Blog

  • झन्-झन् महगिंदै सुन

    झन्-झन् महगिंदै सुन

    स्थानीय बजारमा पहेंलो धातुको मूल्य निरन्तर बढिरहेको छ। बुधबारको तुलनामा आज सुनको तोलामा नै दुई हजार तीन सय रूपैयाँले वृद्धि भएको छ।

    बुधबार प्रतितोला एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ४० हजार पाँच सय रूपैयाँ निर्धारण भएको छ भने तेजाबी सुन भाउ पनि बढेको छ।

    तेजाबी सुन बुधबार तोलामा एक लाख ३७ हजार पाँच सय ५० मा कारोबार भएकामा आज यो एक लाख ३९ हजार आठ सय रूपैयाँमा कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा दुई हजार दुई सय ५० रूपैयाँले बढेको छ।

    यसैगरी चाँदीको मूल्य तोलामा ७० रूपैयाँले बढेको छ। बुधबार एक हजार नौ सय ३० मा कारोबार भएको चाँदी आज एक हजार नौ सय रूपैयाँमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

  • एमाले महिला भेला: आज १२ समूहमा छलफल हुँदै

    एमाले महिला भेला: आज १२ समूहमा छलफल हुँदै

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आयोजना गरेको ‘राष्ट्रिय महिला भेला’ आज पनि जारी छ। आज १२ वटा समूहले सात वटा विषयमा सामूहिक छलफल गर्नेछन्।

    एमाले केन्द्रीय सदस्य रचना खड्काका अनुसार संविधानले गरेको महिला हकको व्यवस्था तथा कार्यन्वयनको अवस्था, पार्टी, संसद्, सरकार र कर्मचारीतन्त्रमा महिलाको सहभागितालगायत विषयमा सामूहिक छलफल हुनेछ।

    भेलामा पार्टीका केन्द्रीय सदस्य, पार्टीका २३ वटै सङ्गठनका नेत्री, सङ्घ, प्रदेश, स्थानीयमा निर्वाचित महिला, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनबाट निर्वाचित पदाधिकारीसहित पाँच हजार जना सहभागी छन्।

    एमालेले २०६३ साल जेठ १६ गते आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एक तिहाइ महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसद्को सङ्कल्प प्रस्तावको रूपमा पास गरेको स्मरणमा भेलाको आयोजना गरेको हो। महिलाका नेतृत्व विकासलगायत समसामयिक प्रस्ताव समेटिएको घोषणापत्र जारी गरी आजै समापन हुनेछ। रासस

  • सुर्खेत जीप दुर्घटनाः मृतक चारै जनाको पहिचान खुल्यो

    सुर्खेत जीप दुर्घटनाः मृतक चारै जनाको पहिचान खुल्यो

    सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप सुर्खेतको रातानाङ्गला नजिकै दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ।

    सुर्खेत–दैलेख खण्डको वीरेन्द्रनगर–१४ टाकुरी मोडमा बोलेरो जीप दुर्घटना भइ मृत्यु हुनेमा ३ जना कालीकोट शुभकालिका–३ भर्ताका रहेका छन् भने एकजना दैलेख भैरवी गापा–४ का रहेका प्रहरीले जनाएको छ।

    मृत्यु हुनेमा कालीकोट शुभकालिका–३ भर्ताका ४५ वर्षका तन्त बिक, उनका २१ वर्षका छोरा बिरेन्द्र बिक, २७ वर्षका नमराज बिक रहेका छन्। त्यस्तै दैलेखको भैरवी गाउँपालिका–४ का वर्ष ३४का महेन्द्र शाही रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

    त्यस्तै दुर्घटनामा घाइते भएकाहरु कालीकोट शुभकालिका–३ का नरि बिक र कालीकोट खाँडाचक्र नपा–९ पाखाका नरेन्द्र बिष्ट (चालक) रहेका छन्।

    घाइतेहरुको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।

    प्रहरीका अनुसार जीप बिहीवार बिहान २ बजे दुर्घटना हुँदा सडकबाट ३ सय मिटर तल खसेको थियो।

  • महासंयोग

    महासंयोग

    १) समयबोध

    “भविष्यको सहरका बारेमा नियात्रा लेख्ने योजना बनाएकाले यात्रारत थिएँ। अद्भुत दृश्यहरू देख्न थालें। त्यहाँ कुनै घर बनेका थिएनन्। हिंड्न मिल्ने ठाउँ थियो तर बाटाको रूपरेखा केही थिएन। पिच, ढल र बिजुली हुने कुरै भएन। ती सबै भविष्यमा बन्लान् भन्ने लाग्यो।

    आश्चर्यजनक दृश्यहरू हेर्दै र हिंड्दै थिएँ। तिर्खा लाग्यो। नजिकै एउटा धारो देखें। धारामा पानी थिएन। घाँटी खुब सुकेको थियो। पानी खोज्दै छिट्छिटो हिंड्न थालें। नदी भएको ठाउँमा पुगें। त्यहाँ पनि पानी थिएन। सायद त्यहाँ भविष्यमा पानी बग्छ होला।

    त्यसै छेउमा भविष्यकी युवती रोइरहेकी देखें। नजिकै गएर उनीसँग कुरा गरें। ती फुच्ची केटी पनि म जस्तै भविष्यको सहरमा भौंतारिएकी रहिछिन्। मैले उनलाई मसँग हिंड बाहिर निस्कने बाटो भेटिन्छ भनें। उनले मानिनन्। गोजीमा भएको चकलेट दिएपछि बल्ल मसँग जान तयार भइन्। उनलाई सहयोग गर्नुमा मेरो स्वार्थ लुकेको थियो। हामीसँगै हिंडिरहेका थियौं। अचानक भविष्यका प्रहरीहरू देखापरे। तिनीहरूले मलाई र मसँगै रहेकी फुच्ची केटी अर्थात् भविष्यकी युवती अर्थात् भविष्यकी मेरी श्रीमतीलाई केरकार गरे। मैले साँचो कुराभन्दा तिनीहरूले पत्याएनन्। बालिकालाई अपहरण गरी भविष्यमा बलात्कार गर्ने योजना बनाएको आरोप लगाए। भविष्यमा मुद्दा चलाउने गरी तिनीहरूले मलाई पक्रेर ‘ब्ल्याक होल’भित्र कोचे।” उसले आफ्ना आँखा मिच्दै भन्यो।

    “ब्ल्याक होलमा होइन, तपाई अस्पतालको बेडमा हुनुहुन्छ।” अन्तरिक्षमा हुने ब्ल्याक होलको कुरा गर्ने बिरामीलाई डाक्टरले सम्झाउँदै भने।

    ठिक त्यसैबेला औषधी लिएर नर्स आइपुगिन्। भविष्यकी श्रीमती भनेर उद्धार गर्ने प्रयास गरेको फुच्ची केटी कसरी एकैछिनमा यति ठुली भई भनेर उसले उदेक मान्यो। उसले आफ्नै मनभित्र सत्यतथ्य केलाउन थाल्यो।

    “ल, यो औषधी खानोस्! भविष्यमा तपाईको रोग निको हुने छ।” औषधीका चक्की उसलाई दिंदै नर्सले मुसुक्क हाँसेर भनिन्।

    नर्सले त्यसो भन्नासाथ ऊ झसङ्ग भयो। अनि तुरून्त ऊ वर्तमानमा फर्कियो।

    २) महासंयोग

    निम्ता दिए अनुसारका मानिसहरू उपस्थित भएनन्। आउनुपर्ने नजिकका आफन्त र घनिष्ट साथीहरू पनि आएनन्। आउँदैनन् होला भन्ने ठानेर औपचारिकताका लागि निम्ता गरेका मेरा प्रतिस्पर्धी र अदृश्य केही शत्रुचाहिं आएका थिए। नबोलाएका मानिसहरू पनि देखें।

    मैले छोराहरूलाई पनि निम्ता गरेको थिइनँ। अस्पतालको बेडमा उपचारार्थ भर्ना हुँदा अंश माग्न आएका थिए। अंश नदिए मुख पनि हेर्दिनँ र काजक्रिया पनि गर्दिनँ भनेर निस्केदेखि उनीहरू सम्पर्कमा छैनन्।

    मेरी श्रीमती पनि त्यहाँ थिइन। अस्पतालमा उपचारका लागि मेरै कमाइको पैसा खर्च गर्दा छोराहरूलाई सम्पत्ति थोरै हुने भो भनेर खुब रिसाएकी थिई।

    हुन त बिहे गरेको वर्ष दिन नपुग्दै रिस उत्पादन गर्ने कारखाना सञ्चालन गरेकी श्रीमतीबाट आजसम्म निरन्तर रिस उत्पादन भइरहेको छ। उनी नआए पनि कुनै गुनासो छैन। किनकि उनको र मेरो बाँचुन्जेलसम्म मात्र सँगै बस्ने सम्झौता छ।

    मसँग कहिल्यै केही अपेक्षा र गुनासो नगर्ने मेरा केही भूतपूर्व प्रेमिकाहरू अँध्यारो अनुहार लगाएर त्यहाँ आइपुगे। संयोग कस्तो पर्‍यो भने अचानक त्यतिबेलै मेरी श्रीमती पनि टुप्लुक्क आइपुगी। मेरी श्रीमतीको साथमा उनको बहालवाला प्रेमी पनि आएको थियो।

    “मृत्युलाई उत्सवको रूपमा मनाउनुपर्दछ।” मेरी श्रीमतीले भनेको सुनें।

    “कुरा सही हो। लु चाँडै शवयात्रा गरौं!” मेरी श्रीमतीको प्रेमीले हतार ग¥यो।

    उनीहरूले मलाई घाटमा लगेर जतिसक्दो चाँडो जलाउन आँटेको थाहा पाएँ।

    डरले आत्तिंदै सपनाबाट झल्याँस्स बिउँझिएँ। आँखा मिचेर हेर्दा आफूलाई अस्पतालको बेडमा पाएँ। हाड र छाला मात्र बाँकी रहेको रूग्ण शरीर लिएर केही महिनादेखि रोगसँग लडिरहेको थिएँ। सोह्र शृङ्गार गरेर आएकी श्रीमती उत्सव मनाउन आएजस्ती प्रसन्न मुद्रामा मेरो सामुन्ने उभिएकी थिई। मैले कहिल्यै प्रत्यक्ष नदेखेको एउटा लोग्ने मान्छे उनको साथमा थियो।

    श्रीमतीले परिचय गराई, “उहाँ सहरको नामुद वकिल हुनुहुन्छ।”

    मैले ध्यान दिएर त्यस व्यक्तिलाई हेरें। त्यस मान्छेको अनुहार मैले सपनामा देखेको मेरी श्रीमतीको प्रेमीसँग काटीकुटी मिल्दथ्यो।

    ३) अपमृत्यु

    यो मेरो मृत्युपछिको कथा हो। मृत्यु भइसकेको मानिसले कसरी कथा लेख्छ भनेर सोच्नुभयो होला। यो कथा लकडाउनको बेलाको हो। सायद तपाईले कोरोना महामारीको बेला मेरो निधन भएको कुरा अनुमान गर्नुभयो होला।

    लकडाउनको बेलासम्म म बेरोजगार नै थिएँ। लकडाउनमा समय कटाउन पहिलोपटक कथा लेख्न सुरू गरें। त्यसभन्दा पहिले म मुक्तक र गीत लेखिबस्थें। कथा पूरा हुन बाँकी नै थियो। कथाका पात्रहरूमा बेमेल मात्र भएन, तिनमा महत्वाकाङ्क्षा पनि जाग्यो। हरेक पात्र आफूलाई केन्द्रमा राखेर शक्तिशाली हुन चाहन्थे। कथाको ‘म’पात्र आफूलाई सर्वोच्च ठान्थ्यो। पात्रहरूको झगडा मिलाउन नसक्नाले कथा अधुरै थियो। मेरो कथा सबैलाई भागबन्डा पुर्‍याउनुपर्ने गठबन्धनको सरकार नभएकाले म हतारिएको थिइनँ।

    बिस्तारै कथाका पात्रहरूले मोर्चाबन्दी गरेर मेरो मस्तिष्कमा चढाइ सुरू गरे। तिनले मलाई हायलकायल पारे। त्यसले मलाई खुब तनाव दियो। सोही तनावका कारण मैले परिवारका सदस्यहरूसँग झर्कोफर्को गर्न थालें।

    अति भएपछि एक दिन श्रीमतीले मसँग निहुँ खोजिन्। पात्रहरूले निहुँ खोजेर मलाई कमजोर बनाएको बेला श्रीमती पनि थपिइन्। अन्त्यमा हार मानेर उनलाई सारा समस्या र कथाको सार बताएँ।

    “त्यसो भए कथाको ‘म’ पात्रलाई मारिदिनोस्। नरहे बाँस नबजे बाँसुरी।” श्रीमतीले समाधान बताइन्।

    आफूले आफैलाई कसरी मारूँ भन्ने डरले म केही बोल्न सकिरहेको थिइनँ।

    “मार्नू भनेपछि मार्नू। अहिल्यै मार्नोस्।” श्रीमतीले आदेश दिइन्।

    “कसरी ‘म’ मेरै हत्या गर्न सक्छु? म मरेपछि तिमी पनि विधवा हुन्छ्यौ नि।” मैले डराउँदै भनें।

    “को विधवा? दिमाग खुस्कियो? त्यही भएर त मैले साहित्यतिर नलाग्नु भनेर पहिलेदेखि भनेको होइन। अरू कुरा जान्दिनँ। कहाँ जाँदा हुन्छ अब खुरूक्क काम खोज्नुहोस्।” रिसले फतफताउँदै श्रीमती भान्साकोठातिर गइन्।

    त्यसपछि मैले ‘म’ पात्रलाई मारें। संयोग कस्तो पर्‍यो भने ‘म’ पात्रलाई मारेकै दिन साउदी अरबमा काम गर्न जाने भिसा पनि आयो।

    ४) भिसा

    विदेशको मेरो पहिलो यात्रा थियो। चिडियाखाना अवलोकनका लागि निस्केको थिएँ। एयरपोर्टका कर्मचारीहरूले अनावश्यक दुःख दिए। अलिकति पैसा दिएर बल्लतल्ल बाहिर निस्कें। एयरपोर्टबाट बाहिर निस्केर चारैतिर हेर्दछु। बाहिरका सबै क्षेत्र खुला चिडियाखाना पो रहेछ।

    त्यहाँका दृश्यहरू देखेर आश्चर्यचकित भएँ। भेडाहरू भाषण सुनिरहेका थिए। गधाहरू कुरा नबुझेर हाँसिरहेका थिए। मदारीहरूले बाँदरहरू नचाइरहेका थिए। फ्याउराहरू त्यसै कराइरहेका थिए। बिनाकाम कुकुरहरू भुकिरहेका थिए। मैमत्त साँढेहरू डुक्रिरहेका थिए। बाघको छाला ओढेका स्यालहरू सिंहासनमा थिए। चिडियाखाना सञ्चालनका लागि नियम कानुन बनाउन उल्लुहरू संसद् नामको स्थानमा उँघिरहेका थिए।

    दृश्यहरू आँखाले हेरेर स्मृतिमा नअट्ने भए। त्यसपछि भिडियो क्यामरा निकालेर खिच्न थालें।

    अनुमतिबेगर किन फोटो खिचेको भन्दै प्रहरी हौं भन्ने दुई व्यक्तिले मेरो क्यामरा खोस्न थाले।

    “म पर्यटक हुँ।” मैले भनें।

    त्यसो भन्नेबित्तिकै मसँग पासपोर्ट होइन डलर मागे। अलिकति डलर दिएर तिनीहरूबाट छुटकारा लिएँ।

    त्यसपछि अलिक ढुक्क भएर फेरि भिडियो खिच्दै थिएँ।

    “हामी हुँदाहुँदै समाचार बनाउने तँ को होस्? कसको अनुमतिले समाचार सङ्कलन गरेको? प्रेसपास देखा।” आफूलाई पत्रकार भन्ने दुई व्यक्तिले मलाई धम्क्याए।

    “म पर्यटक हुँ।” डराउँदै मैले भनें।

    “त्यसो भए हामीलाई रक्सी र मासु खुवा।”

    उनीहरूले माग राखे।

    नजिकैको भट्टी पसलमा तिनीहरूलाई मासु र रक्सी किनिदिएपछि सन्तोषको सास फेरें।

    ती सारा झमेलाबाट मुक्ति मिलेपछि अब आनन्दले चिडियाखाना घुम्नुपर्ला भनेर सोच्दै थिएँ। भिसाको म्याद सकियो कहाँ घुमिराखेको भन्दै कसैले मलाई च्याप्प समात्यो। आत्तिंदै म अर्धनिद्रामा उठें।

    “कस्तो समय आयो हँ? सपना हेर्न पनि भिसा लगाउनुपर्ने?” रिसले म बर्बराएछु।

    “हामी सपना देख्नैका लागि म्यानपावर कम्पनीलाई थुप्रै पैसा तिरी भिसा लगाएर यहाँ आएका हौं।” मजदुर क्याम्प बसेको मेरो रूम पार्टनरले भन्यो।

    ५) नक्कली

    समाचार खोज्दै नक्कलीपुर राज्यमा पुगेको थिएँ। अनुसन्धान गर्दै जाँदा काम अनुसारकै देशको नाम रहेको पाएँ। त्यस देशको शासन व्यवस्था नै अरू देशको नक्कल गरिएको रहेछ।

    त्यहाँ ठग, तस्कर, भ्रष्टाचारी, अपराधी, ज्यानमारा आदि मन्त्री, सांसद, नेता बनेर नक्कली काम गर्दा रहेछन्। नक्कली कुरा गरेर जनतालाई झुक्याउँदा रहेछन्। नक्कली कागज तयार पारेर मन्दिर, गुठी र सरकारी जग्गा मात्र होइन मित्र राष्ट्रले दानमा दिएका कलकारखानाहरू पनि बेचेर खाँदा रहेछन्। त्यहाँ केही डाक्टर, इन्जिनियर, पाइलट आदि पनि नक्कली भेटिए। खाद्यसामग्री र औषधी मात्र होइन विषसमेत नक्कली विक्री हुने गरेको थाहा पाउँदा म आश्चर्यचकित भएँ।

    ती सबैको लिस्ट तयार पार्दै थिएँ। अचानक नक्कली प्रहरीहरू आइपुगे।

    “को हौ तिमी?” प्रहरीले मलाई सोधे।

    “पत्रकार हुँ।” मैले भनें।

    पत्रकार हुँ भन्नेबित्तिकै तिनले मलाई नक्कली आरोप लगाएर पक्रिए। सबै चिज नक्कली भएको नक्कलपुर राज्यका प्रहरीलाई सक्कली हो भन्ने आधार मसँग थिएन। ती नक्कली प्रहरीको झमेलाबाट सजिलै छुटकारा पाउँछु जस्तो लाग्यो।

    “लु हेर्नोस्, मेरो प्रेसपास।” प्रहरीलाई प्रेसपास देखाएँ।

    “यो प्रेसपास नक्कली हो।” प्रहरीले भने।

    मेरो प्रेस पासलाई नक्कली भन्दै नक्कली आरोप लगाएर पक्रेको मेरो मनले स्विकारेन। त्यसपछि मैले प्रहरीसँग प्रतिवाद गर्न थालेँ। चर्काचर्की हुँदै गर्दा प्रहरीसँग धकेलाधकेल भयो। प्रहरीले धकेल्नाले म डङ्ग्रङ्ङ लडें। ‘ऐया!’ भन्दै म जुरूक्क उठें। म त सपना देखेर आफ्नै पलङबाट भुइँमा पो लडेको रहेछु।

    हत्त न पत्त कोठाको बत्ती बालें। मैले काम गर्ने पत्रिका ‘नक्कली टाइम्स’को हिजोको अङ्क टेबुलमा देखें। पत्रिकामा छापिएका नक्कली समाचारहरू र हेडलाइनले मलाई गिज्याए जस्तो लाग्यो। पत्रिकामा नक्कलीपुर राज्यले जारी गरेको नयाँ नक्सा पनि छापिएको थियो। संयोगको कुरा त्यो नक्सा राती सपनामा भ्रमण गरेको देशको नक्सासँग दुरूस्त मिल्दथ्यो। त्यो देखेपछि अचानक मेरो सास रोकिए जस्तो भयो।

    “सपना पनि नक्कली देखिनु नि!” लामो सास तानेपछि मैले एक्लै बोलें।

    (साहित्यकार कृष्ण बजगाईंको छैटाैं लघुकथासङ्ग्रह ‘नग्न स्वप्न’बाट)

  • बाह्रबिसे–तातोपानी सडक स्तरोन्नतिका लागि चीन तयार

    बाह्रबिसे–तातोपानी सडक स्तरोन्नतिका लागि चीन तयार

    नेपालका लागि चिनियाँ राजदूत छन सङले बाह्रबिसे–तातोपानी सडक खण्डको स्तरोन्नतिका लागि चीन तयार रहेको बताएका छन्।

    मितेरी पुलसम्म पुग्ने सडक र नाका व्यवस्थापनबारे चिनियाँ राजदूतका पदाधिकारीसहित तातोपानी भन्सार कार्यालयमा बुधबार बेलुका भएको सर्वपक्षीय छलफलमा राजदूत छनले उक्त सडक स्तरोन्नति गर्न चीन तयार रहेको बताएका हुन्।

    नेपालले पनि सडक सुधारका लागि बजेट विनियोजन गरेको सन्दर्भमा दुवै देशले मिलेर बाटो बनाउन सकिने उनले बताए।

    पहिरो खसेको स्थान तथा सडकका अन्य भागको अध्ययनका लागि चिनियाँ प्राविधिक आउने जानकारी राजदूत छनले दिए। चीनबाट अत्याधुनिक उपकरण ल्याएर निर्माणमा सघाउने उनले बताए।

    सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सांसद माधव सापकोटाले उक्त सडक स्तरोन्नतिका लागि एक अर्ब २० करोड विनियोजन गरेको जानकारी दिँदै दुवै देशले मिलेर काम गर्न प्रस्ताव गरेका थिए।

    छलफलमा सडक डिभिजन कार्यालय दोलखाका प्रमुख अर्जुन श्रेष्ठले नेपालले तयार गरेको सडक स्तरोन्नतिको विस्तृत परियोजना प्रतिवेदन प्रस्तुत गरेका थिए।

    छलफलमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रुपक सापकोटा, भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङनोर्बु शेर्पा, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, भन्सार कार्यालयका प्रमुख, डिभिजन सडक कार्यालयका कर्मचारीको उपस्थिति थियो।

    विसं २०७२ को भूकम्पपछि बन्द भएको तातोपानी नाका २०८० भदौ १५ गतेदेखि खुलेको हो।

    प्रधानमन्त्री पुष्पकमल दाहालको गत असोजमा भएको चीन भ्रमणका क्रममा उक्त नाका पुग्ने सडकको स्तरोन्नति चीनले गरिदिने विषयमा भएको सहमतिका सन्दर्भमा चिनियाँ पक्षसँग पटकपटक छलफल भए पनि कार्यान्वयन हुन सकेको छैन। यद्यपि बुधबारको छलफलमा चिनियाँ पक्षबाट सकारात्मक जवाफ आएको थियो। –रासस

  • सिरोहियालाई नागरिकता दिने तत्कालीन सिडियो र शाखा अधिकृतलाई पक्राउ गर्ने तयारी

    सिरोहियालाई नागरिकता दिने तत्कालीन सिडियो र शाखा अधिकृतलाई पक्राउ गर्ने तयारी

    धनुषा प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

    प्रहरी स्रोतका अनुसार जिल्ला अदालत धनुषाबाट उनीहरूविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो।

    सिरोहियाले वि.सं. २०५७–०६–२९ मा नागरिकताको प्रतिलिपी लिँदा शरदकुमार भट्टराई धनुषाका प्रमुख जिल्ला अधिकारी थिए भने दाहाल शाखा अधिकृत रहेको बुझिएको छ।

    विदेशी बाबु–आमाबाट नेपाल अधिराज्यमा जन्म भएका नागरिकको नागरिकताहरूको दर्ता किताबमा नाम दर्ता रहेको देखिनुका साथै घासीराम मारवाडी (सिरोहिया) का सन्तानहरू गोपाल प्रसाद सिरोहिया, गोविन्द प्रसाद सिरोहिया र पुनम कुमारी सिरोहियाको नागरिकता अङ्गीकृत नेपाली भएको र नाम प्रस्ट नभएको कैलाश प्रसाद सिरोहियालाई वंशजको आधारमा कसरी नागरिकता दिइयो भन्ने आरोपमा दुबै जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो।

  • मधेस प्रदेशमा सबैभन्दा धेरै बेरुजु, सरकारी कार्यालय तर्फ सबैभन्दा धेरै

    मधेस प्रदेशमा सबैभन्दा धेरै बेरुजु, सरकारी कार्यालय तर्फ सबैभन्दा धेरै

    आर्थिक वर्ष २०७९/८० मा मधेस प्रदेशमा १ अर्ब ८५ करोड ४२ लाख ४२ हजार रुपैयाँ बराबरको बेरुजु भएको देखिएको छ।

    अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी मधेस प्रदेशमा बेरुजु देखिएको छ। बुधवार महालेखापरीक्षक कार्यालयले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बुझाएको प्रदेशको छैटौं प्रतिवेदनमा प्रदेशको मन्त्रालय तथा अन्य निकायसहित १४९ वटा कार्यालयको ४७ अर्ब ९५ करोड २१ लाख ३२ हजार रुपैयाँ बराबरको गरिएको लेखापरीक्षणमा सो बेरुजु देखिएको हो।

    प्रदेशको १३५ सरकारी कार्यालय र १४ वटा अन्य संस्था तथा समितिको लेखापरीक्षण गरिएको हो। जसमा सरकारी कार्यालयतर्फ १ अर्ब ५९ करोड १६ लाख १७ हजार र अन्य संस्था तथा समितितर्फ २६ करोड २६ लाख २५ हजार रुपैयाँ बराबरको बेरुजु रहेको छ।

    प्रतिवेदनमा १४९ वटा कार्यालयको गरिएको लेखापरीक्षणमा कायम गरिएको बेरुजुमा असुल गर्नुपर्ने ७ करोड ३१ लख ३ हजार, नियमिति गर्नुपर्ने १ अर्ब ३३ करोड २५ लाख ७१ हजार र पेश्की ४४ करोड ८५ लाख ६८ हजार रहेको छ। यसबाहेक विभिन्न योजनामा अनियमित भएको ३५ करोड ७९ लाख ४७ हजार र ९७ करोड ३९ लाख १२ हजार रुपैयाँ बिना कुनै प्रमाण कागजातकै भुक्तानी गरिएको छ।

    प्रतिवेदन अनुसार सबैभन्दा बढी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा ८२ करोड, ५४ लाख, ४५ हजार बेरुजु देखिएको छ। यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ४४ करोड ६० लाख ९५ हजार, सामाजिक विकास मन्त्रालयको १२ करोड ३ लाख ९३ हजार, उर्जा सिँचाई तथा खानेपानी मन्त्रालयको ७ करोड २८ लाख ३९ हजार, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको ४ करोड ९० लाख ४१ हजार र अन्य मन्त्रालय तथा निकायको ३४ करोड ४ लाख २९ हजार रुपैया बेरुजु रहेको छ।

    प्रदेश सरकारी कार्यालयतर्फ गत वर्षसम्मको पेश्की एक अर्ब ८३ करोड १५ लाख ६६ हजार रुपैयाँ बाँकी रहेकोमा यो वर्ष ३९ करोड ८२ लाख २१ ह्जार मात्र फछ्र्यौट भई १ अर्ब ४३ करोड ३३ लाख ४५ हजार बाँकी नै रहेको छ। यो वर्ष १३५ सरकारी कार्यालयको गरिएको लेखा परीक्षणमा प्रदेश सभा सचिवालयसहित १७ वटा कार्यालय र अन्य संस्था तथा समितितर्फ २ वटा कार्यालयको बेरुजु देखिएको छैन।

    बुधवार महालेखापरीक्षकको कार्यालयका सह–सचिव श्यामप्रसाद भण्डारीले प्रदेश प्रमुखको सचिवालयमा छैटौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाएका थिए। प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रतिवेदनको अध्ययन गरी प्रदेशमा आर्थिक सुशासन कायम गर्नका लागि प्रदेश सरकारलाई सुझाव दिने बताइन्।

    उनले महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले औँल्याएका विषयहरूको कार्यान्वयनले प्रदेशमा आर्थिक अनुशासन कायम गर्नमा ठूलो मद्दत पुग्ने बताइन्। प्रदेश प्रमुख भण्डारीले मधेस प्रदेशमा बेरुजु अन्य प्रदेशको तुलनामा बढी हुनु चिन्ताको विषय भएको बताउँदै यस विषयमा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउने पनि बताइन्।

    प्रतिवेदन बुझाउँदै महालेखापरीक्षक कार्यालयका सह–सचिव श्यामप्रसाद भण्डारीले गत वर्ष भन्दा थोरै बढी बेरुजु मधेस प्रदेशमा बढेको बताउँदै बेरुजु बढ्नुमा म्याद नाघेको पेश्की नै प्रमुख कारणको रुपमा रहेको बताए।

    नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम सात वटै प्रदेशका प्रदेश प्रमुखहरूलाई प्रदेश मातहतको निकायहरूमा भएको लेखा परीक्षकको प्रतिवेदन बुझाउने संवैधानिक व्यवस्था रहेको छ।

    हालसम्मको बेरुजुको अवस्था हेर्दा कोशी प्रदेशको पाँच अर्ब ५८ करोड चार लाख सात हजार, वागमतीको चार अर्ब २८ करोड पाँच लाख ६१ हजार, गण्डकीको दुई अर्ब ६८ करोड ५५ लाख ४२ हजार बराबर छ। त्यस्तै, लुम्बिनीको चार अर्ब दुई करोड नौ लाख ६९ हजार, कर्णालीको रु तीन अर्ब ९४ करोड ८२ लाख ५४ हजार र सुदूरपश्चिम प्रदेशको दुई अर्ब ६८ करोड २९ लाख २९ हजार बराबर बेरुजु देखिएको छ।

  • मतदान अघि ध्यानमा लिन हुँदै मोदी

    मतदान अघि ध्यानमा लिन हुँदै मोदी

    भारतमा जुन १ मा अन्तिम चरणको लोकसभा निर्वाचनका लागि मतदान हुनेछ। भारतीय चुनाव आयोगले विभिन्न चरणमा गरी यसपटक निर्वाचनको तालिका सार्वजनिक गरेकोमा अन्तिम चरणको चुनाव शनिवार हुनेछ। अन्तिम चरणको चुनावमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादव लगायतका दिग्गजहरू मैदानमा रहने छन्।

    चुनाव आयोगका अनुसार भारतमा हुने अन्तिम चरणको निर्वाचनका लागि आजबाट मौन अवधि सुरु हुनेछ। चुनावी प्रचारप्रसार सकिएसँगै भारतीय प्रधानमन्त्री मोदीको निकै चर्चा भइरहेको छ।

    पछिल्लो १० वर्षदेखि सत्ता सम्हालिरहेका मोदी तेस्रो कार्यकालका लागि पनि तयार रहेको भारतीय राजनीतिक विश्लेषकहरूले बताउन थालेका छन्। सन् २०२४ को निर्वाचनमा पनि भारतीय जनता पार्टीले नै जित हासिल गर्ने र मोदी नै भारतको प्रधानमन्त्री बन्ने आँकलन भइरहेको छ।

    यी सबकाबीच मोदीको धार्मिक यात्रा पनि अहिले चर्चाको विषय बनेको छ। धर्ममा निकै विश्वास राख्ने भारतीय प्रधानमन्त्री मोदीले आफ्ना पछिल्लो निर्वाचन जस्तै यसपटक पनि धार्मिक यात्रा सुरु गरेका छन्।

    चुनाव प्रचारप्रसार बन्द भएसँगै उनी कन्याकुमारीमा ध्यान गर्न जाँदैछन्। भोलिबाट सुरु हुने ध्यान जुन १ सम्म जारी रहने छ। २४ घन्टासम्मको ध्यानका लागि प्रधानमन्त्री मोदी आजै कन्याकुमारीका लागि प्रस्थान गर्नेछन्। यसअघि सन् २०१४ को निर्वाचनका बेला उनी शिवाजीको प्रतापगढ र २०१९ मा उत्तराखण्डस्थित केदारनाथ गुफा गएका थिए।

    कन्याकुमारीस्थित विवेकानन्द रक मेमोरियलमा १३२ वर्ष अघि स्वामी विवेकानन्दले ३ दिनसम्म ध्यान गरेका थिए। प्रधानमन्त्री मोदीले पनि सोही स्थानमा गएर ध्यान गर्नेछन्।

    पौराणिक र ऐतिहासिक दुबै प्रकारले निकै महत्त्वपूर्ण मानिएको उक्त शिलामा देवी पार्वतीले एउटै खुट्टामा उभिएर भगवान शिवका लागि उपासना गरेको धार्मिक मान्यता रहेको छ। साथै भारतको दक्षिणी भागको यो महत्त्वपूर्ण स्थान पनि हो। भारतको पूर्वी र पश्चिमी तट रेखा यहाँ जोडिन्छ भने हिन्द महासागर, बङ्गालको खाडी र अबर सागरको यो मिलन बिन्दु पनि हो।

    भारतीय प्रधानमन्त्री मोदीले लोकसभा निर्वाचनका लागि उत्तर प्रदेशको वाराणसी लोकसभा सिटका लागि उम्मेदवारी दिएका छन्।

  • मतदान अघि ध्यानमा लिन हुँदै मोदी

    मतदान अघि ध्यानमा लिन हुँदै मोदी

    भारतमा जुन १ मा अन्तिम चरणको लोकसभा निर्वाचनका लागि मतदान हुनेछ। भारतीय चुनाव आयोगले विभिन्न चरणमा गरी यसपटक निर्वाचनको तालिका सार्वजनिक गरेकोमा अन्तिम चरणको चुनाव शनिवार हुनेछ। अन्तिम चरणको चुनावमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादव लगायतका दिग्गजहरू मैदानमा रहने छन्।

    चुनाव आयोगका अनुसार भारतमा हुने अन्तिम चरणको निर्वाचनका लागि आजबाट मौन अवधि सुरु हुनेछ। चुनावी प्रचारप्रसार सकिएसँगै भारतीय प्रधानमन्त्री मोदीको निकै चर्चा भइरहेको छ।

    पछिल्लो १० वर्षदेखि सत्ता सम्हालिरहेका मोदी तेस्रो कार्यकालका लागि पनि तयार रहेको भारतीय राजनीतिक विश्लेषकहरूले बताउन थालेका छन्। सन् २०२४ को निर्वाचनमा पनि भारतीय जनता पार्टीले नै जित हासिल गर्ने र मोदी नै भारतको प्रधानमन्त्री बन्ने आँकलन भइरहेको छ।

    यी सबकाबीच मोदीको धार्मिक यात्रा पनि अहिले चर्चाको विषय बनेको छ। धर्ममा निकै विश्वास राख्ने भारतीय प्रधानमन्त्री मोदीले आफ्ना पछिल्लो निर्वाचन जस्तै यसपटक पनि धार्मिक यात्रा सुरु गरेका छन्।

    चुनाव प्रचारप्रसार बन्द भएसँगै उनी कन्याकुमारीमा ध्यान गर्न जाँदैछन्। भोलिबाट सुरु हुने ध्यान जुन १ सम्म जारी रहने छ। २४ घन्टासम्मको ध्यानका लागि प्रधानमन्त्री मोदी आजै कन्याकुमारीका लागि प्रस्थान गर्नेछन्। यसअघि सन् २०१४ को निर्वाचनका बेला उनी शिवाजीको प्रतापगढ र २०१९ मा उत्तराखण्डस्थित केदारनाथ गुफा गएका थिए।

    कन्याकुमारीस्थित विवेकानन्द रक मेमोरियलमा १३२ वर्ष अघि स्वामी विवेकानन्दले ३ दिनसम्म ध्यान गरेका थिए। प्रधानमन्त्री मोदीले पनि सोही स्थानमा गएर ध्यान गर्नेछन्।

    पौराणिक र ऐतिहासिक दुबै प्रकारले निकै महत्त्वपूर्ण मानिएको उक्त शिलामा देवी पार्वतीले एउटै खुट्टामा उभिएर भगवान शिवका लागि उपासना गरेको धार्मिक मान्यता रहेको छ। साथै भारतको दक्षिणी भागको यो महत्त्वपूर्ण स्थान पनि हो। भारतको पूर्वी र पश्चिमी तट रेखा यहाँ जोडिन्छ भने हिन्द महासागर, बङ्गालको खाडी र अबर सागरको यो मिलन बिन्दु पनि हो।

    भारतीय प्रधानमन्त्री मोदीले लोकसभा निर्वाचनका लागि उत्तर प्रदेशको वाराणसी लोकसभा सिटका लागि उम्मेदवारी दिएका छन्।

  • पञ्चकन्या समूहले बाँड्यो जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति

    पञ्चकन्या समूहले बाँड्यो जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति

    उद्यमी एवं पञ्चकन्या समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठका नाममा स्थापित अक्षयकोषले गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

    तिलोत्तमा नगरपालिका १५ मा रहेको पञ्चकन्या समूहले सोही वडाको पशुपति माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो। विसं २०७० मा स्थापित अक्षयकोषबाट बुधबार छात्रवृत्ति वितरण गरिएको पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले जानकारी दिए।

    अक्षयकोषबाट उक्त विद्यालयमा अध्यययनरत कक्षा ११ का सुरक्षा गोदारलाई १० हजार नगदसहित शैक्षिक सामग्री, सन्दीप यादव, रमेश भुसाल, सविना गाहा र बादल परियारलाई जनही पाँच हजार र शैक्षिक सामग्री प्रदान गरिएको हो। –रासस