हुर्किएर खेलेको माटो कसले भुल्न सक्छ!

१) मुक्तक

गर्नुपर्ने साहसपूर्ण काम बाँकी थियो सायद,

डुल्न पाखापखेरा तमाम बाँकी थियो सायद।

लेखेर राखिएका अनगिन्ती कथाव्यथाहरू,

बन्द गरेको खोल्न खाम बाँकी थियो सायद।

२) मुक्तक

माटो भुल्नु बाध्यता थियो वा रहर उसको,

बाटो भुल्नु बाध्यता थियौ वा प्रहर उसको।

बटुलेर एक थान खुसीका छरपस्ट बुकीहरू,

खाट‍ो भुल्नु बाध्यता थियो वा कहर उसको।

३) मुक्तक

चैत्रको विचित्रता धुलो धमिलो मात्र,

किन कुँडियो होला मन अमिलो मात्र।

भरोसा जिजीविषाका सुषुप्त परिदृश्य,

एकतमासका धून सन्नाटा गमिलो मात्र।

४) मुक्तक

भौंतारिनेहरू शान्तिको खोजीमा नै रहेछन्,

अनुसन्धान भ्रान्तिको खोजीमा नै रहेछन्।

रुमलिने मन समुद्री मन्थनभन्दा जटिल,

परिस्थिति त क्रान्तिको खोजीमा नै रहेछन्।

५) मुक्तक

मनोबल नगिरोस् परिवर्तनको सुरुवात गर्दै जानु छ,

सुवास छरिदिने पारिजात फूल जसरी झर्दै जानु छ।

सबैको नजरले कहाँ ठम्याउन सक्छन् र अंशुमाली,

बँचाउन कयौं अबोध सपना सुन्दर रङ्ग भर्दै जानु छ।

६) मुक्तक

हुर्किएर खेलेको माटो कसले भुल्न सक्छ,

पौरख र पसीनाले मात्र भाग्य खुल्न सक्छ।

प्रकृतिका असङ्ख्य उपहार संरक्षण गरेदेखि,

सिर्जनाका यहाँ सुन्दर डाली झुल्न सक्छ।

७) मुक्तक

आफ्ना परम्परा भाषा वेश संरक्षण हामीले गर्नुपर्छ अब,

नरहोस् कतै धमिलो, उज्याला इन्द्रेनी रङ भर्नुपर्छ अब।

लोप नहोस् हाम्रा पुर्खाले आर्जेका धरोहर पुण्यभूमि यो,

सबैले मिलेर सुनौला ज्ञानको किरण यहाँ छर्नुपर्छ अब।

८) मुक्तक

माटोबिना जराको अस्तित्व हुन्छ र,

बढ्दै जान्छ बाँस गगन कहाँ छुन्छ र!

सङ्लिनु अगाडि धमिलो भएको खहरे,

बाँध हालेर कसैले त्यसलाई थुन्छ र!

९) मुक्तक

यसरी छर्लङ्ग ऐना लाग्छ बिउँझिएपछि भ्रमबाट,

सार्थक बन्छ मिलेको सन्तुष्टि रहरको श्रमबाट।

दुरात्माबाट दूर बस्नु छ हियो दुखाउँछन् घरिघरि,

धैर्य नछोड ए जीवन, प्रदीप्त बन्नेछ क्रमबाट।

१०) मुक्तक

खोजे यहीं मिल्छ तीर्थ पवित्र धाम पनि,

खनी खोस्रेर पुग्नेछ खानलाई माम पनि।

सुन र चाँदीझैं टल्कन्छ सगरमाथा हाम्रो,

भेदभावबिना न्यानो दिएकै छ घाम पनि।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *