Blog

  • जनमतको नेतृत्वमा सरकार बनाउने सहमति

    जनमतको नेतृत्वमा सरकार बनाउने सहमति

    एमाले–माओवादीको समर्थन फिर्तापछि अल्पमतमा परेका मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सरकार विश्वासको मत प्राप्त गर्न नसक्ने देखिएको छ।

    सोमबार संघीय संसद्मा प्रधानमन्त्री पुष्पकमल दहालको पक्षमा जनमत र एकीकृत समाजवादी पार्टीसमेतले विश्वासको मत दिएपछि मधेस प्रदेशको संसदीय गणित जसपा सरकारको प्रतिकूल बन्न पुगेको हो।

    मधेस प्रदेशमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेले नयाँ सरकार बनाउन कसरत थाले पनि संसदीय गणित प्रधानमन्त्रीले संघीय संसद्मा सामना गर्ने विश्वासको मतमा अडिएको थियो। संघीय संसद्मा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेसँगै मधेस प्रदेशको संसदीय गणित पनि प्रष्ट भएको छ।

    आफैं मुख्यमन्त्री लिने गरी वर्तमान प्रदेश सरकारबाट बाहिरिएका एमाले र माओवादी केन्द्र प्रतिपक्षबाट प्रधानमन्त्रीलाई विश्वासको मत दिन आइपुगेका सिके राउत नेतृत्वको जनमत पार्टीलाई दिन सहमत भएका छन्।

    हुन त मधेस प्रदेशसभामा साना दल ‘निर्णायक’ हुँदा साथ लिनैपर्ने अवस्थाले सरकार गठनको विषय पेचिलो बन्दै आएको छ। प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमाले र दोस्रो ठूलो दल नेपाली कांग्रेस डेढ वर्षदेखि तेस्रो दल जसपा नेपाल नेतृत्वको सरकारमा सारथि बन्दै आएका छन्।

    पछिल्लो समय जसपा नेपालको विभाजनसँगै सत्ता समीकरण फेरिएपछि मधेसमा वर्तमान सरकार अल्पमतमा परेको छ। सरकार गठनमा ‘निर्णायक’ पोजिसनमा रहेका साना दल आफैं मुख्यमन्त्रीमा दाबी गर्न थालेपछि ठूला दल अनिर्णीत बन्दै आएका थिए।

    आफ्नो नेतृत्वमा सरकार बनाउन सबैजसो दलहरूको लबिङ गरिरहेका थिए। पहिलो र दोस्रो ठूला दल एमाले र कांग्रेस अलगअलग गठबन्धन निर्माण गरेर सरकार गठन गर्ने प्रयासमा थिए। तर सोमबारको घटनाले मधेस प्रदेशको सत्ता समीकरणलाई पहिल्याइदिएको छ। संघीय सत्ता गठबन्धनअनुसार नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एस, जनमत, नागरिक उन्नमुक्ति पार्टीको कुल ५५ सांसद पुग्छन्।

    १०७ सदस्यीय मधेस प्रदेशसभामा १० दल सहभागी छन्। सरकार गठन गर्न प्रदेशसभाका ५४ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा एमालेका सभामुखसहित २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टीका ९, नेकपा एसका ७ तथा राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका १–१ सांसद छन्।

    प्रमुख तीन दल नै मिलेको अवस्थाबाहेक साना दलको सहभागिताविना कसैले पनि बहुमत जुटाउन सक्ने अवस्था छैन। जसकारण निर्णायक भूमिकामा देखिएका साना दलहरूले मुख्यमन्त्रीमै दाबी गरिरहेका छन्। जसपा विभाजनपछि वर्तमान सत्ता गठबन्धनबाट उपेन्द्र यादव पक्ष बाहिरिएको छ। तर मधेसमा यादव पक्ष वा अशोक राई पक्षमा कति सांसद हुने भन्ने प्रष्ट भइसकेको छैन। तेस्रो दल जसपाबाट सरकारको नेतृत्व परिवर्तन हुँदा चौथो दल जनमतले मुख्यमन्त्री पाउनुपर्ने दाबी गरेका छन्।

    वर्तमान सत्ता गठबन्धनमा रहेका एमाले, माओवादी केन्द्र, जनमत र नेकपा एस मधेसमा सरकार बनाउने लगभग तय भइसकेको छ। यसमा विभाजित जसपालाई समेत सहभागी गराउने सत्ता गठबन्धनको रणनीति छ। तर जसपाका कति सांसद हुन्छन् भन्ने यकिन नहुँदा अन्योल कायम छ।

    सत्ता गठबन्धनमा वर्तमान सरकारबाट हात झिकेका एमाले र माओवादी केन्द्र जनमतलाई नै मुख्यमन्त्री दिएर पनि मधेसमा सरकार बनाउन चाहन्छन्। यसो भए विभाजित जसपातर्फ जसपा नेपालका पनि केही सांसद आउने गठबन्धनको दाबी छ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सकेसम्म विपक्षी गठबन्धन बनाएर सरकार चलाउने दाउमा छन्। तर, सोमबार संघीय संसद्मा देखिएको समीकरणअनुसार कांग्रेस, जसपा नेपाल र लोसपासहितको ५२ सिट मात्र पुग्छ। यो संख्या सरकार बनाउन चाहिनेभन्दा दुई सिट कम हो। मधेस प्रदेशमा एकएक सिट रहेको राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीले सरकार फेरबदलबारे बोलेका छैनन्।

    जनमत पार्टी मधेस प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवले नागरिकसँग भने, ‘केन्द्रीय सत्ता गठबन्धनमा लोसपालाई साथमा लिएर मधेस प्रदेशमा सरकार बनाउँछौं। मधेस सरकारको नेतृत्व जनमतले पाउने विषय टुंगिसकेको छ। नयाँ सरकारको आकारलगायत विषयमा छलफल भइरहेको छ। जनमतको नेतृत्वमा सरकार बनाउन सत्ता साझेदार दलहरू सहमत भइसकेका छन्। एकदुई दिनमै सरकारको सम्पूर्ण विषय टुंगिन्छ।’

    जनमतको नेतृत्वमा सरकार भनेपछि मुख्यमन्त्री त तपाईं नै बन्नुहुन्छ नि? प्रश्नको जवाफमा यादवले भने, ‘यो विषयमा निर्णय गर्ने अधिकार अध्यक्षज्यूको छ। उहाँले छानेको माननीयज्यू नै मुख्यमन्त्री बन्नुहुन्छ,’ यादवले भने।

    जनमतको नेतृत्वमा सरकारमा जाने सहमति भएपछि मधेसमा नयाँ सरकार गठनको बाटो खुलिसकेको छ, छिट्टै नयाँ सरकार आउँछ।’

    कांग्रेससहितको वैकल्पिक गठबन्धनमा समेत जान सकिनेबारे छलफल चलाइरहेका वर्तमान मुख्यमन्त्री सरोजकुमार यादवले जनमत र नेकपा एस प्रधानमन्त्रीलाई विश्वासको मत दिएर संघीय सत्ता गठबन्धनमा खुलेपछि निराश बनेका छन्।

    एमाले–माओवादीसहितको गठबन्धनमा जनमत र नेकपा एस दुवै सामेल भएपछि वर्तमान मुख्यमन्त्रीलाई विश्वासको मत सामना गर्न चुनौती थपिएको छ। र, वैकल्पिक गठबन्धनमा बनाएर सरकार जोगाउनसमेत मुस्किल परेको छ।

    जसपा नेपालका प्रमुख सचेतक रामअषिश यादवले भने, ‘संघीय सत्ता गठबन्धनमा नेकपा एसको निरन्तरता र जनमत थपिएसँगै वर्तमान सरकारलाई चुनौती थपिएको छ। हामी विश्वासको मत सामना गर्छौं, परिणाम जे आउँछ स्विकार्छौं।’

    यता मुख्यमन्त्री यादवले भने बुधबारका लागि बोलाइएको प्रदेशसभाको बैठक रोक्दै चालु अधिवेशन नै अन्त्य गर्न गरेको सिफारिसअनुसार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशसभाको चालु दोस्रो अधिवेशन अन्त्य गरेकी छन्।

    नेकपा एस दाहाल नेतृत्वको संघीय सरकारमा सहभागी छ भने मधेसमा जसपा नेतृत्वको सरोज यादव नेतृत्वको सरकारमा सहभागी छ। मुख्यमन्त्री सरोज यादवले नेकपा एस प्रदेशमा आफूसँगै रहने दाबी गरेका छन्। ‘लोसपासँग पनि कुराकानी भइरहेको छ। विश्वासको मत मेरै पक्षमा रहन्छ,’ उनले भने।

    जसपा नेपाल टुक्रिएपछि मधेसमा जसपा नेपालका १९ जना सांसदलाई ‘एकढिक्का’ राखेको दाबी गरे। प्रदेशका एउटै सांसद यताउति जाँदैनन्। मुख्यमन्त्री यादवले आफ्नै नेतृत्वको सरकारले बजेट ल्याउने र आफू बजेटकै तयारीमा व्यस्त रहेको बताए। मुख्यमन्त्री यादव १६ महिनाको कार्यकालमा चारपटक विश्वासको मत लिइसकेको र पाँचौँ पटक विश्वासको मत लिने तयारीमा छन्।

  • राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शितल निवासमा

    राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शितल निवासमा

    राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल बिहानै शितल निवास पुगेका छन्।

    आज बस्ने संसद बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको सरकारले पछिल्लो समय उत्पन्न राजनीतिक परिस्थिति लगातय समयसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री शितल निवास पुगेका हुन्।

  • अधिनायकवादी आकांक्षा

    अधिनायकवादी आकांक्षा

    कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाशप्रसाद सिरोहियामाथि नागरिकता किर्ते मुद्दा अनुसन्धानमा भएको गिरफ्तारीले गम्भीर प्रश्न खडा गरेको छ। जिल्ला अदालत धनुषाको आदेशले उनलाई एक दिनअघि गिरफ्तार गरी बुधबार उपस्थित गराइएको छ। अनुसन्धानकै सिलसिलामा तीन दिन थुनामा राख्ने गरी आदेशसमेत भइसकेको छ। यस मुद्दामा न्यायालयले सत्यतथ्यमा पुगी निर्णय दिने नै छ। सहकारी ठगीसम्बन्धी मुद्दामा निरन्तर कलम चलाइरहेका सञ्चारमाध्यमलाई भने यस घटनाबाट तर्साउन खोजिएको भान भएको छ। संविधानले मुलुकमा प्रेस स्वतन्त्रता सुनिश्चित गरेको छ। सत्यतथ्य लेख्न र विवेक प्रयोग गर्न अहिलेसम्म डराउनुनपर्ने अवस्था रहेकोमा अहिले आएर सञ्चारमाध्यमलाई दबाबमा राख्न खोजिएको महसुस यस घटनाले गराएको छ।

    ‘चितुवा कराउनु र सिँगारी हराउनु’बीच पक्कै तादात्म्य छ। नागरिकता मुद्दामा अनुसन्धान गरी मुद्दा अगाडि बढाउन नसकिने थिएन। एउटा उजुरीकै आधारमा गिरफ्तार गरी थुनामा राखेर मात्र अनुसन्धान गर्ने प्रवृत्तिले स्वाभाविक रूपमा आशंका जन्माएको छ। यस घटनालाई लिएर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जारी गरेको विज्ञप्तिका केही पंक्तिले सोच्न बाध्य बनाएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘विगतमा लोकतन्त्र स्थापनाका लागि लडेकाहरूप्रति हाम्रो पार्टीको उच्च सम्मान छ। तर एक समयको योगदानको बहानामा केही व्यक्ति, दल र संस्था भ्रष्टाचार र गैरकानुनी मिलिभगतमा निरन्तर संलग्न भएको पाइए पनि कानुनी उन्मुक्ति हुने अनैतिक अपेक्षा हामीलाई अस्वीकार्य छ।’

    स्वतन्त्र सञ्चारमाध्यमप्रति केही समययता सुनियोजित रूपमा आक्रमण हुँदै आएको छ। कुनै बेला लोकतन्त्र स्थापनाका निम्ति योगदान गरेका सञ्चारमाध्यम अहिले कतिपय दलका नेताका निम्ति पनि अप्रिय भएका छन्। तिनलाई पनि कुनै न कुनै रूपमा मिडिया तह लगाउनुपरेको छ। त्यस प्रक्रियाको थालनीका रूपमा अहिलेको कारबाहीलाई लिन सकिन्छ। अहिले एक व्यक्तितर्फ लक्षित भए पनि यो एउटा प्रवृत्तिकै रूपमा आगामी दिनमा पुनरावृत्तिको खतरा छ। रास्वपाकै विज्ञप्तिले अगाडि भनेको छ, ‘नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन्।’

    स्वाभाविक रूपमा यस पंक्तिले पत्रकार जगत्मा केहीलाई खुसी तुल्याउनेछ। तर हिजो ‘१२ भाइ’ सम्पादक भनेर आलोचित गर्दा र त्यसले आम रूपमा नकारात्मक भाव सिर्जना गर्दा यसरी सोचिएको थिएन। त्योबेला श्रमजीवी हुन् भन्ने हेक्का भएन। त्यसैले सञ्चारमाध्यमका सञ्चालक र यसमा कार्यरत व्यक्तिबीच भिन्नता देखाएर ‘फुटाऊ र राज गर’ शैलीबारे पनि जानकार हुनैपर्छ।

    यो घटनापछि स्वाभाविक रूपमा देशभित्रकै प्रमुख दलको ध्यानाकर्षण भएको छ। अन्तर्राष्ट्रिय जगत्ले पनि यसलाई गम्भीरतापूर्वक हेरिरहेको छ। यो घटनाक्रमलाई उल्लेख नगरी अमेरिकी राजदूतावासले जारी गरेको विज्ञप्तिमा प्रेस स्वतन्त्रता र पारदर्शिताको जिकिर गरिएको छ। ‘अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू हुन्,’ विज्ञप्तिमा भनिएको छ, ‘कठिन संघर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौं।’

    मुलुकमा अहिले प्राप्त प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शिताको सिद्धान्तमा आधारित व्यवस्था सजिलै प्राप्त भएको होइन। हिजोका दिनमा बेलाबेलामा उठ्न खोजेका अधिनायकवादी आकांक्षा परास्त गर्दै यो रूपमा शासन व्यवस्था आएको हो। लोकतान्त्रिक शासन भनेको वैयक्तिक स्वतन्त्रता भएको व्यवस्था हो। त्यहाँ शासनसत्तामा रहेका उन्मादीहरूले चाहेजस्तो मात्र हुँदैन। हिजोका दिनमा गरिएका ती संघर्ष आज सहज दिनमा केही व्यक्तिले कम आँक्दैमा थोरै हुन सक्दैनन्। यसकारण पनि बेलाबेलामा अरूका अभिव्यक्ति र आलोचना अपाच्य हुने अवस्था आउँछ। हिजो कैयौं अवसरमा यस्तै भएको छ। निःसन्देह प्रेस स्वतन्त्रताको अधिकार भनेको लेख्ने र छाप्ने अधिकार मात्र होइन, आम नागरिकले आफूलाई सार्वभौम रूपमा उभ्याउन पाउने अवसर पनि हो।

    यदाकदा निर्वाचित जनप्रतिनिधिमा मतदाताको समर्थनका कारण दम्भ बढ्न पनि सक्छ। त्यो बेलामा आफूले जेसुकै गर्ने अधिकार पाएको ठान्ने अवस्था पनि आउन सक्छ। कुनै न कुनै रूपमा देखापर्न सक्ने अधिकारको उन्माद खतरनाक हुन्छ। राज्यका निकायले कसैलाई देखाइदिनका निम्ति संयन्त्रको प्रयोग गर्दैनन्। त्यसले कमभन्दा कम अधिकार प्रयोग गरी मुलुकलाई शान्ति र अमनचयनमा राख्न कोसिस गर्छ।

    लोकतन्त्र भनेको कानुनका किताबमा लेखिने चिसा अक्षरले मात्र परिभाषित गर्दैन, यसमा व्यवहारको परम्पराले परिपूर्ण बनाएको छ। कैयौं लोकतान्त्रिक मुलुक त्यही अभ्यास र व्यवहारबाट आजको स्थितिमा आइपुगेका हुन्। नेपालले अहिले त्यसका निम्ति लोकतान्त्रिक परम्परालाई बलियो बनाउने हो। सञ्चारमाध्यमलाई धम्क्याएर र दबाबमा राखेर कुनै रामराज्यको कल्पना गरिएको हो भने त्यो सम्भव छैन। हेक्का रहोस्, यो मुलुकले थप कुनै अधिनायकवादी अभिष्ट धान्न सक्दैन। बेलैमा ध्यान पुर्‍याउन हामी सरकारलाई आग्रह गर्छौं।

  • इलाममा पौडी खेल्दा डुबेर दुई बालकको मृत्यु

    इलाममा पौडी खेल्दा डुबेर दुई बालकको मृत्यु

    इलामको माई नगरपालिकामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ।

    माई नगरपालिका-८ का ११ वर्षे मिङ्सुहाङ लिम्बू र अन्दाजी आठ वर्षे किस्मन आङ्देम्बेको मृत्यु भएको प्रहरीले जनाएको छ।

    मिङ्सुहाङ माई–८, बाँदरगाउँका विक्रम लिम्बूका छोरा हुन्। प्रहरीका अनुसार उनलाई पानीमा डुबेकै अवस्थामा फेला पारिएको थियो।

    तत्काल उपचारका लागि स्थानीय मेडिकल लैजाँदा पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि झापाको बिएन्डसी अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश जबेगूले बताए।

    किस्मन स्थानीय राजेन्द्र आङदेम्बेका छोरा हुन्। त्यही स्थानमा पौडी खेल्ने क्रममा बेपत्ता किस्मनको शव खोजतलास गर्ने क्रममा इलामकै घिरलिङ भन्ने ठाउँमा फेला परेको प्रहरीले जनाएको छ।

    उनीहरूसँगै पौडी खेल्न गएका अरू केही बालबालिकाको भने उद्धार गरी परिवारको जिम्मा लगाइएको छ।

  • कांग्रेस उपसभापतिको प्रश्न: सहकारी ठग नेता हुन्छ ?

    कांग्रेस उपसभापतिको प्रश्न: सहकारी ठग नेता हुन्छ ?

    नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले सहकारीको रकम ठगी गर्ने नेता हुन्छ ? भन्दै प्रश्न गरेका छन्।

    प्रजातान्त्रिक विचार समाज मकवानपुरले बिहीबार हेटौंडामा आयोजना गरेको पुस्तक विमोचन तथा प्रजातान्त्रिक सेनानी सम्मान कार्यक्रमका प्रमुख अतिथि रहेका उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै जनताले सहकारीमा राखेको पैसा ठगेर खानेलाई नेता मान्न नसकिने बताए।

    प्रजातन्त्र, लोकतन्त्र र मुलुकको परिवर्तनका लागि धेरै नेताहरुले रगत, पसिना बगाइरहँदा नेपाली नागरिकता त्यागेर विदेश बसेकाहरूले अहिले राजनीतिक सिकाउन थालेको उनको आरोप थियो।

    ‘व्यवस्था होइन प्रवृत्ति खराब भो। केही नेताहरू खराब भए’, पूर्वमन्त्री समेत रहेका गुरुङले भने, ‘यहाँ मज्जाले अर्कालाई गाली गरेपछि नेता हुने गलत प्रथाको विकास भएको छ।’

    उनले नेपाली कांग्रेसबाट वडा अध्यक्षदेखि मन्त्री भएकाहरू सबैको सम्पत्ति छानबिन गर्न माग समेत गरे। ‘सम्पत्ति छानबिनको विषय महासमिति बैठकबाट पारित गरेको भए कोही सहकारी ठगदेखि डराउनै पर्थेन। तैले खाने मैले किन खान नपाउने भन्ने खालको तर्क आउन थालेको छ, कुनैपनि प्रकरणमा कांग्रेसका नेताहरू दोषी देखिन्छन् भने कारबाही भोग्न तयार छौं’, उनले भने।

    कांग्रेसले अब मिसन २०८४ को ठाउँमा सुशासन र भ्रष्टाचार विरुद्धको अभियानलाई मिसन बनाउन जरुरी रहेको औंल्याए। जनताको मन जित्ने एजेण्डा बनाउँदै कार्यान्वयन गर्नु अहिलेको आवश्यक रहेको नेता गुरुङको भनाई थियो।

    ‘सुशासन र भ्रष्टाचार विरुद्धको मिसन बनाएर आफ्नै पार्टीको नेता भएपनि तुरुन्तै छानबिन र कारबाहीको माग गर्नु जरुरी छ’, उनले थपे, ‘अब इतिहास पढाएर कामै छैन। कांग्रेसका कोही नेता भ्रष्टाचारमा मुछिएको छ भने कार्यक्रममै नबोलाउनुहोस्। भ्रष्टाचारीको कुनै पार्टी हुँदैन। सके पार्टी र मुलुक सुधार्ने हो नसके राजनीति छोडौंला’, उनले भने।

    कार्यक्रममा मकवानपुरका ५ जनालाई प्रजातान्त्रिक सेनानी सम्मान गरिएको थियो। सम्मानित हुनेमा अशोक श्रेष्ठ, यादवराज पराजुली, परमेश्वर भ्लोन, हरिनन्द खरेल र स्वर्गीय ईश्वरचन्द्र अग्रवाल रहेका छन्।

    प्रजातान्त्रिक विचार समाज मकवानपुर अध्यक्ष डा. देवचन्द्र मानन्धरको अध्यक्ष समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्ले, निवर्तमान अध्यक्ष डा. केदारनरसिंह केसी, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, कांग्रेस नेता आनन्दराम पराजुली लगायतले देशको वर्तमान अवस्था, कांग्रेसको भूमिका लगायतका विषयमा मन्तव्य व्यक्त गरेका थिए।

    कार्यक्रममा समाजले प्रकाशन गरेको प्रजातान्त्रिक दर्पण पुस्तक समेत विमोचन गरिएको थियो।

  • बज्जिका भाषाको पहिलो महाकाव्य ‘बुद्ध’ सार्वजनिक

    बज्जिका भाषाको पहिलो महाकाव्य ‘बुद्ध’ सार्वजनिक

    बज्जिका भाषाका प्रथम कवि तथा बज्जिका शिरोमणि सञ्जय साह मित्रद्वारा लिखित ‘बुद्ध’ महाकाव्य सार्वजनिक गरिएको हो।

    बुद्ध जयन्तीको अवसर पारेर बुधबार रौतहटमा आयोजित एक समारोहमा महाकाव्य ‘बुद्ध’ सार्वजनिक गरिएको हाे। नेपालमा बज्जिका भाषा लिखित यो नै पहिलो महाकाव्य हाे।

    नेपालको छैटौँ र मधेश प्रदेशको तेस्रो ठुलो भाषाको रुपमा रहेको बज्जिका भाषामा नेपालबाट पहिलो महाकाव्य प्रकाशन भएकोमा समारोहमा उपस्थित वक्ताहरूले खुसीयाली प्रकट गरेका थिए।

    भगवान् गौतम बुद्धको जीवनीमा आधारित रहेर ५५ भागमा विभाजन गरी २४० पृष्ठमा रचित महाकाव्यले बज्जिका भाषाको विकासमा अत्यन्त महत्त्वपूर्ण भूमिकामा रहने तथा बज्जिका भाषीबिच भगवान् बुद्धलाई चिनाउन महत्त्वपूर्ण योगदान पुग्ने वक्ताहरूले बताएका छन्।

    महाकाव्य नेपाली झ्याउरे लोक छन्दमा लेखिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै कृतिकार मित्रले आफ्नो नयाँ कृति पाठकहरूलाई मन पर्ने विश्वास व्यक्त गरे।

    मित्रले नेपाली र बज्जिका भाषामा साहित्य तथा व्याकरण, इतिहास, अनुवाद तथा अनुसन्धान र पाठ्यपुस्तकसम्बन्धी २० कृति प्रकाशन गरिसकेका छन्। मित्र तीन दशकदेखि लेखन कार्यमा सक्रिय छन्।

  • चन्द्र भण्डारी भन्छन्: जोकरको बाहुल्यता भएको देश सुधार्न जोकर नै बन्नुपर्छ

    चन्द्र भण्डारी भन्छन्: जोकरको बाहुल्यता भएको देश सुधार्न जोकर नै बन्नुपर्छ

    नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले जोकरको बाहुल्यता भएको देश सुधार्न सुधारकर्ता पनि जोकर नै बन्नुपर्ने भनी टिप्पणी गरेका छन्।

    उनले यो अभिव्यक्ति को लक्षित हो भनेर भने खुलाएका छैनन्। सामाजिक सञ्जाल एक्स (ट्विटर) मा नेता भण्डारीले उक्त टिप्पणी गरेका हुन्।

    उनले लेखेका छन्,‘जोकरको बाहुल्यता भएको देश सुधार्नु छ, भने सुधारकर्ता पनि जोकर नै बन्नु पर्दछ। यदि जोकर बन्न नसक्ने हो भने पिडा सहन गर्न सक्नु पर्दछ !’

    पछिल्लो समय नेपाली नेताहरूमा लोकप्रियतावाद हाबी भइरहेको टिप्पणी हुँदै आएको छ। सस्तो लोकप्रियताका लागि नेताहरूले अनेक प्रकारका स्टन्टबाजी पनि गर्दै आएका छन्।

    सोही कुरालाई लक्षित गर्दै नेता भण्डारीको अभिव्यक्ति आएको बुझ्न सकिन्छ।

  • अझै रोकिएन बागमती नदीको अवैध दोहन, सम्बन्धित निकाय: ‘तैं चुप, मैं चुप’

    अझै रोकिएन बागमती नदीको अवैध दोहन, सम्बन्धित निकाय: ‘तैं चुप, मैं चुप’

    रौतहटका प्रमुख नदीहरूमा नदी उत्खनन माफियाहरू सक्रिय भइरहँदा जिल्ला अनुगमन समिति तथा स्थानीय सरकार भने पूर्णतया निष्क्रिय देखिएको छ।

    प्रहरीकै मिलेमतोमा नदीको निर्बाध दोहन भइरहेको समाचार नागरिक न्युजमा प्रकाशन भएपछि दोहनलाई रोक्न देखावटी रुपमा प्रहरी प्रशासन सक्रिय रहेको देखिए पनि प्रहरीको मिलेमतोमा अझै पनि खोलाको दोहनको कार्य जारी छ।

    जिल्लाको बागमती, लाल बकैया, चाँदी, हर्दिया, धनसर लगायत नदीबाट नदीजन्य पदार्थ उत्खनन गर्नका लागि लगाइएको ठेक्का प्रक्रिया नै मिचिएर स्थानीय सरकारका प्रमुखसहितका पदाधिकारीहरूको मिलेमतोमा नदी उत्खनन भइरहेको हो।

    नदी उत्खनन गर्न त्रुटिपूर्ण प्रक्रियालाई अगाडि बढाएर मिलेमतोमा ठेक्का लगाएर सम्बन्धित निकायहरू ‘तैं चुप, मैं चुप’ को अवस्थामा छन्।

    गत जेठ ३ गते अनुगमन समितिको बैठक बसेर अवैध दोहनलाई नियन्त्रण गर्ने निर्णय भएको थियो। सो निर्णयको केही दिनमै गढीमाई नगरपालिकास्थित बागमती नदीको पुल छेउमै खोला थुनेर बाँध बनाई दर्जन जति एक्स्काभेटर प्रयोग गरिएको थियो।

    नदीको बहावलाई थुनेर खोला उत्खनन गर्दा पनि न त प्रहरी प्रशासनले केही कदम चालेको थियो न त स्थानीय सरकारकै कुनै अनुगमन थियाे। तीन दिनसम्म हजारौँ टिपर गिटी, बालुवा र ग्राभेल निकालेर लैजाँदा पनि प्रहरी प्रशासनको आँखामा पट्टी बाँधेर बसिरह्यो।

    जिल्ला अनुगमन समितिका साथै सम्बन्धित पालिकाहरू पूर्णतया ‘चुप’ लागेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी देखावटी सक्रिय भएर केही एक्स्काभेटर र टिपर भने नियन्त्रणमा लिएको थियो।

    गुजरा नगरपालिका वडा नम्बर-४ लाल बकैया खोलाबाट अवैध रुपमा बालुवा गिट्टी उत्खनन गर्ने तीन ट्र्याक्टरलाई नियन्त्रणमा लिएर गुजरा नगरपालिकामा कारबाहीको लागि पठाएको प्रहरीले जानकारी दियाे।

    यसैगरी सशस्त्र प्रहरीले गढीमाई नगरपालिकाको समनपुरस्थित बागमती नदीको पुल छेउमै उत्खनन गरिरहेको अवस्थामा पाँच वटा एक्स्काभेटरलाई नियन्त्रणमा लिई कारबाहीको लागि गढीमाई नगरपालिकामा एक्स्काभेटरको साँचो बुझाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले जनायाे।

    तर, सशस्त्र प्रहरीले एक्स्काभेटरको साँचो बुझाएको केही समयमै विना कारबाही नगरपालिकाले एक्स्काभेटरको साँचो पुन: सम्बन्धित व्यक्तिलाई नै बुझाएकाे छ।

    स्थानीय सरकार प्रमुखसहितका पदाधिकारीहरू र नगरपालिका कार्यालयका कर्मचारीहरू पनि नदी उत्खनन कार्यमा संलग्न रहेको हुँदा मापदण्ड विपरीत, जथाभाबी रुपमा उत्खनन भइरहेको हाे।

    यसैगरी जिल्लास्थित सम्बद्ध निकायहरूसमेत चुप लागेको कारण वर्षा याममा तल दक्षिणी भेगका बस्तीहरु जोखिममा पर्ने सम्भावना पनि उतिकै बढेको छ।

    यस विषयमा जिल्ला समन्वय समितिका सभापति एवं जिल्ला अनुगमन समितिका संयोजक रामअयोध्या यादवले कैयौँ पटक अनुगमन गर्न भनिरहँदा पनि यसमा सदस्य रहेकाहरू जान नसकेको कारण नदी उत्खनन कार्य तीव्र भइरहेको स्वीकार गरेका छन्।

    संयोजक यादवले आफ्नो निर्देशन कसैले नटेरेको भन्दै निरीहता प्रकट गरे।

  • सहकारी र गिरीबन्धु काण्डलाई छायाँमा पार्न मिडिया आतंक: दुर्लभ थापा

    सहकारी र गिरीबन्धु काण्डलाई छायाँमा पार्न मिडिया आतंक: दुर्लभ थापा

    संघीय सांसद दुर्लभ थापाले सहकारी ठगी प्रकरण गिरीबन्धु टी इस्टेट भ्रष्टाचारमा लिप्तलाई छायाँमा पार्न सरकारले मिडियामा आतंक मच्चाएको बताएका छन्।

    रफत सञ्चार क्लबमा बिहीबार आयोजित सञ्चार–संवाद कार्यक्रममा उनले सरकारले कान्तिपुर मिडियामा गरेको हस्तक्षेप आपत्तिजनक भएको बताए।

    सांसद थापाले नेपाली कांग्रेसले घोषणा गरेको सडक आन्दोलन आवश्यक रहेको बताए। उनले संसद्मा सत्तापक्षको अहिलेको रवैयाले गर्दा संसदीय इतिहासमा कालो धब्बा लागेको पनि टिप्पणी गरे।

    केही दिन अगाडिको प्रतिनिधिसभाको बैठकको घटनाक्रम स्मरण गर्दै उनले भने, ‘संसद्को बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका सांसदहरूप्रति जुन अभद्र व्यवहार देखाए, त्यो अत्यन्त दुःखदायी र घोर भर्त्सनायोग्य छ।

    ओली अहिले गिरीबन्धु भ्रष्टाचार काण्डबाट आक्रान्त, आत्तिएका, अत्तालिएका र मात्तिएर अराजक स्थिति सिर्जना गर्नेतर्फ प्रयासरत छन्।’

  • गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान

    गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान

    नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेकी छिन्।

    वसन्त ऋतुको जारी सगरमाथा आरोहणमा गोरखाकी फुञ्जोले आज बिहान ६ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेर सगरमाथाको सबैभन्दा छिटो महिला आरोहीको कीर्तिमान बनाएकी हुन्।

    सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार बुधबार दिउँसो ३:५२ मा आधार शिविरबाट आरोहण सुरु गरी आज बिहान ६ः२३ बजे आरोही फुञ्जोले सगरमाथाको चुचुरोमा पाइला टेकेकी थिइन्। उनले १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेकी हुन्।

    यसअघि सन् २०१८ मा फुञ्जोले ३९ घण्टा ६ मिनेटमा सगरमाथाको शिखरमा पुगेर रेकर्ड बनाएकी थिइन्। पछि सन् २०२१ मा हङकङकी स्याङ यिन हङले २५ घण्टा ५० मिनेटमा सगरमाथा आरोहण गरेर बनाएको कीर्तिमान फुञ्जोले तोडिन्।

    यसअघि दोलखाका पेम्बादोर्जे शेर्पाले आठ घण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने पुरुषको रूपमा गिनिजबुकमा रेकर्ड कायम गरेका थिए।

    विसं २०४३ मा गोरखाको छेकाम्बर बुर्जी गाउँ (चुम भ्याली) मा सामान्य परिवारमा जन्मेकी फुञ्जोको सानै उमेरदेखि हिमाल आरोहणमा रुचि थियो।

    अमेरिकाको ‘डेनाली’ हिमाल आरोहण गरेर आरोहण यात्रा प्रारम्भ गरेकी फुञ्जोले चोयु, अमाडब्लम, लापुछे, मनास्लुजस्ता हिमाल चढिसकेकी छिन्। उनले फ्रान्सको ‘मोमलङ’ हिमाल पनि आरोहण गरिसकेकी छिन्।

    सगरमाथा आरोही सङ्घका महासचिव नेपाल पर्वतारोहण सङ्घका सचिव शिवबहादुर सापकोटाका अनुसार आरोही फुञ्जोले २४ घण्टा २४ मिनेटमा सगरमाथाको आधारशिविरबाट चुचुरोसम्म र सगरमाथाको चुचुरोबाट आधार शिविरसम्म आरोहण सकेर नयाँ कीर्तिमान बनाएकी हुन्।

    उनले नेपाली चेलीको साहसिक कार्यले संसारभर नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा सन्देश दिनुका साथै विश्वशान्ति, जलवायु परिवर्तन, पर्यटन प्रवर्द्धनमा लाग्ने आरोहीको प्रोत्साहनमा पनि भूमिका खेलेको बताए।

    फुञ्जोले हिमाल आरोहणका क्रममा दुर्घटनामा परेकालाई हेलिकप्टरमा झुण्डिएर उद्धार गर्ने काम गर्दै आएकी छिन्। उनले सोलुखुम्बुको खुम्बु क्षेत्र र गोरखाको मनासलु क्षेत्रमा हेलिकप्टरमा झुण्डिएर हिमालको चुचुरा, खोच, ग्ल्यासिएरसम्म पुगेर उद्धार कार्य गर्दै आएकी हुन्।

    पहिलो नेपाली महिला हेलिकप्टर लामोलाइन उद्धारकर्ता फुञ्जो यसअघि नै तेन्जिङ–हिलारी पुरस्कारबाट सम्मानित भइसकेकी छिन्।