Blog

  • जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदापनि सरकार मुकदर्शक: कोइराला

    जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदापनि सरकार मुकदर्शक: कोइराला

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदापनि सरकार मुकदर्शक बनेर बसिरहेको बताएका छन्।

    नेपाल विद्यार्थी संघ आयुर्वेद क्याम्पस इकाई समितिले सोमवार काठमाडौँमा आयोजना गरेको ‘नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम’मा बोल्दै उनले कांग्रेसले सहकारी पीडित जनताको समस्यालाई संसद र सडकबाट उठाएको बताए।

    नेता डा. कोइरालाले कांग्रेसलाई कुनै पनि राजनीतिक दलले संसदीय व्यवस्थाको बारेमा सिकाउन नपर्ने बताए।

    ‘संसदीय व्यवस्थामा संसद प्रतिपक्षको भन्ने गरिन्छ तर यहाँ सत्तापक्षले प्रतिपक्षको कुरालाई सुन्दै नसुनीकन अगाडि बढ्न खोजेको छ,’ उनले भने।

    नेता डा. कोइरालाले छिटो भन्दा छिटो सहकारी ठगीमा समिति बनाएर अगाडि बढ्न सरकारलाई आग्रह गरेका छन्।

    उनले पछिल्लो समय चारैतिर अराजगताले देशलाई घेरिरहेको भन्दै यसलाई सही दिशामा अगाडि बढाउनुपर्ने बताए। उनले नेपाली कांग्रेसलाई सरकारमा जाने हतारो नभएको भन्दै कांग्रेसले सत्ताभन्दा पनि देशलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने स्पष्ट पारे। सहकारीको पैसा हिनामिना हुँदा सरकार मुकदर्शक बनेर बसेको उनको भनाइ छ।

    ‘राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासन मेरो अभियान हो, यसलाई अगाडि बढाउन म दृढताका साथ लाग्नेछु,’ डा. कोइरालाले भने। उनले नेपालमा आयुर्वेदिक शिक्षाको महत्व दिन प्रतिदिन बढ्दै गएको बताए। राज्यले आयुर्वेदिक विज्ञानलाई जसरी अगाडि बढाउनुपर्ने हो त्यो बढाउन नसकेको उनको भनाइ छ।

    डा. कोइरालाले आयुर्वेदको अनुसन्धान गर्न के ले बाधा पुर्यायो त्यो बुझ्न जरुरी रहेको उल्लेख गरे। विद्यार्थीको समस्या देशको समस्या भएकाले यसको समाधानका लागि राज्य लाग्नुपर्ने उनको भनाइ छ।

    लोकतान्त्रिक गणतन्त्रको विकल्प विश्वमा अरु व्यवस्था नभएको भन्दै नेता डा. कोइरालाले संविधानमा भएको कमी कमजोरीलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे।

  • इटहरीका संस्थागत विद्यालयलाई छात्रवृत्ति विवरण पेस गर्न निर्देशन

    इटहरीका संस्थागत विद्यालयलाई छात्रवृत्ति विवरण पेस गर्न निर्देशन

    इटहरी उपमहानगरपालिकाले ल्याएको शुल्क मापदण्ड अटेर गरिरहेका बेला शिक्षा युवा तथा खेलकुद महाशाखाले संस्थागत विद्यालयहरूलाई १० प्रतिशत छात्रवृत्तिको विवरण पेस गर्न निर्देशन दिएको छ।

    महाशाखाले एक सूचना जारी गर्दै संस्थागत विद्यालयमा भर्ना भएका कुल विद्यार्थीको १० प्रतिशतका दरले छात्रवृत्ति विवरण पेस गर्न निर्देशन दिइएको हो। सूचनामा गरिब, अपाङ्ग, महिला, दलित र जनजाति विद्यार्थीको नामवलीसहितको विवरण १५ दिनभित्रमा महाशाखामा बुझाउन उल्लेख गरिएको छ।

    इटहरी उपमहानगरपालिकाले २०८१ का तयार गरेको शुल्क मापदण्ड कार्यान्वयन नगरे कारबाही गर्ने जेठ पहिलो साता चेतावनी दिएको थियो। त्यो चेतावनी एक साताको समय दिएर सकुर्लर गरे पनि अहिलेसम्म कार्यान्वयन भएको छैन। यही बेला १० प्रतिशत छात्रवृत्तिको विवरण पेस गर्न निर्देशन दिएको हो।

    इटहरी उपमहानगरपालिका शिक्षा सुधार गर्ने सत्ताईसबुँदे संकल्पपत्र सार्वजनिक गर्दै २०८१ लाई शैक्षिक सुधार वर्षका रुपमा लिएर अयिभान सञ्चालन गरेसँगै निजी विद्यालयलाई दुईतिहाई अभिभावक भेला राखेर शुल्क प्रस्ताव गर्न सकुर्लर गरिएको थियो।

    तर निजी विद्यालयले वैशाख ७ गते विद्यालयलाई आन्तरिक रुपमा पत्राचार गर्दै इटहरी उपमहानगरपालिकाको सकुर्लर अटेर गर्ने निर्णय गरेका थिए। निजी विद्यालयका छाता संगठन हिसान, प्याब्सन, एनप्याब्सन तथा मन्टेश्वरी एसोसिएसन इटहरीद्वारा विद्यालयमा गरिएको सकुर्लरअनुसार शिक्षालयबाट प्रस्तावित २०८१ को शुल्क संरचनाअनुसार नै लिने उल्लेख गरेका थिए।

    यसैबीच, इटहरी उपमहानगरपालिकाले यसअघि दुईपटक शिक्षकको तलब सुविधा र पेसागत सुरक्षा एवम् शिक्षक-कर्मचारीको नियुक्ति पत्रलगायतका नियमबारे पनि निजी विद्यालयलाई विवरण अविलम्ब पठाउन सकुर्लर गरेको थियो।

    पहिलोपल्ट सकुर्लर गर्दा पनि उपमहानगरपालिकाले निजी विद्यालयलाई सकुर्लर गरे पनि अधिकतरले नबुझाएपछि दोस्रोपटक पन्ध्रदिने समयसीमा तोकेर सकुर्लर गरेको थियो, तर अधिकतरले अहिलेसम्म उपमहानगरपालिकाको सकुर्लरलाई कार्यान्वयन गरेका छैनन्।

    सकुर्लरमा तहगत शिक्षकहरूलाई आर्थिक वर्ष २०८०(०८१ म भुक्तानी गरेको पारिश्रमिक विवरण पनि उमहानगरपालिकालाई बुझाउनुपर्ने छ। विद्यालयमा कार्यरत प्रधानाध्यापकको नियुक्ति पत्र र शैक्षिक योग्यता तथा विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रियासहितको विवरण पनि बुझाउनुपर्ने छ।

    इटहरी क्षेत्रमा एक सय ७० वटा विद्यालय रहेका छन्, जसमा ३६ वटा निजी विद्यालय रहेका छन् भने अरु निजी रहेका छन्।

  • जलविद्युत् आयोजनाबाट २८ करोडभन्दा बढी ‘रोयल्टी’ असुल गर्न बाँकी

    जलविद्युत् आयोजनाबाट २८ करोडभन्दा बढी ‘रोयल्टी’ असुल गर्न बाँकी

    नेपाल सरकारले विभिन्न जलविद्युत् आयोजनाबाट २८ करोड ६९ लाख ९५ हजार असुल गर्न बाँकी रहेको छ। महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा विद्युत् विकास विभागको अभिलेख अनुसार २०७९/८० सम्म २८ करोड ६९ लाख ९५ हजार असुल गर्न बाँकी रहेको उल्लेख छ।

    विद्युत् ऐन, २०४९ को दफा ११ मा जलविद्युत् आयोजनाले नेपाल सरकारलाई सलामी दस्तुर (रोयल्टी) बुझाउने पर्ने व्यवस्था छ।

    आयोजनाले तिर्नुपर्ने रोयल्टी समयमा प्राप्त नभएकोमा ब्याज तथा जरिवाना लिने गरेको देखिँदैन। रोयल्टी बक्यौताको ब्याज तथा हर्जना सम्बन्धमा कानुनी व्यवस्था गरी रोयल्टी रकम असुल गर्नुपर्ने महालेखापरीक्षणको सुझाव छ।- रासस

  • कालीगण्डकी करिडोरमा सुक्खा पहिरो, सडक खुल्न एक साता लाग्ने

    कालीगण्डकी करिडोरमा सुक्खा पहिरो, सडक खुल्न एक साता लाग्ने

    सुक्खा पहिरोका कारण आइतबार रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड अवरुद्ध भएको छ। बागलुङ र गुल्मीको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बरलवाको भिरमा गत राति पहिरो खसेको हो।

    पहिरोले बागलुङ–गृल्मी खण्डअन्तर्गत मालढुङ्गा–अर्बेनी सडक पूर्णरुपमा अवरुद्ध भएको हो। यसअघि फागुन ११ र २६ गते पनि सोही ठाउँमा पहिरो खसेको थियो। सुक्खा पहिरोका कारण करिडोर एक साता बन्द भएको थियो।

    बागलुङको मालढुङ्गादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ। काम चलिरहेकैबेला आइतबार रातको समयमा एक्कासी पहाड खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको कालोपत्रको काम गरिरहेको निर्माण कम्पनी कालिका कन्ट्रक्सनका इञ्जिनियर छकबहादुर गुरुङले बताए।

    ‘पहिरो खसेको ठाउँ निकै कमजोर छ, त्यहाँ पटकपटक पहिरो खसेर काममा बाधा पारिरहेको छ’, आयोजनाका इञ्जिनियर अरुण खत्रीले भने, ‘पहाड सिँगै खसेकाले यो पटक पनि सडक खुल्न समय लाग्छ।’ पहिरो खुलाउनका लागि आयोजना र निर्माण कम्पनीले सोमवार बिहानैदेखि काम थालेका छन्।

    बरलवाको भिरमा खसेको सुक्खा पहिरोले सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध भएकाले करिडोर हुँदै लामो तथा छोटो दूरीका सवारीसाधन आवागमनमा समस्या भएको प्रहरीले जनाएको छ।

    सडक अवरुद्ध भएका कारण जिल्ला सदरमुकाम बागलुङ बजार र दक्षिण जैमिनी तथा बरेङ गाउँपालिकाबाट बुटवललगायत ठाउँमा चल्ने सवारीसाधन रोकिएका छन्। भिरालो जमिन रहेको उक्त स्थानमा बेलाबेलामा सुक्खा पहिरो जाने गरेको छ। रासस

  • गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाले गर्‍यो विद्यालय बन्द

    गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाले गर्‍यो विद्यालय बन्द

    गर्मी अत्यधिक बढ्दै गएपछि पठनपाठनमा समस्या आएको जनाउँदै कपिलस्तु नगरपालिकाले विद्यालय बन्द गरेको छ। कपिलवस्तु नगरपालिकाले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हो।

    जिल्लाका अन्य नौ स्थानीय तहले समेत गर्मी बढेपछि विद्यालय बन्द गर्नेबारे छलफल चलेको बताएका छन्। कपिलवस्तु नगरपालिका नगर शिक्षा समितिले जेठ १६ देखि १८ गतेसम्मका लागि विद्यालय बन्द गर्ने भन्दै सूचना जारी गरेको छ।

    कपिलवस्तु नगरपालिका शिक्षा शाखाका प्रमुख हरिप्रसाद ज्ञवालीले गर्मी निरन्तर बढ्दै गएपछि पठनपाठनमा समस्या आएकाले विद्यालय तीन दिन बिदा दिइएको बताए।

    जिल्लाका अधिकांश विद्यालय टिनका छानो भएको र विद्युत्समेत अनियमित हुने गरेको छ, जसले गर्दा गर्मीमा पठनपाठनमा समस्या आउने गरको शिक्षकहरु बताउँछन्।

    कपिलवस्तुक नगरपालिका– ६ स्थित जलवायु मापन केन्द्र रामनगरका अनुसार एक सातायता जिल्लाको तापक्रम ४० डिग्री सल्सियस पुगेको छ।

    आइतबार सदरमुकाम तौलिहवाका तापक्रम ४१.५ थियो। गर्मीका कारण बालबालिका कक्षा कोठामै निदाउने र अर्धचेत हुने समस्या बढेको शिक्षकहरु बताउँछन्।

  • गोरखाको साम्दोमा सशस्त्र प्रहरी बलको बिओपी स्थापना

    गोरखाको साम्दोमा सशस्त्र प्रहरी बलको बिओपी स्थापना

    सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दोमा बोर्डर आउट पोष्ट (बिओपी) को आइतवार स्थापना गरेको छ। योसँगै चीनतर्फ बिओपीको संख्या १० पुगेको बलका डिएसपी एवं सह प्रवक्ता शैलेन्द्र थापाले बताए।

    सशस्त्र प्रहरी बल नेपाल नंं. २९ गुल्म गोरखाको मातहत रहने गरी स्थापना भएको बिओपी सदरमुकाम गोरखा बजारबाट करीव १ सय ६४ किलोमिटर उत्तरतर्फ रहेको उनले बताए।

    नेपाल र चीन सीमा ईलाकामा स्थापना गरिएको बिओपीले विपद्जन्य घटनाहरु जस्तै हिमपात, हिमपहिरोमा परेका नागरिकहरुको उद्धार, अवैध चोरीनिकासी पैठारी नियन्त्रण, सीमावर्ती क्षेत्रमा हुने अपराधिक तथा अवान्छित क्रियाकलाप न्यूनिकरण, नियमित सीमा स्तम्भ तथा सीमा ईलाकाको निगरानी लगायतका कार्यमा सहज हुने छ।

    समुन्द्री सतहतबाट करीव ३ हजार ८ सय ७५ मिटरको उचाई स्थापना भएको बिओपीबाट करीव १५ किलोमिटर नजिक चीनसँगको सीमानामा रुईला नाका रहेको छ।

    यसअघि सशस्त्र प्रहरी बल नेपालले चीनतर्फ दार्चुलाको तिंकर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ्ग, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथाङका, ताप्लेजुङ्गको ओलाङचुङगोला सहित ९ ठाउँमा बिओपी स्थापना गरिसकेको छ। हाल भारततर्फ २ सय ४४ र चीनतर्फ १० गरी बिओपीको संख्या २ सय ५४ वटा पुगेको छ।

  • महिलालाई ढाकाको कपडा बुन्न सिकाउँदै बन्दीपुर

    महिलालाई ढाकाको कपडा बुन्न सिकाउँदै बन्दीपुर

    तनहुँको बन्दीपुरका महिलालाई व्यावसायिक बनाउन ढाकाको कपडा बुनाइ सम्बन्धी तालिम प्रदान गरिएको छ।

    गाउँपालिकाद्वारा गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रममार्फत महिलालाई ढाकाको कपडा बुन्ने तालिम प्रदान गरेको हो।

    महिलालाई व्यावसायिक बनाउँदै आयआर्जनसँग जोड्ने दुईमहिने ढाकाको कपडा बुनाइ तालिम सुरु गरिएको छ।

    गाउँपालिकाले महिलाको जीवनस्तर उकास्न विभिन्न सीप प्रदान गर्दै आएको गाउँपालिका अध्यक्ष पञ्चमाया गुरुङले बताए।

    उनले भने, ‘गत स्थानीय तहको निर्वाचनमा हामी निर्वाचित भएर आएपछि यहाँका महिलालाई लक्षित गरी विभिन्न प्रकारका सीपमूलक तालिम सञ्चालन हुँदै आएको छ, ढाकाको कपडा बुनाइ पनि सोहीअन्तर्गतको हो।’

    महिला दक्ष बन्नुपर्ने जनाउँदै गुरुङले दक्ष भए अरुको भरपर्न नपर्ने बताए। उनले भने, ‘महिलालाई आत्मनिर्भर बनाउन उनीहरुकै रुचि र मागअनुसारका तालिम सञ्चालन गर्छौं, आइतबारदेखि ढाकाको कपडा बुन्ने तालिम सुरु भएको छ।’

    तालिमका क्रममा ढाकाको धागोमार्फत टोपी, सल, पछ्यौरा, हाते झोला र खादाजस्ता सामग्री उत्पादन गर्न सिकाइनेछ। सहभागीलाई चार तानमार्फत ढाकाका विभिन्न सामान उत्पादन गर्नका लागि प्रशिक्षण दिइएको उद्यम विकास सहजकर्ता टीका आलेमगरले बताए। तालिममा सात महिलाको सहभागिता छ।

    गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले तालिमका नाममा तालिम दिने मात्र नभई प्रयोगमा ल्याउँदै आर्थिक पाटोमा जोडिन आग्रह गरे।

    उनले भने, ‘तालिमलाई व्यावहारिक रुपमा उतार्न सकिए आत्मनिर्भर बन्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुहोला, तालिम लिइसकेपछि पनि त्यस्ता महिलालाई के सहयोग गर्न सकिन्छ हामी गर्छौ।’ -रासस

  • पाथिभरा याङवरकसहित देशका पाँचवटा पालिकाको बेरुजु शून्य

    पाथिभरा याङवरकसहित देशका पाँचवटा पालिकाको बेरुजु शून्य

    ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकाको बेरुजु शुन्य रहेको छ। ताप्लेजुङका ९ स्थानीय तहमध्ये पाथीभरा याङवरकको बेरुजु शुन्य रहेको महालेखा परीक्षकको ६१औं वार्षिक प्रतिवेदनमा उल्लेख छ।

    महालेखाका अनुसार देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ५ स्थानीय तहको बेरुजु शुन्य रहेको छ। ताप्लेजुङको पाथिभरा याङवरक, पाँचथरको याङवरक, काभ्रेको महाभरा, धादिङको बेनिघाट र ललितपुरको कोज्योसिम गाउँपालिकाको बेरुजु शुन्य रहेको छ।

    यसको अर्थ उल्लिखित पाँचवटै स्थानीय तहमा आर्थिक वर्ष २०७९।८० को लेखा परीक्षणसम्ममा बेरुजु रकम छैन। ताप्लेजुङका ९ स्थानीय तहमध्ये पाथिभरा याङवरकको बेरुजु शुन्य भएको छ। पाथिभरा याङवरकको ९८ करोड ७१ लाख ३६ हजार रुपैयाँको लेखा परीक्षण भएको थियो।

    यस्तै मेरिङदेन गाउँपालिकाको बेरुजु पाथीभरा याङवरकपछि ताप्लेजुङका स्थानीय तहमध्ये सबैभन्दा कम रहेको पाइएको छ। ०.६० प्रतिशत बेरुजु कायम रहेको मेरिङदेन गाउँपालिकाको ५७ लाख १६ हजार रकम बेरुजु कायम रहेको छ।

    मेरिङदेन गाउँपालिकाको ९५ करोड ३० लाख ६० हजार रुपैयाँको लेखा परीक्षण भएको थियो। कुल लेखा परीक्षण गरिएको रकममध्ये बेरुजु १.५१ प्रतिशत रहेको आठराई त्रिवेणी गाउँपालिकाको बेरुजु १ करोड ५३ लाख ३१ हजार रुपैयाँ कायम भएको छ।

    सो पालिकाको १ अर्ब १ करोड ५४ लाख ६९ हजार रुपैयाँको लेखा परीक्षण भएको थियो। १.६७ प्रतिशत बेरुजु कायम रहेको सिरिजङ्गा गाउँपालिकाको बेरुजु रकम १ करोड ६७ लाख ७० हजार रुपैयाँ कायम भएको छ।

    सिरिजङ्गा गाउँपालिकाको १ अर्ब ५४ लाख ९५ हजार रुपैयाँको लेखा परीक्षण भएको थियो। २.०२ प्रतिशत बेरुजु कायम रहेको फुङलिङ नगरपालिकाको ३ करोड २२ लाख ३८ हजार रुपैयाँ बेरुजु कायम भएको छ। फुङलिङ नगरपालिकाको १ अर्ब ५९ करोड ७७ लाख ८२ हजार रुपैयाँको लेखा परीक्षण भएको थियो।

    मैवाखोला गाउँपालिकाको बेरुजु रकम २ करोड ७ लाख ८७ हजार रुपैयाँ कायम भएको छ। कुल ८८ करोड ३१ लाख ३ हजार रुपैयाँको लेखा परीक्षण गरिएकोमा त्यसमध्ये मैवाखोलाको २.३६ प्रतिशत बेरुजु कायम रहेको देखिएको छ।

    ८६ करोड १७ लाख ८२ हजार रुपैयाँको लेखा परीक्षण गरिएकोमा मिक्वाखोला गाउँपालिकाको बेरुजु २ करोड १३ लाख ३७ हजार रुपैयाँ कायम रहेको छ। लेखा परीक्षण गरिएको अंकका आधारमा मिक्वाखोलाको बेरुजु २.४८ प्रतिशत देखिएको छ।

    सिदिङ्वा गाउँपालिकाको बेरुजु लेखा परीक्षण गरिएको रकममध्ये ४.२३ प्रतिशत कायम भएको छ। सिदिङ्वा गाउँपालिकाको बेरुजु ३ करोड ३७ लाख ६७ हजार रुपैयाँ रहेको छ। सो गाउँपालिकाको ७९ करोड ९१ लाख ४३ हजार रुपैयाँको लेखा परीक्षण गरिएको गरिएको थियो।

    फक्ताङलुङ गाउँपालिकाको बेरुजु ६.१२ प्रतिशत कायम रहेको मलेपको प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदनअनुसार सो गाउँपालिकाको बेरुजु ५ करोड ५७ लाख ९७ हजार रुपैयाँ कायम भएको छ। फक्ताङलुङ गाउँपालिकाको ९१ करोड २१ लख ८ हजार रुपैयाँको लेखा परीक्षण भएको थियो।

  • सर्पको टोकाइले मृत्यु भएपछि क्षतिपूर्ति माग्दै सडक अवरुद्ध

    सर्पको टोकाइले मृत्यु भएपछि क्षतिपूर्ति माग्दै सडक अवरुद्ध

    सर्पको टोकाइबाट मृत्यु भएका एक बालकका आफन्तले भेरी करिडोर अन्तर्गतको छिन्चु–जाजरकोट सडक खण्ड र सुर्खेत–दाङ सडक खण्ड अवरुद्ध पारेका छन्।

    सुखर्तेको गुर्भाकोट नगरपालिका–९ बोटेचौरका ९ वर्षीय अनमोलबहादुर चुनाराको उपचारका लागि प्रदेश राजधानी वीरेन्द्रनगर ल्याउने क्रममा शनिवार बोटोमै मृत्यु भएको थियो।

    सर्पले टोकेका बालकलाई सुरुमा उपचारका लागि मेहलकुना अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि मेहलकुना अस्पतालले रेफर गरेको थियो। रेफर गरिएको ती बालकको बाटोमै मृत्यु भएपछि आफन्तहरुले शनिबार राति मेहलकुना अस्पताल तोडफोड समेत गरेका थिए।

    आफन्तहरुले उचित क्षतिपूर्तिको माग गर्दै सोमवार बिहानैदेखि बोटेचौर बजारमा सडक अवरुद्ध गरेर आन्दोलन गरिरहेका छन्। आन्दोलनका कारण छिन्चु–जाजरकोट–डोल्पा सडक र सुर्खेत–सल्यान–दाङ सडक अवरुद्ध भएका छन्।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार अस्पताल प्रशासन, आफन्त र जनप्रतिनिधिबीच वार्ताको प्रयास भइरहेको छ। ‘मृतक बालकका आफन्तहरुले क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध गरिरहनु भएको छ,’ उनले भने, ‘सँगसँगै वार्ताको प्रक्रियापनि अघि बढिरहेकाले केही समयमै निकास आउने विश्वासमा छौं।’

  • गर्मी बढेपछि वीरगञ्जका विद्यालय ३ दिनका लागि बन्द

    गर्मी बढेपछि वीरगञ्जका विद्यालय ३ दिनका लागि बन्द

    वीरगञ्ज महानगरपालिकाले बढ्दो गर्मीका कारण विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

    केहि दिनदेखि चर्को घाम र बढ्दो गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको भन्दै महानगरपालिकाले जेष्ठ १६ गतेदेखि जेष्ठ १८ गतेसम्म सबै सामुदायिक र संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेक हो।

    सोमवार मेयर राजेशमान सिंहको उपस्थितिमा बसेको महानगरको शिक्षा समितिको बैठकले बुधवारदेखि शुक्रवारसम्म तीन दिनका लागि विद्यालयहरू बन्द गर्ने निर्णय गरेको बताइएको छ।

    गर्मी अत्यधिक बढेका कारण विद्यार्थीहरू कक्षाकोठामै मुर्छित हुने अवस्था आएको भन्दै अभिभावकहरूको गुनासो अनुसार गर्मी विदा दिइएको हो।

    अहिले पर्सा, बारा, रौतहट लगायत देशभर कै जिल्लाहरूमा तापक्रम ४० देखि ४३ डिग्रीसम्म पुगेका कारण सबैलाई सतर्कता अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन्।