Blog

  • कोशी प्रदेश टी-१० क्रिकेट: तीन खेलमा एनबीएससीको दुई जित

    कोशी प्रदेश टी-१० क्रिकेट: तीन खेलमा एनबीएससीको दुई जित

    प्रथम कोशी प्रदेश दिवा रात्रिकालीन टी–१० क्रिकेट प्रतियोगितामा एनबीएससी लायन्स क्रिकेट क्लबले तीन खेलमा लगातार दुई जित हात पारेको छ।

    बुधबार विराटनगर-६ स्थित एमबिजे क्रिकेट मैदानमा भएको पहिलो खेलमा पूर्वाञ्चल क्रिकेट एकेडेमीलाई ८ विकेटले पराजित गर्दै एनबीएससीले लगातार दुई जित हात पारेको हो।

    लगातारकाे जितसँगै एनबीएससीले चार अंक जोडेको छ। पूर्वाञ्चलले दिएको ८५ रनको लक्ष्य एनबीएससीले ६.४ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्‍यो।

    एनबीएससीको जितको लागि सन्तोष कार्कीले आक्रामक ब्याटिङ गरे। उनले २० बलमा अविजित ४१ रन बनाए। उनले ४ छक्का र ३ चौका प्रहार गरे। अतहर अन्सारी ७ बलमा १८ रनको योगदान गर्दा मनिष थापाले १० बलमा १८ रन बनाए। भीम सार्कीले ७ रन जोडे।

    पूर्वाञ्चलका बलर बिकासले २ ओभरमा २३ रन खर्चेर २ विकेट लिए।

    यसअघि ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित १० ओभरमा ८ विकेटको क्षतिमा ८४ रन मात्रै बनायो। जसमा विकास लोहियाले ११ बलमा २१ रन बनाए। अंकित सुवेदीले १२ र शरद भेषावकरले ९ बलमा १० रन बनाए।

    एनबीएससीका बलर प्रशान्त सिंह राजपुतले २ ओभरमा १० रन खर्चेर ३ विकेट लिए। मयङ्क कुमारले २ र फिरोद अन्सारीले १ विकेट लिए। उनी खेलको प्लेर अफ द म्याच घोषित भए।

    एनबीएससीले अहिलेसम्म तीन खेल खेलेको मध्ये दोस्रो दिनको खेलमा वाइआरसीसी विराटसँग ६ विकेटले पराजित भएको थियो।

  • न्यूरोडको सडक पुनर्स्थापना गर्न महानगरलाई सडक डिभिजनको २ दिने अल्टिमेटम

    न्यूरोडको सडक पुनर्स्थापना गर्न महानगरलाई सडक डिभिजनको २ दिने अल्टिमेटम

    काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने योजना अन्तर्गत सडक खन्ने काम अघि सारेपछि साे कार्य कानुन संवत् नभएको भन्दै सडक डिभिजनले २ दिनभित्र सडक पुनर्स्थापना गर्न महानगरलाई अल्टिमेटम दिएको छ।

    डिभिजनले पटक-पटक पत्र मार्फत सडक खन्ने तथा भत्काउने काम बन्द गर्न भनेता पनि महानगरले सुनवाइ नगरेपछि सडक डिभिजनले कारबाही गर्ने चेतावनी समेत दिएको छ।

    डिभिजनले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘यस कार्यालयको कार्यक्षेत्र भित्र सहमति विना कुनै पनि काम नगर्न नगराउनु हुन भनी अनुरोध गरिए तापनि विना सहमति न्यूरोड स्थित जुद्ध सालिक इन्द्रचोक सडक खण्डमा सडक खन्ने तथा भत्काउने काम भएको हुँदा तुरुन्त रोकी सडक दिन भित्र पुनर्स्थापना गरिदिनु हुन अनुरोध छ।’

    डिभिजनले उक्त कार्य सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ को बर्खिलाप हुने भएकाले अटेर गरेको खण्डमा सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारबाही प्रक्रिया अगाडी बढाउने बताएको हाे।

    उसले भनेको छ ‘नेपालको प्रचलित कानून भन्दा ठूलो कोही नहुने र प्रचलित कानून अक्षरशः पालना गर्नु पर्ने कर्तव्य एवं दायित्व सबैको हुने कुरा तहां महानगरपालिकालाई विदितै छ। तसर्थ, तहांबाट भत्काइएको सडकखण्ड २ दिन भित्र पुनर्स्थापना गरिदिनु हुन अनुरोध छ। अन्यथा सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारबाही प्रक्रिया अगाडी बढाउन बाध्य हुने ब्यहोरा समेत अनुरोध छ।’

    डिभिजन प्रमुख नारायण दत्त भण्डारीले हस्ताक्षर गरेको चिठी बुधबार महानगरलाई बुझाइएको छ।

    सार्वजनिक सडक ऐन, २०३१ मा सार्वजनिक सडक बिगार्ने, अवरोध गर्ने तथा भत्काउनेलाई जरिमाना तथा कैद सजाय गर्ने व्यवस्था गरिएको छ।

    यसअघि सडक डिभिजनले २०८१ जेठ ३ गते महानगरलाई पहिलो पटक चिठी पठाएर काठमाडौँको न्युरोड सडक डिभिजन कार्यालय काठमाडौंको कार्यक्षेत्र भित्र पर्ने भएकोले डिभिजनको सहमति विना उक्त क्षेत्रमा कुनै पनि काम नगर्न/नगराउन अनुरोध गरेको थियो।

    यसैगरी डिभिजनले २०८१ जेठ १३ गने दोस्रो पटक चिठी पठाएर भत्काएको सडकलाई पुनर्स्थापना गर्न आग्रह गरिएको थियो। दोस्रो पटक चिठी पठाउँदा पनि नटेरेको भन्दै डिभिजनले तेस्रो पटक चिठी पठाएको हो। यस पटक भने कारबाही गर्ने चेतावनी दिइएको छ।

  • हाजिरी जमानतमा छुटे कैलाश सिरोहिया

    हाजिरी जमानतमा छुटे कैलाश सिरोहिया

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा छुटेका छन्।

    सिरोहियालाई बुधबार हाजिरी जमानतमा छोडेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन आवाले जानकारी दिए।

    उनले भने, ‘उहाँलाई हाजिरी जमानतमा छोड्न जिल्ला प्रहरी कार्यालय ललितपुरलाई सिफारिस गरेका थियौँ। उहाँहरूले पनि परिवारको जिम्मामा उहाँलाई हाजिरी जमानतमा छोडेको छ। प्रहरीले बोलाएको समयमा हाजिरी हुने गरी उहाँलाई छोडेका हौँ।’

    स्वास्थ्य अवस्थामा समस्या देखिएपछि सिरोहियालाई छाडिएको आवाले जानकारी दिए।

    सोमबार जिल्ला अदालत धनुषाले उनलाई तेस्रो पटक तीन दिनको म्याद थप गरेको थियो। तेस्रो पटक तीन दिनको म्याद थप गर्दा सिरोहियाको स्वास्थ्य अवस्थाको प्रतिकूलताको कारण उपयुक्त अस्पतालमा लगेर उनले नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका चिकित्सकबाट परीक्षण गर्न उपयुक्त हुने आदेश दिएको थियो।

    मुटुको चालमा थप समस्या आएको भन्दै सिरोहियालाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको थियो। उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

  • सगरमाथा दिवसमा भक्कानिए प्रधानमन्त्री, भने ‘आरोही भनेपछि आफ्नै परिवार जस्तो लाग्छ’

    सगरमाथा दिवसमा भक्कानिए प्रधानमन्त्री, भने ‘आरोही भनेपछि आफ्नै परिवार जस्तो लाग्छ’

    आरोही, पर्यटन व्यवसायी लगायतका प्रतिनिधिले खचाखच नेपाल प्रज्ञा-प्रतिष्ठानको सभा हलमा आज ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको औपचारिक समारोह सञ्चालन भइरहेको थियो।

    आरोही कल्याणकारी कोष बनाउने घोषणा गरेर औपचारिक मन्तव्य समापन गर्नुअघि प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहालले विगत स्मरण गरे।

    उनी एक्कासि भक्कानिए। उनको गला अवरुद्ध भयो। आँखा रसाए। केही छिनमा उनी सम्हालिए अनि भने, ‘सगरमाथा आरोहीलाई आज सम्मान गर्ने अवसर प्राप्त भयो। मेरो आफ्नै परिवारका दुई सदस्य छोरा र बुहारीले सगरमाथा आरोहण गरेको हुनाले मलाई आरोही भनेपछि आफ्नै परिवारको सदस्य जस्तै महसुस हुन्छ।’

    उनको भावुकताले केही बेर सभा हलका सहभागी सबै भावविहल बने। उनले आरोहीको कल्याणकारी कोष बनाउने कार्यमा सरकारले पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरे।

    उनले भने, ‘आरोहीको हकहित र उनीहरुको सुरक्षाका लागि आरोही कल्याणकारी कोष बनाइयोस् भनिएको छ। हामी (सरकार) अर्थ मन्त्रालयसँग समन्वय गरेर कोष बनाउनेतिर पहल गर्ने विश्वास दिलाउन चाहन्छु, त्यसका साथै पर्वतीय पर्यटन क्षेत्रलाई व्यावसायिकता वृद्धि तथा व्यवसायलाई सहज बनाउन कर छुटको व्यवस्थाका लागि पहल गर्ने विश्वास दिलाउँछु।’

    प्रधानमन्त्री दाहालले सगरमाथा दिवसले नेपालको पर्यटकीय आगमन वृद्धि गर्न, हिमालको संरक्षण गर्न, हिमाली क्षेत्रमा भइरहेको फोहर न्यूनीकरण गर्न एवं जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

    सगरमाथाबाट आरम्भ भएको हिमाल आरोहणको यात्रा नेपाललगायत विश्वका विभिन्न हिमशिखरहरूको आरोहण हुँदै विश्वव्यापी फैलिएको उल्लेख गर्दै सरकारले हिमाल आरोहणलाई सुरक्षित र आरोहीहरुको आत्मसम्मानलाई उच्च प्राथमिकता राखेर नीति तथा कार्यक्रम तर्जुमा गर्ने जानकारी दिए।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले प्रधानमन्त्रीले सरकार प्रमुखको हैसियतले घोषणा गरेको आरोहीको कल्याण कोष गठन गर्ने विषयलाई पर्यटन मन्त्रालयकोतर्फबाट औपचारिक प्रस्ताव अगाडि बढाइने उल्लेख गरे।

    सरकारले आगामी वर्ष १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको र यसलाई सफल बनाउन पर्यटन क्षेत्रका सरोकारवालासँग सहकार्य र समन्वयकासाथ लक्ष्य पुरा गर्न पहल गर्ने पर्यटनमन्त्रीको भनाइ थियो।

    पर्यटनमन्त्री तामाङले नेपालको समग्र पर्यटन र विशेषतः पर्वतीय पर्यटनमा देखापरेको समस्या समाधानका लागि सरकार तत्पर रहेको बताए।

    उनले बढ्दो तापमान र हिमाली क्षेत्रमा बढ्दो मानवीय गतिविधिका कारण वातावरणमा परेको नकारात्मक प्रभावलाई सन्तुलन कायम गर्न सगरमाथाको आधार शिविरको समग्र अध्ययनका लागि कार्यदल बनाइसकिएको र त्यसले चाँडै प्रतिवेदन सरकारलाई बुझाउने जानकारी दिए।

    उनले प्रतिवेदनका आधारमा अघि बढ्ने बताए। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सगरमाथाको संरक्षण र प्रवर्द्धनमा प्रदेश सरकारले सङ्घीय सरकारसँगको समन्वय र सहकार्य प्रभावकारी रहने विश्वास व्यक्त गरे।

    उनले जलवायु परिवर्तनको जोखिमबाट हिमाल संरक्षणका लागि पहल गरिनुपर्नेमा जोड दिए।

    सगरमाथा दिवस निरन्तर मनाइने

    सरकारले अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई विशेष दिवसका रुपमा मनाउने भएको छ।

    विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलो मानव पाइला टेकेको दिनलाई अर्थात् प्रत्येक वर्ष मे २९ तारिखलाई सगरमाथा दिवसका रुपमा मनाइने भएको हो।

    सन् १९५३ मा नेपाली तेन्जिङ नोर्गे शेपा र सर एडमण्ड हिलारीले सगरमाथाको चुचुरोमा पहिलो पाइला टेकेको ७१ वर्ष पुगेको छ। सोही आरोहण स्मरण गर्दै सगरमाथा दिवस मनाउने निर्णय गरिएको हो।

    सन् २००८ देखि नेपालमा सगरमाथा दिवस मनाउन थालिएको थियो। अघिल्लो वर्ष १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसकारुपमा मनाइएको थियो।

    सरकारले यो वर्षदेखि सगरमाथा आरोहण सुरु भएको वर्षदेखिकै अवधिलाई जोडेर ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाएको हो।

    अन्तर्राष्ट्रिय जगतमा सगरमाथा आरोहण सुरु भएको दिनलाई नै सगरमाथा दिवसका रुपमा मनाउने गरिएको छ। सगरमाथाको गौरव, पहिचानलाई विश्वभर फैलाउन आरोहण सुरु भएको दिनलाई मान्यता दिई नेपालमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन सुरु गरिएको हो।

    सरकारद्वारा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा मङ्गलबार प्रस्तुत आर्थिक वर्ष २०८१र०८२ को बजेटमा प्रत्येक वर्ष मे २९ लाई सगरमाथा अन्तर्राष्ट्रिय विशेष दिवसका रुपमा मनाउने घोषणा गरिएको छ।

    दिवसका अवसरमा हिमाली पर्यटन प्रवर्द्धनमा विशिष्ट योगदान पुर्‍याउने स्वदेशी तथा विदेशी व्यक्ति, सङ्घसंस्थालाई सम्मान गरिने जनाइएको छ।

    सगरमाथा आरोही सङ्घका महासचिव शिवबहादुर सापकोटाले सरकारले आरोही कल्याण कोष घोषणा गरेको विषयले आरोहीको मनोबल उकासेको र साहसिक पर्यटनका निम्ति महत्त्वपूर्ण फड्को भएको उल्लेख गरे।

    उनले सङ्घको लामो पहलपछि आरोहीलाई परिचयपत्र दिन सुरु गरिएको भन्दै सरकारको निर्णयबाट पर्वतारोही र पर्वतारोहण क्षेत्र हर्षित भएको प्रतिक्रिया दिए।

    कार्यक्रममा सगरमाथा आरोहणमा कीर्तिमान कायम गर्ने आरोही एवं सरोकारवालालाई सम्मान गरिएको थियो। हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन्। विभिन्न कीर्तिमान कायम भएका छन्।

    अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार लाक्पा सोनाम शेर्पालाई

    नगद एक लाख राखिएको अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार वरिष्ठ पर्यटन व्यवसायी एवं आरोही लाक्पा सोनाम शेर्पालाई प्रदान गरिएको छ।

    शेर्पा पाँच दशकदेखि पर्यटन तथा पर्वतारोहण क्षेत्रमा सक्रिय छन्। उनले विगत २५ वर्षदेखि एयरलाइन्स व्यवसायमार्फत पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याएका छन्।

    यस्तै नगद ५० हजार राशिको तेञ्जिङ हिलारी पुरस्कार आरोहीहरु पेमा छिरिङ शेर्पा, नरेन्द्र साही, ग्याल्जे शेर्पा, ल्हाक्पा डेण्डी शेर्पा र आङ्ग सार्की शेपालाई प्रदान गरिएको छ।

    आरोहीलाई ब्याच तथा परिचयपत्र

    त्यसैगरी सगरमाथा आरोहीलाई ब्याच तथा परिचयपत्र प्रदान गरिएको छ।

    सगरमाथा आरोही सङ्घका महासचिव माया शेर्पा, महासचिव शिवबहादुर सापकोटा तथा आरोही दावा स्टेफन शेर्पा, मिङ्मा ग्याबु शेर्पा, फुञ्जो झामु शेर्पा, बिना मगरलाई साङ्केतिकरुपमा परिचयपत्र दिइएको हो। यो वर्ष करिब पाँच सयलाई परिचयपत्र दिइने जनाइएको छ।

    त्यस्तै ब्याच तथा परिचयपत्र नेपालीतर्फ मिङ्मा शेर्पा, सरल सहयात्री पौडेल, कर्मा तेञ्जिङ, लाक्पा शेर्पा, सोना शेर्पा, दावा याङ्जु शेर्पा, नाडसाल छयोटोन लामा तथा विदेशीमा भारत, अष्ट्रेलियन आरोही अलि पेप्परसहित भारत, बुल्गेरिया, विभिन्न सात आरोहीलाई ब्याच र परिचयपत्र प्रदान गरिएको छ।

    सगरमाथा नामाकरण गर्ने इतिहासविद् बाबुराम आचार्यलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको छ।

    ब्याच तथा परिचयपत्र र विभिन्न अवार्ड प्रधानमन्त्री दाहालले प्रदान गरेका थिए। यसै वर्षदेखि सुरु भएको ७५ राशिको इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार नापी विभागका नापी अधिकृत एवं आरोही खिमलाल गौतमलाई प्रदान गरिएको थियो।

    कोशी प्रदेश सरकारकातर्फबाट विभिन्न पाँच आरोहीलाई पुरस्कृत गरिएको थियो।

    पर्यटन विभागका अनुसार यस वर्षको याममा सगरमाथा आरोहणका लागि चार सय २४ ले अनुमति लिएकामा आरोही र शेर्पा सहयोगी गरी छ सयभन्दा बढीले सगरमाथा आरोहण गरेका छन्। -सिबी अधिकारी/रासस

  • कार दुर्घटनामा २ जनाको मृत्यु

    कार दुर्घटनामा २ जनाको मृत्यु

    मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।

    काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ६ च ९३७९ नम्बरको कार आफैँ अनियन्त्रित भएर सडकबाट करिब २५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो।

    दुर्घटनामा नाम थर, ठेगाना नखुलेका एक बालिका र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

    दुर्घटनामा २ जना महिला र एक पुरुष घाइते भएका छन्। मृतक र घाइतेको परिचय खुल्न नसकेको भण्डारीले बताए। दुर्घटनामा घाइते भएका पाँच जनालाई उद्धार गरेर उपचारमा पठाइएकोमा २ जनाको मृत्यु भएको हो। घाइतेको हेटौँडामा उपचार भइरहेको छ। दुर्घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • दाँतको उपचार गराउन वीर अस्पताल पुगे प्रधानमन्त्री दाहाल

    दाँतको उपचार गराउन वीर अस्पताल पुगे प्रधानमन्त्री दाहाल

    प्रधानमन्त्री पुष्पकमल दाहाल दाँतको उपचार गराउँन वीर अस्पताल पुगेका छन्।

    बुधबार दिउँसो प्रधानमन्त्री दाहाल दाँतको उपचार गराउँन वीर अस्पताल पुगेका हुन्।

    अहिले डा.रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचारको काम गरिरहेको छ।

  • नेपालमा सिको घडीले आफ्नो पहिलो फ्ल्यागशिप स्टोर खोल्यो

    नेपालमा सिको घडीले आफ्नो पहिलो फ्ल्यागशिप स्टोर खोल्यो

    प्रसिद्ध जापानीज वाच ब्राण्ड सिकोले नेपालमा आफ्नो पहिलो फ्ल्यागसिप स्टोर संचालनमा ल्याएको छ । काठमाडौंको दरबारमार्गस्थित वान दरबार मलमा देशकै पहिलो सिको बुटिक सञ्चालनमा ल्याएको हो । विभिन्न माध्यमबाट दशकौं अगाडीदेखि नेपाली उपभोक्तामाझ लोकप्रिय सिकोको नेपालमा बुटिक नै सञ्चालनमा आएको यो पहिलो पटक हो ।

    उद्घाटन समारोहका लागि एक विशेष सन्देश पठाउँदै सिकोका प्रेसिडेन्ट निलान्द्री मजुमदार भन्छन्, ‘हामी काठमाडौँमा हाम्रो पहिलो स्टोर खोल्न पाउँदा रोमाञ्चित छौं, संस्कृति, सम्पदा र इतिहासमा धनी सहर काठमाडौंमा हाम्रो उपस्थितिले हामीलाई उत्साही बनाएको छ । आधुनिकता तर्फ बढीरहेको बजार हो जसले गुणस्तर र क्राफ्टम्यासिप बुझ्ने दर्शकहरूलाई प्रतिनिधित्व गर्दछ । हामी विश्वस्त छौं कि हाम्रो नयाँ स्टोरले नेपालका घडी प्रेमीहरू र सङ्कलकहरूलाई अवस्य आकर्षित गर्नेछ ।’

    नेपाली उपभोक्ताहरूले सिकोको पछिल्लो संग्रह अनुभव गर्ने विशेष अवसर यस स्टोरमा पाउनेछन्, जसले सिको ब्रान्डको क्राफ्टम्यानसिप र जापानी परम्पराको समर्पणलाई देखाउनेछ ।

    यस स्टोरमा आम उपभोक्ताले घडी किन्दा अनुपम अनुभव प्रदान गर्ने वाचा गरेको छ भने ब्यक्ति अनुसारका विविध रुचि र प्राथमिकताहरूका लागि उपयुक्त सिको घडीहरूको विभिन्न २ सयभन्दा बढी मोडलहरु एकै स्थानमा उपलब्ध गराएको छ ।

    सिको एक जापानी घडी निर्माता हो जसले सन् १८८१ देखि घडी बनाउँदै आएको छ ।

  • माधव नेपालसहित देउवा निवासमा विपक्षी दलहरुको छलफल

    माधव नेपालसहित देउवा निवासमा विपक्षी दलहरुको छलफल

    बूढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी दलको बैठक जारी छ।

    देउवा निवासको बैठकमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारी सहभागी थिए।

    उक्त बैठकमा नेकपा एसका अध्यक्ष माधव नेपाल र प्रमुख सचेतक मेटमणि चौधरी पनि सहभागी भएका हुन्।

    बैठकमा मधेस सरकार गठनको विषयमा छलफल हुने जनाइएको छ।

  • काभ्रेमा ७ सवारी एक आपसमा ठोकिँदा २ घाइते

    काभ्रेमा ७ सवारी एक आपसमा ठोकिँदा २ घाइते

    काभ्रेमा सात सवारी एक आपसमा ठोकिँदा २ जना घाइते भएका छन्।

    बुधबार बेलुका करिब ४ बजेको समयमा बनेपा नगरपालिका-१३ साँगामा सबै सवारीहरू एक आपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

    प्रहरीका अनुसार साँगाको पुतली रिसोर्ट अगाडि हाइवेको साइडमा रोकी राखेको बा.प्र. ०१००३ क ९९४५ नम्बरको ट्याङ्करसँग साँगाबाट बनेपा तर्फ आइरहेको बा ६३ प ७ नम्बरको मोटरसाइकल ठोकिन पुगेकाे थियाे।

    यस्तै बा.प्र.०२-०४४ प ०५७३ नम्बरको स्कुटी र सोही दिशाबाट आइरहेको बा. ७ च ४५३७ नम्बरको कार सोही ट्याङ्करमा ठोकिन पुग्याे।

    त्यसपछि बा.प्र-०१-०२६ च ९२३९ नम्बरको योद्धा गाडी बिएसिओ १२३ नम्बरको कारमा गई ठोकिएको थियाे। यस्तै ना-७ ख ५४१ नम्बरको मालवाहक ट्रक पनि सोही कारमा गई ठोकिएको थियो।

    दुर्घटनामा काभ्रे पनौती नगरपालिका-२ बस्ने ४८ वर्षिय प्रकाश सापकोटा र बनेपा-५ बस्ने १८ वर्षिय देविना कर्मचार्य घाइते भएका छन्। उनीहरुको शिरमेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार ट्याङ्कर र मालवाहक ट्रक बाहेक सबै सवारी साधनमा क्षति पुगेकाे छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    तस्बिरहरु :

  • महिलाहरु राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी

    महिलाहरु राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलाहरु राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताएकी छिन्।

    बुधवार नेकपा(एमाले)ले आयोजना गरेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले महिलाहरु राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताएकी हुन्।

    उनले महिलाहरुले पेशा, वर्ग र महिलाका सामुदायिक मुद्दाहरुका साथै राष्ट्रिय मुद्दाहरुमा पहलकदमी लिँदै राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताइन्। उनले महिलाहरुले केवल महिलाको मात्रै विषय नभएर समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एजेण्डाहरुमा पनि नेतृत्व लिनुपर्ने बताइन्।

    पूर्वराष्ट्रपति भण्डारीले लैंगिक समानताको विषय महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएको उल्लेख गर्दै सचेतना तथा सशक्तिकरणका अभियानहरु महिला र पुरुष दुवैमा लक्षित गर्नुपर्नेमा जोड दिइन्। उनले महिलाविरुद्ध हुने असमानता, विभेद र हिंसाको मुल कारण पुरुष नभएर शोषणमा आधारित सामाजिक र आर्थिक व्यवस्था रहेको बताइन्।

    उनले व्यक्तिगत सचेतना वा सशक्तिकरणमा मात्र सिमित नभइ महिला मुक्तिको सवाललाई समग्र सामाजिक मुक्ति वा रुपान्तरणको विषयसँग जोड्नुपर्ने बताइन्।