Blog

  • सहकारी प्रकरण: कार्यदलमा जुटेन सहमति, दलहरूको आ-आफ्नै दाबी

    सहकारी प्रकरण: कार्यदलमा जुटेन सहमति, दलहरूको आ-आफ्नै दाबी

    सहकारीको रकम हिनामिना प्रकरणको छानबिनका लागि गठन गर्न लागिएको संसदीय छानबिन समितिको कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ।

    बिहीबार सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठकमा ठोस सहमति जुट्न नसकेको हो।

    संसदीय समितिमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो माग बाट पछि हटेको छैन भने सत्तारुढ दलहरूले गृहमन्त्रीको नाम नलेखि सहकारीको नामसम्म लेख्न सकिने प्रस्ताव गरेपनि बैठकले कुनै निष्कर्ष निकाल्न नसकेको हो।

    बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका तर्फबाट कार्यदल सदस्य रहेका सांसद जीवन परियारले गृहमन्त्रीको नाम उल्लेख नगरी कांग्रेस सहमति गर्न नसक्ने बताए। उनले नाम उल्लेख नगरी गोलमटोल भाषामा छानबिन अगाडी बढ्न नसक्ने धारणा आफ्नो तर्फबाट राखेको जानकारी दिए।

    त्यस्तै कार्यदल सदस्य तथा नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्रीको नाम राख्ने विषयमा सहमति जुट्न नसकेको सुनाए।

    यद्यपि उनले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सहमतिको नजिक आएको दाबी गरे। शुक्रबार (भोलि) बिहान साढे ८ बस्ने बैठकमा निर्णय गर्नेगरी काम अगाडी बढेको उनको भनाई छ।

    सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि सहमतिमा आउनका लागि प्रमुख प्रतिपक्ष दल सकारात्मक भएको दाबी गरे। उनले व्यक्ति केन्द्रित गरेर छानबिन गर्दा न्यायोचित नहुने आफूहरुको मान्यता कायम रहेको बताए।

    शुक्रबार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ। सो बैठक अगाडी कार्यदलको बैठक बसेर सहमतिको लागि प्रयास गर्ने नेताहरुले बताएका छन्।

  • नेपालगन्जमा गृहमन्त्री लामिछानेको पुत्ला जलाइयो

    नेपालगन्जमा गृहमन्त्री लामिछानेको पुत्ला जलाइयो

    नेपालगन्जमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाइएको छ। नेपालगन्जको सदरलाईन टांगा स्टेशन नजिकै बिहीबार बेलुकी पुत्ला जलाइएको हो।

    सहकारी ठगीमा आफू संलग्न भएपनि सत्ताको दुरुपयोग गरेर प्रहरीलाई मुद्दा चलाउन नदिएको, तर सहकारी ठगीका विषयमा निरन्तर समाचार लेख्ने कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाको नागरिकतामा विवाद झिकेर पक्राउ गरिएको भन्दै नागरिक स्तरबाट पुत्ला जलाइएको हो।

    सहकारी ठगी विरुद्ध समाचार लेख्ने स्वतन्त्र प्रेसलाई तर्साउने गृहमन्त्री लामिछानेको योजना अनुसार सिरोहियालाई पक्राउ गरेको उनीहरूको भनाई छ।

    सो क्रममा उपस्थित सर्वसाधारणले गृहमन्त्री राजीनामा दे, सहकारी ठग मुर्दावाद जस्ता नारा लगाएका थिए।

    हेर्नुहोस् तस्बिरहरू :

  • रविविरुद्ध कांग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली

    रविविरुद्ध कांग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीति क्षणिक स्वार्थ र लाभका लागि गर्नु नहुने बताएका छन्। बिहीबार सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति देश, जनता र सत्य स्थापनाका लागि हुनुपर्नेमा जाेड दिए।

    उनले नेपाली कांग्रेसले संसद्‌मा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै संसद् अवरुद्ध गरिरहेको र एउटा पात्रकाविरुद्ध खनिएको भन्दै आपत्ति जनाए।

    कांग्रेस जस्तो पार्टी रवि लामिछानेको विरुद्धमा खनिनु भनेको भँगेरा मार्न तोप बोकेर जानु सरह भएको उनकाे टिप्पणी थियाे।

    उनले भने ‘कांग्रेस जस्तो पार्टी रवि लामिछानेका विरुद्ध खनिएको छ। के खनिनु। भँगेरा मार्न जाने तोप बोकेर। बल्लबल्ल राजनीतिमा आएको, एक वर्ष भयो। खैर अहिलेको उपप्रधानमन्त्री हुनुहुन्छ, म उपप्रधानमन्त्रीको हैसियतले उहाँलाई सम्मान गर्छु। तर नेपाली कांग्रेसले दुई तिरबाट अघ्र्यलाईं गरेको छ। एउटा बेलुका गएर तपाईं डेढ वर्ष प्रधानमन्त्री तपाईं खानुस् भन्ने। उसले त्यो कागजमा सही नगरेपछि भोलिपल्ट सहकारीको ठग भन्ने। यो त सत्य हो नि त। रातिसम्म प्रधानमन्त्रीका लागि ठिक, म यता लाग्न सक्दिन भनेपछि त्यसो भए तँ सहकारीको ठग। अलि मिलेन।’

    अध्यक्ष ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकताको विषयमा छानबिन गर्न पक्राउ गरिएको बताए।

    उनले सिरोहिया पक्राउ पर्दा कसरी प्रेस स्वतन्त्रतामाथिको हमला भयो ? भन्दै प्रश्न समेत गरे। नागरिकताको कुरालाई प्रेस स्वतन्त्रतामाथिको हमलाका रुपमा बुझ्न नहुने उनको भनाइ थियो।

    ‘अदालतले आदेश गरेपछि प्रहरीले समात्यो। यो प्रेस स्वतन्त्रतामाथिको हमला रे। प्रेस कहाँबाट जोडियो। नागरिकताको पो कुरा होला त, प्रेस कहाँबाट आयो।’ उनले भने।

    अध्यक्ष ओलीले सांसद डा. सुनिल शर्मा र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्दा चुइँक्क नबोलेको भन्दै अहिले आएर रवैया देखाउनु अशोभनीय रहेको बताए।

    न्यायको अगाडि सबै बराबर रहेको उनकाे भनाइ थियाे।

  • रुसद्वारा खारकिभमा धमाधम मिसाइल आक्रमण, कम्तीमा सात जनाको मृत्यु

    रुसद्वारा खारकिभमा धमाधम मिसाइल आक्रमण, कम्तीमा सात जनाको मृत्यु

    युक्रेनको राजधानी किभपछिको दोस्रो ठुलो सहर खारकिभ र वरपरका क्षेत्रमा रुसले भीषण आक्रमण थालेको छ। रुसको सीमा नजिकै युक्रेनको उत्तरपूर्वी क्षेत्रस्थित सहर खारकिभ कब्जा गर्न रुसले भीषण बमबारी गर्न थालेको हो।

    पछिल्ला केही दिनयता रुसी सेना खारकिभ कब्जा गर्न उक्त क्षेत्रतर्फ अग्रसर भइरहेको समाचार बाहिरिएका थिए। यसै क्रममा बिहीबार धमाधम एकपछि अर्को मिसाइल आक्रमण गरिरहेको युक्रेनले जनाएको छ।

    युक्रेनका राष्ट्रपति भ्लादमिर जेलेन्स्कीले खारकिभ र ल्युबोटिन क्षेत्रमा रुसबाट एकैसाथ १५ भन्दा बढी मिसाइल प्रहार भएको बताएका छन्। जसबाट त्यहाँ सर्वसाधारणको हताहतका घटना भएको उनले एक्स (ट्विटर) मार्फत सूचना दिएका छन्।

    घटना लगत्तै आपत्कालीन सेवाहरू घटनास्थलमा पुगिसकेको उल्लेख गर्दै राष्ट्रपति जेलेन्स्कीले घाइते भएका सबैलाई आवश्यक सहयोग भइरहेको जनाएका छन्। युक्रेनसँग पर्याप्त हवाई सुरक्षा संसाधन क्षमता नभएको मौकाको फाइदा उठाउँदै सीमा नजिक पुगेर रुसी सेनाले आक्रमण गरिरहेको जेलेन्स्कीले लेखेका छन्। ‘यो कमजोरी हाम्रो होइन, तर विश्वको हो। जसले तीन वर्षसम्म आतंकवादीसँग उसको व्यवहारअनुरूप सामना गर्ने हिम्मत गरेन,’ जेलेन्स्कीले लेखेका छन्।

    रुसी मिसाइल आक्रमणबाट खारकिभमा मात्रै कम्तीमा ७ जनाको ज्यान गएको युक्रेनी सेनाले जनाएको छ। युक्रेनी सेनाले जनाएअनुसार रुसले खारकिभको यातायात पूर्वाधार, बहुउपयोगी कम्पनी, छापाखानालक्षित गरेर मिसाइल प्रहार गरेको छ। सार्वजनिक तस्बिरमा देखिएअनुसार उक्त धमाकामा संरचना ध्वस्त भएका देखिन्छन्।

    रुसले खारकिभ कब्जा गर्न खोजेको यो पहिलो प्रयास भने होइन्। यसअघि रुसले कब्जा गरेको डोनबास क्षेत्र नजिकै रहेको खारकिभ सहर रुसले निकै महत्वका रुपमा लिएको छ।

  • आज पनि कार्यदलमा भएन सहमति, बैठक फेरि शुक्रबार बस्ने

    आज पनि कार्यदलमा भएन सहमति, बैठक फेरि शुक्रबार बस्ने

    सहकारी ठगी प्रकरणमा गठन गर्ने भनिएको संसदीय छानबिन समितिका लागि कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ।

    बिहीबार सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसेको बैठक निष्कर्षविहीन बनेको हो।

    दलहरुबिच सहमति जुट्न नसकेपछि बैठक निष्कर्षविहीन बनेको हो। बैठक शुक्रबार बिहान ८ः३० बजे फेरि बस्ने भएको छ।

  • संविधानभन्दा माथि कोही छैन भन्ने कुरा पुष्टि भएको छ: मन्त्री शर्मा

    संविधानभन्दा माथि कोही छैन भन्ने कुरा पुष्टि भएको छ: मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रमा बदमासी गर्नेलाई कारबाही हुन्छ भन्ने भाष्य स्थापित भएको बताएकी छिन्।

    बिहीबार राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवस २०८१ का अवसरमा आयोजना गरेको ‘गणतन्त्रका उपलब्धि: समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनीमा बाल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन्।

    उनले सरकार बन्ने बेलामा वर्तमान व्यवस्था नै खराब हो र गणतन्त्रबाट केही भएको छैन भन्ने भाष्य स्थापित हुन खोजेको अवस्था रहेको भन्दै अहिले त्यस्तो अवस्था नरहेकाे जिकिर गरिन्।

    अहिले जतिसुकै ठूलो पदीय हैसियतमा भएपनि गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको उनको भनाइ थियो।

    उनले भनिन् ‘सुशासनको क्षेत्रमा सरकारले लिएको पहलकदमीले व्यवस्था र परिवर्तनको पक्षमा सकारात्मक भाष्य स्थापना गर्न सक्यौँ। सरकारले सुशासनको पहलकदमी लिएर चाहे जतिसुकै ठुलो पदीय हैसियतमा भएको भएपनि यदि गल्ती कसैले गर्छ भने गणतन्त्रमा छुट हुँदैन भन्ने एउटा जबर्जस्त भाष्य स्थापित गर्‍यौँ र ठूलो मान्छे भएपछि जे गरेपनि हुन्छ। बदमासी गर्दा पनि हुन्छ। कानुनले छुन सक्दैन भन्ने ढंगको भाष्य स्थापित हुँदा र त्यसबाट आम जनमानसमा निराशा पैदा भएको थियो। त्यसलाई चिर्न सफल भयौँ।’

    सरकारको गतिविधिबाट गणतन्त्र र संविधानभन्दा माथि कोही छैन भन्ने कुरा पुष्टि भएको उनले सुनाइन्। तीन तहको सरकार बनेपछि स्थानीय तहमा सडक पूर्वाधारहरू धेरै बनेको र विकास हुन थालेको उनको भनाइ थियो।

  • अपि धानेका आमाहरू

    अपि धानेका आमाहरू

    घुसाकी २५ वर्षीया सरला धामी अपि बेसक्याम्पमा अस्थायी टहरा बनाएर यार्सागुम्बा संकलन गरिरहेकी छन्। सरला हप्ता दिनअघि देवरसँग हिमाली बुटी खोज्दै बेसक्याम्प चढेकी हुन्।

    हरेक वर्ष यार्साको सिजनमा अपि चढ्नु सरलाको नियमित कर्म हो। यद्यपि परारअघि केही वर्ष बच्चा हुर्काउन समय दिनुपर्दा आउन भ्याएकी थिइनन्। बच्चा तीन वर्ष लागेपछि भने पोहोरयता फेरी आउन थालेकी छन्। उनी अपि बेसक्याम्प चढ्दा चार वर्षको बच्चा अहिले मावली हजुरआमासँग छ।

    सरलाको टोली असार मसान्तसम्म अपि बेसक्याम्पमा बसेर यार्सा खोज्नेछ। ‘पोहोर दुई लाख रुपैयाँभन्दा बढी कमाइ भएको थियो। यसपालि दुई लाख ५० हजारसम्म कमाउनुपर्नेछ,’ यार्सा टिप्दै गरेको अवस्थामा भेटिएकी उनी भन्छिन्,‘यार्साबाट कमाएको पैसाबाटै बाँच्नुपर्छ। बालबच्चा पढाउनुपर्छ। औषधि उपचार सबै यसैबाट हो। अहिले महँगी पनि बढेको छ।’ यद्यपि अहिलेसम्म भने उनको हातमा खास्सै यार्सा परेको छैन। हिउँ परेको समयमा यार्सा संकलन गर्न सकिदैन्, पानी पर्दा सहज हुने उनी सुनाउछिन्।

    सरलजस्तै घुसाकै २८ वर्षीया भृकुटी धामी पनि अपि बेसक्याम्पमा अस्थायी कटेरो बनाएर यार्सा टिप्न बसेकी छन्। भृकुटी बैशाख २ गते बेसक्याम्प आएर अस्थायी टहरो बनाएर गाउँ फर्किएकी थिइन्। त्यसपछि अढाई महिनालाई पुग्ने खानेकुरा, लत्ताकपडा र बन्दोबस्तीको सामग्री बोकेर श्रीमानसहित केही दिन अघि बेसक्याम्प पुगेकी हुन्। छोराछोरी भने यार्सा टिपुञ्जेलसम्म सास ससुराको जिम्मा छाडेकी छन्।

    ‘बाजेबज्यैले यार्सा नै टिपेर जीविका चलाउनुभएको हो अरे! बुबाआमा, सासुससुरा सबैले यही काम गर्नुभयो। बुबाआमासँगै मैले पनि सानैदेखि किरा टिप्न सिकेकी हुँ,’ भृकुटी भन्छिन्,‘हाम्रो त यो वर्षौवर्षसम्मको नियमित जीवनचक्र नै हो।’

    भृकुटी दिनमा २ देखी २० वटासम्म यार्सा टिप्छिन्। उनी भन्छिन्, ‘हिउँ परे दिनमा दुई÷तीन टिप्न नि गाह्रो हुन्छ। पानी पर्दा त दिनमा १५/२० पनि टिप्न सकिन्छ।’ यो सिजनका झण्डै तीन महिना यार्सा टिपेर वर्षभरी गुजार्नु भृकुटीको परिवारको जीवनचक्र नै हो। ‘तीन महिनाको कठोर कामले १२ महिना धान्नेगरी कमाउनुपर्छ। नत्र त वर्षभरी भोकभोकै हुने अवस्था आउनसक्छ,’ उनले भनिन्।

    भृकुटी दम्पतीले पोहर साढे चार लाख कमाएको थियो। यसपालि पानी नपर्दा उनीहरू चिन्तित छन्। ‘कुनैकुनै दिन त दिनभरको मेहनत पनि काम लागिरहेको छैन । पानी नपरे गाह्रो हुन्छ,’ भृकुटीले भनिन्।

    तैपनि भृकुटी दम्पतीले हरेस नै भने खाएका छैनन्। हरेक दिन बिहानै खाजामा रोटी खाएर खाजाको रूपमै रोटी बोकेर उनीहरूसहितको टोली बेसक्याम्पबाट लेक चढ्छ। जहाँ दिनभर यार्सा खोजेर साँझ मात्रै बेसक्याम्प झर्छन्।

    सरला र भृकुटीको जस्तै दैनिकी आरखोटकी ३५ वर्षीया रमती धामी पनि छ। धौलीओडारमा यार्सा टिपिरहेको अवस्थामा भेटिएकी रमतीको हरेक वर्षको यो सिजन यार्सा टिप्नमै बितेको छ।

    ‘बच्चैदेखि नै यार्सा टिपिरहेकी छु। यार्साको कमाइले घरको खर्च, परिवारको औषधि उपचार, बालबच्चाको विद्यालय खर्च सबै यसैबाट धान्ने कोसिस गर्छु,’ रमती भन्छिन्। यस वर्ष ६० हजारदेखि एक लाखसम्म कमाउने उनको अपेक्षा छ।

    रमतीसँगै यार्सा टिप्न १६ र १३ वर्षका दुई छोरा र श्रीमान् पनि आएका छन्। ‘गाउँमा मकै गोडेर, गहुँ, जौँ सबै थन्काएर परिवारै आएका छौँ,’ रमती भन्छिन्, ‘यो तीन महिना चार जनाले टिपेको यार्साको कमाइले वर्ष धान्नुपर्छ नि त।’

    आरखोटकै सविना धामी पनि धौलीओडारमै टहरा बनाएर बसेकी छन्। छोराछोरी सास ससुराको जिम्मा लगाएर लेक चढेकी उनी बेलाबेलामा काम परे गाउँ झर्छिन्। ‘गहुँ टिप्न, मकै खन्न, आलु खन्ने बेलामा घर झर्छु,’ उनी भन्छिन्,‘बालीहरूको पनि थन्कोमन्को गर्नुप¥यो नि!’ उनी पनि सानैदेखि यार्सा टिप्न थालेकी हुन्। ‘बिहेपछि बच्चा सानो हुँदाबाहेक सधैँ यार्सा टिप्न आउने गरेकी छु । छुटेको अन्य कुनै वर्ष छैन,’ उनले भनिन्।

    दार्चुलाको अपि गाउँपालिका यी आमाहरूका कथा प्रतिनिधि कथा मात्रै हुन्। उनीहरूजस्तै देशको पश्चिम–उत्तर सीमानको दार्चुला जिल्लाका हज्जारौं बासिन्दा अहिले अपि हिमालको छहारीमा जम्मा भएका छन्। यही सिजनमा टिपेको यार्साले वर्ष बिताउनुपर्ने सबैको वर्ष वर्षको सिलसिला हो। धन्न अपिले आफ्नो काखमा संगालेको बहुमूल्य बुटी यार्सा छ र त उनीहरूको जीवन र जीवनपद्धति चलिरहेको छ।

    यार्सागुम्बा एक बहुमूल्य जडीबुटी हो। यसमा प्रचुर औषधीजन्य गुण हुन्छ। यसको प्रयोग शक्तिबद्र्धक, छाती तथा फोक्सोको संक्रमण, रक्त अल्पता, मृगौला, कलेजोसम्बन्धी रोगको निदानमा हुन्छ। दार्चुलावासीले अपिको काखबाट टिप्ने गरेको यार्सा गाउँमै पुगेर व्यापारीले किन्छन्। तर संकलकले उचित मूल्य नपाएको गुनासो भने उत्तिकै सुनिन्छ।

    यार्सागुम्बा दार्चुलाजस्तै अन्य हिमाली जिल्लाहरू डोल्पा, जुम्ला, बझाङ, र मनाङमा व्यापक पाइन्छ। जहाँबाट टिपिएको नेपाली यार्साको मुख्य बजार चीन हो। यस्तै सिंगापुर, जापान, बेलायत, मलेसिया, अमेरिका लगायतका मुलुकमा पनि निर्यात हुन्छ।

    यार्सागुम्बा उत्पादनको दृष्टिकोणबाट पनि चीनपछि नेपाल दोस्रो स्थानमा आउँछ। प्राकृतिक रूपमा पाइने यार्सागुम्बाका विश्वभर पाँच सय प्रजाति पाइन्छन्। जसमध्ये नेपालमा करिब ११ प्रजातिको पहिचान भएको छ।

  • दुई विद्यार्थीलाई पढाउन तीन शिक्षक

    दुई विद्यार्थीलाई पढाउन तीन शिक्षक

    हुम्लाको उत्तरी भेगको नाम्खा गाउँपालिका–५ यारीगाउँस्थित अरनिको प्राथमिक विद्यालयमा दुई विद्यार्थी र तीन शिक्षक छन्।

    विद्यालयका प्रधानाध्यापक हरिनारायण चौधरीले प्राथमिक तहको विद्यालयमा बालविकासमा दुईजना विद्यार्थीले अध्ययन गर्दै आएका बताउँदै आफूसहित तीनजना शिक्षकले पठनपाठन गर्ने गरेको जानकारी दिए। उनका अनुसार तीनजनामध्ये दुई प्रावि तहको दरबन्दीका र एक बालविकासको सहजकर्ता छन्।

    कक्षा ५ सम्म पठनपाठन हुने उक्त प्राविमा कक्षा १ देखि ५ मा अध्ययन गर्ने विद्यार्थी अहिलेसम्म भर्ना नभएका प्रअ चौधरीले बताए। बालविकासको पढाइ सकिएलगत्तै अभिभावकले ती विद्यार्थीलाई अन्यत्रै पठाउने गरेकाले अन्य कक्षामा विद्यार्थी भर्ना नभएका उनको भनाइ छ।

    गत वर्षसम्म सातजना विद्यार्थीले विद्यालयमा अध्ययन गरेका भन्दै प्रअ चौधरीले बालविकासमा अध्ययनरत विद्यार्थी पनि नियमित नआउने भएकाले आफूहरु कुरेर विद्यालयमा बस्ने गरेको बताए। विद्यालय खाली हुने गरी विद्यार्थीलाई अन्यत्र नपठाउन अभिभावकसँग पटकपटक आग्रह गरिरहेको उनको भनाइ छ।

    नाम्खा गाउँपालिका शिक्षा शाखाका प्रमुख मनराज बुढाले सानै उमेरमा विद्यालय छाड्ने समस्या पालिकाभरि भएको भन्दै बढी अरनिको प्राविमा देखिएको बताए। उक्त विद्यालयलाई तत्काल समायोजना गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ।

    अभिभावकले विद्यालयमा भन्दा पनि गुम्बामा पढाउन उपयुक्त ठान्ने गरेकाले यस्तो समस्या आएको बुढाले बताए। उनका अनुसार गत वर्ष राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत दुईकोठे भवन निर्माण गरिएको थियो।

    यसअघि विद्यालयसँग भएका तीनवटा भवनको अवस्था पनि स्तरोन्नति गरिएको छ। नाम्खा गाउँपालिकामा विद्यार्थी नभएर विद्यालय बन्द गर्नु परिरहेको छ। यसअघि लिमीका दुई विद्यालय बन्द भइसकेका छन्।

  • लुम्बिनीको द्रुत विकासका लागि सरकार क्रियाशिल छः प्रधानमन्त्री

    लुम्बिनीको द्रुत विकासका लागि सरकार क्रियाशिल छः प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहालले लुम्बिनीको द्रुत विकासका लागि सरकारले लुम्बिनी गुरुयोजनाको बाँकी कार्य यथासक्य छिटो पूरा गर्न पहल गरिरहेको बताएका छन्।

    बिहीवार २५६८ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवसको अवसरमा आज लुम्बिनीमा आयोजित बिशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

    उनले पवित्र लुम्बिनीको द्रुत विकासका लागि सरकारले लुम्बिनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी लुम्बिनी गुरुयोजनाको बाँकी कार्य यथासक्य छिटो पूरा गर्न पहल भइरहेको बताए। अन्तर्राष्ट्रिय दातृ राष्ट्र र संघसंस्थाहरुको समेत सहयोग तथा सहभागितामा सरकारले कपिलवस्तु क्षेत्र देवदह क्षेत्र तथा रामग्रामको पुरातत्विक उत्खनन, संरक्षण, प्रवद्र्धन तथा विकास गरी सथानीयवासीलाई विकासको नयाँ प्रतिफल दिलाउन पनि प्रयास गरिरहेको उनले बताए।

    दाहालले सो अवसरमा नेपाल सरकारले २०६८ सालमा गठन गरेको वृहत्तर लुम्बिनी राष्ट्रिय निर्देशक समितिको अध्यक्षको हैसियतमा प्रतिनिधि मण्डलको नेतृत्व गरेर न्युयोर्क पुगि तत्कालीन संयुक्त राष्ट्रसंघका महासचिव वान्की मुनसँग वृहत्तर लुम्बिनी क्षेत्रको दिगो विकासका लागि गम्भीर छलफल गरेको स्मरण गरे। बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकसित गर्न क्रियाशील रहेको बताए।

    लुम्बिनीलाई विश्वभरिका बुद्धिष्टहरूको ‘बर्थिङ सेन्टर’का रूपमा विकास गर्ने र त्यसमार्फत यस क्षेत्र र सिङ्गो देशको पर्यटन प्रवद्र्धननमा उच्च सफलता हासिल गर्ने सम्भावना रहेको उनले बताए। उनले शाक्यमुनि गौतमबुद्ध शील, समाधि र प्रज्ञाका प्रतिमूर्ति एवं शान्ति, एकता र सद्भावका सामूहिक प्रतीक भएको बताए।

  • कालीकोट दुर्घटनामा गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि सुर्खेत लगियो

    कालीकोट दुर्घटनामा गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि सुर्खेत लगियो

    कालीकोटको हाउडीमा जिप दुर्घटना हुँदा घाइते भएका सात जनामध्ये गम्भीर तीन जनालाई थप उपचारका लागि सुर्खेत लगिएको छ ।

    दुर्घटनामा परेका गम्भीर घाइते भएका पूजा शाही, देवदत्त आचार्य, विजया शाहीलाई हेलिकोप्टरमार्फत् सुर्खेत लगिएको हो ।

    अन्य घाइतेको भने जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको प्रहरी प्रमुख डिएसपी अर्जुन केसीले बताए । एक जनाको अवस्था सामान्य रहेकोले गाउँमै उपचार भएको छ ।

    सुर्खेतबाट कालीकोटको शुभकालिका गाउँपालिका आउँदै गरेको जिप वडा नं ६ को हाउडी खोलामा दुर्घटना हुँदा ७ जना घाइते भएका थिए ।

    घाइते हुनेहरू सबै वडा नं ६ हाउडीकै रहेका छन् । कर्णाली प्रदेश ०२–००१ च ०७९७ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।