Blog

  • प्रधानमन्त्रीसंग छलफल गर्न कांग्रेस नेताहरू बालुवाटारमा

    प्रधानमन्त्रीसंग छलफल गर्न कांग्रेस नेताहरू बालुवाटारमा

    प्रधानमन्त्री पुष्पकमल दाहालसंग छलफल गर्नका लागि नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन्।

    सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीहरूबीच छलफल गरेपछि नेताहरू बालुवाटारतर्फ लागेका हुन्।

    उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की बालुवाटार गएका छन्।

  • कांग्रेसले बजेट भाषणमा पनि संसद् अवरोध गर्ने

    कांग्रेसले बजेट भाषणमा पनि संसद् अवरोध गर्ने

    सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा सहमति नभए प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट भाषणमा पनि संसद् अवरुद्ध गर्ने भएको छ।

    सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले समिति गठन गर्ने विषयमा सहमति नभए बजेट भाषणमा पनि संसद् अवरुद्ध गर्ने निर्णय गरेको हो।

    बैठकपछि बोल्दै प्रकाशशरण महतले संसदीय छानबिन समितिमा गृहमन्त्रीको नाम राख्नुपर्ने अडान कायमै रहेको र सो विषयमा सहमति नभए संसद्मा अवरोध गर्ने बताए।

    बजेट पेस गर्नका लागि मंगलबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ।

    कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गर्दै संसद् अवरुद्ध गर्दै आइरहेको छ।

  • तराईका जिल्लाहरूमा तीन दिन तातो हावा चल्ने,सतर्क रहन आग्रह

    तराईका जिल्लाहरूमा तीन दिन तातो हावा चल्ने,सतर्क रहन आग्रह

    जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका जिल्लाहरूमा तीन दिनसम्म तातो हावा चल्ने जानकारी दिएको छ।

    महाशाखाले सोमबार बुलेटिन जारी गरी आजदेखि तीन दिन सम्म तराईका जिल्लाहरूमा तातो हावा चल्ने जानकारी दिएको हो।

    सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा विगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको पनि महाशाखाले जनाएको छ।

    तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुने गर्दछ।

    त्यसबाट बच्न गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी सँग नियमित सम्पर्कमा रहन महाशाखाले अनुरोध गरेको छ।

  • सिरोहियालाई तेस्रो पटक म्याद थप गर्न एम्बुलेन्समै अदालत ल्याइयो

    सिरोहियालाई तेस्रो पटक म्याद थप गर्न एम्बुलेन्समै अदालत ल्याइयो

    नागरिकता सम्बन्धी कसुर मुद्दामा धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज तेस्रो पटक म्याद थप गर्न धनुषा अदालत ल्याइएको छ।

    मुटुमा समस्या देखिएपछि जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएकोमा उनलाई सोही अस्पतालको एम्बुलेन्स मार्फत अदालतसम्म ल्याइएको हो।

    दोस्रोपटक दिएको म्याद आज सकिने भएपछि तेस्रो पटक म्याद थपका लागि उनलाई अदालतमा पेश गर्न लागिएको धनुषा प्रहरी प्रवक्ता तथा डिएसपी रंञ्जन अवाले जानकारी दिए।

    पहिलोपटक गत बुधबार धनुषा जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काको इजलासले सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो भने दोस्रो पटक शुक्रबार ३ दिनको म्याद थप गरिएको थियो।

    डिएसपी अवाका अनुसार अनुसन्धान जारी रहेकाले सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि अदालतमा पेस गर्न लागिएको बताए।

    यसअघि सिरोहियाका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, शेरबहादुर केसी, गोविन्द शर्मा बन्दी र टिकाराम भट्टराई तथा अधिवक्ताहरू रमणकुमार कर्ण, किशोर पौडेल र दीपेन्द्र झाले बहस गरेका थिए।

    सिरोहियालाई गत मङ्गलबार थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरी बुधबार बिहान धनुषा ल्याइएको थियो।

  • विपद्‌बाट जनता जोगाउन ‘टास्क फोर्स’ बनाउँदै गृह मन्त्रालय

    विपद्‌बाट जनता जोगाउन ‘टास्क फोर्स’ बनाउँदै गृह मन्त्रालय

    उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मनसुन सुरु भएसँगै जेठ १९ देखि असोज १९ सम्म विपद् जोखिमबाट जनतालाई राहत र उद्धारको लागि गृहमन्त्रालयको नेतृत्वमा ‘टास्क फोर्स’ बनाउने बताएका छन्।

    सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा मनसुन सम्बन्धि विपद् जोखिम सम्बन्धि सरोकारवालहरुसँगको छलफलमा बोल्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन्।

    उनले वर्षायाम शुरु भएसँगै मनसुन जन्य विपतमा जनताको उद्धार राहतको लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, सडक विभाग, हेलिकप्टर व्यवसायीको प्रतिनिधि, मौसम पूर्वअनुमान, जल तथा मौसम विभागको प्रतिनिधित्व हुनेगरी तीन दिनभित्र ट्याक्स फोर्स बनाउने बताए।

    उनले उक्त ट्याक्स फोर्सले तीन दिन भित्रमा विपद्बाट जनतालाई जोगाउनको लागि गर्नुपर्ने काम र अधिकारका विषयमा कार्ययोजना सहितको कार्यविधि बनाउन निर्देशन दिए।

    मनसुन शुरु भएकाले प्राकृतिक विपद्मा जनताको राहत र उद्धार गर्नु राज्यको दायित्व भएको भन्दै उनले जोखिम आउनु भन्दा पहिला नै राज्यले तयार गर्नु आवश्यक रहेको जिकिर गरे।

    उनले ट्याक्स फोर्सले सम्पूर्ण अधिकार पाउने गरी कार्यविधि बनाएर कामको थालनी गर्न निर्देशन दिएका छन्।

    ‘एक वर्षको मनसुनको लागि एउटा कार्यविधि बन्छ। अफ्ठ्यारो परेको अवस्थामा कानूनी अड्चन नहुने गरी कार्यविधि बनाउनुपर्छ। त्यसको लागि मैले मन्त्रीपरिषद् वा कसरी काम गर्नुपर्छ तत्काल दिनुस्। तीन दिनभित्र सबै निकायहरुसँगको समन्वयमा ट्याक्स र्फोस बनाउनु होला। समितिमा सडक विभाग, हेलिकप्टर एशोसिएशनका प्रतिनिधि, मौसम पूर्वअनुमान, जल तथा मौसम विभागको प्रतिनिधित्व हुने गरी बनाउनुस्।’ उनले भने।

    उपप्रधानमन्त्री लामिछानेले बाढी पहिरोको कारण सडक अवरुद्ध हुँदा तत्कालको लागि बेलीब्रिज आवश्यक पर्ने भएकाले बेलीब्रिजको अवस्था तत्काल सार्वजनिक गरी व्यवस्थित गर्न पनि निर्देशन दिएका छन्।

    साथै बाढी पहिरो लगायतका जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने काम तत्काल गर्नेगरी टिम तयारी बनाउन निर्देशन दिए।

    ‘विपतमा सरकारले निर्णय गर्न नसक्दा कुनैपनि नागरिकको ज्यान जानु भएन। त्यो निर्णय कहाँबाट गर्न सकिन्छ तीन दिनभित्रमा कार्ययोजना बनाएर मलाई दिनुस्। विपतमा राज्यले तत्काल उद्धार गर्नसक्ने गरी अहिलेदेखि तयारी गरौं। अति जोखिमको क्षेत्रमा सरकार तत्काल पुग्नुपर्छ।’ उनले भने।

    उनले यो वर्षको मनुसन जन्य विपद् जोखिमबाट बचाउने र जोखिम परे तत्काल उद्धार गर्ने र जनतालाई सरकार भएको अनुभुति हुनेगरी काम गर्ने लक्ष्य रहेको बताए।

  • नेप्सेमा सामान्य अङ्ककाे सुधार

    नेप्सेमा सामान्य अङ्ककाे सुधार

    यो साता कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ।

    आज नेप्से परिसूचक तीन दशमलव ९३ अङ्कले बढेर दुई हजार एक सय १३ दशमलव २७ को बिन्दुमा कायम भएको हो।

    आज विभिन्न तीन सय १७ कम्पनीको ९३ लाख ३० हजार दुई सय ९५ कित्ता शेयर ५८ हजार चार सय ८३ पटक खरिदबिक्री हुँदा तीन अर्ब ८९ करोड ३७ लाख ६४ हजार एक सय ६४ बराबरको कारोबार भएको छ।

    आज बैंकिङ समूह शून्य दशमलव ७४, होटल तथा पर्यटन समूह शून्य दशमलव ४९ र निर्जीवन बीमा समूह शून्य दशमलव २२ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ।

    विकास बैंक समूह शून्य दशमलव ६३, वित्त समूह एक दशमलव ४१, जलविद्युत् शून्य दशमलव २५, लगानी एक दशमलव ८० र जीवन बीमा समूह शून्य दशमलव ४० प्रतिशतले बढेको छ।

    त्यसैगरी, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७८, लघुवित्त शून्य दशमलव ४३, म्युचुअल फन्ड शून्य दशमलव ४९, व्यापार शून्य दशमलव २२ र अन्य समूह शून्य दशमलव ६४ प्रतिशतले बढेको छ।

    मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

    कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २० करोड ४० लाख ४७ हजार चार सय ३४ बराबरको तीन लाख ५५ हजार आठ सय ९५ कित्ता शेयर किनबेच भएको छ।

  • उद्योग परिसरमा उद्योगमन्त्रीकाे छड्के अनुगमन

    उद्योग परिसरमा उद्योगमन्त्रीकाे छड्के अनुगमन

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले त्रिपुरेश्वरस्थित उद्योग परिसरमा आज छड्के अनुगमन गरेका छन्।

    मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे सहित परिसर पुगेका मन्त्री भण्डारीले उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, विशेष आर्थिक क्षेत्र प्राधिकरण, गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँलगायतका कार्यालयका प्रमुख तथा कर्मचारी र सेवाग्राहीसँग भेट तथा कुराकानी गरेका थिए।

    सो क्रममा मन्त्री भण्डारीले सेवाग्राहीको प्रतिक्रिया पनि लिएका थिए। सेवाग्राहीले उक्त कार्यालयहरुबाट हुने सेवा प्रवाहका विषयमा उनी समक्ष गुनासाे सुनाउनुका साथै सकारात्मक कामका विषयमा पनि जानकारी गराएका थिए।

    अनुगमनका क्रममा उद्योग विभागका महानिर्देशक यज्ञ कोइराला, कम्पनी रजिष्ट्रार दीपक पहाडी, विशेष आर्थिक क्षेत्र प्राधिकरणका प्रमुख तुलसी मरासनी, गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख राकेशकुमार झालगायत कर्मचारीलाई मन्त्री भण्डारीले सेवाग्राहीलाई झन्झटरहित ढङ्गबाट छिटोछरितो सेवा प्रवाह गर्न निर्देशन दिए।

    सो क्रममा मन्त्री भण्डारीले उद्योग परिसरभित्रका भौतिक संरचनाको समेत अनुगमन गरेका र जीर्ण अवस्थामा रहेका भौतिक पूर्वाधारको मर्मत सम्भार गरेर पुनः प्रयोग गर्न सकिने संरचना प्रयोगमा ल्याउन निर्देशन दिए।

    साथै उनले सार्क हस्तकला केन्द्र स्थापना गर्न भवन व्यवस्थापनका लागिसमेत अनुगमन गरे।

  • यार्सा सिजन सुरु भएसँगै सुनसान बन्याे तातोपानी नाका

    यार्सा सिजन सुरु भएसँगै सुनसान बन्याे तातोपानी नाका

    नेपाल–चीन सीमाको तातोपानी नाका यार्सागुम्बा सङ्कलनको याम सुरु भएसँगै सुनसान भएको छ।

    नाकामा केही सुरक्षाकर्मी मात्रै देखिने गरेका छन्। अधिकांश पसल र होटेल बन्द प्रायः छन्। केही खुलेका पसलमा पनि व्यापार घटेको छ। मितेरी पुल आसपास चीनबाट आयात गरिएका सवारी मात्रै छन्।

    जिल्लाको पूर्वी भेगका बासिन्दा यहाँका चिनियाँसँग मिलेर आफ्नो मुख्य आयस्रोत यार्सागुम्बा सङ्कलनका लागि चीन र नेपालको उच्च लेक क्षेत्र पुगिसकेका छन्।

    अध्यागमन कार्यालय कोदारीका सूचना अधिकारी दिनेश बराईकाअनुुसार चीनले यहाँका माथिल्लो हिमाली भेगका लेकक्षेत्रमा यार्सा सङ्कलन र बिक्री गर्ने अनुमति दिएको छ। यहाँका सबैजसो स्थानीय र व्यवासायी यार्साकै लागि लेकमा पुगेकाले सीमाको बजारमा खासै चहलपहल छैन।

    यसअघि विभिन्न जिल्लासहित राजधानी र सीमाक्षेत्रका गरी झण्डै तीन हजारभन्दा बढी यार्सा सङ्कलक लेक क्षेत्र पुग्ने गर्थे। वैशाखको दोस्रो सातादेखि सुरु हुने यार्सा सङ्कलनका लागि सीमाक्षेत्रबाट मात्रै झण्डै सात सय जना त्यसतर्फ प्रस्थान गरेको प्रारम्भिक अनुमान गरिएको छ।

    चीनको खासा, रमिते, पाङका स्थानीयले मितेरी पुलभन्दा पर रहेका चिनियाँ बजारमा झण्डै दुई दर्जन पसल सञ्चालनमा ल्याएका थिए।

    ‘चलेका पसल पनि अरुलाई जिम्मा दिएर गएका छन् भने अधिकाशंले सटर बन्दनै गरेका त्यता लागेका छन्, फलस्वरुप चिनियाँ बजार सुनसान बनेको छ’, भोटेकोशी चेम्बर अफ कर्मशका अध्यक्ष फुनु शेर्पा बताउँछन्।

    यसअघि नेपाली यार्सा सङ्कलकलाई चीनको उच्च इलाकामा यार्सा टिप्न पूरै बन्देज थियो। चीनको भू–भागमा पर्ने गौरीशङ्कर हिमशृङ्खला र पर्वतको फेदीस्थित लाप्ट, रेल्दोन, मानचौरजस्ता स्थानका यार्साको मूल्य राम्रो पाउने भएकाले स्थानीय जोखिम मोलेर भए पनि त्यहाँ यार्सा सङ्कलन गर्न जाने गरेका थिए।

    अहिले सर्वसाधरणकै अनुमति पत्रलाई आधार मानेर यार्सा टिप्न दिएयता उत्साहित यहाँका यार्सा सङ्कलक गाउँ रित्ताएर लेकमा पुगेका हुन्।

    तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले आयात र निर्यातलाई चीनले फराकिलो बनाएसँगै नाकामा व्यापारिक चहलपहल बढेको र सुधार आइरहेको बताए।

    तातोपानीबाट अहिलेसम्म आठ वटा कन्टेनरबाट झण्डै एक करोड बराबरको मुडा, फ्रेमजस्ता सामग्री चीनको ल्हासा र अन्य बजारमा पुगेका छन्।

    त्यसबाहेक निर्यात छैन्, भने आयात बढ्दो छ, दैनिक १२ कन्टेनरबाट फलफूल र लत्ताकपडासहित अन्य सामग्री आएका छन्, सवारी पनि भित्रिरहेको भन्सार प्रमुख केसीले जानकारी दिए।

  • खोलामा डुबेर एक पुरुषको ज्यान गयो

    खोलामा डुबेर एक पुरुषको ज्यान गयो

    मर्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर कास्कीमा एक जना पुरुषको ज्यान गएको छ।

    कास्की प्रहरीका अनुसार कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभान स्थित आनन्द ठाँटी बस्ने वर्ष ४९ वर्षीय शिवबहादुर थापामगरको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो।

    मर्दी खोलामा पौडी खेल्ने क्रममा पानीमा डुबेका थापाको शव प्रहरीले पानीबाट बाहिर निकालेको थियो।

    आइतबार दिउँसो पौने पाँच बजे खोलामा डुबेका थापाको शव प्रहरीले पानीबाट निकालेको थियो। थापाको खोजीका लागि अस्थायी प्रहरी पोष्ट भेडाबारीबाट प्रहरी टोली खटिएको थियो।

  • संरक्षित क्षेत्रबाट नदीजन्य पदार्थ चोरी निकासी गर्ने टिप्पर प्रहरी नियन्त्रणमा

    संरक्षित क्षेत्रबाट नदीजन्य पदार्थ चोरी निकासी गर्ने टिप्पर प्रहरी नियन्त्रणमा

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गरेको आरोपमा प्रहरीले तीनवटा टिप्पर नियन्त्रणमा लिएको छ।

    कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट नदीजन्य पदार्थ बोकेर आएका ती सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। कास्कीका प्रहरी प्रवक्ता डिएसपी बसन्तकुमार शर्माका अनुसार सोमबार बिहान साढे ८ बजेतिर ती सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको हाे।

    प्रहरी चौकी सार्दिखोलाबाट खटिएको टोलीले पोखरा महानगपालिका–१९ तितेपानीस्थित भुर्जुङखोलाबाट पोखरातर्फ आउँदै गरेका ग १ क ५०४०, ग १ क ५५१२ र ग १ क ५५९८ नम्बरका तीन टिप्परलाई चेकजाँच गर्ने क्रममा उक्त टिप्परमा नदिजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा लोड गरी ल्याइएको पाइएको थियो।

    ‘संरक्षण क्षेत्रबाट ती सवारीले नदीजन्य पदार्थ चोरी गरि निकासी गरेको पुष्टि भएपछि नियन्त्रणमा लिइएको हो। ती सवारीलाई थप कारबाहीका लागि एक्याप कार्यालयमा पठाइएको छ,’ प्रहरीले भनेको छ।