Blog

  • संघीयताको घोर विरोधी प्रचण्ड हुन्: मुख्यमन्त्री यादव

    संघीयताको घोर विरोधी प्रचण्ड हुन्: मुख्यमन्त्री यादव

    मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल संघीयता विरोधी भएको आरोप लगाएका छन्।

    सोमबार आ.व २०८०/०८१ को स्थानीय तहलाई दिने स–शर्त अनुदान वितरण तथा विभिन्न मन्त्रलायबाट हुने रकमान्तरको सम्बन्धमा नेकपा एमाले, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएसँगै उनले सञ्चारकर्मीहरुसँग यस्तो आरोप लगाएका हुन्।

    नेकपा एमाले सहितका राजनीतिक दलहरुले वर्तमान सरकार अल्पतमतमा रहेकोले दीर्घकालिन असर पर्ने खालका निर्णयहरु नगर्न/नगराउन ध्यानाकर्षण पत्र पेश गरेका थिए।

    ध्यानाकर्षण पत्र बुझिसकेपछि मुख्यमन्त्री यादवले अहिले संघीयताको घोर विरोधी प्रधानमन्त्री दाहाल भएको आरोप लगाए

    उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिला नै संघीयता नचाहेको स्पष्ट पारेकाे उल्लेख गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारमा ल्याउने नेतृत्व संघीयताको पक्षधर हुनै नसक्ने जिकिर गरे।

    ‘पहिला हामी केपी ओलीलाई संघीयता विरोधी भन्थ्यौँ। उहाँ त भन्दै हुनुहुन्थ्यो की मैले संघीयता चाहेको होइन, जबरजस्ती लादिएको हो, म मजबुर थिएँ। तर प्रचण्डलाई मैले अहिले कसरी हेरेँ भने प्रचण्ड संघीयता चाहने व्यक्ति पहिला तर अहिले संघीयताको घोर विरोधी प्रचण्ड हो। प्रचण्डले संघीयता चाहेकै छैनन्।’ उनले भने।

    मुख्यमन्त्री यादवले सङ्घीयतामाथि प्रहर गर्न मधेस प्रदेशमा पटक पटक विश्वासको मत फिर्ता लिने, कर्मचारीको सरुवा गर्ने लगायतका गतिविधि संघ सरकारले गरेको बताए।

  • पशु अस्पताललाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध: मुख्यमन्त्री अधिकारी

    पशु अस्पताललाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध: मुख्यमन्त्री अधिकारी

    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पशु स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्।

    पोखरा महानगरपालिका–१२ मा पशुपन्छीको उपचारका लागि निर्मित ‘मोडेल भेटेरिनरी अस्पताल’को आज यहाँ आयोजित उद्घाटन समारोहमा मुख्यमन्त्री अधिकारीले आवश्यक स्रोतसाधन र जनशक्ति थप गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए।

    उनले पशुपन्छीको उपचार र कृषकको पशुधन सुरक्षाका लागि नवनिर्मित अस्पताल महत्वपूर्ण हुने बताए। हाल रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको परिसरमा भवन निर्माण गरिएको हो।

    कास्कीका साथै आसपासका जिल्लाका किसानलाई पशु उपचार गर्न तथा आवश्यक परामर्शसम्बन्धी सहजरुपमा सेवा दिने उद्देश्यले अस्पताल निर्माण गरिएको केन्द्रका प्रमुख शम्भुराज पाण्डेले बताए।

    उनका अनुसार भवन प्रदेश सरकारको छ करोड ४४ लाख २० हजार सात सय ७२ लगानीमा बनेको हो। सुविधासम्पन्न साढे दुई तलाको अस्पताल निर्माणका लागि सिद्धबाबा/फुल्जोर जेभी स्याङ्जासँग ठेक्का सम्झौता गरिएको थियो।

    भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका चिकित्सक डा.अनन्त कोइरालाले सुविधासम्पन्न अस्पताल भवनबाट चाँडै अन्तरङ्ग, बहिरङ्गसहितका सेवा प्रदान गरिने जानकारी दिए। अस्पतालमा प्रयोगशाला, शल्यक्रिया कक्ष, फार्मेसी, रेडियोलोजिकल ल्याबलगायत सुविधा रहने उनले बताइन्।

    डा. कोइरालाका अनुसार पशुपन्छी, माछा, घरपालुवा जनावरलगायतको उपचारका लागि छुट्टाछुट्टै कक्ष राखिनेछ। ‘पुरानो भवन साँघुरो थियो।

    त्यहाँबाट उपचार सेवा दिँदै आएकामा अब नयाँ भवनबाट सेवा दिने तयारी भइरहेको छ’, उनले भने, ‘सुरुआतमा सबै उपकरण र जनशक्ति पूरा भइसकेको छैन। आगामी दिनमा अस्पताललाई प्रदेशको पशुपन्छी उपचार प्रमुख केन्द्रकारुपमा विकास गर्नेछौँ।’

    समारोहमा प्रदेशका उर्जा जलस्रोत तथा खानेपानीमन्त्री बेदबहादुर गुरुङ, प्रदेश सरकारका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव डा. टङ्कप्रसाद प्रसाईं, पशुपन्छी तथा मत्स्यविकास निर्देशनालयका निर्देशक डा. प्रेरणा सेढाईंलगायतले अस्पतालबाट विशिष्टिकृत पशु स्वास्थ्य उपचार सेवा प्रवाह गर्नुपर्ने बताएका थिए।

  • साधारणीकरण सञ्चार ढाँचाबारे अन्तर्राष्ट्रिय संगोष्ठी सम्पन्न

    साधारणीकरण सञ्चार ढाँचाबारे अन्तर्राष्ट्रिय संगोष्ठी सम्पन्न

    काठमाडौं विश्वविद्यालय (केयु) को भाषा तथा आमसञ्चार विभागले आयोजना गरेको ‘साधारणीकरण सञ्चार–ढाँचाका दुई दशक’ शीर्षकको अन्तर्राष्ट्रिय संगोष्ठी सम्पन्न भएको छ।

    आइतबार काठमाडौं विश्वविद्यालय स्कुल अफ आट्र्स परिसर, हात्तीवन, ललितपुरमा दक्षिण एसियाली विश्वविद्यालय (एसएयु) का उपकुलपति प्रोफेसर केके अग्रवालले एकदिवसीय अन्तर्राष्ट्रिय संगोष्ठीको उद्घाटन गरे।

    संगोष्ठीको उद्घाटनलगत्तै मन्तव्य दिँदै उनले साधारणीकरण मोडेल अफ कम्युनिकेसन (एसएमसी) सम्बन्धी एकदिवसीय अन्तर्राष्ट्रिय संगोष्ठीको महत्त्व र समाजको हरेक पक्षमा यसको महत्वबारे प्रकाश पारे।

    ‘साधारणीकरण मोडल अफ कम्युनिकेसनबारे सोच्न महत्त्वपूर्ण छ,’ उनले भने, ‘वक्ता र श्रोता सञ्चारका अभिन्न अंग हुन्। यो मोडेलले प्रेषक र प्राप्तकर्तालाई छुट्टाछुट्टै परिभाषित गर्दैन। हामीले स्पष्ट रूपमा सञ्चार गर्न सके मात्र शिक्षाको मूल उद्देश्य सफल हुन सक्छ।

    यो आम सञ्चारको मोडल मात्र नभएर हरेक विषयको मोडल हो भन्नेमा विश्वास गर्छु। दक्षिण एसियाली परिपेक्ष्यमा आधारित भएर धेरै काम गर्न सकिन्छ। म काठमाडौं विश्वविद्यालयलाई केन्द्र स्थापना गर्न आह्वान गर्छु। यदि यो भर्चुअल रूपमा गर्न सके हामीले दक्षिण एसियाली विश्वविद्यायलको मुख्य क्याम्पसमा कला, भाषा तथा सञ्चार सङ्काय स्थापना गर्न सक्छौं। यो मोडल संसारभर पुग्नुपर्छ।’

    संगोष्ठीमा काठमाडौं विश्वविद्यालयका प्रवक्ता तथा सहप्राध्यापक इकुमाया पुनले स्वागत मन्तव्य राखेकी थिइन्। सो अवसरमा काठमाडौं विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागद्वारा प्रकाशित ‘बोधी’ जर्नलको १० औं संस्करण सार्वजनिक गरिएको थियो।

    दक्षिण एसियाली विश्वविद्यालयका उपकुलपति प्राध्यापक केके अग्रवालले प्राध्यापक रामकृष्ण रेग्मीलाई सम्मान गरेका थिए। संगोष्ठीमा नेपाल, भारत, इन्डोनेसिया, चीन, अमेरिका, अष्ट्रेलिया, नर्वे र क्यानडालगायत देशबाट ३५ वटा शोधपत्र प्रस्तुत गरिएको थियो।

    संगोष्ठीका मुख्य वक्ता (किनोट स्पिकर) अमेरिकाको हिलोस्थित हवाई युनिभर्सिटीका प्राध्यापक योसिताका माइकले ज्ञान उत्पादनको पश्चिमी परम्परा र सञ्चार अभ्यासहरू तत्काल हाम्रो दिमागलाई हटाउनुपर्ने आवश्यकता रहेको बताए।

    उनले एसिया–केन्द्रित प्रतिमानलाई जोड दिँदै तीन वटा प्राथमिक भागहरूमा अवधारणालाई व्याख्या गरे। उनले तीन वटा भागहरूले अन्तर–सांस्कृतिक सञ्चारमार्फत समावेशी रूपमा ज्ञान फैलाउने आवश्यकतालाई प्रकाश पारे र एसियालाई राम्ररी बुझ्न र विकास गर्न एसियाली दिमाग आवश्यक रहेको बताए।

    प्रोफेसर डा. इडा बोगस पुतु सुआम्बाले साधारणीकरण मोडेल अफ कम्युनिकेसनको विभिन्न महत्त्वपूर्ण तत्वबारे प्रकाश पारे। त्यस्तै, प्रोफेसर हान होङ, युनिभर्सिटी इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजी, चीनको स्कुल अफ पब्लिक एडमिनिस्ट्रेसनका उपडिनले चीनको सञ्चार सिद्धान्तमा जोड दिँदै चीनको सञ्चार सिद्धान्त परम्परागत संस्कृतिमा आधारित रहेको, जसमा कन्फ्युसियन नैतिकता, माओवादी द्वन्द्वात्मक सोच र जेन बुद्ध धर्मको विचार समावेश रहेको तर्क गरे।

    ‘एसएमसीजस्ता सञ्चार मोडलले पूर्वी र पश्चिमी मोडलबीच भिन्नता प्रस्ट पार्नु आवश्यक छ र सञ्चार मोडेलबीच समानता र भिन्नता अध्ययन गर्नुका साथै एसएमसी र चिनियाँ सञ्चार मोडेलजस्ता अन्तर–एसियाली अध्ययनहरूमा ध्यान दिनुसमेत आवश्यक छ,’ उनले भने।

    प्रा.डा. केजी सुरेशले साधारणीकरण मोडल नेपाल र दक्षिण एसियाको मात्र नभएर संसारभरको गौरवको विषय भएको बताए। डा. रेग्मीले सञ्चारको साधारणीकरण मोडेल वैदिक सभ्यताको प्रवेशद्वार भएको तर्क गरे।

    केयुका उपकुलपति प्राध्यापक भोला थापाले अन्तर्राष्ट्रिय संगोष्ठी महत्वमा जोड दिए। यस संगोष्ठीले साधारणीकरण मोडलको विद्वतापूर्ण अन्वेषण र व्यावहारिक प्रयोगमा जोड दिएको तर्क गर्दै उनले यसको जरा नेपालमा रहेको स्वीकार गरे।

    केयुका सहप्राध्यापक तथा भाषा तथा आमसञ्चार विभागका प्रमुख डा. निर्मलामणि अधिकारीले सन् २००३ मा प्रतिपादन गरेको ‘साधारणीकरण मोडल अफ कम्युनिकेसनको दुई दशक पूरा भएको अवसरमा अन्तर्राष्ट्रिय संगोष्ठी आयोजना गरिएको हो।

    यस सञ्चार ढाँचा संसारभरका विभिन्न विश्वविद्यालयहरूको पाठ्यक्रममा समावेश गरिएको छ।

  • सन्दीप भन्छन्: देशको सपना पूरा भएकोमा खुसी छु

    सन्दीप भन्छन्: देशको सपना पूरा भएकोमा खुसी छु

    क्रिकेटर सन्दीप लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको प्रतिक्रिया दिएका छन्।

    सोमबार सामाजिक सञ्जालमा लेख्दै लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको बताएका हुन्।

    उनले लेखेका छन्, ‘इमानदारितापूर्वक, मेरो सपना पूरा नभए पनि के कुरामा खुसी छु भने देशको सपना पूरा भएको छ।’

    अमेरिकामा हुने टी-२० विश्वकप खेल्न लामिछाने जान पाएका छैनन्। उनलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ। टी-२० विश्वकप नेपालले पनि खेल्दै छ।

  • ‘आँसु दिएर’ गीत सार्वजनिक

    ‘आँसु दिएर’ गीत सार्वजनिक

    संगीतकार लक्ष्मण पोखरेलको शब्द र संगीत तथा गायक प्रमोद खरेलको स्वर रहेको ‘आँसु दिएर’ गीत सार्वजनिक भएको छ।

    मनोज चौंलागाईको संगीत संयोजन रहेको गीतमा प्रकाश मिश्रले ध्वनि सम्पादन गरेका छन्।

    अजय कार्कीको रेकर्डिङ रहेको गीतमा मल्लिका राजोपाध्याय, जितेन ताम्राकार, सुगत कारञ्जितहरुले अभिनय गरेका छन्। गीतको भिडियो निर्देशन र छायांकन मिलन शंकरले गरेका छन्।

    सार्वजनिक भएको छोटो समयमै दर्शकको मन जित्न यो गीतले सफलता पाएको संगीतकार पोखरेलले बताए।

  • बुढ्यौली

    बुढ्यौली

    १) बुढ्यौली

    “हजुर! केही पाम्।’’

    आवाजले रश्मिको गति टक्क रोकियो। फनक्क टाउको घुमाएर हेरिन्। सडक पेटीको छेउमा बनाइएको फलामको बारमा आड लागेर एक जोडा बुढाबुढीले हात फैलाइरहेका थिए।

    उनीहरूले मागलाई विस्तार गरे,“भोकै छम् हजुर! खानेकुरा दिए यहीं खान्छौं! पैसा दिए किनेर खान्छौं!’’

    रश्मिलाई अप्ठ्यारो महशुस भयो। “यी ८०/८१ वर्षका जस्ता देखिने बुढाबुढी सन्तानको स्याहारसम्भारमा घरमा हुनुपर्ने थियो। त्यसको त कुरै छोडौं, पेट समेत रित्तो छ। त्यही पेट पुर्न मगन्ते हुनुपरेको छ। सिमेन्टद्वारा पोतिएको भुईको चिसोमा डामिएर बसिरहेका छन्। को होलान यिनीहरू।’’

    “हजुर!’’

    आवाजले उनलाई फेरि झस्काइदियो। केही दिनुभन्दा पहिला सोध्नै पर्ने भयो,“हजुरहरूका सन्तान छैनन्?’’

    वृद्धाबाट जवाफ आयो,“छन् नि छन् त! उनका पाँचोटा छन्। मेरा छओटा।’’

    “सन्तानहरू बेग्ला बेग्लै भएको कुरा गर्नुभयो।’’

    “हो नि! सन्तान जन्माउने बेलामा हामी पतिपत्नी थिएनौं।’’

    रहस्य झन् झाङ्गिएको महसुस भयो रश्मिलाई।

    “आज सडकमा पतिपत्नी छन्। घरमा सन्तानहरू पनि छन्। ती जन्माउने बेलामा यी पतिपत्नी थिएनन्। यो कसरी भयो?’’

    “तपाईहरू कसरी फालिनुभयो त यहाँ?’’

    “बुढीलाई उसका छोराले चौतारीमा राखेर गएछ। पछि लिन आएनछ। मलाई मेरा छोराले घरबाट निकालिदियो। दुवै आआफ्नै तरीकाले वृद्धाश्रममा भर्ती भयौं।’’ बुढा बोले।

    “मेरो प्रश्नको सबै जवाफ त आएन नि?’’ रश्मिले पहिलैको प्रश्नको सम्झना गराइन्।

    “हाम्रो बिचमा आकर्षण भयो र रुखको छहारीमा गएर विवाह गर्‍यौं। स्विकृतिको निम्ति अनुरोध गर्दा वृद्धाश्रमले निकाला गरिदियो।’’

    २) जात

    “मुखबाट जन्मेका हुन्’’ वडाध्यक्ष भइसकेका उप्रेत लक्ष्मीपतिको ओठबाट खस्यो।

    सुन्नेबित्तिकै वडा सदस्य रश्मि परियारको जिज्ञासा प्रस्तुत भयो, “कसको मुखबाट हो गुरुजी?’’

    “ब्रह्माजीको मुखबाट’’ पुरेतको बोली सुनियो।

    “मुखबाट पनि कोही जन्मन्छ?’’ को जन्म्यो मुखबाट?’’

    “प्रश्न पनि बुझेर गर्नुपर्छ के केटी! सोधिहाल्यौ लौ सुन। ब्रह्माको मुखबाट ब्राह्मण जन्मे, बाहुबाट क्षेत्री, तिघ्राबाट वैश्य र पैतालाबाट शूद्र जन्मे।’’

    “जान्नेबुझ्ने छु भन्नेले पनि नहुँदो कुरा गर्ने? मान्छे जहाँबाट जन्मन्छ त्यो ठाउँको चर्चा छैन, नभएकोनभएको ठाउँको कुरा गर्ने? हजुरको मानसिक सन्तुलनको समस्या त होइन नि?’’

    “उत्ताउली केटी! यस्तै उद्दण्ड भएका हुनाले भगवानले तिमी जस्तालाई शूद्र बनाएका हुन्।’’

    “मानिसलाई विभिन्न जातमा विभक्त गर्ने र त्यसकै आधारमा उचनिच र अछुत बनाउने आधार के रहेछ?’’

    उप्रेतले वेदका ऋचा पढेर सुनाए,“वेद, पुराण र मनुस्मृतिका आधारमा भनेको छु।’’

    उप्रेतको जवाफ पुरातत्त्वद्वारा अप्रमाणित भएको उल्लेख गरी अकाट्य प्रमाण सुन्नुस् भन्दै रश्मि परियारले भन्नुभयो, “स्त्रीलिङ्ग र पुलिङ्ग, जसजसका बिचमा यौन सहवास हुँदा सन्तान जन्मन्छन् त्यो एउटै जात हो।’’

    ३) भाग्य

    “अहिले पनि माघे झरी कटेन।’’ रमिलाको नैराश्य छताछुल्ल भयो।

    “के भयो भाउजू?’’ सविनाले सोध्नैपर्ने भयो।

    रमिलाको ओठको गति जारी रह्यो। “हेर्नु न नानी! गोठमा एउटा पाडो हुर्कँदैन। बछेडो जस्तो पाडोसितको भैंसी साउनमा किनेर ल्याउँछु। पाडो झुसेझुसे हुँदै जान्छ र माघभित्रै मरिहाल्छ।’’

    “कति वर्ष भैंसी पाल्नुभयो भाउजू?’’

    “तीस वर्ष भयो नानी।’’

    “भैंसीको दूध सबै आफै खानु हुँदो हो? स्याहारसम्भार पुगेन होला?’’

    दिक्दारी पोखिन् रमिलाले, “होइन! दूध पनि खुवाएकी छु। स्याहार पनि गरेकी छु। बिहान ओछ्यान छोडेदेखि बेलुका साँझसम्म गोठमै हुन्छु। मेरो भाग्यमा नै खोट छ जस्तो लाग्यो नानी।’’

    “भाग्यमाथि भरोसा गर्ने त अल्छी र कायरहरूको काम हो। सफल हुने व्यक्तिहरूले त कर्ममाथि विश्वास गर्छन्।’’ सविनाद्वारा वास्तविकता जाहेर भयो।

    भाउजू च्याँट्ठिइन्, “कर्म गरेकी छु!’’

    “सामुदायिक विद्यालयको पढाइ जस्तो “कर्म गरेकी छु’’ भनेर हुन्छ? सही कर्म गरियो कि गरिएन भन्ने कुरा परिणामले बताउँछ।’’

  • सात वर्षपुग्दा पनि पूरा भएन मोटरेवल पुल

    सात वर्षपुग्दा पनि पूरा भएन मोटरेवल पुल

    उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत खण्डमा निर्माणाधीन एक मोटरेवल पुल सात वर्षसम्म पनि पूरा हुन सकेको छैन। पर्वतको फलेवास नगरपालिका–६ देवीस्थान र फलेवास नगरपालिका–१० कुर्घाबिचमा रहेको लमाए खोलाको पुल निर्माण व्यवसायीको लापरबाही र गलत डिजाइनका कारण प्रगति ६० प्रतिशत मात्रै पुगेको छ।

    यो पुल निर्माण दुई वर्षमा सम्पन्न हुनेगरी विसं २०७४ असार २८ गते सम्झौता भई विसं २०७५ पुस १९ गतेदेखि निर्माण सुरु भएको थियो। विसं २०७६ असार मसान्तभित्र सम्पन्न हुनुपर्ने पुल गलत डिजाइन र निर्माण व्यवसायीको लापरबाहीको कारण अझैपनि पूरा हुन नसकेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले जनाएको छ।

    पाँच करोड ८९ लाख ८९ हजार दुई सय ७७ को लागतमा बन्ने पुल निर्माणको जिम्मा नयाँबाटो गौचन जेभी निर्माण कम्पनीले पाएको थियो। २५ मिटर लामो र ११ मिटर चौडाईको पुल निर्माण सम्पन्न नहुँदा कालीगण्डकी लोकमार्गमा सिधायातायात सञ्चालन हुन सकेको छैन। करिडोर अन्तर्गत स्याङजाको मिर्मिदेखि पर्वतको अर्मादीसम्म सडकको ट्र्याक खुलिसकेको छ, भने पर्वतको सेतीवेणीदेखि लमाएखोलासम्मको सडक कालोपत्र समेत भइसकेको छ।

    कालीगण्डकी करिडोर आयोजनाका इञ्जिनियरले सुरुमा डिजाइन गरेको पुल खोलाको दुवैतर्फको किनारमा ढुङ्गामाथिबाट बनाइने जानकारी दिइएको थियो। डिजाइनकै क्रममा स्थानीयले विरोध गरेपछि इञ्जिनीयरले गलत डिजाइनलाई नै निरन्तरता दिँदै ठेक्का खुलाएका थिए। २०७४ को अत्यतिर गरिएको प्रतिस्पर्धामा छानिएको नयाँ बाटो गौचन जेभीले दुई वर्षभित्रै पुल सम्पन्न गर्ने सम्झौता गरेको थियो।

    कालीगण्डकी लोकमार्ग आयोजना कार्यालयका इञ्जिनियर सुरेन्द्र गौतमले पुलको नयाँ डिजाइन गरेर पुनःनिर्माण सुरु गरिएकाले ढिलाइ भएको बताए। पुरानै ठाउँलाई संरक्षण गरेर पुल निर्माण गरिएको गौतमले बताए। गौतमका अनुसार हालसम्म पुलको दुवैतर्फका पिल्लरको काम सकिएको छ भने स्लाब ढलानको तयारीमा रहेको छ। उनका अनुसार अहिले ढलानको तयारी भइरहेको र वर्षायाम सुरुवात नहुँदै स्लाब ढलान भएमा वर्षायाम अगावै सवारीसाधन वारपार गर्न सक्दछन्।

    पुल निर्माणका लागि चौँथो पटक थप गरिएको सम्झौताको अवधि आगामी असोज मसान्तसम्म छ। अहिले थप गरिएको समयभित्र पुलको काम सम्पन्न गर्नेगरी धमाधम काम गरिरहेको ठेकेदार शिव गौचनले बताए।

    अलपत्र छाडिएको पुलको निर्माण गत मङ्सिरदेखि सुरु भएको थियो। पुल निर्माणमा ढिलाइ भएपछि यस क्षेत्रका सांसद, नगरप्रमुखलगायत स्थानीयवासीले दबाब दिँदै आएका थिए। -रासस

  • सवारी दुर्घटनामा १० जनाको मृत्यु, ३९ घाइते

    सवारी दुर्घटनामा १० जनाको मृत्यु, ३९ घाइते

    दक्षिणी मेर्सिन प्रान्त टर्कीमा आईतवार भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्।

    टर्कीका गृहमन्त्री अली येर्लिकायाका अनुसार मेरसिनको भूमध्यसागरीय शहर नजिकैको टार्सस जिल्लामा एउटा इन्टरसिटी यात्रुवाहक बस, ट्रक र कारहरू चेन दुर्घटनामा परेका थिए।

    वर्षाका कारण बस चिप्लिएर दुर्घटना भएको बताइएको छ।

  • सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर भएनः कांग्रेस

    सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर भएनः कांग्रेस

    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाएका छन्।

    सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले यस्तो आरोप लगाएका हुन्।

    उनले प्रधानमन्त्री पुष्पकमल दाहाल सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सकारात्मक भएपनि सत्तापक्षका अन्य राजनीतिक दलहरु गम्भीर नभएको बताए। नेपाली कांग्रेसले लामो समयदेखि सहकारी पीडितहरु, वचतकर्ताहरुको वचतको सुरक्षा र ति पीडितहरुले अविलम्व आफ्नो वचत रकम फिर्ताको सुनिश्चितता खाजेको बताए।

    उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा रहँदा विभिन्न सहकारीबाट करोडौँको रकम गोरखा मिडिया नेटवर्कमा र गोरखा मिडिया नेटवर्कमा विभिन्न कम्पनी र व्यक्तिमार्फत रकम पुगेको बारेमा अनुसन्धान गर्न माग गर्दै आएको उनको भनाइ छ।

    उनले भने, ‘अहिले ५/६ दर्जन सहकारी संस्थाहरुले रकम अपचलन गरेको कुरा हामीले सुन्दै आएका छौँ। लाखौँ लाख वचतकर्ताहरुको रकम कसरी वचतकर्ताहरुको हातमा पुग्छ, पहिलो प्राथमिकता छ। हामीले माननीय उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेजीले गोरखा मिडिया नेटवर्कमा रहँदा विभिन्न सहकारीबाट करोडौँको रकम गोरखा मिडिया नेटवर्कमा र गोरखा मिडिया नेटवर्कमा विभिन्न कम्पनी र व्यक्तिमार्फत रकम पुगेका छन्। त्यसको सही ढंगबाट छानबिन हुनुपर्छ भन्ने नेपाली कांग्रेसको धारणा हो। सत्ता पक्षले प्रश्तावमा सकारात्मक छाैँ भन्ने र कहिले गलत व्याख्या गरिदिने कुराले अन्योलता आएको छ। हामीले जनताको वचत रकम फिर्ता र सुनिश्चित गर्ने कुरामा केन्द्रित छाैँ। प्रधानमन्त्रीको पहल कदमी सकारात्मक छ तर सम्पूर्ण सत्ता पक्षको सोचेको जस्तो समस्या समाधान भन्नेतर्फ समस्यालाई अल्झाइरहने जस्तो देखिन्छ।’

    यस्तै, उनले सही ढंगबाट छानबिन हुनुपर्ने कांग्रेसको माग रहेको बताए। सत्ता पक्षले प्रश्तावमा सकारात्मक छाैँ। भन्ने तर गलत व्याख्या गर्ने गरेको उनको भनाइ छ।