Blog

  • कोशी प्रदेशको बेरुजु एक अर्ब ३१ करोड

    कोशी प्रदेशको बेरुजु एक अर्ब ३१ करोड

    महालेखापरीक्षकको कार्यालयले कोशीका प्रदेशका प्रदेश प्रमुखलाई छैटौं लेखा परीक्षण प्रतिवेदन बुझाएको छ। कार्यालयले बुधबार प्रदेश प्रमुख पर्शुराम खापुङलाई प्रतिवेदन बुझाएको हो।

    महालेखा परीक्षकको कार्यालयका नायव महालेखापरीक्षक श्रीप्रसाद राईले आर्थिक वर्ष २०७९/८० को उक्त प्रतिवेदन प्रदेश प्रमुख खापुङलाई हस्तान्तरण गरेका हुन्।

    प्रतिवेदनमा कोशी प्रदेशको बेरुजु एक अर्ब ३१ करोड ७६ लाख १० हजार रहेको कोशी प्रदेशका महालेखापरीक्षक श्रीप्रसाद राईले जानकारी दिए।

    लेखापरीक्षकको कार्यालयले प्रदेश सरकार अन्तर्गतका मन्त्रालय तथा निकायसमेत गरी १८० वटा कार्यालयको ४७ अर्ब ९३ करोड १ लाख १५ हजार र १८ समिति र अन्य संस्थाको ४ अर्ब ८४ करोड ७० लाख १९ हजारसमेत गरी ५२ अर्ब ७८ करोड ७१ लाख ३४ हजारको लेखा परीक्षण सम्पन्न गरेको थियो।

    प्रतिवेदनमा देखाइएको बेरुजुमध्ये १४ करोड ७१ लाख ४० हजार असुल गर्नुपर्ने, एक अर्ब ९ करोड ४० लाख ४७ हजार नियमित गर्नुपर्ने उल्लेख छ।

    नियमित गर्नुपर्ने बेरुजुमध्ये पनि ३४ करोड ५२ लाख १ हजार अनियमित भएको र ७४ करोड ८८ लाख ४६ हजार प्रमाण कागजात पेश नभएको तथा ७ करोड ६४ लाख २३ हजार पेस्की दिएको उल्लेख छ।

    आर्थिक वर्ष २०७९/८० मा देखिएको १ अर्ब ३१ करोड ७६ लाख १० हजारसहित अद्यावधिक बेरुजुको अंक भने ५ अर्ब ५८ करोड ४ लाख ७ हजार पुगेको बताइएको छ। अद्यावधिक बेरुजु गत वर्षभन्दा १२.४९ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ।

  • बैतडीमा जिप दुर्घटना

    बैतडीमा जिप दुर्घटना

    बैतडीमा जिप दुर्घटना भएको छ।

    बुधबार दिउँसो जिल्लाको दशरथचन्द नगरपालिकाको गोठलापानीबाट झुलाघाट तर्फ जाँदै गरेको सुप ०१ ज ००१५ ०० नम्बरको जिप सोही नगरपालिकाको बाराकोटमा दुर्घटना भएको हो।

    जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार दिउँसो २:५० मिनेटको समयमा जिप अनियन्त्रित भए सडकबाट खसेको थियो।

    दुर्घटनामा घाइतेहरूको सङ्ख्याबारे यकिन नभएको बताउँदै डिएसपी दीपक गिरीले भने ‘ पाँच जनाको उद्धार गरी जिल्ला अस्पताल पठाएका छाै‌ँ, उहाँहरू मध्य एक महिलाको अवस्था गम्भीर छ।’

    उनले जिपमा कति जना सवार थिए भन्नेबारे यकिन भइनसकेकाे जानकारी दिए। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको उनले जनाए।

  • आर्थिक सुधारको बाटो समात्ने गरी बजेट आएको छ: अर्थमन्त्री पुन

    आर्थिक सुधारको बाटो समात्ने गरी बजेट आएको छ: अर्थमन्त्री पुन

    अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको बताएका छन्।

    आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका सन्दर्भमा अर्थ मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा उनले नेपालको वास्तविक अवस्था विश्लेषण गरेर सुधारको बाटो समात्ने गरी बजेट आएको दाबी गरे।

    ‘आगामी आवको बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास गरेको छ। हाम्रो भौगोलिक अवस्थिति सुहाउँदो अर्थतन्त्र निर्माणका लागि कोसिस गर्ने र नयाँ चरणको आर्थिक सुधारका लागि सुझाव दिन उच्चस्तरीय कार्यदल गठन गर्ने नीति लिइएको छ’, अर्थमन्त्री पुनले भने।

    आगामी आर्थिक वर्षको बजेटले आर्थिक सुधार सुझाव कार्यदल गठन गर्ने उल्लेख गरेको छ।

    नागरिकलाई केन्द्रमा राखेर बजेट ल्याएको दाबी पनि अर्थमन्त्री पुनले गरे। निजी क्षेत्र, प्रमुख प्रतिपक्षेसमेत आशा जगाउने बजेट आएको भनेर प्रतिक्रिया दिएको उनको भनाइ छ। आम जनतामा आशा जगाउने गरी बजेट आएको छ।

    बजेटले उद्यमी व्यवसायी आशा जगाउने अपेक्षा गरेका छौँ। अर्थमन्त्री पुनले भने, ‘देशभित्र अवसर हुँदाहुँदै पनि देश बाहिर जाने प्रवृत्ति बढेको छ। सजिलै विदेशको बाटो रोज्ने भन्दा पनि मुलुकभित्रै केही काम गर्ने गरी युवामा आशा जगाउने गरी बजेट आएको छ।’

    करका दर परिवर्तनका गर्दा पनि आवश्यकता र औचित्यका आधारमा गरिएको अर्थमन्त्री पुनको भनाइ छ। कुनैपनि व्यक्तिगत आग्रह, पूर्वाग्रह, भावनामा बगेर काम गर्दैनौँ भन्ने प्रतिबद्धताका साथ करका दरमा हेरफेर भएका छन्। उनले भने। बजेटका प्राथमिकता र उद्देश्य धेरै तर्फ छर्ने भन्दा पनि कृषि, ऊर्जा, सूचना प्रविधिलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर आन्तरिक उत्पादन बढाउने नीति बजेटले अवलम्बन गरेको अर्थमन्त्री पुनले सुनाए।

    सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत अबको १० वर्षमा ३० खर्बको निर्यात पु¥याउने महत्वाकांक्षी योजना अघि सारेको र स्वदेशी उद्योग तथा उत्पादनलाई संरक्षण गर्ने नीति लिएको उनको भनाइ थियो।

    स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले नै तयारी र कच्चा पदार्थमा दुई तहको भन्सार लगाउने नीति लिइएको पुनले जनाए। हरित करको नयाँ विषय आर्थिक ऐनमा राखेको पनि पुनले बताए।

  • गुच्चाको गोली लागेपछि गाउँमा देखिन छाडे बाँदर

    गुच्चाको गोली लागेपछि गाउँमा देखिन छाडे बाँदर

    कास्की जिल्लाको मादी गाउँपालिका–१२ लिपेयानीमा यतिखेर बाँदर देखिएका छैनन्। स्थानीय गिरेन्द्र गुरुङले आविष्कार गरेको बन्दुक पड्काएपछि यस क्षेत्रमा बाँदर देखिन छाडेका हुन्।

    ‘रूखमा आएको बाँदर नियन्त्रणका लागि बन्दुक पड्काउँदा लागेको गुच्चाको गोलीले एउटा बाँदर घाइते भएको थियो,’ गुरुङले भने, घाइते बाँदरसहित सम्पूर्ण बथान कराउँदै भागे त्यसपछि यस क्षेत्रमै देखापरेका छैनन्।’

    लामो समयदेखि बाँदरले खेतबारी मात्र हैन घरभित्र पसेर भण्डारण गरेको अन्न समेत खाने, महिला एवम् बालबालिकालाई आक्रमण गर्न थालेपछि विकल्पका रुपमा दुई महिनाअघि बन्दुक बनाएको उनले बताए।

    ‘हाते पम्प, ग्यास लाइटको कक, काठ, युपिभिसी पाइपलगायत सामानबाट निर्माण भएको बन्दुकको नालमा एउटा गुच्चा राखेर बीच भागमा रहेको प्वालमा सेनिटाइजरको सहायताले आगो लगाएर बन्दुक पड्काउँदा ३० देखि ४० मिटरसम्म निसाना लाग्दछ’, गुरुङले भने।

    उनका अनुसार चलाउन सुरक्षित रहेको बन्दुकको मूल्य सात हजारदेखि आठ हजारसम्म पर्दछ।

    गुलेली र डेढ वर्षअघि बनाएको ठूलो आवाज आउने बन्दुकलाई बाँदरले नटेरेपछि युट्युबको सहायताले गुच्चाको गोली लाग्ने यन्त्र निर्माण गरेको बताउँदै ४५ वर्षीय गुरुङले भनिन्,‘अहिले त बाँदर मलाई र बन्दुक देखेपछि टाढैबाट भाग्दछ। यसअघि घर नजिकै रहेको बन्तरीको फल पाकेपछि रूखैभरि बाँदर हुन्थ्यो। अहिले फल पाकेर कुहिने अवस्थामा पुग्दा पनि बाँदर देखिएका छैनन्।’

    विदेश जान मन नलागेपछि परिवारसँगै बसेर कृषि कर्म गर्दै आएका गुरुङले बन्दुक मात्र हैन हाते ट्र्याक्टर, मोटरसाइकल मर्मतदेखि खिर्रोको काठको सारङ्गी समेत बनाउँदै आएकी छन्।

    ‘बारीमा लगाएको बाली लाखुले खाने र नोक्सानी गरेर दुःख दिएको थियो। यस वर्ष भने बन्दुक पड्काएपछि बारीमा लगाएको काँक्रो राम्रो उत्पादन दिएको छ’, स्थानीय रामकुमारी गुरुङले भनिन्। उत्पादित काँक्रो आफूले खाएर बचेको बिक्री गर्दा १६ हजार आम्दानी भएको उनले जानकारी दिइन्।

    रामकुमारीले भनिन्, ‘विगतमा काँक्रा किनेर खानुपर्ने अवस्था थियो, गिरेन्द्रले बनाएको बन्दुक पड्काएपछि बाँदर देखिएको छैन बन्दुकले राम्रो काम गरेको छ।’

    उनको बारीमा यतिखेर काँक्रासहित खुर्सानी, बोडी, घिरौँला, करेलालगायत लहरे बाली फस्टाएकी छिन्।

    मादी–१२ का वडासदस्य मिलन ढकालले बाँदरले किसानलाई निकै सास्ती दिएकाले गुरुङले आविष्कार गरेको बन्दुकको परीक्षण गरेर सफलताका आधारमा विस्तार गर्ने सोच बनाइएको बताइन्। उनले भनिन्, ‘बन्दुक बाँदर धपाउन प्रभावकारी हुने विश्वास छ।’

    मुलुकभरि बाँदर आतङ्क बढेर किसानलाई सास्ती दिइरहेको वर्तमान अवस्थामा गुच्चाको गोली सहितको बन्दुकले बाँदर नियन्त्रण भएपछि सो क्षेत्रका स्थानीय बासिन्दालाई खेती सुरक्षामा सहज भएको छ।

  • गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

    गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

    गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्।

    गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई बुधबार अपराह्न मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

    उनलाई सर्वोच्च अदालतको परमादेश अनुसार मुख्यमन्त्रीमा नियुक्त गरिएको हो। सर्वोच्च अदालतले सोमबार ४८ घण्टा भित्र ठूलो दलको हैसियतमा पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो।

    ६० सदस्यीय प्रदेश सभामा ३० लाई बहुमत मानेर विश्वासको मत लिएपछि पाण्डेले सर्वोच्चमा प्रदेश प्रमुख, सभामुख र मुख्यमन्त्रीलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

    रिटमा उनले ३० लाई बहुमत मानेर लिइएको विश्वासको मत बदर गरी आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका थिए।

    जसको फैसला गर्दै सर्वोच्चले पाण्डेले मागेझैँ विश्वासको मत बदर गरी पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो।

    नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले अब ३० दिनभित्र विश्वासको मत लिइसक्नु पर्नेछ। तर उनले विश्वासको मत पाईहाल्ने आधार भने देखिँदैन। ६० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका २७ सांसद छन्।

    पाण्डेलाई राप्रपाका २ सांसदले विश्वासको मत दिएको खण्डमा जम्मा २९ सांसदको समर्थन हुनेछ। त्यसपछि स्वतन्त्रबाट जितेका दीपक मनाङेले विश्वासको मत दिने अवस्थामा पनि बहुमत पुग्दैन।

    त्यस्तो अवस्थामा पाण्डेले पदबाट राजीनामा दिई नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम पुनः मुख्यमन्त्रीमा दाबी पेस गर्ने कांग्रेस वृत्तमा चर्चा छ।

    सो धारा अनुसार मुख्यमन्त्रीमा नियुक्त हुँदा र विश्वासको मत लिँदा दलको ह्वीप लाग्दैन। त्यस्तो अवस्थामा नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाले मत दिने पाण्डेको विश्वास छ।

    तर त्यतिले मात्रै पनि पाण्डेले विश्वासको मत पाईहाल्ने अवस्था देखिँदैन। त्यसबेलापनि नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल र एमालेबाट उपसभामुख बनेकी ले साथ दिनुपर्ने हुन्छ।

    यदि बोलाइएको संसद् बैठकमा उनीहरु उपस्थित नभइदिने हो भने कोशीकै अवस्था गण्डकीमा आउँछ। त्यस्तो अवस्थामा कांग्रेस वा राप्रपाका कुनै एकले सभामुख भएर संसद् चलाउनुपर्ने हुन्छ। जुनबेला पाण्डेको बहुमत पुग्ने सम्भावना देखिँदैन।

  • झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द

    झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द

    गए राति वर्षा र चट्याङसहित आएको हुरीबतासले झापा मेचीनगर नगरपालिकामा ठूलो क्षति गरेको छ। हुरीले बिजुलीको खम्बा ढालेपछि गए रातिदेखि मेचीनगर क्षेत्रको विद्युत् आपूर्ति बन्द भएको हाे।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले हुरीले मेचीनगर–७, ८ र १० मा ठूलो मात्रामा क्षति पुर्‍याएको बताए।

    उनका अनुसार सो क्षेत्रका सयौँ घरको छाना उडाएको, विद्युत्का खम्बा ढालेको, विद्यालयका छाना भत्काएको, सडक र निजी जग्गाका रूख ढालेको र केही स्थानमा खानेपानीको वितरण अवरुद्ध भएको छ।

    मेचीनगर–१० स्थित जयश्री हलेसी भेनियर उद्योग, सिद्धिविनायक भेनियर उद्योग र सिद्धार्थ भेनियर उद्योगको जस्तापाताको छाना उडाएको छ।

    भेनियरका सञ्चालक डिल्लीराम श्रेष्ठले रु एक करोडभन्दा बढीको क्षति भएको जानकारी दिए। उनले तयारी अवस्थामा रहेका सात ट्रक भेनियर पत्ता, टिनको छाना र बेरा भएको उद्योग भत्काएको बताए।

    सिद्धिविनायकका सञ्चालक श्याम न्यौपानेले हुरीबाट १० लाखबढीको क्षति पुगेको उनको भनाइ छ। नगरका अन्य भेनियर उद्योगमा पनि भौतिक क्षति पुगेको भन्दै यकिन विवरण आइ नपुगेको सूचना अधिकारी चन्दले बताए।

    मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणि ओलीको जोरसिमलस्थित घरको छाना हुरीले उडाएको छभने आसपासका बस्तीमा दर्जनौँ घरमा क्षति पुगेको छ।

    धुलाबारी इलाका प्रहरी कार्यालयको ब्यारेकको फल्स सिलिङसहित क्यान्टिनको छानो उडाएको छ। त्यस्तै, मेचीनगर–८ इँटाभट्टास्थित आदर्श माध्यमिक विद्यालयको जस्तापाताको छानो हुरीले क्षति पुर्‍याएको सूचना अधिकारी चन्दले जानकारी दिए।

    उनले क्षतिको थप विवरण सङ्कलन भइरहेको भन्दै मानवीय क्षति भने नभएको बताए। -रासस

  • सयौं वर्ष पुरानो ‘लिंगो जुधाउने’ अनौठो संस्कृतिको निरन्तरता

    सयौं वर्ष पुरानो ‘लिंगो जुधाउने’ अनौठो संस्कृतिको निरन्तरता

    म्याग्दीको रघुगंगा गाउँपालिका– ४ दग्नाममा दुई गाउँबीचमा ‘लिंगो जुधाउने’ अनौठो संस्कृतिले निरन्तरता पाएको छ। भूमे पूजाका अवसरमा यस गाउँमा सयौं वर्ष पुरानो इतिहास बोकेको ‘लिंगो जुधाउने’ अनौठो प्रतिस्पर्धा गरिन्छ।

    म्ंगलबार दग्नामका गैरी र कान्छी गाउँबिचमा भएको लिंगो जुधाइमा गैरी गाउँ विजयी भएको छ। प्रकृति पूजाका रुपमा चिनिने भूमे पूजामा भूमे देवतालाई खुसी बनाउन दुई गाउँबिचको लिङ्गो जुधाउने प्रतियोगिता सम्पन्न भएको स्थानीय अगुवा धनिलाल गर्वुजाले बताए। ‘यो संस्कृति पुर्खादेखि नै चल्दै आएको छ, हरेक वर्ष भूमे पूजामा यहाँ दुई गाउँका लिङ्गो जुधाउने प्रतियोगिता हुन्छ’,– उनले भने।

    दग्नाममा गैरी गाउँ, कान्छी गाउँ, माझीगाउँ र डाँडागाउँ गरी चारवटा टोल रहे पनि यस प्रतियोगितामा भने हरेक वर्ष गैरी र कान्छी गाउँले मात्रै सहभागिता जनाउने गरेका छन्। मंगलबार दुई गाउँबाट छुट्टाछुट्टै रुपमा ध्वजापताकाले सिँगारिएका अग्ला बाँसका लिंगा बोकेर मुन्का डाँडामा पुगेका स्थानीयले एकैसाथ लिंगो ठड्याएर प्रतिस्पर्धा गरेका थिए।

    पुख्र्याैली नाच, सोरठी भाका र पञ्चेबाजासहितको उत्सवका बिच मंगलबार बिहान भूमे देवताको पूजा गरेपछि दिउँसो भूमे देवतालाई खुसी बनाउनका लागि स्थानीयले लिंगो जुधाएका हुन्। प्रतियोगितामा अग्ला–अग्ला सिँगारिएका लिङ्गालाई प्रतिस्पर्धामा उतार्ने गरिन्छ।

    दग्नामको भूमे पूजालाई लिंगो जुधाइले सांस्कृतिक उत्सव बनाउने गरेको वडाध्यक्ष पविन गर्बुजाले बताए। ‘भूमे पूजालाई हामीले मौलिकता र परम्परा जोगाउने गरी मनाउँदै आएका छौं, यसमा लिंगो जुधाइ सबैका लागि रुचि र चासोको विषय बन्ने गरेको छ, दुई गाउँबीचको प्रतिस्पर्धा देवतालाई खुसी बनाउने र आपसी सद्भाव बढाउन सहयोगी बन्ने गरेको छ’, उनले भने।

    दुई गाउँले लिंगो जुधाइलाई प्रतिष्ठाको विषय बनाउने गर्छन्। बाँसको लिंगो स्थानीय दग्नाम वरपरसँगै छिमेकी गाउँ राखुबाटसमेत लैजाने गरिन्छ। स्थानीयले लिंगो जुधाइलाई करिब चार सय वर्ष पुरानो संस्कृतिमा गन्ने गरेका छन्।

    भूमे पूजामा लिंगो जुधाइ हेर्न देश तथा विदेशमा छरिएर रहेका दग्नामवासी गृहगाउँ फर्कने गर्छन् भने छिमेकी गाउँबाटसमेत उल्लेख्य मात्रामा सर्वसाधारण मेला भर्न पुग्ने गर्छन्। यसपटकको लिंगो जुधाइको अवलोकनमा तीन सय बढी सहभागी भएका थिए।

    जेठा भूमेका रुपमा चिनिने भएकाले दग्नामवासीले हरेक वर्षको जेठ महिनाको पहिलो वा दोस्रो साताको मंगलबार पूजा गर्ने चलन छ। खासगरी खेतीबाली राम्रो होस्, बाढीपहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोपको सिर्जना नहोस् भन्ने कामना गर्दै भूमे देवताको पूजा गरिन्छ।

    भूमे पूजाका अवसरमा स्थानीय एकता युवा क्लबले संस्कृति तथा खेलकुद मेलासमेत आयोजना गर्दै आएको छ। यस वर्ष दग्नाममा पुख्र्यौली नृत्यसहित विविध खेलकुद र सांस्कृतिक मेला आयोजना गरिएको क्लबले जनाएको छ। –रासस

  • सार्कको गतिरोध राजनैतिक हो, राजनैतिक संवादबाटै अन्त्य गर्नुपर्छः अग्रवाल

    सार्कको गतिरोध राजनैतिक हो, राजनैतिक संवादबाटै अन्त्य गर्नुपर्छः अग्रवाल

    २०१६ मा पाकिस्तानको इस्लामावादमा तय भएको सार्क शिखर सम्मेलन हालसम्म हुन सकेको छैन।त्यसयता दक्षिण एशियाली राष्ट्रहरुको सहयोग र सहकार्यको संगठन सार्कको शिखर सम्मेलन अनिश्चित छ। सार्कस्तरीय गतिविधिहरु पनि ठप्प नै देखिन्छन्। कतिपयले यस अवस्थालाई सार्क कोमामा पुगेको पनि भन्ने गरेका छन्।

    नेपाल अध्यक्ष राष्ट्र भएपनि उसले गतिरोध अन्त्यका लागि पहल गर्न सकिरहेको छैन। सार्क गतिरोध नहटे पनि यस अन्तर्गतका केही संस्थाहरुले भने त्यस्तो गतिरोध हटाउन पहल थालेका छन्। भारतको नयाँ दिल्लीमा रहेको साउथ एशियन युनिभर्सिटी सार्क अन्तर्गतको संस्था हो।

    पाकिस्तानको नेतृत्वमा रहेको विश्वविद्यालयको सञ्चालक समिति बैठक ६ वर्षपछि बस्न सफल भएको छ। विश्वविद्यालयले आफ्नो गतिरोध अन्त्य गरे जस्तै संगठनमा देखिएको गतिरोध अन्त्यका लागिसमेत भुमिका खेल्न तयार रहेको बताएको छ।

    युनिभर्सिटीका अध्यक्ष प्राध्यापक केके अग्रवालले सार्क अघि बढ्न नसक्नुमा राजनीतिक कारण रहेको बताए। यसका लागि राजनीतिक तहबाटै संवाद जरुरी रहेको पनि उनको भनाइ छ।

    सार्कको गतिविधि शुन्य हुनु भारतको उपेक्षा मात्र कारण नभइ समग्र दक्षिण एशियाको राजनैतिक नेतृत्व जिम्मेवार रहेको र सार्क राष्ट्रका राष्ट्रप्रमुखहरु एउटै मञ्चमा उभिएमा मात्रै पनि जारी गतिरोध अन्त्य हुने बताए।

    उनले भने, ‘भारतको दृष्टिकोणबाट (पाकिस्तानलाई अलग गर्न खोजिएको) जस्तो लाग्दैन। हाम्रो विश्वविद्यालयका अध्यक्ष पाकिस्तानका हुनुहुन्छ। हामीलाई यससँग कुनै समस्या छैन। हामी(नयाँ दिल्लीबाट) उहाँसँग नियमित संवादमा छौँ। पाकिस्तानबाट आउने विद्यार्थीका हकमा पनि हामी (विश्वविद्यालय) मा भारत पाकिस्तान सम्बन्धका कारण कुनै समस्या भएको मैले सुनेको छैन। सार्क राष्ट्रका राष्ट्र प्रमुखहरुबीच यसलाई पुनः सक्रिय बनाउन सोचिनु जरुरी छ। र सम्भवतः यसको समाधान नै यही हुनसक्छ।’

    यस्तै, उनले सार्क शिखर सम्मेलन हुन नसकेको विषय राजनैतिक नै भएको तर्क गर्दै अध्यक्ष अग्रवालले एकै ठाउँमा सबै सदस्य उभिएर मात्र समाधान निस्कने उल्लेख गरे।

    सार्क राष्ट्रहरु एकै ठाउँमा आउन नसक्दा आठ देश संलग्न विश्वकै पहिलो विश्वविद्यालय समेत समस्यामा परेको बताए। तर विश्वविद्यालयको निरन्तर प्रयासपछि ६ वर्षपछि गतिरोध अन्त्य गरेको र सार्क राष्ट्र प्रमुखहरुबीच संवाद गराउन पाउँदा आफूलाई भाग्यमानी ठान्ने उनी बताउँछन्।

  • अमित चौधरी जो धनियाँ बेचेरै कमाउँछन् वार्षिक आठ लाख

    अमित चौधरी जो धनियाँ बेचेरै कमाउँछन् वार्षिक आठ लाख

    खेतभरि हरियो धनियाँ छ। धनियाँ उखेलेर ससाना मुठा पार्दै गरेको अवस्थामा भेटिए घोराही उपमहानगरपालिका– ६ चोरगाउँका अमित चौधरी। उनले दुई कठ्ठा जमिनमा धनियाँ खेती गरेका छन्। धनियाँको माग बाह्रै महिना हुने भएकाले बाह्रै महिना खेती गर्ने गरेको बताए।

    उनका बुबाले विगत आठ वर्ष अघिदेखि व्यावसायिक रुपमा धनियाँ खेती गर्थे। आम्दानी राम्रो भएपछि त्यसैलाई निरन्तरता दिइएको उनले बताए। दुई कठ्ठा खेतमा चार किलो धनियाँको बीउ दुई हजार चार सयमा खरिद गरि खेती गरेको उनले बताए। त्यो धनियाँ बिक्री गरेर दुई लाख आम्दानी गरेको उनले बताए।

    बाह्रै महिना धनियाँ माग हुने भएकाले बाहै महिना खेती गर्ने उनले बताए। सिजनमा पाँच मुठाका दरमा बिक्री हुन्छ भने बेमौसममा १० मुठाका दरमा बिक्री हुन्छ। धनियाँ उखेल्न समय लाग्ने भएकाले दैनिक धेरै उखेल्न नसकिने उनले बताए।

    धेरै उखेल्न सक्यो भने दैनिक तीन हजारदेखि तीन हजार पाँच सयसम्म आम्दानी हुने गरेको अमितले बताए। उखेल्न नसकेको समयमा एक हजारदेखि एक हजार पाँच सय रुपैयाँसम्मको बिक्री हुने गरेको उनको भनाइ छ।

    धेरै मेहनत गर्नुनपर्ने, रोगकीरा नलाग्ने र विषादी पनि राख्नु नपर्ने भएकाले कम खर्चमा धेरै आम्दानी गर्न सकिने भएकाले धनियाँ खेतीलाई निरन्तरता दिइएको उनले बताए।

    ‘वैशाख, जेठ र असारमा धनियाँ प्रतिमुठा १० रुपैयाँका दरले बिक्री हुन्छ, यो याममा राम्रो मूल्य पाइन्छ’, उनले भने। गत वर्ष यी तीन महिनामा दुई लाख आम्दानी गरेको उनले बताए। सरदर वर्षको आठ लाख रुपैयाँ धनियाँ बिक्रीबाट मात्रै आम्दानी हुने गरेको उनले बताए।

    ‘धनियाँ छरेको ३५ दिनमा बिक्रीका लागि योग्य हुने भएकाले उखेल्न सुरु गर्छौं, तयार भएको दुई महिनाभित्र बिक्री गरिसक्नुपर्छ, उ’ले भने, ‘लामो समय राख्न मिल्दैन, छिप्पियो भने बिक्री हुँदैन, बिक्री भएर खाली भएको जमिनमा हरेक १० दिनको फरकमा धनियाँ छर्ने गर्छु, त्यसैले एक लट बिक्री गरिसक्दा अर्को लट तयार भइसकेको हुन्छ।’

    उनीसँग बाह्रै महिना धनियाँ हुने गरेको छ। छोटो समयमा मनग्य आम्दानी हुने भएकाले धनियाँ खेती बाह्रै महिना गर्ने गरिएको उनले बताए।

    ‘इनारको पानीले सिँचाइ गरेर खेती गर्ने गरेका र्छौं, पानीको अन्य सुविधा छैन, बिक्रीका लागि घोराही बजारमा लैजानुपर्छ, बजारमा धनियाँ अभाव भयो भने व्यापारी घरमै आउने गर्छन्, खेतीपाती गर्न बुबाआमा र श्रीमतीको सहयोग रहेको छ’, उनले भने। –रासस

  • तीन वर्षमा चार हजार नेपाली श्रमिकको मृत्यु

    तीन वर्षमा चार हजार नेपाली श्रमिकको मृत्यु

    वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म वैदेशिक रोजगारमा गएकामध्ये चार हजार ३५ नेपाली श्रमिकको मृत्यु भएको छ।

    सो अवधिमा त्यस्तै आठ सय ७० जना अङ्गभङ्ग तथा बिरामी भएको तथ्याङ्क छ। गत तीन वर्षको श्रमिकको मृत्यु दर विश्लेषण गर्दा २०७७/७८ को तुलनामा २०७८/७९ मा पाँच प्रतिशत वृद्धि भएको र २०७८/७९ को तुलनामा २०७९/८० मा एक प्रतिशत घटेको छ।

    त्यस्तै,अङ्गभङ्ग तथा बिरामी श्रमिकको दर २०७७/७८ मा १८.५० प्रतिशत रहेकोमा २०७८/७९ मा ३१.९५ प्रतिशत र २०७९/८० मा ४९.५४ प्रतिशतले वृद्धि भएको छ।

    मृत्यु हुने श्रमिकको सङ्ख्यामा कमी आए तापनि अङ्गभङ्ग तथा बिरामीको दर बढ्दो क्रममा रहेको महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

    वैदेशिक रोजगारीमा गएका नेपाली कामदार सम्बन्धित देशको हावापानी, कामको चाप, मदिरा सेवन, कामदारवीच झैझगडा, परिवारिक तनाव, स्थानीय कानुनको जानकारीको अभाव, मेसिनरी औजारको सञ्चालनमा हुने प्राविधिक त्रुटि, ट्राफिक दुर्घटना, विरामी, कार्यस्थल दुर्घटना, जलेर, निस्सासियर, डुबेरलगायतका कारणले मृत्यु, अङ्गभङ्ग तथा बिरामी परेको अवस्था छ।

    यस वर्ष भएको कुल मृत्यु एक हजार २५० मध्ये मलेसियामा २७.९६ प्रतिशत, साउदी अरबमा २६.३६ प्रतिशत, संयुक्त अरब इमिरेट्समा १७.९८ प्रतिशत, कतारमा १७.२३ प्रतिशत, कुवेतमा ६.०४ र अन्य देशमा ४.४३ प्रतिशत रहेको छ। स्वदेशबाट मेडिकल जाँच गरी श्रमको लागि गन्तव्य गएको नागरिकको वैदेशिक रोजगारीको अवधिमा हुने मृत्युलाई स्वाभाविक मान्न सकिँदैन।

    यसरी स्वभाविक, अज्ञात र अन्य कारणले मृत्यु हुनेको संख्या अधिक रहेको देखिएकोले वास्तविक कारण पत्ता लगाउनुका साथै बिरामीको कारण मृत्यु हुने मुलुकको स्वास्थ्य सुविधासम्बन्धी अध्ययन, ट्राफिक दुर्घटनाबाट मृत्यु हुने मुलुकमा सचेतनाका कार्यक्रम, आत्मह दुरुत्साहन गर्न मनोचिकित्सालगायतका कार्यक्रम सञ्चालन गरी श्रमिकको मृत्युदर न्यून गर्ने व्यवस्था गर्नुपर्ने प्रतिवेदनको सुझाव छ।

    वैदेशिक रोजगारीमा रहेका कामदारको गन्तव्य मुलुकमा मृत्यु भएमा मृतकको शव अन्तिम संस्कारको लागि परिवारलाई हस्तान्तरण गर्न वैदेशिक रोजगार बोर्डबाट रकम निकासा हुने गरेको छ। यो वर्ष शव व्यवस्थापनमा दुई करोड ८५ लाख ८० हजार खर्च भएको प्रतिवेदनमा जनाईएको छ।

    बोर्डबाट वैधानिक रूपमा रोजगारीमा रहेका कामदारको मात्र शव व्यवस्थापनको लागि रकम निकासा हुने गरेकोले गैरकानुनी रूपमा रहेका श्रमिकको मृत्यु भएमा शव व्यवस्थापनमा समस्या हुने गरेको नियोगहरूले उल्लेख गरेका छन्।

    वैदेशिक रोजगार व्यवसायी, रोजगारदाता कम्पनी, गन्तव्य मुलुकका सम्बन्धित निकायको कारण समेत श्रमिकहरू गैरकानूनी आप्रवासन हुने अवस्था देखिएको छ। अवैधानिक रूपमा रहेका र अलपत्र परेका कामदारलाई सुरक्षित आवासगृहमा राखी उद्धारसमेत गरेको स्थिति छ।

    अवैधानिक रूपमा रहेका श्रमिकको मृत्यु भएमा मृतकको शव व्यवस्थापन नगरिनु व्यावहारिक देखिँदैन। श्रमिक गैरकानुनी आप्रवासनको कारण अध्ययन विश्लेषण गरी मृत्यु हुने श्रमिकको शव व्यवस्थापन हुनुपर्दछ।

    वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २८ मा वैदेशिक रोजगारीमा गएको कुनै कामदारको करार अवधिभित्र कुनै कारणले मृत्यु भएमा मृतक श्रमिकको नजिकको हकवालालाई वैदेशिक रोजगार कोषबाट प्रारम्भमा तीन लाख र २०७४ साउन १६ गतेदेखि सात लाख आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ।

    वैदेशिक रोजगार बोर्डबाट प्राप्त विवरणअनुसार विगत पाँच वर्षमा पाँच हजार ५११ मृतक श्रमिकतर्फ तीन अर्ब तीन करोड ९८ लाख र १५ अङ्गभङ्ग तथा बिरामी श्रमिकतर्फ ४३ करोड ८४ लाख ७२ हजार आर्थिक सहायता उपलब्ध गराएको छ। -रासस