै छलफलमा बोल्दै जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले बजेट समाजवादउन्मुख हुन नसकेको बताए । उनले राज्यले दायित्व नबेहोरेको स्थितिको बजेट भएकाले समाजवादउन्मुख भन्न नमिल्ने बताए ।सांसद अधिकारीले कृषिमा लगानी दशक घोषणा गरिएपनि वैज्ञानिक कृषि प्रणालीको कुनै योजना नदेखिएको बताए ।

  • फिल्म निर्देशक सुदर्शन थापा पक्राउ

    फिल्म निर्देशक सुदर्शन थापा पक्राउ

    फिल्म निर्देशक सुदर्शन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    फिल्म ‘प्रसाद २’ विवादको मुद्दामा काठमाडौंको बालुवाटार क्षेत्रबाट थापालाई सोमबार नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

    उनीविरूद्ध निर्माता सुदर्शन बस्नेतले आपराधिक विश्वासघात गरेको भन्दै प्रहरी वृत्त बौद्धमा जाहेरी दिएका थिए। आफूहरूको मन्जुरीबिना चलचित्र ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले उजुरी दिएका थिए।

    जाहेरी पछि पक्राउ पुर्जी जारी भएपनि फरार रहेका उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।