Blog

  • मुलुकमा मध्यावधि निर्वाचन हुने सम्भावना देखियोः लिङदेन

    मुलुकमा मध्यावधि निर्वाचन हुने सम्भावना देखियोः लिङदेन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुक मध्यावधि निर्वाचनमा जानसक्ने बताएका छन्।

    प्रधानमन्त्री पुष्पकमल दाहाल र राजनीतिक दलहरुका पछिल्लो गतिविधिले प्रतिनिधि सभाको मध्यावधि निर्वाचन हुनसक्ने सम्भावना देखा परेको उनको भनाई थियो।

    बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले प्रधानमन्त्री दाहाल आफैंले सत्ता समिकरण बदल्दै हिँड्ने गरेको भन्दै आक्रोश व्यक्त गरे। उनले सम्भावित मध्यावधि निर्वाचनलाई ध्यानमा राखेर संगठन निर्माणमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

    सम्भावित मध्यावधि निर्वाचनको कुरा मात्रै नभएर पार्टीले शुरु गरेको आन्दोलनलाई सफल बनाउन पनि सिंगो पार्टी पंक्ति संगठन निर्माणमा जुटनुपर्ने अध्यक्ष लिङदेनले बताए।

    उनले भने, ‘दलहरुको बीचमा जुन प्रकारको प्रतिद्वन्द्वीता, प्रतिष्पर्धा र अविश्वसनीयताहरु बढ्दै गएका छन् । रातभरमा नै दलहरुले समिकरण परिवर्तन गर्ने, आज यता समर्थन गरेको दलले भोली उतातिर गर्ने मात्रै होइन, प्रधानमन्त्री आफैँ समिकरण परिवर्तन गर्दै हिँड्ने। यसको प्रकारको जुन गतिविधिहरु बढिराखेको छ। प्रतिनिधिसभाको नै मध्यावधि निर्वाचन हुनसक्ने सम्भावनाहरु देखिराख्या छ। त्यसकारण हामीले आगामी स्थानीय तहको निर्वाचन होस् अथवा सम्भावित मध्यावधि निर्वाचनको कुरा होस्। र निर्वाचनको कुरा मात्रै होइन, अहिले हामीले आन्दोलनको पनि कुरा उठाइराखेका छौं । त्यसलाई सफल पार्न होस्। संगठन निर्माण गर्न जरुरी छ।’

  • ‘नयाँ बजेट कार्यान्वयन भएसँगै आर्थिक सुधारले गति लिन्छ’

    ‘नयाँ बजेट कार्यान्वयन भएसँगै आर्थिक सुधारले गति लिन्छ’

    प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा भएसँगै आर्थिक सुधारका कार्यक्रमले गति लिने बताएका छन्।

    चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन गरेपछि प्रधानमन्त्रीले उत्पादन, उत्पादकत्व र रोजगारी प्रवर्द्धन गर्नेगरी आगामी आवको बजेट सार्वजनिक गरिएको बताए।

    ‘गणतन्त्र स्थापनापछि धेरै उपलब्धि हासिल गरेका छौँ, पूर्वाधारदेखि शिक्षा स्वास्थ्यलगायत सार्वजनिक क्षेत्रसम्म गुणात्मक परिवर्तन भएको छ,’ प्रधानमन्त्रीले भने, ‘सदनमा प्रस्तुत बजेटले नेपाल अब आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको घोषणा गरेको छ।’

    उनले नीति कार्यक्रम र बजेटमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने र परिवर्तनलाई तल्लो तहका जनताले अनुभूत गर्ने किसिमले सङ्घीय सरकारले रणनीतिक महत्वका कार्यक्रम अघि सारेको जानकारी दिए।

    ‘प्रदेश सरकारका नीति तथा कार्यक्रममार्फत पनि तिनै विषयलाई प्राथमिकतामा राखेको छ। त्यसैले व्यवस्था मात्र परिवर्तन भयो, अवस्था उस्तै छ भन्ने भाष्य क्रमशः परिवर्तन हुँदै छ,’ प्रधानमन्त्री दाहालले भने। उनले पछिल्ला दिनहरूमा अस्पतालको सेवा प्रवाहमा गुणात्मक परिवर्तन आएको बताए।

    देशका नागरिक स्वस्थ हुनु भनेको अर्थतन्त्र र समाज स्वस्थ हुनु हो भन्दै प्रधानमन्त्री दाहालले स्वस्थ नागरिकबाटै समृद्धिको सपना साकार हुने विश्वास व्यक्त गरे।

    ‘शारीरिक तथा मानसिकरूपमा सबल, सक्षम र स्वस्थ नागरिकहरूको प्रयत्नबाट मात्र कतिपय देशहरू हरेक क्षेत्रमा फड्को मार्न सफल भएका छन्,’ प्रधानमन्त्रीले भने, ‘यही वास्तविकतालाई मनन गर्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्दै आएका छौँ र गणतन्त्र प्राप्तिको छोटो अवधिमा स्वास्थ्य सूचकाङ्कहरूमा उल्लेख्य सुधार भएको छ।’

    विसं २०७२ को भूकम्पले धराशायी भएका भौतिक संरचना तथा चौतारा अस्पतालका संरचना पुनः निर्माण प्रक्रिया अघि बढाएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले नयाँ भवन निर्माण भएसँगै अस्पतालको खुलाचौरमा त्रिपालभित्र उपचार गर्नुपर्ने बाध्यता अन्त्य भई सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गरे।

    व्यवस्थासँगै अवस्था परिवर्तनका लागि सिन्धुपाल्चोकको महत्त्वपूर्ण भूमिमा रहेको बताउँदै प्रधानमन्त्रीले जनयुद्धका कठिन समयमा यहाँका जनताबाट माया पाएको स्मरण गरे।

    ‘म धेरै पटक सिन्धुपाल्चोक आएको छु, जनयुद्धका कठिन दिनहरूमा मैले यहाँका गाउँँबेँसी चहारेको छु, यहाँका भीरपाखाहरू छिचोलेको छु,’ प्रधानमन्त्रीले भने, ‘वृद्ध आमाहरूले मायाले पकाएर दिनुभएको खोलेफाँडो खाएर क्रान्तिको मोर्चामा लामबद्ध भएको छु।’ चीन सरकारको सहयोगमा उक्त अस्पताल निर्माण भएको हो।

    यसअघि प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष दाहालले पार्टीको सिन्धुपाल्चोक जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेटमा देशलाई प्रतिगमनको जोखिमबाट आफूले जोगाएको बताए।

    पार्टी अध्यक्ष दाहालले वर्तमान राजनीतिक समीकरणलाई भत्काउन विभिन्न तहबाट भएका प्रयासलाई आफूले निष्फल पारेको बताउँदै प्रतिपक्षमा रहेका सबै राजनीतिक दलसँग सहकार्य गरेर आफू अघि बढेको उल्लेख गरे।

    उनले माओवादी केन्द्रप्रति जनताको आशा एवं भरोसा रहेको बताउँदै जनजीविकाका सवालमा पार्टीले गम्भीर भएर काम गर्दै आएको स्पष्ट पारे। उनले यिनै विषयलाई दृष्टिगत गरी आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिएको जानकारी पनि दिए।

  • गण्डकीः मुख्यमन्त्री पाण्डेसँगै मन्त्रीद्वय थापा र गुरुङले पनि लिए सपथ

    गण्डकीः मुख्यमन्त्री पाण्डेसँगै मन्त्रीद्वय थापा र गुरुङले पनि लिए सपथ

    गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सपथ लिएका छन। गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई सपथग्रहण गराएका हुन्। यसैबीच, मुख्यमन्त्री पाण्डेले तीन सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन्। उनले दुई जना मन्त्री नियुक्त गर्दै मन्त्री परिषद संख्या ३ पुर्याएका हुन्।

    मुख्यमन्त्री पाण्डेले कास्कीका विन्दुकुमार थापा र लमजुङका टकराज गुरुङलाई मन्त्रीमा नियुक्त गरेका हुन् । दुबैले मुख्यमन्त्री पाण्डेसँगै सपथ लिए। गुरुङ लमजुङ प्रदेश क्षेत्र नम्बर १ बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। उनी पहिलोपटक मन्त्री बनेका हुन्। उनलाई आर्थिक मामिला मन्त्रीको जिम्मेवारी तोकिएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।

    कास्की–२ (ख)बाट निर्वाचित थापा तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेतृत्वको सरकारमा कानूनमन्त्री थिए। उनलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी तोकिएको छ।

  • गण्डकीमा मुख्यमन्त्री र दुई मन्त्रीले लिए शपथ

    गण्डकीमा मुख्यमन्त्री र दुई मन्त्रीले लिए शपथ

    गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ (३) अनुसार बुधबार मुख्यमन्त्री नियुक्त भएका पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथग्रहण गराएका हुन्।

    पाण्डेसँगै दुई मन्त्रीले पनि शपथ लिएका छन्। कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा. टेकराज गुरुङले मन्त्री पदको शपथ लिएका हुन्।

    गुरुङ अर्थमन्त्री र थापाले सामाजिक विकास मन्त्रालयसँगै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको जिम्मेवारी पाएका छन्।

  • असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोलिने

    असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोलिने

    पशुपतिनाथकाे चारवटै ढोका आउँदो असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन्।

    पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

    उनले भने ‘यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान ८:३० बजेपछि मात्रै बाँकी तीन वटा ढोका खोलिँदै गरिएकोमा भक्तजनले चारवटै ढाेकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यले आउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका बिहान ४ बजे खोलिने छ।’

    यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो।

  • विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ

    विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ

    विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्न मे २९ अर्थात ‘एभरेष्ट डे’ को अवसरमा कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ।

    नेपाल महिला रेस्लिङ फाउण्डेशनको आयोजनामा आज पाँच हजार छ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङको मैत्रीपूर्ण खेल सम्पन्न भएको हो। सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित कालापत्थरमा पहिलोपटक अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता सम्पन्न गरिएको हो।

    नेपालको पहिलो महिला रेस्लर भगवती खड्का (युनिका) र अमेरिकाकी रेस्लर डानियल मोरिसन ९डानी मो०बीच सम्पन्न मैत्रीपूर्ण प्रतिस्पर्धामा नेपालकी भगवती खड्का विजयी भइन्।

    रेस्लिङ खेलमार्फत विश्व कीर्तिमान बनाउने सपना देख्दै आएकी खड्काले विश्वमा हालसम्म यति उचाइमा रेस्लिङ खेल नखेलिएकाले यो विश्व रेकर्ड हुने दाबी गरिन्। हास्य कलाकारको प्रस्तुतिसहित हास्य कलाकार शिव शङ्कर रिजाल (जोगिन्दार पानवाला) ले प्रतियोगिताको कार्यक्रम सञ्चालन गरेका थिए। मैत्रीपूर्ण खेलमा नेपाली रेस्लर अस्मिता जुरेलीले रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन्। कार्यक्रममा अल एराउड ट्रेक्सका एमडी सोनम शेर्पाले सहजीकरण गरेका थिए।

  • कोशी सरकारविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा

    कोशी सरकारविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा

    कोशी प्रदेश सरकार गठनबारे रिटको सुनुवाइ हेर्न नभ्याइने सूचीमा राखिएको छ।

    बुधबार सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्मा र शारंगा सुवेदीको संयुक्त इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको हो।

    तत्कालीन मुख्यमन्त्री केदार कार्कीले हिक्मतबहादुर कार्कीको नियुक्ति असंवैधानिक भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

    संविधानको धारा १६८को उपधारा ५ अनुसार मुख्यमन्त्री भएका कार्कीले आफूलाई हटाउने कदम असंवैधानिक भएको जिकिर गरेका थिए।

  • नेपालमै पहिलो पटक सिडलेस खरबुजा चितवनमा उत्पादन

    नेपालमै पहिलो पटक सिडलेस खरबुजा चितवनमा उत्पादन

    नेपालमा केही वर्ष अघिसम्म बियाँ रहित (सिडलेस) खरबुजा खेती व्यावसायिक तवरले भएको थिएन्। त्यस बेलासम्म सप्तरीकी ससन देवकोटालाई चितवनमा खरबुजा हुने नहुने भन्ने अन्योल थियो।

    अमेरिकामा समेत कृषि विषय पढेर आएका देवकोटाले चितवनमा खरबुजा खेती गर्ने आँट गरिन्। अनुसन्धानसहित उत्पादन गर्न थालेका देवकोटा अहिले सफल समेत भएको छ। ‘चितवन सहित नेपालमा भित्र बियाँ हुने खरबुजा उत्पादन राम्रै हुन्थ्यो। तर, सिडलेस खरबुजा भएको पाइँदैनथ्यो,’ देवकोटाले भने ‘नेपालमा पहिलो पटक विदेशबाट बिउँ ल्याएर हामीले गरेका थियौँ । उत्पादन राम्रै भइरहेको छ।’

    देवकोटाले भरतपुर महानगरपालिका–५ समिचोकमो बियाँ रहित (सिडलेस) खरबुजा खेती गरेका छन्। यहाँ पहिलो पटक १० कठ्ठा जमिनमा बियाँ रहित खरबुजाको व्यवसायिक खेती गरिएको हो। देवकोटाले तीन वर्षअघि खरबुजा खेती गर्न सुरु गरेका थिए। अहिले उनीहरुले तीन प्रकारका खरबुजा खेती गरेका छन्। सिडलेस, पहेँले सिडलेस र बिउँ भएको खरबुजा लगाएका छन्। त्यसमध्ये सबैभन्दा राम्रो सिडलेस उत्पादन भएको देवकोटाले बताए।

    उनले उनले छुट्टै अनुसन्धान भइरहेको समेत बताए। ‘हामीले भारतबाट बिउँ ल्याएर तीन वर्षअघि परीक्षण स्वरूप लगाएका थियौँ। त्यसमा हामी सफल भयौँ,’ उनले भने ‘अहिले हामीले व्यवसायीक रुपमा उत्पादन गरिरहेका छौँ।’ उनीहरुले भारतबाट बिउँ ल्याउँछन्। यहाँ जमाएर बिरुवा रोप्ने गरेको उनले बताए। उनका अनुसार एउटा बिरुवाको लागत १६ रुपैयाँ पर्दछ।

    खरबुजा लगाएको चार महिना पछि उत्पादन दिन सुरु गर्दछ। अहिले उनको बारीमा लटरम्म खरबुजा फलेका छन्। बारीबाट नै सिडलेस खरबुजा ७० र अर्को ४० रुपैयाँमा बिक्री भइरहेको उनको श्रीमती राधिका रिजाल देवकोटाले बताइन्।

    ‘एक हप्ता भयो उत्पादन दिन सुरु भएको छ। हामीले दैनिक बिहान र बेलुका हार्भेस्ट गर्दछौँ,’ उनले भनिन् ‘फर्मबाट नै ७० र ४० रुपैयाँ केजी बिक्री भएको छ।’ यहाँ उत्पादन भएको खरबुजा, भरतपुर र काठमाडौँ बजारमा खपत हुने गरेको उनले बताइन्। फर्ममा आउने ग्राहकहरूले आफै छानेर समेत लैजान पाउँछन्। एउटा खरबुजा ३ देखि ७ केजीसम्मको रहेका छन्।

    पिएचडीसम्म अध्ययन गरेका देवकोटा खेतीबाट बचेको समय कृषिका विद्यार्थीहरूलाई ज्ञान बाँड्न व्यस्त रहेको बताउँछन् । उनका फार्ममा सिजन अनुसारको तरकारी समेत हुन्छन्। अहिले भेन्डी, करेला, घिरौँला, कार्को छन्। उनले स्ट्रबेरी खेती समेत गर्दछन्। उनको फार्ममा स्ट्रबेरीको सिर्जनमा फोटो खिच्नेदेखि टिकटक बनाउनेसम्मको लर्को लाग्ने गर्दछ। यहाँ विद्यार्थीहरू इन्टन गर्नसमेत आउने गर्दछन्।

  • शैक्षिक भ्रमणमा गएको बस दुर्घटना, १३ जना घाइते

    शैक्षिक भ्रमणमा गएको बस दुर्घटना, १३ जना घाइते

    बैतडीको मेलौली नगरपालिकामा रहेको मणिलेक नमुना माविको बस दुर्घटनामा परेको छ।

    शैक्षिक भ्रमणको लागि गएको बस बर्दियाको ठाकुरबाबा नगरपालिका-४ पूर्व पश्चिम राजमार्गमा दुर्घटनामा परेको हो।

    मेलौलीबाट शैक्षिक अवलोकन भ्रमणका लागि गएको ना ८ ख ६३६१ नम्बरको बस बुधबार बिहान ०५ः४५ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार रोकी राखेको ट्रकसँग उक्त बस ठोक्किएको हो। बसमा ४२ जना सवार रहेको थिए। ती मध्ये १३ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

    घाइते मध्ये ५ जनाको नेपालगन्जमा उपचार भइरहेको छ। बस मंगलबार मेलौलीबाट शैक्षिक अवलोकन भ्रमणका लागि चितवन तर्फ हिँडेको बताइएको छ।