Blog

  • कुपोषणले ग्रसित विद्यार्थीको खाजा रकम वृद्धि गरिने

    कुपोषणले ग्रसित विद्यार्थीको खाजा रकम वृद्धि गरिने

    विद्यालय शिक्षामा विद्यार्थीको आकर्षण बढाउन सरकारले दुई दशक अघि विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु गरेको थियो।

    परीक्षणको रुपमा दुर्गमका केही विद्यालयबाट सुरु गरिएको दिवा खाजा कार्यक्रमले सामुदायिक तर्फका कक्षाकोठामा सिकाइको स्तर वृद्धि गर्नुको साथै विद्यालयमा विद्यार्थी टिकाउन समेत सफल भयो।

    सोही सफलताका आधारमा सरकारले बजेट मार्फत नै देशभरिका प्राथमिक तह (कक्षा १–५ सम्म) का बालबालिकाहरुकालागि कार्यान्वयन गर्‍यो।

    अहिले कर्णालीका प्रति विद्यार्थी २० रुपैयाँ र अन्य क्षेत्रका विद्यालयहरुका लागि प्रति विद्यार्थी १५ रुपैयाँका दरले सरकारले दिवा खाजा रकम उपलब्ध गराउँदै आएको छ।

    कार्यक्रमले शैक्षिक सुधारमा प्रभावकारी भूमिका खेलेको भएपनि बढ्दो महँगाइमा रकम अपुग भएको भन्दै रकम वृद्धि गरिनु पर्ने माग विज्ञ तथा अभियानकर्ताहरूले गर्दै आएका थिए।

    विद्यालयमा दिवा खाजाको रकम अपुग भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले रकम थप गरेर प्रति विद्यार्थी ३० रुपैयाँ पुर्‍याए। हाल कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुका लागि महानगरका आफैले प्रति विद्यार्थी ३० रुपियाँको दरले रकम उपलब्ध गराउँदै आएको छ।

    महानगरले कक्षा १० सम्मकै विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्थापन गरिदिएपछि काठमाडौंका सामुदायिक विद्यालयहरूको मुहारै नै फेरिएको यहाँका प्रधानाध्यापकहरू बताउँछन्।

    ‘सरकारी रकममा काठमाडौं महानगरले रकम थप गरेर ३० पुर्‍याएपछि विद्यार्थीहरूले पोषणयुक्त खाजा खान पाएका छन्। उनीहरु कुपोषण मुक्त भएर स्वास्थ्य भएका छन्,’ त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माविका प्रअ हेरम्बराज कँडेलले भन्छन्,‘विद्यालयमा विद्यार्थी सङ्ख्या पनि वृद्धि भएको छ। बीचैमा कक्षा छाड्ने दर पनि शून्य भएको छ।’

    महानगरको यस कदमबाट विद्यार्थीहरुको स्वास्थ्यमा समेत सुधार हुँदै गएकाे उनी सुनाउँछन्। ‘विद्यार्थीहरुको शरीर र दिमाग चुस्त भएकाे छ। कक्षा कोठाकाे सिकाइ स्तर वृद्धि भएर गुणस्तर कायम भएको छ। मेरो स्कुलमा दैनिक कक्षा १० सम्मका १६ सय विद्यार्थी रमाएर खाजा खान्छन्। रमाएरै अध्ययन गर्छन्।’ उनले सुनाए।

    सोही सन्दर्भमा देशभरिका विद्यालयहरुमा दिवा खाजाको रकम वृद्धि गरी ५० रुपैयाँ पुर्‍याउनु पर्ने माग गर्दै विगत ११ दिनदेखि अभियानकर्ता नेत्र चौलागाईले उभिएर शान्तिपूर्ण आन्दोलन गर्दै आएका थिए।

    सोही आन्दोलनलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आफ्नो सचिवालयको पेज मार्फत दिवा खाजाको रकम वृद्धि गरिन् उल्लेख गरेकी छिन्। उनले यस पटक कुपोषण ग्रस्त र मानव सुचाङ्कमा पछि परेका क्षेत्रमा रकम वृद्धि गरिने जानकारी दिएकी हुन्।

    मन्त्रालयले यस वर्षको ‘शिक्षा बजेट’ मार्फत कर्णाली प्रदेशका बालबालिकालाई विद्यालयमा दिवा खाजा कार्यक्रमको लागि बजेट वृद्धिको प्रस्ताव गरेको छ।

    कर्णाली प्रदेशका बालबालिका कुपोषणबाट ग्रसित भएकाले उनीहरूको स्वास्थ्यको ख्याल गर्दै शिक्षा मन्त्रालयले प्रति विद्यार्थी २० रुपियाँबाट वृद्धि गरेर २५ रुपियाँ पुर्‍याउनु पर्ने प्रस्ताव गरेको जनाएकी छिन्।

    मन्त्री श्रेष्ठले आफ्नो सचिवालयको पेजमा अन्य विद्यालयहरूमा एकै पटक एउटै शीर्षकमा तीन गुणा वृद्धि गर्न नसकिए पनि कर्णाली प्रदेशमा कुपोषणले ग्रसित बालबालिकाको हकमा भने रकम वृद्धि गर्ने प्रस्ताव गरेको स्पष्ट पारेकी हुन्।

    हाल सरकारले कर्णालीमा प्रति विद्यार्थी २० र अन्य सबै विद्यालयमा प्रति विद्यार्थी १५ रुपैयाँको दरले दिवा खाजाको रकम उपलब्ध गराउँदै आएको छ।

    गत वर्ष सरकारले देशभरिका ३२ लाख विद्यार्थीका लागि खाजा कार्यक्रम अन्तर्गत ८ अर्ब ४५ करोड रकम उपलब्ध गराएको थियो तर यो रकम अपुग भएको भन्दै केही पालिकाहरूले आफैले पनि बजेट थप गरि ५० रुपियाँसम्म पुर्‍याएका थिए।

    कतिपयले त विद्यालयको रकम अपुग भएको भन्दै बालबालिकालाई दिवा खाजा खुवाउनै छाडेका पनि छन्।

    सामुदायिक विद्यालयमा बढ्दै गएको ड्रप आउट दर र कक्षाकोठाको सिकाइ स्तर वृद्धि गरि बालबालिकालाई विद्यालयमा टिकाउने लक्ष्यसहित सरकारले विद्यालयमा दिवा खाजा कार्यक्रम ल्याएको हो। तर रकम अपुग भएपछि विद्यालयहरूले बालबालिकालाई तयारी खाजा समेत खुवाउने गरेको विषयहरू बाहिरिँदै आएको छ।

    मन्त्री श्रेष्ठले विद्यालय शिक्षाको गुणस्तरीय अभिवृद्धि गर्ने लक्ष्यसहित प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकहरूको न्यूनतम पारिश्रमिकको सुनिश्चितताका लागि अन्तर सरकारी पहल गरिनुका साथै सामाजिक सुरक्षा प्रणालीसँग जोडिने गरि बजेट प्रस्ताव गरेको दाबी गरेकी छिन्।

    प्रारम्भिक बाल विकास शिक्षा सुधारको माग राखेर १० दिनदेखि माइतीघर मण्डलामा धर्ना दिइरहेका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चपागाईले मन्त्रालयमै वार्ता गरि सहमति गरेसँगै मन्त्रालयले बजेटमा दिवा खाजा र प्रारम्भिक बाल विकासलाई प्राथमिकताका साथ प्रस्ताव गरेको हो।

    अध्यक्ष नेत्र चपागाइले दिवा खाजालाई १५ बाट ५० प्रति विद्यार्थी पुर्‍याउनुपर्ने र प्रारम्भिक बाल विकासका शिक्षकहरुको पारिश्रमिक अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुनुपर्ने माग राख्दै धर्नामा बसेका थिए।

    यसबारे प्रष्ट पार्दै मन्त्री श्रेष्ठले लेखेकी छिन्, ‘विद्यार्थीलाई दैनिक खाजा खर्च १५ रुपैयाँ पर्याप्त नरहेकोमा हामी सहमत छौँ। तर नेपालको आर्थिक अवस्थाका कारण अनिवार्य दायित्व समेत पूरा गर्न सम्झौता गर्नुपर्ने अवस्थामा एकै शीर्षकमा तीन गुना भन्दा वृद्धि हुने थप व्ययभार एकै पटक थप्न सम्भव नहुने देखियो। यस कारण सर्वप्रथम कुपोषणले ग्रसित बनाएका कर्णाली प्रदेशमा भने कम्तीमा २०–२५ सम्म प्रति विद्यार्थी लक्षित दिवा खाजाको कार्यक्रमका लागि पहल सुरु गरिसकेका छौँ।’

    उनले थप उल्लेख गरेकी छिन्,‘ एकै पटक सोलोडोलो अर्थात् ब्ल्याङ्केट एप्रोचमा जानुको सट्टा मानव सूचकाङ्कमा सबैभन्दा पछाडि परेका क्षेत्रलाई प्राथमिकता दिएर नीति बनाएका छौँ। दिवा खाजाकै लागि मेघा किचन तथा स्थानीय अनाजहरूको प्रयोग जस्ता कार्यक्रमलाई बजेटमार्फत लागू गराएर कम खर्चमै पनि ताजा, पोसिलो र गुणस्तरीय खाजा खुवाउने तथा अन्य स्रोतहरूको खोजी गर्न मन्त्रालयले नीति तथा कार्यक्रम र बजेटमा योजना प्रस्ताव गरेको छ।’

    आउँदो आर्थिक वर्षबाटै केही स्थानमा पाइलट प्रोजेक्टको रुपमा लागु हुनेछ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा क्षेत्रमा बजेट सिलिङ बढाउन पहल गरिरहेको र सिलिङभित्रको कार्यक्रमहरू प्रभावकारी तथा पारदर्शी रुपमा कार्यान्वयनका लागि मन्त्रालय प्रतिबद्ध रहेको उनले जनाइन्।

    मन्त्रालयका सह-सचिव वैकुण्ठ अर्यालले कर्णाली क्षेत्रका बालबालिकाको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै मन्त्रालयले कर्णालीका बालबालिकाको लागि विद्यालयमा दिवा खाजाको रकममा वृद्धि गर्नु पर्ने प्रस्ताव गरेको बताए।

    ‘कर्णाली क्षेत्रका विद्यार्थीलाई विद्यालयमा टिकाउन र सिकाउनको लागि दिवा खाजा अपरिहार्य छ,’ सहसचिव अर्यालले नागरिक न्युजसँग भने, ‘तर कर्णालीमा भोको पेट बालबालिका विद्यालयमा टिक्न र सिक्न मुस्किल छ। यस कारण यो क्षेत्रमा दिवा खाजालाई थप प्राथमिकता दिइएको हो।’

    इसिडीलाई तीन वर्षे बनाउने सवालमा मन्त्री श्रेष्ठले विज्ञहरूसँगको छलफल पश्चात्, यसबारे अझै अध्ययन गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेको बत्ताएकी छिन्।

    उनले मन्त्रालय मातहतकै शैक्षिक गुणस्तर परीक्षण केन्द्रको सन् २०२२ को ‘प्रारम्भिक शिक्षा तथा बाल विकासको गुणस्तर परीक्षण’ ले संस्थागत इसिडी अध्ययनरत ९५ प्रतिशत विद्यार्थी कक्षा १ मा जान तयार रहेको पाइएको उल्लेख गरिन्।

    सामुदायिक इसिडी तर्फ भने अध्ययनरत ६५.६ प्रतिशत विद्यार्थी मात्र कक्षा १ मा जान तयार रहेको उनले सुनाइन्।

    ‘यस कारण मन्त्रालयको प्राथमिकता भनेको सामुदायिक इसिडीअध्ययनरत सम्पूर्ण विद्यार्थीलाई कक्षा १ मा भर्नाका लागि तयार गर्नु हो। इसिडी २ वर्षे चाहिएला, कि ३, या एकै वर्षेलाई पनि निकै सुदृढ बनाउन सकिएला, यसका लागि विस्तृत अध्ययनको आवश्यकता छ। सो अध्ययनका लागि विनियोजन विधेयकमै व्यवस्था गरिएको छ। सो अध्ययनबाट इसिडीलाई संस्थागत र सार्वजनिक दुवैतिर समान वर्षको बनाउने व्यवस्था गरिनेछ।’ उनले भनिन्।

    इसिडी शिक्षकको तलब वृद्धि र तालिमको व्यवस्था सम्बन्धी सवालमा सरकारी तथा संगठित क्षेत्रमा कार्यरत अस्थायी, करार, ज्यालादारी कर्मचारीका साथै अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गरिनुका साथै, इसिडी शिक्षकको न्यूनतम पारिश्रमिकको सुनिश्चितताका लागि अन्तर सरकारी पहल गरिने उनले जनाइन्।

    ‘सबै अस्थायी, करार शिक्षकलाई मात्र होइन, इसिडी शिक्षक समेत समेटिनेछ। साथै बजेटमा इसिडी शिक्षकलाई केन्द्रित गहन प्रशिक्षण सम्बन्धी नयाँ कार्यक्रम समेत प्रस्ताव मन्त्रालयले गरेको छ।’ उनले भनिन्।

  • महिला समितिमा सांसद कंसाकारको बिलौना: क्षतिपूर्तिको रकम पाइन्

    महिला समितिमा सांसद कंसाकारको बिलौना: क्षतिपूर्तिको रकम पाइन्

    एसिड आक्रमणमा गम्भीर घाइते भई उपचारमा रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विन्दबासिनी कंसाकारले मन्त्रालय लगायत निकायबाट तदारुकता काम नहुँदा क्षतिपूर्तिबापत पाउनुपर्ने रकम प्राप्तिमा ढिलाइ भएको गुनासो गरेकी छिन्।

    प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा सांसद स्वयम्ले आफू पीडित भएको घटनाको विवरण सुनाउँदै राज्यले पीडितलाई न्याय दिनुपर्नेमा सांसद भएबापत प्राप्त गर्नु भत्तासमेत रोकिएको भनी रोदन प्रकट गरिन्।

    उनी विसं २०७० वैशाखमा तेजाब आक्रमणमा परेकी थिइन्। तेजाब आक्रमणपछिको जलनजस्तै उपचारका क्रममा भोग्नु परेको पीडा उस्तै रहेको पनि उनले बैठकमा सुनाइन्। उनले उपचारका क्रममा पिताका नाममा रहेको घर धितोमा राखेर ऋण लिन परेको र त्यो ऋण तिर्न नसक्दा कालोसूचीमा राखेकाले आफूले संसद्बाट प्राप्त गर्नुपर्ने सुविधा समेत रोकिएको कथा/ व्यवस्था जानकारी गराइन्।

    तेजाब वा अरू जलनबाट हुने उपचार पद्धति निकै कमजोर रहेको जनाउँदै सांसद कंसाकारले छ वर्षको उपचारबापतको खर्च रु एक करोड १४ लाख र पीडित राहत कोषबाट प्राप्त गर्ने प्रावधानअनुरुप अदालतबाट पाँच वर्षअघि फैसला भए पनि रकम अझैसम्म नपाएको गुनासो गरिन्।

    अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने मामिलामा समेत प्रहरी÷प्रशासनबाट आवश्यक तदारुकता नभएका कारण लामो समयसम्म मानसिकरुपमा थप तनाव झेल्न परेको घटना उनले समितिलाई जानकारी गराइन्। ‘माननीय’लाई समेत न्याय पाउन यति कठिन छ भने अरूको के हालत होला भनी प्रश्न गर्दै समिति सदस्य कंसाकारले मैले न्याय पाइन भने राज्यले अरूलाई न्याय दिलाउँछ भनी विश्वास नै गर्न नसकिने बताइन्।

    बैठकमा अरु समिति सदस्यले अदालतको फैसला कार्यान्वयन नहुने र पीडितले न्याय नपाउने हो भने कानुन बनाउनको के औचित्य रहन्छ भनी प्रतिक्रिया दिइन्। उनीहरुले सरकारी प्रक्रिया झन्झटीले रहेको तथा राज्यबाट भएका निर्णय कार्यान्वयन हुन्छ भन्ने सुनिश्चिता नहुँदा ठूलो सङ्ख्यामा युवा÷विद्यार्थी मुलुकबाट पलायन हुनु परेको विचार राखिन्।

    समिति सदस्य ईश्वर रिजालले सांसद कंसाकारले विदेशबाट औषधि किनेर खानुपर्ने अवस्था रहेकाले उनले संसद् सचिवालयबाट प्राप्त गर्ने सेवासुविधाबाट समेत वञ्चित रहन भनेको तेजाबको जलनभन्दा पीडादायी अवस्था रहेको बताइन्।

    बैठकमा पीडित सांसद कंसाकारले तीन तहकै सरकारबाट पीडितलाई आर्थिक सहयोग गर्न सक्ने व्यवस्था भए पनि आफूले कसैबाट सहयोग नपाएको जानकारी गराइन्। सर्वोच्च अदालतका रजिष्ट्रार एवं पीडित राहत कोषका अध्यक्ष विमल पौडेलले अपराधको कसुरका आधारमा क्षतिपूर्ति प्राप्त गर्ने कानुनी व्यवस्था रहेको बताइन्।

    उनले भनिन्,’कानुनमा कसुरदारबाट क्षतिपूर्ति भराउनुपर्छ भन्ने छ। अदालतबाट छ वर्षको अवधिमा औषधि उपचारका लागि खर्च भएको रकम भराउने निर्णय भएको छ। फैसला परेको केही शब्दको प्रयोगबारे स्पष्ट हुने क्रममा केही समय लागेको हो, अब छिट्टै यो विषय अघि बढ्छ।’

    पीडकबाट क्षतिपूर्तिबापत भराइएको रकमको ५० प्रतिशत पीडित राहत कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको र यो वर्षमा मात्रै पनि क्षतिपूर्तिबापतको रकम ७५ जनाले प्राप्त गरिसकेको बताइन्।

    बैठकमा कंसाकारका कानुन व्यवसायी अधिवक्ता यज्ञमणि न्यौपाले एसिड प्रहार गर्ने कार्यमा संलग्न पीडकलाई घटना र क्षतिका आधारमा तीन वर्षदेखि आठ वर्षसम्म कैद र रु ५० हजारदेखि रु पाँच लाखसम्म क्षतिपूर्ति भराउने कानुनी व्यवस्था रहेको जानकारी गराइन्।

  • कान्तिपुर अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

    कान्तिपुर अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको छ।

    सोमबार अदालतका न्यायाधीश यदुराज शर्माको एकल इजलासले प्रारम्भिक बहसपछि सिरोहियालाई थप तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हाे।

    प्रहरीले भने पाँच दिनको म्याद थप गर्न अनुमति मागेकाे थियाे। सिरोहियाको पक्षमा अधिवक्ता विनोद शर्मा, रमण कर्ण, दिनेश त्रिपाठी र किशोर पौडेलले बहस गरेका थिए।

    उच्च रक्तचाप र मुटुमा समस्या देखिएपछि सिरोहिया प्रहरीको निगरानीमा तीन दिनदेखि काव्या अस्पताल उपचाररत छन्। उनलाई आज सोही अस्पतालको एम्बुलेन्समा अदालतसम्म ल्याइएको थियाे।

    पहिलोपटक गत बुधबार धनुषा जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काको इजलासले सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो भने दोस्रो पटक शुक्रबार ३ दिनको म्याद थप गरिएको थियो।

    नागरिकता सम्बन्धी कसुरमा नागरिकता किर्ते गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जेठ ८ गते अदालतबाट पक्राउ अनुमति लिएको थियो। पक्राउ गर्न अनुमति लिएसँगै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रविन्द्र रेग्मीसहितको टोलीले कान्तिपुरको थापाथलीस्थित कार्यालय पुगेर उनलाई त्यही साँझ पक्राउ गरेको थियो।

    पक्राउ परेका सिरोहियालाई प्रहरीले त्यही राति गाडीमा धनुषा पुर्‍याएको थियो।

  • बढुवा भएका चार डीआईजीलाई दर्ज्यानी चिह्न

    बढुवा भएका चार डीआईजीलाई दर्ज्यानी चिह्न

    प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका चार जान अधिकृतहरूलाई दर्ज्यानी चिह्न लगाएका छन्।

    गृहमन्त्रीस्तरको निर्यणअनुसार जेठ १३ गते डिआइजीमा बढुवा भएका एसएसपीहरू कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा.मनोजकुमार केसी र राजन अधिकारीलाई डिआइजी दर्ज्यानी चिह्न लगाएका हुन्।

    प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले सोमबार उनीहरूलाई प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

  • लोकतान्त्रिक अभ्यासबाट नभाग्न कांग्रेसलाई आग्रह

    लोकतान्त्रिक अभ्यासबाट नभाग्न कांग्रेसलाई आग्रह

    कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राज रानाले लोकतान्त्रिक अभ्यासबाट नभाग्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन्। कोशी प्रदेशसभा बैठकमा सोमबार विनियोजन विधेयक २०८१ का सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री रानाले लोकतान्त्रिक अभ्यासबाट नभाग्न कांग्रेसलाई आग्रह गरेका हुन्।

    रानाले बजेटको प्राथमिकता र सिद्धान्तका विषयमा प्रदेशसभामा छलफल भइरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अनुपस्थित भएपछि बजेटको प्राथमिकतालाई थप सुदृढीकरण गर्न नसकिएको रानाले बताए।

    ‘छलफलमा प्रमुख प्रतिपक्षी दल पनि सहभागी भएको भए बजेटको प्राथमिकतालाई थप सुदृढ गर्न सकिने थियो’ मन्त्री रानाले भने ‘ लोकतन्त्रमा सरकार बन्ने र ढल्ने सामान्य प्रक्रिया भएकाले लोकतान्त्रिक अभ्यासबाट नभाग्न कांग्रेसलाई आग्रह गर्दछु।’

    मन्त्री रानाले प्रदेश सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहभागी नभए पनि कांग्रेसलाई समेत अपनत्व हुने गरी बजेट ल्याउने दाबी समेत गरे। कोशी प्रदेशसभामा जेठ १३ गते देखि विनियोजन विधेयक २०८१ को प्राथमिकता र सिद्धान्तका विषयमा छलफल सुरू भएको थियो।

    तर, नेपाली कांग्रेसले असंवैधानिक प्रक्रियाबाट सरकार गठन भएकाले कोशी प्रदेशको अहिलेको सरकार नै अवैध रहेको दाबी गर्दै आएको छ। निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सरकार गठन प्रक्रियामा असन्तुष्टि जनाउँदै अदालतमा रिट दायर गरेका छन्। कांग्रेसले सर्वोच्चले फैसला नगरेसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने अडान राख्नै कोशी प्रदेशसभाको बैठक बहिस्कार गर्दै आएको छ।

  • चोरी आरोपमा चौथो पटक पक्राउ परे खोटाङका ‘पटके’

    चोरी आरोपमा चौथो पटक पक्राउ परे खोटाङका ‘पटके’

    विगतमा तीन पटक छुटाछुट्टै चोरी आरोपमा पक्राउ परेर छुटेका खोटाङका २६ वर्षीय अर्जुन प्रधान ‘पटके’ चोरी आरोपमै पुन: पक्राउ परेका छन्।

    उनलाई पछिल्लो पटक उदयपुरको सदरमुकाम गाईघाटबाट मोटरसाइकल चोरी आरोपमा पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार ५ दिनअघि त्रियुगा नगरपालिका-१२ स्थित सोनापुरबाट हराएको मोटरसाइकल चोरी आरोपमा उनी पक्राउ परेका हुन्।

    स्थानीय नारायण दाहालको घरमै पार्किङ गरी राखेकाे १–०५–००१ प २४६० नं. को पल्सर मोटरसाइकल चाेरीभएपछि खोजी गर्ने क्रममा त्रियुगा-११ गाईघाटस्थित इनारचोककाे एक मोटरसाइकल ग्यारेजमा ३ दिनपछि फेला परेको थियो। प्रधान पनि मोटरसाइकलसँगै पक्राउ परेका हुन्।

    खोटाङको दिक्तेल मझुवागढी नगरपालिका-१७ का स्थायी बासिन्दा रहेका प्रधान पक्राउपछि अनुसन्धानका क्रममा पटकपटक चोरी कार्यमा संलग्न भएको खुलेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

    उनी विगतमा ३ पटकसम्म चोरी कार्यमा संलग्न रहेको खोटाङ र उदयपुर प्रहरीबाट खुलेको प्रहरी प्रवक्ता डिएसपी राजन चापागाईले जानकारी दिए।

    खोटाङ प्रहरीलाई उद्धृत गर्दै चापागाईले बताए अनुसार प्रधान पहिलो पटक ०७७ साउन ११ गते खसी चोरेको कसुरमा पक्राउ परेका थिए।

    त्यसैगरी ०७८ साउन ४ गते पसल चोरी गरेको आरोपमा पक्राउ परेर छुटेका उनी ०७८ साउन १९ गते ९९ हजार नगद चोरीको आरोपमा पनि पक्राउ परेको पाइएको छ।

    यसअघिका चोरी कार्यमा संलग्न भई प्रहरी हिरासत बस्नुका साथै दण्ड जरिवानासमेत तिरिसकेका उनी अहिले मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ परेका हुन्।

    प्रधानलाई जिल्ला अदालतबाट ६ दिनको म्याद लिई थप अनुसन्धान सुरु भइरहेको डिएसपी चापागाईले बताएका छन्।

  • राप्रपाले भन्यो: सरकारले ४० बुँदे माग पूरा गरेन, आन्दोलन जारी राख्छौँ

    राप्रपाले भन्यो: सरकारले ४० बुँदे माग पूरा गरेन, आन्दोलन जारी राख्छौँ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार समक्ष पेश गरेको ४० बुँदे मागपत्रको सम्बोधन नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ।

    सोमबार सम्पन्न भएको राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकले केही समय अघि पार्टीले सरकार समक्ष पेश गरेको ४० बुँदे मागपत्रको सम्बोधन नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको हो।

    सुशासन, विकास र सेवाप्रवाहसँग सम्बन्धित विषयमा तत्काल सम्बोधन गर्न र दीर्घकालिन माग र मुद्दाहरुमा सबै दलका बिच नविन समझदारी निर्माण गर्न आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

    उनले भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित र तत्काल देखा पर्ने समसामयिक मुद्दाहरुमा विभिन्न प्रकारका प्रदर्शन र दबाबमुलक कार्यक्रमहरुको आयोजना गर्ने निर्णय भएको बताए।

    उनले भने, ‘राप्रपाले सरकारलाई दिएको ४० बुँदे मागपत्र सम्बोधन नगरेको विषयमा फेरी सरकारलाई ध्यानाकर्षण गराउने। सुशासन विकास र सेवाप्रवाहसँग सम्बन्धि विषयमा तत्काल सम्बोधन गर्न र दीर्घकालिन माग र मुद्दाहरुमा सबै दलका बिच नविन समझदारी निर्माण गर्न आवश्यक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउने निर्णय। हाम्रो माग पुरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय समेत गरेको छ। भ्रष्टाचार, जनजिविकासँग सम्बन्धित र तत्काल देखा पर्ने समसामयिक मुद्दाहरुमा विभिन्न प्रकारका प्रदर्शन र दबाबमुलक कार्यक्रमहरुको आयोजना गर्ने निर्णय।’

  • बागमतीको नीति तथा कार्यक्रम: बन्द उद्योग सञ्चालन, उत्पादन, रोजगारीमा जोड

    बागमतीको नीति तथा कार्यक्रम: बन्द उद्योग सञ्चालन, उत्पादन, रोजगारीमा जोड

    बागमती प्रदेशभित्रका बन्द अवस्थामा रहेका उद्योगहरू सञ्चालन गरिने भएको छ। प्रदेश सरकारको सोमबार प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा बन्द उद्योग सञ्चालन गर्दै बेरोजगारी समस्या हल गर्ने उल्लेख छ।

    प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वदेशी तथा विदेशी लगानी प्रोत्साहन गर्न नीति निर्माण गरिने बताए। एक स्थानीय तह एक उद्योग ग्राम कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने छ। प्रदेशमा लगानी प्रोत्साहनका लागि लगानी बोर्डको स्थापना समेत गरिनेछ। स्थानीय तहसँग समन्वय गरी कृषि, औद्योगीकरण तथा सीप विकासमा जोड दिइएको छ।

    कृषि उत्पादन वृद्धिका लागि नीति निर्माण गर्ने, प्राङ्गारिक मल उत्पादन कारखाना स्थापना गर्ने विषयलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ। आगामी वर्षलाई युवा उद्यमशीलता विकासका लागि सीप वर्ष घोषणा गरी कार्यान्वयन गरिने भएको छ । कृषक सूचीकरण र वर्गीकरण गरी प्रोत्साहन गरिनुका साथै कृषि उपजको बजार केन्द्रहरूको पूर्वाधार निर्माण र व्यवस्थापनको व्यवस्था गरिने छ। प्रदेश स्तरमा खाद्य गुणस्तर प्रविधि प्रयोगशाला स्थापना गरिने सरकारको लक्ष्य रहेको छ।

    प्रदेशमा उपलब्ध फलफूल र अन्नबालीको प्रयोग गरी मदिरा उत्पादनका लागि संघीय सरकारसँग समन्वय गरिने घोषणा गरिएको छ। प्रदेश सरकार, निजी क्षेत्र तथा दूध उत्पादक सहकारीको साझेदारीमा बागमती धुलो दूध कारखाना सञ्चालन गरिने, हेटौँडामा निर्माणाधीन थोक तरकारी बजार सञ्चालन गरिने, अभियानकै रुपमा प्याज र लसुन खेती कार्यक्रम सञ्चालन गरिने नीति कार्यक्रममा उल्लेख छ।

    एक निर्वाचन क्षेत्र एक प्राङ्गारिक मल कारखाना भन्ने नारा अगाडि बढाउँदै यसका लागि स्थानीय तहसँग समन्वय गरिने शर्माले बताए। बागमती प्रदेशमा स्वदेशी तथा विदेशी लगानी प्रोत्साहन गर्न नीति निर्माण गरिनुका साथै पर्यटन गन्तव्यको विषयमा समेत पर्यटकलाई जानकारी गराउन आवश्यक कार्य गरिने उनले उल्लेख गरे। प्रदेश सरकारले सवारी चालक अनुमति पत्र प्रदेशमा नै छपाइको व्यवस्था मिलाउने भएको छ। यातायात कार्यालयको सेवालाई प्रविधिमैत्री र अनलाइन सेवाबाट सञ्चालन गरिने शर्माले जानकारी दिए।

    यस्तै सार्वजनिक यातायात क्षेत्रमा नगदरहित भुक्तानी सेवा सञ्चालन गरिने, प्रदेशवासीलाई मोबाइल एपबाट विपद् तथा रोगहरूको जानकारी गराइने, औपचारिक क्षेत्रमा कार्यरत व्यक्तिलाई सामाजिक सुरक्षामा आबद्ध गराइने विषयलाई नीति तथा कार्यक्रममा समेटिएको छ। भौतिक संरचना निर्माण गर्दा अनिवार्य रूपमा स्वदेशी काठको प्रयोग गर्ने नीति अगाडि सार्नुका साथै विदेशी काठको आयात निरुत्साहित गरिने भएको छ। मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरणका लागि आवश्यक व्यवस्था गरिने छ भने बाँदर, बँदेल लगायतका वन्यजन्तुबाट हुने धनजन तथा खाद्य बालीको क्षति न्यूनीकरणका लागि कार्यक्रम सञ्चालन हुनेछ। प्रदेशमा सबै नीतिमा स्वास्थ्य नीति लागू गरिने भएको छ।

    एक माध्यमिक विद्यालय एक नर्स कार्यक्रमलाई थप विस्तार गर्दै मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई समयानुकूल बनाउँदै लगिने भएको छ। स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्तिलाई व्यवस्थापन गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई क्रियाशील बनाइने कार्यक्रममा घोषणा गरिएको छ। बागमती प्रदेश विश्वविद्यालयको स्थापना, संरचना निर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउनुका साथै प्रदेश परिचय विषयको पाठ्यक्रम निर्माण गरी पठनपाठन सञ्चालन गरिने भएको छ।

    खेलकुद पूर्वाधारको विकास र खेलाडी प्रोत्साहनको नीति अवलम्बन गर्ने भएको छ। भरतपुरको गौतम बुद्ध क्रिकेट रंगशाला सह लगानीमा सम्पन्न गर्ने र हेटौँडाको गौरिटार रंगशालामा निर्माणाधीन अवस्थामा रहेका पूर्वाधार विकास समयमै सम्पन्न गरिने भएको छ। प्रदेश सुशासन केन्द्रलाई प्रादेशिक प्रशिक्षण तथा तालिम केन्द्रको रुपमा विकास गरिने, प्रदेश लोकसेवा आयोगलाई थप सुदृढीकरण गरिने, स्थानीय तहसँगको समन्वयमा श्रमिककै सहभागिता हुने गरी श्रमिक सहकारी संस्था स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

  • कांग्रेसको आन्तरिक राजनीतिले वार्तामा सहमति जुट्न सकेनः महेश बर्तौला

    कांग्रेसको आन्तरिक राजनीतिले वार्तामा सहमति जुट्न सकेनः महेश बर्तौला

    सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेस भित्रको आन्तरिक राजनीतिले सहकारी अपचलनसम्बन्धि संसदीय छानबिन समितिको गठन हुन नसकेको बताएका छन्।

    नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक तथा संसदीय छानबिन समिति बनाउन निर्माण गरिएको वार्ता समितिका सदस्य बर्तौलाले कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले सो कार्यादेश निर्माणमा सहमती जुटाउने प्रयास गरेपनि महामन्त्री गगन थापा पक्ष त्यसमा भाँड्ने गरी वार्तामा बस्ने गरेको जिकिर गरेका हुन्।

    उनले कांग्रेसको महामन्त्री पक्षले मुलुकको राजनीतिलाई द्वन्द्वतर्फ लैजाने गरी राजनीतिलाई भड्काउने काम गरिरहेको आरोप लगाए। प्रमुख सचेतक बर्ताैलाले कांग्रेसका महामन्त्री पक्षको व्यवहार र गतिविधिले सो कार्यदलले पनि सहमति जुटाउन नसकेको बताए। उनले संसदीय छानबिन समिति बनाएर सहकारी प्रकरणमा दोषी भेटिए गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्नेकुरामा एमाले दृढ रहेको स्पष्ट पारे।

  • लमजुङमा मोटरसाइकल चोरी गर्ने दुई पक्राउ

    लमजुङमा मोटरसाइकल चोरी गर्ने दुई पक्राउ

    लमजुङमा मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

    मर्स्याङ्दी गाउँपालिका–३ बस्ने १९ वर्षीय सुजन तामाङ र क्व्होलासोंथर गाउँपालिका–२ घर भएका १९ वर्षीय पूर्ण बहादुर तामाङलाई प्रहरीले सोमबार मध्यराती नियन्त्रणमा लिएको हो।

    मर्स्याङ्दी गाउँपालिका वडा नं-०९ स्थित एक मोटरसाइकल वर्कशपबाट लु १८ प ९३४७ नम्बरको मोटरसाइकल चोरी गरी ल्याउँदै गरेको अवस्थामा प्रहरीले बेसीशहर नगरपालिका वडा नं-०७ क्याम्पस रोडबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिए।

    उनका अनुसार राती साढे २ बजेको समयमा उक्त मोटरसाइकलमा सवार उनीहरूमाथि शंका लागि प्रहरीले सोधपुछ गर्न खोजेको थियो। प्रहरी देख्नासाथ मोटरसाइकल सोही ठाउँमा छाडी भागेका उनीहरुलाई केही परबाट प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो।

    पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।