Blog

  • महामारी सम्झौता समतामुलक पहुँचमा आधारित गर्न माग

    महामारी सम्झौता समतामुलक पहुँचमा आधारित गर्न माग

    सबै राष्ट्रहरुको पहुँचमा हुनेगरी महामारी सम्झौता हुनु पर्ने माग उठेको छ। एड्स हेल्थ केयर फाउण्डेशनले ‘हाम्रो समाज बचाऊ’ अभियानमार्फत् यस्तो अपिल गरेको हो भने काठमाडौंमा सञ्चारकर्मीहरु बीचमा महामारी सम्झौता पत्र सम्बन्धी अन्तरक्रिया गरी वकालतको बारेमा जानकारी दिएको हो।

    यसअघि यो अभियानले ‘हाम्रो आत्मा बचाऊ’ भन्ने नारा अघि सारेको थियो। सन् १९०७ मा अमेरिकामा स्थापना भएको यो संस्थाले एड्स पीडितहरुको अन्तिम समयमा हेरचाह गर्ने हस्पिस होम खोली सेवा प्रदान गर्न सुरु गरेकोमा हाल विश्वभरी एचआइभी संक्रमितहरुको उपचारमा पहुँचको लागि सहयोग प्रदान गर्दै आएको छ।

    निकट भविष्यमा विश्व स्वास्थ्य संगठनको सदस्य राष्ट्रहरुको बीचमा हुन लागेको र वर्तमान महामारी सम्झौतामा रहेको कमजोरी अन्त्य गरी समतामुलक पहुँच पुग्ने गरी सम्झौता हुनु पर्ने माग अघि सारेको छ। ‘कोभिड १९ महामारीको बेला भोगेको कहाली लाग्दो असमानतालाई सम्बोधन गर्न चाहन्छौँ,’ एफफएच नेपालका लागि देशीय कार्यक्रम व्यवस्थापक दिब्यराज जोशीले भने।

    कोभिड १९ महामारीको बखत उच्च आय भएका देशहरुको स्रोत सेवा साधनमा पहुँच रहेको र न्युन आय भएका देशहरु सेवाको पखाईमै महामारीवाट धेरै क्षति झेल्नु परेको जोशीले स्मरण गरे।

    विश्वको ८५ प्रतिशत जनसंख्या वस्ने कम न्युन तथा मध्यम आय भएका राष्ट्रहरुको लागि महामारी स्रोतमा २० प्रतिशत मात्र छुट्याइएको विगतको अनुभव गलत भएको जनाउँदै सवै राष्ट्रको समतामुलक पहुँच हुनु पर्नेमा अभियानले जोड दिएको छ।

    ‘महामारीको बखत हुने असमान वितरणले विपन्न र मध्यम आय भएका देशहरुले विगतको महामारीमा ठूलो क्षति बेहोर्नु परेको अनु्भव छ’ कार्यक्रम व्यवस्थापक जोशीले भने।

    सोही क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्र रमण सिंहले दीगो विकासका १७ वटा लक्ष्य मध्येमा विश्वव्यापी रुपमा रहेको गरिवीको खाडल, स्वास्थ्यमा रहेको खाडल कम गर्ने लक्ष्य रहेकोले महामारी सम्झौता समतामुलक पहुँच नभएमा लक्ष्य पुरा नहुने बताए। ‘शिक्षा, स्वास्थ्य, आय स्वस्थ नभइ मानव स्वस्थ हुँदैन’ उनले भने।

    ‘कति मानिस अक्सिजन र खोेपको कमीकै कारण गुमाउनु प¥यो’ उनले भने। विश्वको कुनै पनि कुनामा देखिने महमाारी अर्को देशमा सजिलै फैलिने अहिलेको स्थिति भएकोले सवै राष्ट्र मिलेर संबोधन नगरी सुखै नभएको डा. रमणको भनाइ छ। ‘एक देशवाट अर्को देशमा दैनिक आवात–जावात छ, त्यो कारण महामारी जहाँ पनि पुग्छ’ उनले भने।

    अव हुन सक्ने कुनै पनि महामारीमा कोभिड १९ को जस्तो कम आय भएका देशहरुले भोग्नु नपरोस भन्ने बिषयमा फाउण्डेशनको चिन्ता व्यक्त गरेको छ। सन् २०२१ देखि जनस्वास्थ्य समताको लागि परिवर्तन सुरु भएको थियो। यो कालमा युरोप र अन्य विकसित देशहरुले हातेमालो गरे पनि ती देशका केही स्वार्थी उत्पादक कम्पनीहरुसँग विश्वका मुख्य अर्थतन्त्र भएका देशहरु लाग्दाको पलले चिन्ता थपिएको जोशीले बताए।

    विगतको यो त्रुटिवाट विश्व स्वास्थ्य संगठनले अघि सारेको समताको सिद्धान्तमा केही राष्ट्रहरु इच्छुक नभएकोले सिद्धान्त लागु हुने कुरा कागजमा सीमित हुने देखिएको एएचएफले औल्याएको छ।

    महामारीमा पहुँच र लाभ वितरण व्यवस्थापन (प्याब्स) को धारा १२ ले केही जारी गरेको केही अनिवार्य प्रतिवद्धताहरु अन्तर्गत प्याब्सका सदस्य राष्ट्रहरुले जैविक तथा अनुवांशिक सामाग्री र तथ्याकं समयमै उत्पादन गर्न आवश्यक रहेको उल्लेख गरेको छ। यो प्रक्रियाले समयमै महामारी पत्ता लगाउन, खोप उत्पादन गर्न र थेरापी सेवाको लागि महत्त्वपुर्ण मानेको छ।

    प्याब्सको धारा १२ ले नै स्वास्थ्य सामाग्रीमा सवै मुलुकहरुको समान पहुँच र अधिकारको लागि वकालत गर्दै अर्को महामारी आउनु अघि नै विश्व स्वास्थ्य सुरक्षाको लागि पहल गर्न आहवान गरेको छ।

    प्याब्सको धारा १२ लागु भएमा अहिलेको असमतामुलक पहुँच अन्त्य गरी सवै समाज बाँच्ने र बचाउने अधिकार सुनिश्चत हुने एसओएस(हाम्रो समाज बचाओैं’ अभियानले अपिल गरेको छ। महामारीमा समतामुलक पहुचको सुनिश्चत हुनु पर्ने वकालत गर्दै आएको एएचएफ सन् १९०७ मा अमेरिकामा स्थापना भएको संंस्था हो। पछिल्लो वर्षहरुमा फाउण्डेशनले कुनै पनि महामारीमा जनस्वास्थ्य सुरक्षामा सवैको पहुँचको वकालत गर्दै आएको छ।

  • प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल गठन

    प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल गठन

    गृह मन्त्रालयले प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल गठन गरेको छ।

    उपप्रधान एवं गृहमन्त्रीस्तरीय निर्णयअनुसार गृह मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो।

    कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका डिआइजीपी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन उपसचिव, मन्त्रालयले तोकेको सुरक्षा विज्ञ र गृहका उपसचिव एवं प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख कृष्ण गैरे रहेका छन्।

    समितिलाई मौजुदा ऐन, नियमहरूको अध्ययन गरी अन्य मुलुकका अभ्यासहरूसमेतको आधारमा एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको।

  • गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज पनि सुनुवाइ स्थगित

    गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज पनि सुनुवाइ स्थगित

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटको सुनुवाइ आज पनि स्थगित भएको छ। यसअघि निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगन गर्न निवेदन दिएपछि हिजो बुधबार सुनुवाइ स्थगित भएको थियो।

    निवेदकले नै तयारी नपुगेकाले सुनुवाइ स्थगन गर्न निवेदन दिएपछि उक्त रिटको सुनुवाइ आज पनि स्थगित भएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।

    निवेदक अनुपम भट्टराईका अनुसार हिजो जसको बेन्चमा मुद्दा चढेको थियो आज पनि त्यही बेन्च अर्थात् न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा मुद्दा परेपछि सुनुवाइ स्थगित गर्न निवेदन दिएको बताएका छन्।

    न्यायाधीश सुनीलकुमार पोखरेल अधिवक्ता हुँदा उपप्रधान तथा गृहमन्त्री लामिछानेको कानुनी सल्लाहार भएकाले सुनुवाइमा प्रभाव पर्न सक्ने अनुमान गरेर सुनुवाइ स्थगित गर्न निवेदन दिएको भट्टराई जानकारी दिएका छन्।

    लामिछानेलाई अनुसन्धान प्रक्रिया चलिरहेका बेला पदबाट निलम्बन गर्न माग गर्दै यसअघि सोमबार भट्टराईले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।

    ‘उपप्रधान तथा गृहमन्त्रीले धारण गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्ने र प्राकृतिक न्यायको सिद्धान्तविपरीत समेत रहने स्पष्ट भएको हुँदा अनुसन्धान प्रक्रिया चलिरहेको अवस्थामा गृहमन्त्रीको पदबाट निलम्बन गर्नू भनी अन्तरिम प्रकृतिको उपयुक्त आदेश जारी गरिपाऊँ भनि निवेदकले रिट निवेदनमा उल्लेख गरेका थिए।

    महान्यायाधिवक्ता कार्यालयबाट वैशाख २४ मा जारी भएको पत्रको कुनै कानुनी वैधानिकता नरहेको भन्दै पत्रले फौजदारी न्याय प्रणालीलाई अनुचित तवरले प्रभावित पार्ने स्पष्ट रहेकाले पत्रको सम्पूर्ण काम, कारबाही, सूचना, पत्राचार कार्यान्वयन नगर्नू–नगराउनू भनी अन्तरिम आदेशको माग पनि रिट निवेदनमा गरिएको छ।

    ‘सहकारी ठगीजस्तो विषयमा बचतकर्ताले न्यायका लागि याचना गर्न सक्ने हुँदा व्यक्ति विशेषले धारण गरेको पदको बेवास्ता गरी अनुसन्धान नगर्नू, मुद्दा नचलाउनु भन्नेजस्ता आदेश प्रहरी प्रधान कार्यालयलाई नभन्नू र आफ्ना मातहतका अनुसन्धान गर्ने निकायलाई सहकारी ठगीमा कसैले कुनै व्यक्तिउपर जाहेरी सूचना, प्रतिवेदन पेस गर्छ भने निर्धक्क अनुसन्धान गर्नू भनी महान्यायाधिवक्ताको नाउँमा परमादेशको आदेश जारी गरिपाऊँ,’ निवेदकको मागदाबी छ।

    महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई अहिलेसम्म कुनै पनि सहकारीका तर्फबाट उजुरी, जाहेरी नपरेको स्पष्ट पार्दै पत्र दिएको थियो। सरकारको कानुनी सल्लाहकारका रूपमा रहेका महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई हालसम्मको ‘क्लिन चिट’ दिएपछि विवाद सुरु भएको थियो।

    लामिछानेले वैशाख १० मा महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए। सम्बन्धित कार्यालयमा सोधेर कुनै उजुरी जाहेरी नपरेको भन्दै महान्यायाधिवक्ता कार्यालयले वैशाख २४ मा जानकारीपत्र दिएको थियो।

    ‘यस कार्यालयमा जानकारी पाऊँ भनी पेस गर्नुभएको वैशाख १० को निवेदन मागका सन्दर्भमा रूपन्देही जिल्ला अदालतमा दायर भएको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, चितवनको सहारा सहकारी संस्था तथा कास्कीको सूर्यदर्शन सहकारी संस्थाको रकम हिनामिनामा यहाँको संलग्न रहे-नरहेको कुनै उजुरी परेको, अनुसन्धान वा अभियोग पत्र दायर भएको वा नभएको सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय रूपन्देही, चितवन र कास्कीमा बुझी पठाउँदा यहाँउपर हालसम्म कुनै उजुरी, जाहेरी अनुसन्धान तथा अभियोजनसमेत भएको नदेखिएको जवाफ प्राप्त हुन आएकाले सोही व्यहोरा आदेशानुसार अनुरोध गरिन्छ’, महान्यायाधिवक्ता कार्यालयको जानकारी पत्रमा भनिएको थियो।

  • अमेरिकन दूतावासमा सन्दीपको अन्तर्वार्ता अपराह्न चार बजे

    अमेरिकन दूतावासमा सन्दीपको अन्तर्वार्ता अपराह्न चार बजे

    क्रिकेटर सन्दीप लामिछानेको नेपालस्थित अमेरिकन दूतावासमा अपराह्न चार बजे अन्तर्वार्ता हुने भएको छ।

    अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप क्रिकेटमा सहभागी हुन अमेरिकन दूतावासले उनलाई पहिलो चरणमा भिसा अस्वीकार गरेको थियो । नेपाल सरकारले नै उनको भिसा प्रक्रियाका लागि पहल थालेपछि बिहीबार दूतावासले उनीसँग अन्तर्वार्ता लिन लागेको हो । उनको अन्तर्वार्ताको समय अपराह्न चार बजेका लागि तोकिएको छ ।

    विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई भिसा दिन सरकारले अमेरिकन दूतावासलाई नोट लेखेको थियो । भिसा लागे उनी बिहीबार राति नै अमेरिका उड्नेछन् । विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आगामी सोमबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

    बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई पनि विश्वकप क्रिकेटको टोलीमा राखेको छ ।

  • लन्डन रोयल ग्रीनवीच बरोमा नेपाली मेयर

    लन्डन रोयल ग्रीनवीच बरोमा नेपाली मेयर

    बेलायतस्थित एक गैरआवासीय नेपाली लन्डन रोयल ग्रीनवीचमा मेयर भएका छन् ।

    बेलायतको लन्डनस्थित रोयल बरो अफ ग्रीनवीचमा जीत रानाभाट मेयर निर्वाचित भएका हुन् । नवनिर्वाचित मेयर रानाभाटले बुधबार एक विशेष समारोहबीच शपथग्रहण गरेका छन् ।

    उनको कार्यकाल एक वर्षको हुने छ । रानाभाट हालै सम्पन्न बरोको साधारणसभाबाट सर्वसम्मत मेयर चयन भएका थिए ।

    कास्कीको मादी गाउँपालिकास्थित थुमको डाँडामा जन्मिएका रानाभाट हाइली स्किल्ड भिसामा सन् २००८ मा बेलायत आएका हुन् ।

    उनी लेबर पार्टीबाट सन् २०२२ मा सोही बरोमा काउन्सिलर निर्वाचित भएका थिए ।

    रानाभाटको शपथग्रहण समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, बेलायती राजपरिवारका प्रतिनिधि, स्थानिय उच्चपदस्थ अधिकारीहरु लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

  • बैंककमा लगानी प्रवर्द्धन गर्न नेपालीको सक्रियता

    बैंककमा लगानी प्रवर्द्धन गर्न नेपालीको सक्रियता

    थाइल्यान्डको राजधानी बैंककस्थित नेपाली दूतावासले मुलुकको पर्यटन, व्यापार तथा लगानी प्रवर्द्धनका निम्ति थाई उद्यमीहरूको उपस्थितिमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरेको छ।

    बुधबार आयोजित उक्त कार्यक्रममा खासगरी नेपाल तथा थाइल्यान्डका जडीबुटी उत्पादक, प्रशोधन तथा निर्यातक, जैविक कृषि उत्पादक, कृषि तथा खाद्य प्रशोधन कम्पनी, थाइल्यान्डमा रहेर व्यवसाय गर्दै आएका नेपाली मूलका थाई नागरिक, गैरआवासीय नेपाली संघ, थाई नेपाली संघ, नेपाल वायु सेवा निगमका प्रतिनिधि एवं स्थानीय सञ्चारकर्मीको सहभागिता थियो।

    कार्यक्रममा थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीले जडीबुटी तथा कृषि प्रशोधनलगायत क्षेत्रमा लगानी र प्रविधिका माध्यमबाट नेपाल र थाइल्यान्डबीच उत्पादन शृंखलाको विकास र संयुक्त बजार विस्तारमा ठूलो सम्भावना रहेको बताए।

    दूतावासका अनुसार राजदूत वलीले प्राप्त अवसरलाई कार्यस्तरमा विकास गर्न दुई देशका व्यवसायीबीच निरन्तर छलफल आवश्यक भएकोमा जोड दिए। साथै उनले लगानी प्रवर्द्धनका कार्यमा व्यवसायीलाई सहयोग गर्न दूतावास सधैं तत्पर रहेको जानकारी दिए।

    नेपाल जडीबुटी उत्पादक तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक संगीता यादव र नेपाल निर्यातक महासंघका अध्यक्ष पवन गोल्यानले नेपालमा जडीबुटीको उत्पादन-प्रशोधन, कृषि उत्पादन तथा प्रशोधनका प्रशस्त सम्भावना रहेका जानकारी दिँदै नेपालमा लगानी गर्न थाई उद्यमीलाई अनुरोध गरेका थिए। –रासस

  • सबै जनप्रतिनिधिले इमानदारीपूर्वक
जिम्मेवारी  निर्वाह गर्नुभएको छ: सिर्पाली

    सबै जनप्रतिनिधिले इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको छ: सिर्पाली

    संसदीय अभ्यास आफ्नो देशको समाज, परिस्थिति र परिवेशानुसार सञ्चालन हुन्छ। संसद्मा ऐन, नियम र कानुन जसरी बनेका छन् त्यहीभित्र रहेर अभ्यास गर्ने हो। धेरै कुरा परिस्थितिमा निर्भर हुन्छ। सबै जनप्रतिनिधिले प्राप्त जिम्मेवारी र भूमिकालाई इमान्दारीपूर्वक निर्वाह गरेका छन्।

    सहज परिस्थिति नहुँदा कार्ययोजना अनुरूप परिणाम देखाउन नसकेको साँचो भए पनि कामै नभएको भन्न मिल्दैन। अहिले पनि विधेयक पारित गर्ने प्रक्रिया अघि बढाएका छौं। केहीमा छलफल गरिरहेका छौं, कतिपय टेबल गर्ने क्रममा छन्।

    राजनीतिमा फरक विचार हुनु स्वाभाविक हो। समय र मुद्दा सापेक्षका आधारमा सहकार्य गरेर जानुपर्छ। कहिलेकहीं मुद्दा बाझिंदा बेमेल र द्वन्द्वको वातावरण बन्न जान्छ। संसदीय व्यवस्थामा सत्ता र प्रतिपक्ष भनेका एकघरका दुई भाइ जस्ता हुन्। सर्वसम्मत रूपमा सत्तापक्ष भएर बसेको कोही देखिन्न।

    संसदमा सत्तापक्ष र प्रतिपक्षले आआफ्नो धर्म निर्वाह गर्ने कुरा स्वाभाविक हुन्छ। कहिले अलि चर्काे भएर आउँदा यो फेरि केहो भन्ने लाग्छ। कहिलेकाहीं त्यो स्थिति पनि देखापरेको छ। संसदीय राजनीतिलाई अपनाइसकेपछि सबैका सिद्धान्त त्यहींभित्रै बस्छन्। संसदमा फरक विचार र धार भएका कोही कम्युनिष्ट, कांग्रेस, राजावादी, मधेसवादी छौं, संसदीय प्रणालीको ढोकाभित्र पसेपछि त्यहींभित्रको मिश्रित सिद्धान्तमै अघि बढ्नुपर्ने हुन्छ।

    नीति निर्माणका लागि हुने छलफल र बहस आफ्नो दृष्टिकोण अनुसार हुन्छ भने संसदीय प्रणालीमा उक्त प्रक्रियाका सिद्धान्तभित्र रहेर आफ्नो कार्यप्रणाली, कार्यक्रम र बहस अघि बढाउनुपर्छ। बाहिर आएपछि पार्टीको नीति, विधि र सिद्धान्तमा स्पष्ट रूपमा उभिन्छौं।

    मुलुकमा भ्रष्टाचार बढ्नुमा स्थिर सरकार नहुँदाको समस्या हो। त्यो नहुँदा सरकारले आफूले चाहेको नीतिनियम र कार्यक्रम आफ्नो ढङ्गले तय गरी अघि बढ्न सक्दैन। कार्यान्वयनको पक्षमा झनै चुनौती बढ्दै जान्छ।

    अर्काे विषय भनेको हामी राज्य र समाजप्रति कति इमान्दार छौं भन्ने पाटो पनि जोडिएको हुन्छ।

    पछिल्लो चरणमा भ्रष्टाचार न्यूनीकरण र भएका घटना सार्वजनिक गर्ने महत्वपूर्ण प्रयास भएको छ। सरकारले समृद्धि र सुशासनका लागि कार्यक्रम र योजना बनाएर अघि बढिरहेको छ। केही सकारात्मक प्रयास भए पनि दिगो र परिणाममुखी बनाउने विषयमा आमजनता, नागरिक समाज र सञ्चारमाध्यमको साथ र सहयोग आवश्यक पर्दछ।

    अहिलेको निर्वाचन प्रणालीले पनि भ्रष्टाचार बढाउन केही मलजल गरेको छ। निर्वाचन प्रणाली खर्चिलो राख्ने अनि सुशासनका कुरा आपसमा अन्तर विरोधी विषय हुन्। निर्वाचन जित्न जसरी पनि लडनुपर्‍यो। खर्च गर्नुपर्‍यो। यो निर्वाचन प्रणालीमा चुनाव जित्न खर्चको प्रतिस्पर्धा हुन्छ। पूर्ण समानुपातिक निर्वाचन प्रणाली नअपनाएसम्म चुनावमा हुने खर्च र भ्रष्टाचार रोकिंदैन।

    अस्थिर सरकार तथा योग्यता र क्षमताअनुरुपको रोजगारी नहुँदा युवा तथा विद्यार्थीको विदेश पलायन बढेको छ। राजनीति प्रणालीअनुसार नै विकास प्रणाली अघि बढ्छ।

    अर्काेतर्फबाट बहस गर्ने हो भने अहिले केही मानिस सरकारी जागिरसमेत छाडेर विदेशिएको छ। मासिक रूपमा आउने रकमले सहज रूपमा जीविकोपार्जन गर्न समस्या हुँदा यस्तो अवस्था भएको हो। समाज विकासको क्रमसँगै मानिसका महत्वकाङ्क्षा पनि बढेर जाने भएकाले समयसापेक्ष सेवासुविधा परिमार्जन गर्दै जानुपर्दछ।

    नेपालमा सम्भावना छैन भन्ने भाष्य निर्माण गरिंदैछ, त्यो पनि गलत छ। कैयौं मानिस विदेश गई फर्केर आएपछि आत्मनिर्भर बनेका उदाहरण छन्। स्वदेशमै पनि सम्भावना छ, राज्यले त्यसलाई व्यवस्थित गर्न नसक्दा केही समस्या र युवामा निराशा उत्पन्न भएको हो। दिनानुदिन बढ्दै गएको महत्वकाङ्क्षालाई मुलुकको परिवेशमा अहिले पूरा गर्न नसकिएको सत्य हो।

    नेपाली समाजमा अहिले जसलाई सहयोगको जरुरत छ, उसलाई प्राप्त हुन्न, जो आफैं सक्षम र सुझबुझ राख्छ उसलाई सहयोग उपलब्ध गराउने गलत कार्य भइरहेको छ। संविधानमा सार्वभौमसत्ता जनतामा निहित भनिएको छ।

    अहिले जनता रैती होइन, नागरिकमा परिणत भएका छन्। राज्यबाट उपलब्ध हुने सेवासुविधा समान र सन्तुलित ढङ्गबाट जनताले उपभोग गर्न पाउनुपर्छ। समाजमा उसको सम्पत्तिको स्तर हेरेर होइन, आवश्यकताका आधारमा छिटोछरितो काम अघि बढाइदिनुपर्छ। जनता सचेत भएर विषयवस्तु बाहिर नल्याएसम्म भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धन हुँदैन।

    सांसद सुशीला सिर्पाली ठकुरीको परिचय

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट समानुपातिक निर्वाचन प्रणालीमा प्रतिनिधिसभा सदस्य बनेको नेत्री सिर्पाली २०४६ सालदेखि राजनीतिमा प्रवेश गरेकी हुन्। विसं २०४९ मा पार्टीको पूर्णकालीन सदस्य भई काम गर्ने सिलसिलामा उनी २०४७ देखि २०५४ सम्म भारतमा निर्वासित भएर पार्टीको काममा जुटेकी थिइन्।

    अखिल भारत नेपाली महिला समाजको अध्यक्ष र राष्ट्रिय दलित आयोगका अध्यक्ष भई काम गरेको अनुभव उनीसँग छ। सांसद सिर्पाली हाल प्रतिनिधिसभा महिला तथा बालबालिका समिति सदस्य हुन्।

    (राससका उपप्रमुख समाचारदाता नारायण न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश)

  • अत्यधिक गर्मीले विद्यालय बिदा

    अत्यधिक गर्मीले विद्यालय बिदा

    अत्यधिक गर्मी बढेपछि सदरमुकाम त्रियुगा नगरसहित २ स्थानीय तहले पठनपाठन रोक्ने निर्णय गरेका छन्। गर्मी ज्यादा भएकाले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने बताउँदै त्रियुगा र कटारी नगरपालिकाले दुई दिन पठनपाठन रोक्ने निर्णय लिएका हुन्।

    त्रियुगाले बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेको छ। नगर शिक्षा शाखा अधिकृत शिवकुमारी राउतले बुधबार दिउँसो जारी गरेको सूचनाअनुसार अत्यधिक गर्मी बढेकाले नगर क्षेत्रमा सञ्चालित सामुदायिक तथा संस्थागत सबै विद्यालयको पठनपाठन शुक्रबारसम्म स्थगित गर्ने निर्णय गरिएको उल्लेख छ।

    राउतका अनुसार त्रियुगामा ७१ सामुदायिक (मदरसासहित) र ४६ वटा संस्थागत (बोर्डिङ) गरी एक सय १७ विद्यालय सञ्चालित छन्।

    त्यसैगरी कटारी नगरपालिकाले पनि तराई र भित्री–मधेस भेगका विद्यालयहरु शुक्रबारसम्म विबदा दिने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले बुधबार जारी गरेको सूचनामा वडा १ देखि ७ सम्मका सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन शुक्रबासम्म स्थगित गर्न भनिएको छ।

    पहाड र भित्री मधेसको भूगोल समेटिएको कटारी नगरका वडा ८ देखि १४ सम्म पहाडी भेगमा पर्ने र गर्मीले पठनपाठनमा कुनै समस्या नल्याउने भएकाले बिदा नदिइएको जनाइएको छ। गर्मीबाट बालबालिकालाई बचाउन दिइएको बिदालाई बर्खे बिदामा मिलान गरिने पनि सूचनामा उल्लेख छ।

    तराई भेगसमेत जोडिएकै स्थानीय तह भए पनि बेलका र चौदण्डीगढी नगरपालिकाहरुले भने बिदा दिएका छैनन्। रौतामाई, उदयपुरगढी, ताप्ली र लिमचुङबुङ गाउँपालिका भने पहाडी भेगमा पर्ने भएकाले गर्मीको असर नपर्ने स्थानीय तहहरु हुन्।

  • क्रिकेट: नेपाल र अमेरिका भिड्दै

    क्रिकेट: नेपाल र अमेरिका भिड्दै

    आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता तयारीको आफ्नो अन्तिम अभ्यास खेल नेपालले आज राति अमेरिकासँग खेल्दैछ।

    अमेरिकाको डालासमा हुने उक्त खेल नेपाली समय अनुसार राति ९ः१५ बजेदेखि सुरु हुनेछ। यसअघि भएको अभ्यास खेलमा नेपाल क्यानाडासँग ६३ रनले पराजित भएको थियो। त्यसैगरी अमेरिकाले टेष्ट राष्ट्र बङ्गलादेशविरुद्ध तीन खेलको शृङ्खला २–१ ले जितेको थियो।

    विभिन्न २० टोली सहभागी उक्त टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ। नेपालको समूहमा नेदरल्यान्ड्स, श्रीलङ्का दक्षिण अफ्रिका र बङ्गलादेश छन्। नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग यही जेठ २२ गते खेल्नेछ। जेठ २९ गते श्रीलङ्कासँग दोस्रो खेल खेल्नेछ भने जेठ ३२ गते दक्षिण अफ्रिकासँग खेल्नेछ। त्यस्तै नेपालले आगामी असार २ गते बङ्गलादेशसँग खेल्नेछ।

  • आईसीसी टी–२० विश्वकप: ‘स्टप क्लक नियम’ बलिङ्ग टिमका लागि टाउको दु:खाइ बन्ने

    आईसीसी टी–२० विश्वकप: ‘स्टप क्लक नियम’ बलिङ्ग टिमका लागि टाउको दु:खाइ बन्ने

    आईसीसी टी–२० विश्वकप क्रिकेट आइतवार अर्थात् २ जुनबाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा सुरु हुँदैछ।

    टी–२० विश्वकप क्रिकेटमा २० टोलीलाई ४ समूहमा बाँडिएको छ। जसमा समूह ‘ए’ मा भारत, पाकिस्तान, आयरलैंड, कनाडा र अमेरिका, समूह ‘बी’ मा बेलायत, अस्ट्रेलिया, नामीबिया, स्कटल्यान्ड र ओमान, समूह ‘सी’ मा न्यूजील्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पापुआ न्यू गिनी अनि समूह ‘डी’ दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश, नेदरल्यान्ड्स र नेपाल रहेका छन्।

    सन् २०२४ को टी–२० विश्वकप क्रिकेटमा विश्वका २० टिमले सहभागीता जनाउने छन्। जसमा ३ राष्ट्र नयाँ टिम हो। विश्वकपको फाइनल २९ जुनमा हुनेछ।

    सबै टिम विश्वका लागि निकै उत्साहित र तयारी अवस्थामा छन्। तर, यसपटकको विश्वकपमा बलरहरूका लागि आईसीसीले नयाँ नियम लागू गरेको छ। जुन बलरहरूका लागि टाउको दुखाईको विषय बन्ने भएको छ।

    उक्त नयाँ नियमका अनुसार अम्पायरले बलरमाथि जरिवाना लगाउन पाउने भएका छन् भने ब्याटिङ्ग गर्ने टिमले सित्तैमा ५ रन पाउने भएको छ।

    नयाँ नियमका अनुसार खेलमा समय खेर नजाओस् भनेर अम्पायरसँग स्टप क्लक रहने छ। जसमा २ ओभरको अन्तरालमा ६० सेकेन्डभन्दा बढी समय लिन पाउने छैनन्।

    यो नियमलाई स्टप क्लक नाम दिइएको छ। यो नियम परीक्षणको रुपमा सन् २०२३ डिसेम्बर देखि २०२४ अप्रिलसम्मको पुरुष एक दिवसीय र टी–२० क्रिकेटमा लागू गरिएको थियो। अब उक्त नियमलाई स्थायी रुपमा लागू गरिएको छ।

    स्टप क्लक नियम अनुसार बलिङ्ग रोज्ने टिमलाई पछिल्लो ओभर सकिएको ६० सेकेन्ड भित्र अर्को ओभर सुरु गरिसक्नु पर्नेछ। इदि यो नियम ३ पटकसम्म तोडियो भने ब्याटिङ्ग गर्ने टिमलाई ५ रन थपिने छ। हाल क्रिकेटमा स्लो ओभर रेटको नियम लागू छ।

    नियम अनुसार एक दिवसीयमा ३.५ घन्टामा ५० ओभर र टी–२० मा १.२५ घन्टामा २० ओभर बलिङ्ग गर्नुपर्ने हुन्छ। यसको उल्लङ्घन भएमा जरिवाना लगाइन्छ।