शालीन विद्रोह

‘डोरम्याट’ हालै प्रकाशित कविताकृति। कृतिकार कवि छविरमण सिलवाल। साहित्यको नाममा छविले तीन दशक लामो यात्रा तय गरिसकेका छन्।

बितेका तीन दशकमा उनले साहित्यिक वृत्त र पाठकवृत्तमा जानपहिचान अनि लोकप्रियता बनाएका छन्। सरल मिजासका छवि स्रष्टा मात्रै नभईकन साहित्यिक अभियानकर्ता पनि हुन्। उनी दर्जन बढी साहित्यिक संघसंस्थामा आबद्ध भएर साहित्यको श्रीवृद्धिमा लागिपरेका छन्।

बितेको यही तीन दशकमा उनले समीक्षक, निबन्धकार, लघुकथाकार, नियात्राकार, बालसाहित्यकार, रेडियो प्रस्तोताजस्ता अनेकानेक परिचय बनाउन सफल पनि भएका छन्। यो सफलता प्राप्त गर्न छविले कस्तो दुःखकष्ट झेल्नुपरेको थियो होला? कस्ताकस्ता पीडा खेप्नुपरे होला? सफलताले छरेको हाँसोको सुगन्धबीच उभिएर सायदै छविले पनि दुःखको विगतलाई भुलेका छन् होला।

छवि कवितामा धेरै जटिल बन्न नखोज्नु नै उनको आफ्नै कवि परिचय हो। छविले कवितालेखनमा भिन्न अर्थात् आफ्नै शिल्प तयार गरेका छन्। उनले मनबाट जनजनका कविता लेख्ने गरेका छन्।

उनले आफ्ना कविताहरूको आयतन नाप्न कसैको सहारा लिएका रहेनछन्। अर्थात्, कृतिमा कसैको भूमिका छैन। कविले आफ्ना मातापितामा कृति समर्पण गरेर कवितालाई लामबद्ध गराएका छन्। कविता–लेखनमा कविको छोटो बकपत्र भने यसै कृतिको अन्त्यमा पढ्न पाइन्छ।

कवितामाथिको समीक्षात्मक भूमिका अथवा समालोचना पढ्न नपर्नुले पाठकले स्वतन्त्र बनेर आफ्नै मनमस्तिष्कबाट छविका कविता पढ्न सक्नेछन्, जुन अवसर मैले पनि प्राप्त गरेँ।

पुस्तकको अन्त्यमा विनयीभावमा छोटकरीमा कविले आफ्नो कवितायात्राका बारेमा लेखेको स्वीकारोक्ति पढेपछि ९६ पृष्ठको ‘डोरम्याट’ सकिन्छ। कवितामाथिको आनन्द र मजा लिँदै पढ्दा पनि एक घण्टामा यो कृति पढिसकिन्छ। एक घण्टाको समयमा किताब पढे पनि त्यसको स्वादको अनुभव भने जीवनभर लिन सकिन्छ।

३० वटा मझौला कदका कविताले ‘डोरम्याट’ कृतिको आकार बनाएको छ। कृतिभित्रको पहिलो कविताबाटै पुस्तकको नामकरण गरिएको छ। ढोकाअगाडि खुट्टा पुछ्न राखिने डोरम्याटलाई कविले मानवीकरण गरेका छन्। उनले डोरम्याटलाई बिम्ब बनाएर मानवतावादको वकालत गरेका छन्। म्याटमा खुट्टा पुछ्नेलाई शासकका रूपमा उभ्याएर कविले क्रूरताको प्रतीक बनाएका छन्।

‘महाराज!

सदियौंदेखि मैले

खाइरहेको छु हजुरको लात

भन्नुस् न-अब कतिन्जेलसम्म चल्नेछ

मेरो छातीमाथि हजुरको क्रीडा?’

-डोरम्याट, पृ. ९

यो पङ्क्ति पढेपछि नै छविको कवित्व प्रस्ट हुन्छ। उनी व्यावहारिक जीवनमा जति विनयी र सादगी छन्, लेखनमा पनि त्यति नै विनयी देखिन्छन् तर उनको विनयितामा खरानीभित्र लुकेर बसेको आगोजस्तो विद्रोह लुकेको छ।

राज्यसत्ताप्रति खरो प्रतिपक्षी र सामान्य नागरिकप्रति दह्रो पक्षता बोकेका उनका कविताहरू बदमासका लागि चुनौती हुन सक्छन्।

‘थाहा छ नि सिंहदरबारलाई

ऊ आफैं पनि कसैको अपुताली हो

अनि अपुताली खानेहरूलाई

सम्पत्तिको महत्त्व के थाहा!’

–सिंहदरबार भद्दा मजाक गरिरहेछ, पृ. १३

छविका कविता सरल लाग्छन् तर त्यही सरलताले गम्भीर चिन्तन अनि सत्य बोकेको हुन्छ।

‘मान्छे मान्छेकै

हुलबाट फुत्त निस्किन्छ

नाङ्गै, भुतुङ्गै!’

-मान्छे, मान्छे र मान्छेहरू, पृ.२२

यो पङ्क्ति पढ्दा अत्यन्तै सरल लाग्न सक्छ तर यसको गहिराइ खोज्दै जाँदा मानिस आफैं हराउन सक्छ।

छविका अधिकांश कविता विद्रोहभावले भरिएका छन्। उनी अन्याय घरबाटै समाप्त गर्नुपर्छ भन्ने मान्यतामा रहेका छन् भन्ने दृष्टान्त यो कवितांशले प्रस्तुत गर्छ।

‘आमा !

बुबाको त्यो जुठो थालमा

तपाईं किन खाना खानुहुन्छ?

मैले बालाई अर्को प्रश्न गरें

त्यसोभए तपाईंले चाहिँ

आमाको जुठो थालमा

किन खाना नखाएको त?’

–जुठो थाल, पृ. ५३

कवि समतामा विश्वास गर्छन्। सम्मानमा आस्था राख्छन्। ठुलो हुनुको कारण अर्कालाई अपमान गर्नु होइन भन्ने तर्कमा छविका कविता अडेका छन्।

छविले मानवजीवनका उपयोगी ससाना कुरालाई कविताका माध्यमबाट उजागर गरेका छन्। मान्छेले बाँच्नुको लोभमा आफैंमाथि कसरी घात गरिरहेको छ, छविले कवितामार्फत औंल्याएका छन्।

‘रुख काटेर

धन जोड्नेहरूलाई

भन्दै थियो रुखले–

म बोल्न नसकेरै

हेप्छन्, काट्छन्

मेरो हत्या गर्छन्।

थाहा छैन तिनलाई

मैले नै

अन्तिममा खरानी बनाउनुपर्छ।

–रुख, पृ. ५५

यो एउटा पूर्ण कविता हो। लामो लेखेर कविता हुन्छ भन्ने छैन। थोरै शब्दमा बलियो कविता लेख्न सक्नु सामान्य कुरा होइन। यो कवितामा छविले त्यस्तै प्रतिभा उद्घाटन गरेका छन्।

यस कृतिभित्र ‘काम नलाग्ने सामान’, ‘फूल नहाँसे हुन्न र’, ‘आँसुहरू’ जस्ता छोटा तर मार्मिक कविता समाविष्ट गरिएको छ।

अरूका लागि चिन्ता र चिन्तन गर्नेसँग मनभरि आगो हुन्छ। अर्थात्, मन विद्रोहले भरिएको हुन्छ, भलै अनुहार फूलजस्तो कोमल किन नहोस् ! ‘डोरम्याट’ पढेपछि कविको मनभरिको आगो र विद्रोह उनको अनुहारभरि देख्न सकिने रहेछ।

‘तिमीलाई उज्यालो दिएर

मैनबत्तीजस्तै

पग्लिरहेका छौं हामी।’ (पृ. ७७)

सावधान!

हामी जल्नुको अर्थ

हाम्रो कमजोरी नसम्झनू

सानै झिल्काले पनि

एकै छिनमा

तिम्रो साम्राज्यलाई

खरानी बनाउन पनि सक्छ।’

-सावधान, पृ. ७९

समकालीन नेपाली कविताका प्रभावशाली कविहरू आरएम डंगोल, गोविन्द नेपाल, डा. टङ्क उप्रेती, ठाकुर बेलवासे, प्रोल्लास सिन्धुलीय, मणि लोहनीसँग एकसाथ अँगालोमा बेरिएर सात कविहरूको समूह अर्थात् ‘पी सेभेन’मार्फत कविताको सौन्दर्य निर्माणमा जुटिरहेका कवि छविरमण सिलवालमा लेखक बन्नुको कुनै अतिरिक्त अभिमान छैन। बिनाअभिमान उनी जनका कुरा लेख्छन्, मनको आगो ओकल्छन् अनि समाज उज्यालो पार्ने प्रयास गर्छन्। छविका कविता छविजस्तै छन्, छवि उनकै कविताजस्ता लाग्छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *