Blog

  • बालुवाटारमा सत्तारुढ र प्रतिपक्षी दलका शिर्ष नेताबीच छलफल जारी

    बालुवाटारमा सत्तारुढ र प्रतिपक्षी दलका शिर्ष नेताबीच छलफल जारी

    प्रधानमन्त्री पुष्पकमल दाहालले संसदको गतिरोध अन्त्य गरी सहज रुपमा बजेट प्रस्तुत गर्ने वातावरण बनाउने प्रयास जारी राखेका छन्। प्रधानमन्त्री दाहालले बालुवाटारस्थित निवासमा सत्तारुढ र प्रतिपक्षी दलका नेताहरुसँग छलफल गरिरहेका छन्।

    छलफलमा सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्यहरु समेत छन्।

    छलफलमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, कार्यदल संयोजक समेत रहेका कानुन मन्त्री पदम गिरी र एमालेका प्रमुख सचेतक महेश बर्तौला सहभागी छन्।

    यसैगरी नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्की सहभागी छन्।

    यसैगरी नेकपा माओवादीबाट वर्षमान पुन र हितराज पाण्डे सहभागी छन्।रास्वपाबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने, स्वर्णिम वाग्ले लगायतका नेताहरु सहभागी छन्।

    नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेको नामै तोकेर संसदीय छानबिन समितिको कार्यादेश बनाउनुपर्ने अडान राख्दै आएको छ। त्यसमा सत्ता साझेदार दल नेकपा एमाले र रास्वपाको असहमति छ।

  • प्रतीक ढकाल नियात्रा सौरभबाट राजकर्णिकार सम्मानित

    प्रतीक ढकाल नियात्रा सौरभबाट राजकर्णिकार सम्मानित

    पर्वतीय साहित्यका उन्नायक तथा वरिष्ठ नियात्राकार प्रतीक ढकालले नियात्रा विधामा समर्पित स्रष्टाहरूका लागि स्थापना गरेको ‘प्रतीक ढकाल नियात्रा सौरभ’ वर्ष २०८० का लागि वरिष्ठ नियात्राकार घनश्याम राजकर्णीकारलाई समर्पण गरिएको छ।

    नियात्राकार राजकर्णिकारलाई साहित्यकार ढकालको जन्मदिनको अवसर पारेर ५१ हजार रूपैयाँ राशिसहितको उक्त पुरस्कार कमलपोखरीस्थित उनकै निवासमा समर्पण गरिएकाे थियाे।

    राजकणिकारलाई उनको पचास वर्षभन्दा पनि लामो र वन्दनीय नियात्रा साधनाको कदर गर्दै यो पुरस्कार अर्पण गरिएको पुरस्कारलाई व्यावस्थापन गरिरहेको पर्वतीय साहित्य समाज नेपालकी सचिव भवानी खतिवाडीले जानकारी गराएकी थिइन्।

    कार्यक्रममा प्रतिभा छनोट उपसमितिका संयोजक समालोचक महेश पौड्यालले राजकर्णिकारले शिशु अवस्थामा रहेको नियात्रालाई एक परिपक्व विधाको रूपमा स्थापित गर्न भूमिका खेलेको बताए।

    समालोचक प्राडा कृष्णप्रसाद दाहालले आफूले यत्तिको लामो समयसम्म एउटै विधामा यसरी तल्लीन भएर लेख्ने अर्को नियात्राकार नदेखेको बताए।

    उनले साहित्यकार राजकर्णिकारको सफलतामा उनकी धर्मपत्नी शान्ता राजकर्णिकारको पनि हात रहेको बताए।

    स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले खराब मान्छेको बाहुल्य भएको आजको समयमा असल काम गर्ने थोरै मान्छे भए, ठूलो उपलब्धि सम्भव हुने भन्दै पुरस्कार पाउने र दिने दुवै पक्षले असल र प्रेरणादायी कार्य गरेको टिप्पणी गरे।

    नियात्राकार राजकणिकारले पुरस्कार पाउँदाको खुसी व्यक्त गर्दै आफू व्यावसायिक घरानाको भए पनि साहित्यमा लाग्नुमा दुई कारण रहेको बताए। पहिलो कारण कृष्ण पाउरोटी र दोस्रो समालोचक माधवलाल कर्माचार्य रहेकाे उनले बताए। कृष्ण पाउरोटी उद्योगले नै उनलाई बेकरी सम्बन्धमा जर्मनीमा पढ्ने चाँजो मिलाइदिएकाले आफूमा विदेश भ्रमण गर्ने, नयाँ मुलुक देख्ने र देखेको कुरा लेख्ने कुराको सूत्रपात गरिदिएको बताए।

    सुरुमा धेरै विधामा छरिएका राजकर्णिकारलाई यात्रासंस्मरणतिरै केन्द्रित हुनचाहिं माधवलाल कर्माचार्यले प्रेरित गरेको बताए।

    पुरस्कारका संस्थापक प्रतीक ढकालले आफ्नो सानो प्रयासले ठूला साहित्यकारलाई सम्मान गर्न पाएकोमा खुशी व्यक्त गरे।

    राजकर्णिकारका देश प्रदेशको भ्रमण (२०३४), विदेशको यात्राः स्वदेशको सम्झना(२०३७), बौद्ध तीर्थयात्रा: नालान्दादेखि लुम्बिनीसम्म (२०६०), यात्रा अमेरिकाको माया नेपालको (२०६९), यात्राको लहरीमा हिउँफूलकी रानी (२०७४), घामै प्यारो आमै प्यारो (२०७७) लगायत महत्त्वपूर्ण नियात्राकृतिहरू प्रकाशित छन्।

    यसअघि यो पुरस्कार वरिष्ठ नियात्रकारहरू डा. तारानाथ शर्मा, सत्यमोहन जोशी, भुवनहरि सिग्देल र गीता खत्रीलाई प्रदान गरिसकिएको छ।

  • आईपीएल विजेताले कति पाए पुरस्कार राशी ?

    आईपीएल विजेताले कति पाए पुरस्कार राशी ?

    १७ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) ले आफ्नो विजेता पाइसकेको छ। आइतवार भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै कोलकोत्ताले १० वर्ष पछि आईपीएलको उपाधि उचालेको छ।

    चेन्नईस्थित एमए चिदम्बरम् क्रिकेट स्टेडियममा भएको खेलमा हैदरावादले टस जितेर पहिला ब्याटिङ्ग गर्दै निर्धारित २० ओभरमध्ये १८.३ ओभर खेल्दै सबै विकेट गुमाएर ११३ रन मात्रै बनाउन सक्यो।

    सुरुदेखि नै खराब प्रदर्शन गरेको हैदरावादसँग इतिहास दोहोर्याउने मौका थियो। तर, सकेन। परिणाम स्वरुप कोलकोत्ताका रहमानुल्लाह गरबाजको ३६ र वेङ्कटेश अय्यरको ५२ रनको सानदार पारीले कोलकोत्तालाई सहज जित दिलायो। योसहित कोलकोत्ताले तेस्रोपटक आईपीएलको उपाधि उचालेको छ।

    हैदरावादलाई सुरुदेखि नै दबाबमा राख्दै कोलकोत्ताका आन्द्रे रसेलले २४ रन खर्चिदै ३ विकेट, मिचेल स्टार्कले १४ रन खर्चेर २ विकेट र हर्षित रानाले २४ रन खर्चेर २ विकेट लिए भने वरुण चक्रवर्तीले ९ रन खर्चेर १, सुनिल नरेनले १६ रन खर्चेर १ अनि वैभव अरोडाले २४ रन खर्चेर १ विकेट हात पारे।

    क्रिकेटको महाकुम्भ भनेर चिनिने आईपीएल सकिएसँगै विजेता र उपविजेतासहित अन्तिम ४ मा स्थान बनाएका टिमले पनि ठूलो पुरस्कार राशी प्राप्त गरेका छन्।

    आईपीएल म्याचको १७ औँ विजेता टिम कोलकोत्ताले २० करोड भारतीय रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बनेको हैदरावादले १२ करोड ५० लाख भारतीय रुपैयाँ प्राप्त गरेको छ। यस्तै तेस्रो स्थानमा रहेको राजस्थान रोयल्सले ७ करोड र चौथो स्थानको रोयल च्यालेन्जर्स बैङ्गलुरुले ६ करोड ५० लाख भारतीय रुपैयाँ प्राप्त गरेको छ।

  • चेपाङ विद्यार्थीलाई अध्ययन खर्च

    चेपाङ विद्यार्थीलाई अध्ययन खर्च

    तनहुँको आँबुखैरेनी गाउँपालिकाले यहाँका दुई चेपाङ विद्यार्थीलाई अध्ययन खर्च बापतको रकम प्रदान गरेको छ। आँबुखैरेनी–५ का अमृत चेपाङ र सञ्जीव चेपाङलाई मासिक पाँच हजारका दरले अध्ययन खर्च दिएको हो।

    स्थानीय रामशाह माध्यमिक विद्यालयमा अमृत कक्षा ९ मा तथा सञ्जीव कक्षा ११ मा अध्ययनरत रहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए। कार्यपालिका बैठकले विपन्न वर्गका चेपाङ विद्यार्थीलाई कक्षा १२ सम्म अध्ययन गर्न मासिक पाँच हजारका दरले सहयोग दिने निर्णय भएबमोजिम उक्त रकम प्रदान गरिएको हो।

    अमृतलाई दोस्रो र तेस्रो किस्ताबापत मङ्सिरदेखि असारसम्म आठ महिनाको ४० हजार तथा सञ्जीवलाई यही शैक्षिक सत्रको वैशाखदेखि असारसम्म तीन महिनाको पन्ध्र हजारको चेक हस्तान्तरण गरिएको हो।

    शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर गाउँपालिकाले रकम सहयोग गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए। विपन्न विद्यार्थीका लागि खाद्यान्न र आवासबापत मासिक रु पाँच हजारका दरले सहयोग गर्ने नीति गाउँपालिकाले अवलम्बन गरेको छ।

    चौध कार्यपालिका सदस्य र एक प्रमुख प्रशासकीय अधिकृतले मासिक बैठक भत्ताबापतको रकम शैक्षिक कोषमा जम्मा गरेका छन्।

    पन्ध्र जनाको मासिक एक हजारका दरले दश महिनाको एक लाख पचास हजार शैक्षिक कोषमा जम्मा गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए। सो रकम विपन्न वर्गका विद्यार्थीको अध्ययनका लागि खर्च गरिने छ। -रासस

  • पर्सामा अन्न भण्डारण सेवा सुरु

    पर्सामा अन्न भण्डारण सेवा सुरु

    पर्सामा किसानले उत्पादन गरेको अन्न सुरक्षित रूपमा भण्डारण गर्ने सेवा सुरु भएको छ। पर्साका बिरुवा गुठीमा नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले सो सेवा सुरु गरेको हो।

    कम्पनीका अध्यक्ष आनन्द बगरियाले पर्सासहित सुनसरीको गढी र कपिलवस्तुको वीरपुरमा कम्पनीले अन्न भण्डारण गृह निर्माण गरिसकेको बताए।

    उनले तीनवटा भण्डारण गृहको कुल क्षमता ५५ हजार मेट्रिक टन रहेको जानकारी दिँदै पर्साको २५ हजार मेट्रिक टन तथा सुनसरी र कपिलवस्तुको १५-१५ हजार मेट्रिक टन क्षमता रहेको बताए।

    यससँगै वेयरहाउसमा भण्डारण गरिएको अन्न धितो राखेर कर्जा पनि लिन सकिनेछ। यो सुविधाले किसानलाई व्यापारीको मूल्यमा आफ्नो उत्पादन बेच्नुपर्ने बाध्यताबाट मुक्ति दिने अपेक्षा कम्पनीले गरेको छ।

  • सिरोहियालाई आज तेस्रोपटक म्याद थपका लागि अदालतमा पेश गरिँदै

    सिरोहियालाई आज तेस्रोपटक म्याद थपका लागि अदालतमा पेश गरिँदै

    नागरिकता सम्बन्धी कसुर मुद्दामा धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज तेस्रोपटक जिल्ला अदालत धनुषामा पेश गरिँदैछ।

    गत शुक्रवार जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको ईजलासले सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीलाई दोस्रोपटक थप ३ दिन थुनामा रख्न अनुमानि दिएको थियो। दोस्रोपटक दिएको म्याद आज सकिने भएपछि तेस्रोपटक मयाद थपका लागि उनलाई अदालतमा पेश गर्न लागिएको धनुषा प्रहरी प्रबक्ता तथा डिएसपी रंञ्जन अवाले जानकारी दिए।

    पहिलोपटक गत बुधवार धनुषा जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काको इजलासले सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो भने दोस्रो पटक शुक्रवार ३ दिनको म्याद थप गरिएको थियो।

    डीएसपी अवाका अनुसार अनुसन्धान जारी रहेकाले सिरोहियालाई तेस्रोपटक म्याद थपका लागि अदालतमा पेस गर्न लागिएको बताए।

    यसअघि सिरोहियाका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, शेरबहादुर केसी, गोविन्द शर्मा बन्दी र टिकाराम भट्टराई तथा अधिवक्ताहरू रमणकुमार कर्ण, किशोर पौडेल र दीपेन्द्र झाले बहस गरेका थिए।

    सिरोहियालाई गत मङ्गलवार थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरी बुधवार बिहान धनुषा ल्याइएको थियो।

  • मुगुको डोल्फु गाउँँमा लुटपाट

    मुगुको डोल्फु गाउँँमा लुटपाट

    मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ। गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा सङ्कलन गर्न गएको समयमा लुटपाट गरिएको हो।

    हतियारधारी समूहले शनिबार साँझ डोल्फु गाउँमा घरघरमा खानतलासी गर्दै नगद, गहना, सरसामान लगायत बहुमूल्य सामान लुटेर लगेका मुगुम कार्मारोङका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए। ‘गाउँमा बूढाबूढी र बालबालिकका मात्र रहेको मौका छोपी हरियारधारी समूहले ५० घरमध्ये २३ घरमा लुटपाट गरेका छन्’, उनले भने।

    लुटेरा समूहले गाउँमा रहेका गुम्बाका पुजारीलाई समेत कुटपिट गरेको अध्यक्ष लामाले बताए। उनीहरुले घरको हेरचाहका लागि राखिएका कुकुरलाई समेत कुटपिट गरेका थिए।

    प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले लुटपाटको खबर थाहा पाएपछि गाउँदेखि पाँच घण्टा टाढाको पुलु प्रहरी चौकीबाट प्रहरी टोली पठाएको बताए। विगत वर्षमा पनि स्थानीयवासी यार्सागुम्बा सङ्कलनमा गएको समयमा सो गाउँमा लुटपाट हुँदैआएको थियो।

    मुगुम कार्मारोङ–१ का वडाध्यक्ष कार्मा तुन्डुक लामाले गाउँमा भएको लुटपाटबारे प्रहरीलाई जानकारी गराएका थिए। बन्दुक, तरबार, खुकुरीसहित आएको हतियारधारी समूहले घर फोडेर त्यहाँ रहेका सुन, चाँदी, पुराना भाँडाकुँडा, जडीबुटी, पुराना गरगहना, लत्ताकपडालगायत सामान लुटेर लगेको उनले बताए।

    प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले घटनास्थल सञ्चारको पहुँचभन्दा टाढा भएकाले त्यहाँ गएका प्रहरीसँग सम्पर्क गर्न मुश्किल भएको बताए। मुगुम कार्मारोङ–१, ३ र ४ नम्बर वडाका वन तथा पाटन से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले ओगटेको क्षेत्र हो।

    मुगुम कार्मारोङ गाउँँपालिकाले यही जेठ १५ गतेदेखि यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएको छ। स्थानीयवासी जेठ १० गते नै गाउँ छाडेर यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेगतर्फ गएका छन्। -रासस

  • हरिवन नगरपालिका : जनस्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गर्ने पालिका

    हरिवन नगरपालिका : जनस्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गर्ने पालिका

    हरिवन नगरपालिका मधेस प्रदेशमा जनस्वास्थ्यका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने पालिकाका रुपमा सम्मानित भएको छ। नगरपालिकाले जनस्वास्थ्यका क्षेत्रमा गरेको योगदानका आधारमा मधेस प्रदेशमै राम्रो कार्य गर्ने पालिकाका रुपमा सम्मानित हो।

    नगरपालिका प्रमुख रमेश बुढाथोकीका अनुसार नगरपालिकाले जनस्वास्थका क्षेत्रमा थप कार्य गर्न त्यस सम्बन्धित नीति बनाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ।

    सोही क्रममा हरिवन स्थायी घर भई काठमाडौँमा विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्तिसँग के कस्तो जनस्वास्थ्य नीति अवलम्बन गर्ने भन्नेबारे छलफल गरी राय परामर्श लिइएको छ।

    भविष्यमा नगरपालिकाको नेतृत्वमा जुनसुकै राजनीतिक दल र व्यक्ति पुगे पनि तर्जुमा गरिएका नीतिका आधारमा कार्यक्रम अघि बढाउने भएकाले पालिकाले जनस्वास्थ्य नीति निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको प्रमुख बुढाथोकीले बताए।

    पूर्वपश्चिम–राजमार्ग हरिवन नगरपािलकाको बीच भाग भएर जाने भएकाले यातायात मात्र नभई तरकारी र फलफूल उत्पादन तथा हावापानी दृष्टिले अनुकूल नै मानिन्छ। हरिवन नगरपालिको जनसंख्या करिब ५२ हजारको हाराहारीमा रहेको तथ्यांक छ।

    नगरपालिकाले जनस्वास्थ्य नीतिमा सबै मतदाताको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहोस् भन्ने हेतुले सार्वजनिक सुनुवाइ र छलफलका माध्यमबाट सुझाव संकलन गर्दै आएको छ।

    सोही क्रममा नगरपालिकाले चिकित्सक, महिला स्वयमंसेविका, महिला संगठन, मजदुर, किसान, राजनीतिक पार्टीका प्रतिनिधि, विद्यार्थी, विभिन्न संगठनका प्रतिनिधि, कर्मचारी, शिक्षक र पूर्वजनप्रतिनिधिसँग छलफल गरेको छ।

    पालिकाले सबैबाट प्राप्त सुझावलाई निष्कर्षमा पु¥याउन पूर्व स्वास्थ्य राज्यमन्त्री डा. भरत प्रधानसहितका विशेषज्ञ चिकित्सकसँग समेत छलफल गरी नीति नगर परिषद्बाट पारित गरी लागू गर्ने योजना बनाएको छ।

    मुलुकमा संघीय सरकार, कोशी र लुम्बिनी प्रदेश तथा कर्णालीका केही पालिकाले पनि स्वास्थ्य नीति बनाई कार्यान्वयनमा ल्याएको छ। स्वास्थ्य नीति निर्माणमा धेरैभन्दा धेरैको सहभागिता भए नीति दीर्घजीवी हुने र विषयवस्तु समेटिन सक्छ भन्ने पालिका प्रमुखको ध्येय छ।

    हरिवनमा दनुवार, थामी, मुस्लिम, तामाङ, मधेसीलगायत अरु समुदायको बसोबास पनि सघनरुपमा रहिआएको छ। नगरपालिकाको जनस्वास्थ्य नीति बनाउन फेक्ट नेपाल र सिविन नेपाल नामक गैरसरकारी संस्थाले पनि सहयोग पु¥याइरहेका छन्।

    आफ्नो जन्मथलो र कर्मथलो सम्झिएर उहाँहरुले सामान्य सहयोगले पनि हरिवनको विकास र सामाजिक परिवर्तनमा ठूलो फट्को हुने नगर प्रमुख बुढाथोकी बताउँछन्।

    राज्यले तोकेको ९८ प्रकारका औषधि निःशुल्करुपमा स्थानीय तहले उपलब्ध गराउनुपर्छ भन्ने नीतिलाई पूर्ण कार्यान्वयन गर्न पालिकाले समयमै खरिद गरी ती सबै थरी औषधिको पर्याप्त जोह गरेको छ।

    नगरपालिकाले आफ्नो कार्य जिम्मेवारीको क्षेत्रभित्र विभिन्न रोगसँग सम्बन्धित १० जनाभन्दा बढी विशेषज्ञ चिकित्सकमार्फत बिरामीलाई परीक्षण गर्ने व्यवस्था गर्दै आएको छ। नगरपालिकाले गुणस्तरीय ल्याब सेवा, भिडियो एक्सरे, महिलाको पाठेघरको क्यान्सर परीक्षण र सेक्ने उपकरणसमेतको व्यवस्था गरेको छ।

    पालिकास्तरको १५ श्ययाको अस्पताल निर्माण अन्तिम चरणमा छ। डटस् कार्यक्रममार्फत मुलुकभर क्षयरोगको व्यवस्थित र प्रभावकारी उपचार गर्ने पालिकाका रुपमा हरिवन सम्मानित भइसकेको छ।

    पालिकाले गत वर्ष मानसिक स्थास्थ्य परीक्षण सम्बन्धित तीनदिने स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। यसपटक यही जेठ १८, १९ र २० गते बृहत् स्वास्थ्य शिविर गर्ने तयारी छ।

    मनोविद् पद्मप्रसाद घिमिरे भन्छन्, ‘स्वास्थ्य भनेको उपचार मात्र नभई वातावरण र परिस्थितिसँग पनि जोडिन्छ, प्रभावकारी उपचारका लागि गुणस्तरीय औषधि, विश्वासिलो चिकित्सा सेवा र गुणस्तरीय औषधि सम्बन्धित विषयसमेत पर्छ।’

    मुलुकमा बेरोजगारी तगातका कारण लागुऔषधि प्रयोगकर्ता युवाको सङ्ख्या बढेकाले त्यसबाट उनीहरुलाई मुक्त गराउने र पुनःस्थापना गर्ने कार्यमा पालिकाले ध्यान पुर्‍याउनुपर्नेमा जोड दिँदै उनले उनीहरुलाई सुबाटोमा हिँडाउन युवालाई लक्षित गरी सिर्जनशील परामर्श र तालिम प्रदान गरिनुपर्ने आवश्यकता औँल्याए।

    पालिकाले मानसिक रोगको उपचारमा संलग्न केही नर्सलाई थप तालिमका लागि काठमाडौंका विभिन्न अस्पतालमा पठाएको छ। क्यान्सरलगायतका दीर्घरोगीलाई विभिन्न स्वास्थ्य संस्थामार्फत घरमै पुगेर उपचार गराउन पालिकाले कोसिस गरिरहेको छ।

    नगरपालिका– ८ का वडाध्यक्ष प्रज्ज्वल ढुंगानाले सक्षम निजामती प्रशासन ः विकास, समृद्धि र सुशासनको नारालाई पनि सँगै कार्यान्वयमा जोड दिँदै आएको बताए। –रासस

  • सापसंद्वारा सपना राउतलाई सम्मान

    सापसंद्वारा सपना राउतलाई सम्मान

    साहित्यिक पत्रकार संघले टेक्सस अमेरिकाको ग्रेटर अस्टिन नेपालिज साेसाइटीकी नवनिर्वाचित कार्यसमिति सदस्य सफ्टवेयर इञ्जिनियर सपना राउतको स्वागत तथा सम्मान गरेको छ।

    साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षता तथा वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, गुञ्जनकी संस्थापक एवं निवर्तमान अध्यक्ष हिरण्यकुमारी पाठक तथा पूर्व सचिव एवं कवि देवेन्द्रप्रसाद सिटौला लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रममा ग्रेटर अस्टिन नेपाललिज साेसाइटीकी नवनिर्वाचित सदस्य सपना राउतलाई प्रमुख अतिथि मदनदास श्रेष्ठ, अध्यक्ष लेकालीले फूलको माला तथा रूद्राक्षको मालासहित बधाईपत्रले सम्मान गरेका थिए।

    प्रमुख अतिथि कलाकार मदनदास श्रेष्ठले अमेरिका जस्तो ठाउँमा बसेर सामाजिक सेवा तथा नेपाली भाषा, साहित्य र कला क्षेत्रमा धेरै नेपाली लागेकोमा खुशी व्यक्त गर्दै ग्रेटर अस्टिन नेपालिज साेसाइटीको कार्यसमिति सदस्यमा निर्वाचित भएकी सपना राउतलाई बधाई तथा शुभकामना दिएका थिए।

    सम्मानित व्यक्तित्व राउतले आफ्नो कार्यकालमा नेपाल, नेपाली, नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकासमा जतिसक्दाे खट्न बताएकी थिइन्।

    कार्यक्रममा सभाध्यक्ष राधेश्याम लेकालीले स्वागत मन्तव्य राख्दै ग्रेटर अस्टिन नेपालिज साेसाइटीकाे गतिविधिबारे प्रकाश पारेका थिए।

    विदेशमा रहेर नेपाली साहित्य, कला र संस्कृतिको उन्नयनमा सोसाइटीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए भने साहित्यिक पत्रकार सङ्घले गर्दै आएको विविध योगदानको चर्चा पनि गरेका थिए।

    उनले देशले आर्थिक उन्नति तथा देश थाम्ने सवालमा साहित्यकारहरूले भूमिका खेल्नुपर्ने तथा विसङ्गति र विकृतितर्फ साहित्यकारहरूको कलम चल्नुपर्ने पनि बताएका थिए।

    कार्यक्रममा प्रमुख अतिथि लगायत सभापति लेकालीले सामाजिक अभियन्ता, गीतकार शोभित उप्रेतीलाई हालै मात्र राष्ट्रिय प्रजातन्त्र पार्टीको सहायक कोषाध्यक्ष पदमा मनोनित भएकोमा बधाई दिंदै सम्मान गरेका थिए।

    कार्यक्रममा साहित्यिक पत्रकार सङ्घका महासचिव डा. दामोदर पुडासैनी ुकिशोरुले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजीकरण तथा सञ्चालन कवि पारू तिमिल्सिनाले गरेकी थिइन्। कार्यक्रमको अन्तमा बालकलाकार रञ्जना थपलियाको सुन्दर तथा आकर्षक नृत्य प्रस्तुति गरिएको थियो।

  • लक्ष्मी सनराइज बैंकले गर्‍यो कपनको सेवा विस्तार

    लक्ष्मी सनराइज बैंकले गर्‍यो कपनको सेवा विस्तार

    लक्ष्मी सनराइज बैंकले कपनमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ।

    बुढानीलकण्ठ १० कपन रुद्रमती चोकको शाखा सोही नगरपालिकाको वडा १२ फैकामा स्थानान्तरण गरेको कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार स्थानान्तरण गरिएको साविकको रुद्रमती चोकको शाखाका ग्राहकले कपनकै पञ्चकन्या चोकमा रहेको अर्को शाखाबाट सवा लिन सक्ने छ।

    स्थानान्तरण भएसँगै बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकको पहुँच अझ सहज बनाउने विश्वास राखेको जनाएको छ।