कान्तिपुर अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको छ।

सोमबार अदालतका न्यायाधीश यदुराज शर्माको एकल इजलासले प्रारम्भिक बहसपछि सिरोहियालाई थप तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हाे।

प्रहरीले भने पाँच दिनको म्याद थप गर्न अनुमति मागेकाे थियाे। सिरोहियाको पक्षमा अधिवक्ता विनोद शर्मा, रमण कर्ण, दिनेश त्रिपाठी र किशोर पौडेलले बहस गरेका थिए।

उच्च रक्तचाप र मुटुमा समस्या देखिएपछि सिरोहिया प्रहरीको निगरानीमा तीन दिनदेखि काव्या अस्पताल उपचाररत छन्। उनलाई आज सोही अस्पतालको एम्बुलेन्समा अदालतसम्म ल्याइएको थियाे।

पहिलोपटक गत बुधबार धनुषा जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काको इजलासले सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो भने दोस्रो पटक शुक्रबार ३ दिनको म्याद थप गरिएको थियो।

नागरिकता सम्बन्धी कसुरमा नागरिकता किर्ते गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जेठ ८ गते अदालतबाट पक्राउ अनुमति लिएको थियो। पक्राउ गर्न अनुमति लिएसँगै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रविन्द्र रेग्मीसहितको टोलीले कान्तिपुरको थापाथलीस्थित कार्यालय पुगेर उनलाई त्यही साँझ पक्राउ गरेको थियो।

पक्राउ परेका सिरोहियालाई प्रहरीले त्यही राति गाडीमा धनुषा पुर्‍याएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *