कांग्रेस-प्रधानमन्त्री छलफलः संसदीय समिति बनाउन सहमत, ‘टिओआर’मा छलफल भएन

सहकारी ठगी प्रकरणले बन्धक बनेको संसद् खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेससँगवीचको वार्तामा संसदीय छानबिन समिति बनाउन पुनः सहमती जुटेको छ। वार्तामा प्रधानमन्त्री दाहाल संसदीय समिति बनाउन सहमत भएको कांग्रेस प्रतिनिधिसभाका प्रमुख सचेतक रमेश लेखकले बताए।

‘उहाँ (प्रधानमन्त्री) ले निकासका लागि संसदीय छानबिन समिति बनाएर जाने कुरामा प्रतिबद्धता जनाउनुभएको छ,’ बैठकपछि नागरिकसँग कुरा गर्दै लेखकले भने,‘सत्तापक्षका नेताहरूसँग छलफल गरेर कांग्रेससँग फेरि बस्ने कुरा छ।’

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति माग्दै संघीय संसद्का दुबै सदन अवरुद्ध गर्दैआएको छ।

संसद् खुलाउन प्रधानमन्त्री दाहालले यसअघि पनि संसदीय छानबिन समिति गठन गर्नसकिने कुरा बताएका थिए। तर, समितिको कार्यादेश (टिओआर) मा सहमती नजुट्दा स्थिती भाँडिएको थियो।

कांग्रेसले गृहमन्त्री लामिछानेको नामसमेत सामेल गरेर छानबिन समितिलाई टिओआर दिनुपर्ने अडान राखिरहेको छ। उक्त कुरामा सत्तापक्ष भने हालसम्म तयार भएको छैन्। जसले प्रतिनिधिसभामा मुठभेडको स्थिती देखा परिरहेको छ।

प्रधानमन्त्री–कांग्रेसको आजको बैठकमा संसदीय छानबिन समिति बनाउने कुरामा सहमती भएपनि टिओआरका विषयमा छलफल नभएको लेखकले बताए।

‘टिओआरमा प्रवेश भएको छैन। संसद् खुलाउन प्रधानमन्त्रीजी सकारात्मक देखिनुभयो। त्यसका लागि संसदीय समिति बनाउने भन्नेमा उहाँ पुग्नुभएको छ। सत्तापक्षका साथीहरूसँग बसेर आएपछि टिम बनेर टिओआरमा काम होला,’ उनले भने।

यसअघि टिओआरमा राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का उपाध्यक्ष स्वर्णिम वाग्ले र कांग्रेस सहमहामन्त्री जीवन परियार बसेर गृहकार्य गरेका थिए। उक्त गृहकार्यमा गृहमन्त्रीको नाम राख्ने/नराख्ने विषयमा सहमती नजुट्दा स्थिती भाँडिएको थियो।

प्रधानमन्त्री दाहालसँगको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवासहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण सिटौला र प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलगायतका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *