बाग्मती युवा क्लब शीर्षमा

सर्लाहीको बाग्मती युवा क्लब शुक्रबार जारी सहिद स्मारक ‘सी’ डिभिजन लिगको अंकतालिकामा शीर्ष स्थानमा पुगेको छ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा खालीबारी युवा क्लबसँग गोलरहित बराबरीको नतिजा पनि बाग्मतीलाई शीर्ष स्थानमा उक्लिन पर्याप्त बन्यो।

बाग्मतीले पाएका केही अवसर सदुपयोग गर्न नसक्दा अंक बाँडेको हो। खालीबारीले पनि केही अवसर सिर्जना गरेको थियो। तर, सदुपयोग गर्न भने सकेन। बराबरीसँगै बाग्मतीले आठ खेलबाट १७ अंक जोड्यो। समान खेलबाट खालीबारीको ९ अंक छ। खालीबारी दशौं स्थानमा छ। खेलको पहिलो हाफमा भन्दा दोस्रो हाफ केही अवसर सिर्जना भए। बाग्मतीले ५९औं मिनेटमा अग्रता लिने अवसर गुमायो।

बाग्मतीका सिर्जनराज गौतमले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहार बारनजिकैबाट बाहिरिन पुग्यो। बाग्मतीका गोलकिपर अनिश महतोले ६४औं मिनेटमा आफ्नो टोलीको संकट टारे। उनले अरूण लामाको प्रहारलाई बचाउ गरे। एक मिनेटपछि नै सिर्जनराजको प्रहार फेरि बारनजिकैबाट बाहिरियो।

शुक्रबारकै पहिलो खेलमा महावीर र सानेपा क्लब गोलरहित बराबरीमा रोकिए। एन्फा मुख्यालय मैदानमा नै दुवै टोलीले पाएका केही अवसर सदुपयोग गर्न सकेनन् र अंक बाँडे। बराबरीपछि पनि सानेपा आठौं स्थानमा यथावत् छ।

सानेपाले आठ खेलबाट ११ अंक जोडेको छ। समान खेलबाट महावीरको ९ अंक छ। खालीबारीसँग समान अंक भए पनि गोलअन्तरमा पछि पर्दै महावीर दशौं स्थानमा छ। खेलको दोस्रो हाफमा महावीरले आक्रमणमा सनेपामा गोलकिपर रुबिन बोगटी बाधक भए।

उनले ५९औं मिनेटमा समीरकुमार चौधरीको प्रहार पन्च गर्दै विफल पारेका हुन्। त्यसको दुई मिनेटपछि नै महावीरले पनि सानेपाको आक्रमण सफल हुन दिएनन्। अनिष घर्तीको प्रहारलाई महावीरका गोलकिपर नीर चौधरीले रोके।

६४औं मिनेटमा नै सौगात लामाको प्रहारलाई विफल पार्दै नीरले महावीरको संकट टारे। त्यसपछि पनि दुवैतर्फबाट गोल हुन सकेन र खेल गोलरहित बराबरीमा नै सकियो। शुक्रबार लिगमा समान आठौं चरणको खेल सकिँदा पुलचोक र आरसी ३२ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

पुलचोक र आरसी ३२ को समान १६ अंक भए पनि गोलअन्तरका आधारमा दोस्रो र तेस्रो स्थानमा छन्। लिगमा समान खेलबाट समान पाँच अंकसहित गोलबजार र स्वयम्भू रेलिगेसन क्षेत्रमा छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *