लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित नाम्डोक खोलामा पुल निर्माण भएको छ।

बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटरेबल पुल निर्माण भएपछि खोलामा सवारीसाधन तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ। पुल निर्माणपछि बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सहज भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए।

नाम्डोक खोलामा ५० मिटर लामो मोटरेबल पुल निर्माण गर्न मुक्तिनाथ–अमित जेभीले २०७६ असार ३१ गते ६ करोड ३७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले हस्तान्तरण चरणमा रहेको पुलमा सवारीसाधन सञ्चालन भएको बताए।

दुई सय दुई किमि बेनी–जोमसोम कोरला सडकमा नाम्डोक खोलासहित थप ६ वटा स्थानमा पुल निर्माण भएका छन्। बेनी–जोमसोम कोरला आयोजनाले पाँचवटा पुल निर्माण गर्न विभिन्न निर्माण कम्पनीसँग ३१ करोड ६२ लाखमा ठेक्का सम्झौता गरेको छ।

नाम्डोक, लोमान्थाङ, किम्लिङ र भर्मा खोलाको पुल निर्माण गर्न मुक्तिनाथ–अमित जेभीले २०७६ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो। बीस मिटर लामो लोमान्थाङ खोलाको पुलको लागत चार करोड ६८ लाख दुई हजार ६ सय ३८, ५० मिटर लम्बाइको किम्लिङ खोला पुलको लागत ६ करोड ३० लाख र ८० मिटर लम्बाइको भर्मा खोला पुलको लागत ६ करोड ८५ लाख रुपैयाँ हो।

कालिका–गजुरमुखी जेभीले २०७६ साल चैतमा सात करोड ४२ लाखमा ठेक्का सम्झौता गरेको थासाङ गाउँपालिकाको छाक्ताङ खोलामा डबल स्पाम भएको ८० मिटर लामो पुल पनि निर्माण पूरा भएको छ।

सडक विभागले बिओकेआई-हिमालयन जेभीसँग भ्याटसहित आठ करोड ३० लाख ६८ लाख चार सय ७३ मा ठेक्का सम्झौता गरेको रघुगङ्गा गाउँपालिका १ बेगखोलामा ७० मिटर लामो डबल स्पाम भएको मोटरेबल पुल पनि सम्पन्न भएको छ।

बेनी–जोमसोम–कोरला सडक योजनामार्फत १३ वटा पक्की पुल र तीनवटा बेलिब्रिज निर्माण भएका छन्। म्याग्दीको राहुघाटमा ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको लेतेमा ४० मिटर, स्याङखोलामा एक सय १५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल निर्माण भएको हो।

विभागको पुल महाशाखाका अनुसार म्याग्दीको महभिरमा ८०, पोखरेबगर र बेगखोलामा ७०–७० मिटर लामो पुल निर्माण गरेको छ। छुसाङको मुस्ताङ गेटस्थित कालीगण्डकीमा डोलिडारले ७७ दशमलव दुई मिटर र जोमसोमस्थित कालीगण्डकीमा तत्कालीन मुस्ताङ जिविसले ४६ मिटर लामो पुल बनाएको थियो।

अन्नपूर्ण गाउँपालिका ३ स्थित रुप्से, बेनी–बगरफाँट जोड्ने कालीगण्डकी र अन्नपूर्ण गाउँपालिकाको भुरुङखोलामा बेलिब्रिज निर्माण भएको छ। थासाङ गाउँपालिकाको सेतो खोलामा मोटरेबल पुल निर्माण थालिएको छ। सात ठाउँमा मोटरेबल पुल निर्माणाधीन छन्। थप पाँच ठाउँमा पुल निर्माण प्रस्ताव गरिएको छ।

पर्वतको मालढुुङ्गाबाट म्याग्दी हुँदै मुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने सडक दुई लेनको कालोपत्र र ग्राभेल बनाउन २०७३-७४ देखि सुरु भएको योजनाको हालसम्म ८२ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख ध्रुवकुमार झाले बताए। ६ खण्डमा ८५ किलोमिटर ग्राभेल र तीन खण्डमा विभक्त २२ किलोमिटरमा कालोपत्र भएको छ। –रासस

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *