Blog

  • सीप बिना दक्षिण कोरिया आउनु दुःख पाउनुमात्र हो : विजय थेवे (भिडियोसहित)

    सीप बिना दक्षिण कोरिया आउनु दुःख पाउनुमात्र हो : विजय थेवे (भिडियोसहित)

    झापा विर्तामोडका विजय थेवे १७ महिनादेखि दक्षिण कोरियामा काम गरिरहेका छन् । कामदारका रुपमा कोरिया पुगेका उनले सुरुवाती केही महिना कष्टपूर्ण जीवन बिताए । अहिले भने उनी एउटा फर्ममा काम गर्दैछन् । विदेशमा उनले भोगेको अनुभव यस्तो छः

    नमस्कार

    मेरो नाम विजय थेवे लिम्बू हो । मेरो घर झापा विर्तामोडमा छ । म अहिले दक्षिण कोरियामा छु । म यहाँ आएको १७ महिना भयो ।

    सुरुमा म यहाँ खाङमान्दु भन्ने प्राप्तमा आएको थिए । त्यहाँ मैले स्याउ बगैचामा ७ महिना काम गरे । जाडो मौसममा आएको कारणले त्यहाँ मैले माइनस १७ देखि २० डिग्रीसेल्सियससम्म झेल्न पर्यो । त्यो समयमा स्याउ बगानमा बाहिर काम गर्नु पर्ने भएकाले एकदम कठ्याङ्ग्रिएर, हातखुट्टाहरु कामेर अत्यन्तै कठिन समस्याहरु भोग्नु पर्यो ।

    मैले त्यहाँ लगातार कामगर्दा अफ सिजनमा साहुले मलाई अरुको बारीमा खेतालाको रूपमा बाहिर पठाउनु हुन्थ्यो । कहिले आलुको बोटमा नोङग्याक (औषधि) छर्नेदेखि लिएर कहिले मल छर्ने, कहिले जंगलमा गएर रुख काट्ने जस्ता कामहरु मैले धेरै गरे । तर मैले त्यो दुःखलाई दुःख सम्झिन । मैले त्यहाँ लगातार काम गर्दा पाउने सेवासुविधाहरु पनि पाएको थिइन । मेरो सम्झौताअनुसार मैले त्यहाँ ८ घण्टा काम गर्नुपर्ने थियो तर मलाई १० घण्टा काममा लगाइएको थियो । हामीले पाउने सेवासुविधाहरु जस्तो हामीले खानाको पैसा पाउथ्यौं । बस्दा रुम काटेको थिएन ।

    सम्झौताअनुसार हाम्रो सवै थियो तर हामीलाई साहुले केही पनि दिएको थिएन । यद्यपि हामीलाई साहुले आराम गर्ने समय समेत दिएको थिएन । त्यसरी लगातार काम गर्नु पर्दा मैले एउटा निर्णय गरे र म परिवर्तन गर्छु भनेर साहुसँग कुरा गरे । बारम्बारको कुराकानीपछि उसले मलाई साइन (अनुमति पत्र) दियो । साइन दिँदा पनि मलाई त्यति सजिलोसँग दिएन । त्यसपछि उसले मलाई लगातार दबाब दिइरह्यो । त्यसपछि त्यहाँबाट परिवर्तन भएर म अहिले अर्को ठाउँमा आएको छु ।

    अहिले म फर्ममा काम गरिरहेको छु । अहिले हामी यहाँ धेरै नेपाली साथीभाइ छौं । एकदमै रमाइलोसँग आफ्नै तरिकाले खानाहरु बनाएर खाइरहेका छौं । यो फर्ममा १६ जना कामदारहरु छौं । रमाइलोसँग वैदेशिक जीवन चलाइरहेका छौं ।

    म यहाँ कोरियामा आउन चाहाने नयाँ साथीहरुलाई के भन्न चाहान्छु भने तपाईंहरु यहाँ कोरिया आउँदै हुनुहुन्छ भने शारीरिक र मानसिकरुपमा रुपमा एकदमै बलियो बनाएर आउनु होला । किन भने यहाँ हामीले सोचेको जस्तो जिन्दगी त्यति सजिलो छैन । यहाँको भोगाइ बेग्लैछ ।

    भाषामात्रै पास गर्ने हैन तपाईहरुले आफ्नो स्किल (सीप) पनि लिएर आउनु होला । जस्तो वेल्डिङ, प्लम्बर, वेइरिङको कामहरु र ड्राइभिङ लाइसेन्स । यस्तो दक्षता र क्षमतासहित आउनु भयो भने यहाँ सुनमा सुगन्ध हुनेछ ।

    धन्यवाद (खाम्सामिदा)

  • अध्ययन भन्छ: तिलौराकोटमा पर्यटकहरू ३९ मिनेट मात्र बिताउँछन्

    अध्ययन भन्छ: तिलौराकोटमा पर्यटकहरू ३९ मिनेट मात्र बिताउँछन्

    खुला संग्रहालयका रुपमा रहेको प्राचीन कपिलवस्तु पर्यटकीय लाभबाट बंचित हुँदै आएको छ। जिल्लामा बुद्धसंग सम्बन्धित मात्र डेढ सयका हाराहारीमा स्थलहरू छन्। तर ती स्थलहरूको प्रचारप्रसार र पूर्वाधार अभावमा जिल्ला पर्यटकीय लाभबाट बंचित बनेको हो। लुम्बिनी आउने पर्यटक मध्ये न्यून मात्र कपिलवस्तु त्यसमा पनि तिलौराकोट मात्र आउने गर्छन्। त्यसमा पनि प्राचीन कपिलवस्तु स्थित बुद्धको क्रिडास्थल तिलौराकोट दरबारमा निकै कम समय बिताएर पर्यटकहरू फर्कने गरेका छन्।

    बुद्धको पिता राजा शुद्धोदनको राजप्रसाद तिलौराकोटमा गरिएको स्थलगत अध्ययन र अनुसन्धानले सो तथ्य देखाएको हो। जापनिज ट्रष्ट ईन फण्डको सहयोगमा बेलायतको दुर्हम विश्व विद्यालय, पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषको संयुक्त टोलीले एक दशक सम्म उत्खननसँगै गरेका अध्ययनले तिलौराकोट आउने पर्यटकका बिषयमा सो कुरा देखाएको हो। अध्ययनले तिलौराकोटमा आउने चार प्रकारका आगन्तुकहरूले औसत ३९ मिनेट मात्र समय बिताउने गरेको देखाएको छ। यसबाट पनि प्राचीन कपिलवस्तु पर्यटकीय लाभबाट बंचित रहँदै आएको देखिएको छ।

    कोरोना काल अघि २००७ सालसम्म तिलौराकोटमा पर्यटकको संख्या बढै गए पनि त्यस यता भने कमी हुँदै आएको छ। तिलौराकोटको पश्चिमी, पूर्वी द्वार र मुख्य दरबारमा पुगेर केही समयमै फर्किने गरेका छन्। पर्यटकहरू तिलौराकोटको दयनीय अवस्था देखेर निराश बनेर फर्कने गरेका छन्। पर्यटकहरूलाई आकर्षण गर्ने खालको वातावरण नहुँदा उनीहरु धेरै बेर बस्ने अवस्था नभएको पुरातत्वविद्हरु बत्ताउँछन्।

    ‘अपार सम्पदा भईकन पनि पर्यटकलाई लोभ्याउन नसकेका छैनौँ ’ लुम्बिनी विकास कोषका पुरातत्त्व अधिकृत हिमाल उप्रेतीले भने ‘कसरी यहाँ बसाई लम्बाउने तिर योजना बनाएर लाग्नु पर्छ , अवस्था निराशाजनक छ’ उनले भने, सबै सरोकारवाला लागेर पर्यटन प्रवर्द्धन गर्नु पर्छ। पर्यटकले केवल १ सय १० रुपैयाँ मात्र खर्च गर्ने गरेको अध्ययनको संक्षिप्त प्रतिवेदनका बिषयमा जानकारी दिँदै वरिष्ठ पुरातत्त्व कोष बिद कोष प्रसाद आचार्यले बताए।

    ‘पर्यटकसँग सोधपुछ र अध्ययन पछि निराशाजनक अवस्था देखिएको छ’ उनले भने। औसत १५ जनाको समुहमा आउने आगन्तुकहरू मध्ये ९० प्रतिशत बढी केही समय बिताएर बाहिरिने गरेका छन्। ७ प्रतिशत मात्र तौहिलावमा र बाकी ७० प्रतिशत बढी लुम्बिनीमा फर्कने गरेको छन्। ती पर्यटक तौहिलावमा बसेको भए १ हजार ५ सय खर्च तिनीहरूले १ हजार ५ सयका दरले खर्च गर्ने अध्ययनले देखाएको थियो। म्यानमार, श्रीलङ्का, भारतबाट यहाँ बढी पर्यटक आउने आउँछन्। धरै पर्यटक धार्मिक दृष्टिले आउने गरेका छन्। आधा जति पहिलो पटक र २० प्रतिशत एक भन्दा बढी तथा ६ पटक भन्दा बढी समेत यहाँ पर्यटक आएको भेटिएको थियो।

    ४६ प्रतिशत कार र बाकी सार्वजनिक सवारीमा आउने गरेका छन्। धेरैजसो तिलौराकोट, कुदान लगायतका क्षेत्रमा भ्रमण गर्न प्याकेजका रुपमा आउने गरेको पाइएको छ। एक तिहाइ बढी भारतको कुशीनगर र बोधगया गएर आउने गरेको छन्। तिलौराकोट भ्रमण पछि जिल्लामा रहेका अन्य बुद्धथलहरु निकै कम मात्र जाने गरेका छन्। तिलौराकोटको ५ सय मिटर उत्तरमा रहेको मायादेवी र शुद्धोदनको समाधीस्थल भनिएको धमनिया स्तूपमा ११ प्रतिशत पर्यटक मात्र जाने गरेका छन्।

    तिलौराकोट जाने बाटोमै रहेको कपिलवस्तु संग्रहालयमा तिलौराकोट आएका ९ प्रतिशत मात्रले अवलोकन गर्ने गरेका छन्। पर्यटकीय क्षेत्र भए पनि पूर्वाधार अभावका साथै सुन्दरीकरण नभएकाले जिल्लामा प्रशस्त सम्भावना रहे पनि पर्यटकीय लाभ लिन नसकेको पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत राम बहादुर कुवरले बताए। ‘पर्यटकलाई भुल्ने ठाउँ नै छैन, त्यसैले उनीहरु आएको केही बेर मै फर्किने गरेका छन्’ उनले भने।

    पर्यटकीय स्थलहरूको पूर्वाधार विकास र बास बस्ने राम्रो होटेल सञ्चालन भए जिल्लामा ३ दिन सम्म पर्यटकहरू बस्न सक्ने सम्भावना देखिएको उनले बताए। पर्यटकले पर्याप्त समय नबिताउँदा यहाँको पर्यटन विकासले गति लिन सकेको छैन। ‘पर्यटन व्यवसाय फस्टाउनका लागि पर्यटक टिकाउने वातावरण बनाउनु पर्छ’ पर्यटन व्यवसायी दिनेश रायमाझीले भने,’ ‘यहाँको पर्यटकीय सम्पदाबाट व्यवसायीले थोरै पनि फाइदा लिन सकेका छैनन्।’

    ‘तिलौराकोट आसपासका क्षेत्रमा भौतिक पूर्वाधारको ठूलो अभाव छ’ उनले भने,’ ‘त्यस कारण यहाँ पर्यटक बस्ने अवस्था छैन।’ ‘बस्ने, खाना खाने सुविधा छैन’ उनले भने,’ ‘आउन नपाउँदै लुम्बिनी फर्किन्छन्।’ ‘सरकार, व्यवसायी र कल्याणकारी संघ संस्था सबै लागेर धेरै गर्न सक्छौँ’ तौलिहवा उद्योग वाणिज्य संघ अध्यक्ष गयाद्दिन कुर्मीले भने,’ ‘पर्यटकको बसाई लम्बाउन मात्र सक्यौँ भने यस क्षेत्रका नागरिक रोजगारीका लागि अन्त्य जानु पर्दैन।’

    गत बर्ष पाँच हजार बढी विदेशी पर्यटकले तिलौराकोट अवलोकन गरेका थिए। लुम्बिनी बिकास कोषका परिषद् सदस्य गोपीकृष्ण शर्माले दुई तीन बर्ष यता तिलौराकोटमा गरिएको सरसफाइ अभियानले तिलौराकोट सुन्दर र सफा देखिएको बताए। उत्खननसँगै निर्माण गरिएको काठको बाक वे ले पर्यटकको मन खिचेको बताए। सरकारी योजना अनुसार तिलौराकोटलाई आउने केही बर्ष भित्रै विश्व सम्पदा सुचीमा सुचीकृत गर्न युनेस्केको प्रस्ताव दर्ता गराइएको बताए।

  • बाघको आक्रमणबाट महिलाको मृत्यु

    बाघको आक्रमणबाट महिलाको मृत्यु

    बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। बाँसगढी नगरपालिका–४ जनचेतना सामुदायिक वन बठुवा स्थित बाघको आक्रमणबाट बिहीबार दिउँसो महिलाको मृत्यु भएको हो।

    बाँके बैजनाथ गाउँपालिका–८ हस्नापुरकी ३५ वर्षीय मनिषा रोकायको बाघको आक्रमणबाट मृत्यु भएको छ। मृतक रोकाय आफ्नी दिदी बाँसगढी नगरपालिका–४ बठुवाकी ४० वर्षीय कैलाशपति थारुसँगै उनको घर जाने क्रममा बाघले आक्रमण गरेको जनाइएको छ।

    मृतककी दिदी थारु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए।

  • एमाले चितवनको नेतृत्वका लागि दौडधुप: अध्यक्षमा चार जना आकांक्षी

    एमाले चितवनको नेतृत्वका लागि दौडधुप: अध्यक्षमा चार जना आकांक्षी

    नेकपा (एमाले) चितवनको ११ औं जिल्ला अधिवेशन शनिवारदेखि सुरु हुँदैछ। अधिवेशनको मिति नजिकिँदै गर्दा एमाले नेता कार्यकर्तामा अधिवेशनको सरगर्मी बढेको छ। जिल्लाका पार्टी नेता कार्यकर्ताले नेतृत्वका लागि दौडधुप बढाएका छन् भने कार्यकर्तामाझ आफ्नो आकांक्षा व्यक्त गर्न थालेका छन्।

    चितवनको नेतृत्वका लागि चार जनाले आफ्नो आकांक्षा व्यक्त गरेका छन्। जिल्ला नेतृत्वका लागि हालका अध्यक्ष रामप्रसाद न्यौपाने पुनः पार्टी अध्यक्षमा दोहोरिने सोचमा छन्। जिल्ला उपाध्यक्ष कमलराज पाठक, नेताहरु कृष्ण भुर्तेल र तेजेन्द्र खड्काले पनि अध्यक्षका लागि आकांक्षा व्यक्त गरेका छन्। यस्तै उपाध्यक्ष, सचिव र उपसचिवमा पनि एक दर्जन बढी आकांक्षी रहेका छन्।

    बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले नयाँ नेतृत्व सहमतिका आधारमा चयन हुने र सहमति हुन नसके निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने बताए।

    अधिवेशनले अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र दुई जना उपसचिव सहित १२० सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ। जिल्ला कमिटीमा कम्तीमा ३३ प्रतिशत महिला र १५ प्रतिशत युवा अनिवार्य गरिएको छ।

    एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने अधिवेशन जेठ १४ गते सम्म चल्ने छ। अधिवेशनमा जिल्लाका सात पालिका, विभिन्न जनवर्गीय संगठन, सम्पर्क मञ्च लगायत गरी ७३२ जना र २९ मनोनीत गरी ७६१ जना प्रतिनिधि सहभागी हुनेछन्।

    अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष न्यौपानेको संयोजकत्वमा ४९९ सदस्यीय मूल व्यवस्थापन समिति, अध्यक्ष न्यौपानेको संयोजकत्वमा राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन लेखन समिति, उपाध्यक्ष कमलराज पाठकको संयोजकत्वमा आर्थिक प्रतिवेदन लेखन उपसमिति, सचिव प्रकाश खनाल शैलेशको संयोजकत्वमा खाद्य तथा आवास व्यवस्थापन उपसमिति, उपसचिव प्रकाश ढुङ्गानाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, उपसचिव चन्द्रकान्त न्यौपानेको संयोजकत्वमा सम्मान कार्यक्रम व्यवस्थापन उपसमिति, कार्यालय सचिव श्याम विष्टको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, अन्जना गौतमको संयोजकत्वमा स्वागत सत्कार उपसमिति, भक्तिप्रसाद गौतमको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति बनाइएको छ।

    अधिवेशनको अवसरमा १२ गते बिहान अनेरास्ववियु चितवन र राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीद्वारा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

    ११ औं जिल्ला अधिवेशनका प्रमुख निर्वाचन अधिकृत पिपीएल उपमहासचिव एवम् बागमती प्रदेश प्रमुख जगन्नाथ भण्डारीले अधिवेशनलाई लोकतान्त्रिक पद्धतिबाट सम्पन्न गर्ने गरी काम गरिने बताए।

  • चुरे संरक्षणको माग गर्दै पदयात्रा, माइतीघर मण्डलामा धर्ना

    चुरे संरक्षणको माग गर्दै पदयात्रा, माइतीघर मण्डलामा धर्ना

    चुरे संरक्षणको लागि दबाब दिन ‘चुरे संरक्षण पद यात्रा’ गर्दै २५ जनाको टोली काठमाडौं आइपुगेको छ।

    चुरे संरक्षणको माग गर्दै सप्तरी जिल्लाको भारदहदेखि वैशाख १६ गते चुरे संरक्षण पद यात्रामा निस्किएको टोली बिहीबार काठमाडौं आइपुगेको हो।

    टोलीले काठमाडौंस्थित माइतीघर मण्डलामा धर्ना सुरु गरेको छ। चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको ब्यानरमा चुरे संरक्षण लगायतका विभिन्न माग राखी २५ जनाको टोली काठमाडौं आइपुगेको हो।

    चुरे तथा वनजंगल विनाशको कारणले तराई, मधेसमा नदीको मुहान सुकेर पानीको हाहाकार हुने स्थिति आएको र सिंगो देश नै जलवायु परिवर्तनको चपेटामा परेको भन्दै चुरे संरक्षण अभियान सुरु गरिएको जनाइएको छ।

    पदयात्रा टोलीले चुरे क्षेत्रमा अवैध उत्खनन तत्काल बन्द गर्नुपर्ने लगायतका एक दर्जनभन्दा बढी मागहरु अघि सारेका छन्। चुरे तथा वनजंगल संरक्षण अभियान नेपालका संयोजक सुनिल यादवले मधेस प्रदेशलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरिनुपर्ने आफूहरुको माग रहेको बताए।

    उनले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट राजनीतिक दलको कार्यकर्ता पाल्ने मात्र काम भएको भन्दै राष्ट्रपति चुरे संरक्षण विकास समितिलाई स्वतन्त्र बनाउनुपर्नेमा जाेड दिए। उनले चुरे संरक्षणका लागि छुट्टै चुरे ऐन निर्माण गर्नुपर्ने पनि आफूहरुको माग रहेको स्पष्ट पारे।

    संयोजक यादवले खुला चरिचरण बन्द गर्नुपर्ने पनि आफूहरुकाे माग रहेको जानकारी दिए। त्यस्तै, भूमिहीनको नाममा मासिएको वनजंगलको जग्गा वनमै फर्काउनुपर्ने र वास्तविक दलित, भूमिहीन तथा सुकुम्वासीहरूलाई भूमिको व्यवस्था गर्नुपर्ने उनीहरकाे माग छ।

    त्यस्तै, चुरे क्षेत्रभित्रका नदीनालाबाट हुने अवैध निकासी तथा ढुङ्गा, गिटी, बालुवा र क्रसर उद्योगहरुलाई तत्काल बन्द गरी यस्ता कार्यमा संलग्नहरुलाई कारबाही गर्न पनि माग गरिएको छ।

    धर्नामा रहेकाहरुले आफूहरु तेस्रो पटक चुरे संरक्षणको माग गर्दै पदयात्रामा आएको बताउँदै अब पनि माग पूरा गर्न सरकार गम्भीर नबने संघर्षको कार्यक्रम जारी राख्ने बताएका छन्।

  • गृहमन्त्रीको ‘सांसदले विदेशीलाई सूचना बेच्छन्’ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन माग

    गृहमन्त्रीको ‘सांसदले विदेशीलाई सूचना बेच्छन्’ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन माग

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने संसद्मा बोलेको अभिव्यक्ति संसद् रेकर्डबाट हटाउन माग गरेका छन्।

    बिहीबार नेपाल विद्यार्थी संघ झापा-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

    महामन्त्री शर्माले उपप्रधान एवं गृहमन्त्री लामिछानेले संसद्को बैठकमा सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने अभिव्यक्ति संसद्मा दिएको भन्दै उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरे।

    गृहमन्त्रीले संसद्मा गएर त्यस प्रकारको अभिव्यक्ति दिन नमिल्ने उनको भनाइ थियो। सभामुख देवराज घिमिरे गृहमन्त्रीको उक्त अभिव्यक्तिप्रति सहमत हो ? भन्दै उनले प्रश्न समेत गरे।

    सहमति नभए संसद्को रेकर्डबाट गृहमन्त्रीको उक्त अभिव्यक्ति हटाउन आग्रह गर्दै गृहमन्त्रीसँग त्यसको सूचना छ भने पक्राउ गरी कारबाही गर्न आग्रह गरे।

    उनले भने ‘नयाँ पार्टीका साथीहरूले भन्दै हुनुहुन्थ्यो, सहकारी ठगीका फाइलहरू खोल्ने हो भने ०४६ सालपछिका सबै खोल्न तयार हो कांग्रेस ? साथीहरू भन्दै हुनुहुन्थ्यो त्यो भन्दा दुई दिनअघि नै धनराज गुरुङको प्रस्ताव, सहमहामन्त्री बद्रिप्रसाद पाण्डे र जीवन परियारको समर्थनमा नेपाली कांग्रेस पार्टीले संसद्मा प्रस्ताव नै दर्ता गरिसकेको छ। ०४६ सालपछि को मन्त्री भए, कोको केके भए ? कसले कति कमाए होलान् ? कमाएनन् होला सबै छानबिन गरौँ भनेर प्रस्तावित गरेका छौँ। त्यसैले यो बेलामा नेपाली कांग्रेस सहकारी ठगी प्रकरणमा हामी दृढतापूर्वक बोलिरहेका छाैँ।’

    महामन्त्री शर्माले राजनीति राम्रो भए देशको विकासले फड्को मार्ने बताउँदै राजनीतिमा लामो समय रही रहनुपर्छ भन्ने नसोची राजनीति राम्रो बन्नुपर्नेकुरामा बढी ध्यान दिन जरुरी रहेको बताए।

    महामन्त्री शर्माले देश बनाउने मिसनमा सबै सामेल हुनुपर्नेमा जोड दिए। उनले राजनीतिमा कुनैपनि संकट नरहेको जिकिर गरे।

  • धनुषामा इनार सफा गर्न पसेका एक पुरुषको निसास्सिएर मृत्यु

    धनुषामा इनार सफा गर्न पसेका एक पुरुषको निसास्सिएर मृत्यु

    धनुषामा इनार सफा गर्ने क्रममा एक जना निसास्सिएर मृत्यु भएको छ। ४० मिटर गहिरो इनार सफा गर्न पसेका गणेशमान चारनाथ नगरपालिका-४ बस्ने ३० वर्षीय रामप्रसाद शर्माको मृत्यु भएको हो।

    सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरिका अनुसार उनी बुधबार बिहान सोही नगरपालिका-४ भरतपुरस्थित उदगारी यादवको इनार सफा गर्न इनार भित्र पसेका थिए। सोही क्रममा निसास्सिएर उनको मृत्यु भएको हो।

    घटनाबारे प्रहरीलाई खबर प्राप्त भएपछि सुरक्षा वेश रघुनाथपुर र धनुषा गण नम्बर-८ बाट खटिएको ४ जना गोताखोरसहित ११ जनाको विपद् उद्धार टोली घटना स्थलमा पुगेको थियो।

    सो टोलीले उनको शव इनारबाट निकाली पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सशस्त्र प्रहरीको सहयोगमा यसरी निकालिएको थियो रामप्रसाद शर्माको शव : (तस्बिरहरु)

  • कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक सुरु

    कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक सुरु

    सहकारी ठगी प्रकरणमा गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ । बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरु भएको हो ।

    सत्तापक्ष र प्रतिपक्ष दलका प्रतिनिधिहरूबीच कार्यदेशमा सहमति जुट्न नसक्दा यसअघिका बैठकहरू निष्कर्षबिहीन बनेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी उनी मुछिएको सहकारी संस्थामा पनि संसदीय समितिले छानबिन गर्नुपर्ने अडान राख्दै आएपछि सहमति हुन सकेको छैन।

    यसअघि मङ्गलवार बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तापक्षलाई कार्यदेशको मस्यौदा ल्याउन भनेको थियो। बैठकपछि कार्यदलका संयोजक एवम् कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले कांग्रेस लचक बनेको भन्दै आगामी बैठकमा सहमति जुट्ने विश्वास व्यक्त गरेका थिए। त्यसैले आजको बैठकलाई चासोका साथ हेरिएको छ।

    कार्यदलमा नेकपा एमालेबाट पदम गिरी र महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपा नेता शिशिर खनाल छन्।

  • बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामा : प्रधानमन्त्री दाहाल

    बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामा : प्रधानमन्त्री दाहाल

    प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रमअनुरूप आगामी वर्षको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने सरकारको तयारी रहेको बताएका छन् ।

    कोन्ज्योसोम गाउँपालिकाद्वारा बिहीबार आयोजित त्रिमूर्ति प्रतिमा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारको नीति तथा कार्यक्रम र बजेटबाट कृषि क्षेत्रले पर्याप्त लाभ लिनसक्ने बताएका हुन् । उनले नीति तथा कार्यक्रममा उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिएर नीतिगत व्यवस्था गरिएको स्पष्ट पारे ।

    सरकारले अघिल्लो महिनामात्रै तेस्रो लगानी सम्मेलन उत्साहजनक रूपमा सम्पन्न गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले उक्त सम्मेलनमा ठोट्ने खोलाको पानी प्रयोग गरी उपत्यकाबासीको पानीको समस्या समाधान गर्न विदेशी लगानीकर्ताका लागि परियोजनाको प्रारूप प्रस्ताव गरिएको जानकारी दिए ।

    ‘मेरो विश्वास छ, उक्त प्रस्तावअनुरूप यस आयोजनाका निम्ति विदेशी लगानी जुट्नेछ,’ प्रधानमन्त्रीले भने, ‘यसबाट पानीको बहुउपयोग हुने किसिमका बृहत आयोजना सञ्चालन गर्न सम्भव हुनेछ ।’

    कोन्ज्योसोम गाउँपालिकाका केही वडाहरूलाई नयाँ शहरको रूपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसका निम्ति आगामी दिनमा सम्भाव्यता अध्ययन हुँदै जाने बताए । उनले यस क्षेत्रका लेले–चन्दनपुर, नल्लु–चौघरे–उन्युचौर–मानिखेल–गोटिखेल र बिर्खेधारा–दलचोकी–शङ्खु–इकुडोल गरी ३ वटा सडक दक्षिण ललितपुरको ‘लाइफ लाइन’का रूपमा विकास हुने क्रममा रहेको र यसले ललितपुरको दक्षिणी क्षेत्रको विकासमा गुणात्मक फड्को हान्ने विश्वास व्यक्त गरे ।

    काठमाडौं उपत्यकाबाट नजिकको दुरीमा प्राकृतिक मनोरम दृश्यावलोकन गर्न सकिने स्थान कोञ्जोसोम भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले ग्रामीण अर्थतन्त्र र पर्यटन प्रवर्द्धन गरेर आयआर्जन गर्न सकिने बताए । उनले यस क्षेत्रमा पर्यटकहरूको बसाइ लम्बाएर विदेशी मुद्रा आर्जनका निम्तिसमेत राजधानी नजिकका यस्ता पर्यटकीय गन्तव्यहरूको विशिष्ट भूमिका रहने विश्वास व्यक्त गरे ।

    यो क्षेत्र कृषि, तरकारी खेती, पशुपालन, दूध र मासु उत्पादनका दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै उनले कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, विविधिकरण र बजारीकरणका माध्यमबाट यस क्षेत्रका जनताले पर्याप्त लाभ लिन सक्ने उल्लेख गरे ।

    ललितपुर जिल्लाभित्र पर्ने अत्यन्त महत्त्वपूर्ण र मनोरम गाउँपालिकाका रूपमा स्थापित कोन्ज्योसोमले कृषि र पर्यटनमार्फत् ग्रामीण अर्थतन्त्रको सवलीकरण एवं विकासमा रचनात्मक भूमिका खेल्दै आएको बताउँदै प्रधानमन्त्रीले अर्गानिक कृषि उत्पादन, पर्यटकीय सम्भावनाहरूको खोजी एवं गाउँपालिकाभित्र विद्यमान सबै साधनस्रोतहरूको अधिकतम उपयोगका निम्ति विभिन्न नीति, योजना र कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

    ‘करिब ७८ प्रतिशत तामाङ समुदायको बसोबास रहेको यस कोन्ज्योसोम गाउँपालिकाको नामाकरण स्थानीय पहिचान झल्किने गरी तामाङ भाषामा गरिएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘यसबाट यस गाउँपालिकाभित्रका विविधतायुक्त संस्कृतिको प्रवर्द्धन हुनुका साथै प्राकृतिक एवं सांस्कृतिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नसमेत महत्त्वपूर्ण योगदान पुग्दै आएको छ ।’

    प्रधानमन्त्रीले स्थानीय भाषा, कला र संस्कृतिको प्रवर्द्धन गरी उत्पीडित वर्ग, जाति र समुदायको पहिचान र आत्मस्वाभिमान स्थापित गर्नुका साथै यस्ता रचनात्मक क्रियाकलापले पर्यटन प्रवर्द्धनमा समेत गुणात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

    कोन्ज्योसोम प्रतिमा निर्माणमा सङ्घ, प्रदेश र स्थानीय तीनै तहको भूमिका र योगदान रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले तीनै तहका सरकारहरूको संयुक्त लागत साझेदारीमा निर्माण गरिएको त्रिमूर्तिले यस क्षेत्रको ऐतिहासिकताको समेत प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरे ।

  • विद्यार्थी बोकेर रारा भ्रमणमा गएको जिप दुर्घटना, १२ जना घाइते

    विद्यार्थी बोकेर रारा भ्रमणमा गएको जिप दुर्घटना, १२ जना घाइते

    बाजुराबाट रारातर्फ भ्रमणमा लागि जाँदै गरेको विद्यार्थी र शिक्षक सवार जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

    बाजुराको हिमाली गाउँपालिका–५ कोल्टिमा रहेको भवानी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी तथा विद्यार्थीहरूलाई रारा घुमाउन लैजाँदै गरेको ग १ ज ८२४९ नम्बरको जिप बिहीबार मुगुको खत्याड गाउँपालिका वडा–२ जाम हिलटप भन्ने स्थानमा दुर्घटना भएको हो।

    दुर्घटनामा चालक सहित १२ जना घाइते छन्। घाइते हुनेहरूमा ९ जना विद्यार्थी, दुई शिक्षक र चालक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

    उनका अनुसार घाइतेहरु मध्ये चालक लालबहादुर भण्डारीको अवस्था गम्भीर रहेको छ। उनकाे स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले जनाए।

    प्रहरी नायव उपरीक्षक थापाले अरु सबैको अवस्था सामान्य रहेको बताए। जिप सडकबाट २५ मिटर तल खसेको थियो।