Blog

  • संसद्‍मा रास्वपाको वेल घेराउ, राप्रपाको बहिष्कार

    संसद्‍मा रास्वपाको वेल घेराउ, राप्रपाको बहिष्कार

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको आजको बैठकमा वेल घेराउ गरेको छ । आफूहरुले उठाएका माग सरकारले नसुनेको भन्दै रास्वपाले संसद वैठकमा विरोध जारी राखेको हो । तर संसद बैठक भने जारी छ ।

    सभामुख देवराज घिमिरेले संसद बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपाका सांसद हरि ढकाललाई बोल्ने समय दिए ।

    उनले सरकारले भुइँमान्छेका आवाज नसुनेको भन्दै विरोध जनाए । संसदमा आफूहरुको आन्दोलन जारी रहेको बताएपछि रास्वपा सांसदहरु उठेर वेल अगाडि पुगेका छन् ।

    राप्रपाले भने आजको बैठक बहिष्कार गरेको छ । सभामुख घिमिरेले आज शून्य समय हटाइएको जानकारी दिएका छन् ।

  • सांसद थापाले संसद बैठकमै च्याते बजेट पुस्तिका

    सांसद थापाले संसद बैठकमै च्याते बजेट पुस्तिका

    नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले आर्थिक वर्ष २०८२/८३ को बजेट पुस्तिका संसद बैठकमै च्यातेका छन् । उनले अहिलेको बजेट उल्टो बाटोबाट हिँडेको भन्दै उनले संसद बैठकभित्रै बजेट पुस्तिका च्यातेका हुन् ।

    खासगरी भौतिक पूर्वाधार मन्त्रालयको बजेटले दैलेखमात्र होइन धेरै तिरका जनतालाई सम्बोधन गर्न नसकेको उनले बताए । बजेट नेतामुखी र मन्त्रीमुखी भएको आरोप उनले लगाए ।

    ‘यो बजेट साँच्चिकै जनताप्रति उत्तरदायी नलिएको र एकाधिकार कायम गरिएको हुनाले यो किताब मलाई मन नपरेर सदनभित्रै च्यात्ने अनुमति मागेर च्यातेको छु,’ सांसद थापाले भने ।

  • सात दिनमा ३० जना संक्रमित, कोरोना बढ्न थालेको संकेत

     मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै मानिसमा रुघाखोकी, ज्वरो, फ्लु जस्ता सङ्क्रमण देखिन थालेको हो ।

    इपिडिमिलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशन डा चन्द्रभाल झाले सिमा नाकामा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि अहिले त्यो पनि घटेको गएको बताए । उनका अनुसार नेपाल–भारत सीमाको सिमानापर्ने कञ्चनपुरमा केही भारतबाट आउनेमा सङ्क्रमण देखिएका छन् ।

    उनका अनुसार अहिलेसम्म (पुस १७ गते यता) १६० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो सात दिनमा ३० जना र २४ घण्टामा पाँच जनामा सङ्क्रमण देखिएको उनले बताए । सबैभन्दा बढी वागमती प्रदेशमा १२९, सुदूरपश्चिम प्रदेशमा १७, मधेश प्रदेशमा पाँच, कोशी तथा गण्डकी र लुम्बनी प्रदेशमा समान तीन÷तीन जनामा सङक्रमण देखिएको छ ।

  • दैलेखमा ठूलो परिमाणमा मिथेन ग्यासको सम्भावना

    दैलेखमा ठूलो परिमाणमा मिथेन ग्यासको सम्भावना

    दैलेखमा भइरहेको पेट्रोलियम अनुसन्धानको प्रारम्भिक नतिजाले ठूलो मात्रामा मिथेन ग्यास रहेको संकेत गरेको छ। खानी तथा भूगर्भ विभागका प्रवक्ता दिनेशकुमार नापितका अनुसार चिनियाँ प्राविधिक टोलीको अध्ययनले करिब १ अर्ब १२ करोड घनमिटर क्षेत्रफलमा मिथेन ग्यास हुनसक्ने देखाएको हो।

    यो अध्ययन चिनियाँ पक्षले नेपालसँगको सम्झौताअनुसार सहयोगस्वरूप गरेको हो। यद्यपि ग्यासको व्यावसायिक उत्पादनको सम्भाव्यता बुझ्न थप अध्ययन आवश्यक रहेको बताइएको छ।

    नापितका अनुसार अब सम्भावित ठाउँहरूमा परीक्षण उत्पादन गर्नुपर्ने भए पनि नेपालसँग जनशक्ति र प्रविधिको कमी रहेको छ। विभागले थप अध्ययनका लागि चिनियाँ पक्षसँग पुनः सहयोग लिन सरकारलाई सुझाव दिइसकेको छ।

    प्रारम्भिक अनुमानले मिथेन ग्यासको उपस्थिति देखाए पनि कति परिमाणमा व्यावसायिक रूपमा उत्पादन गर्न सकिन्छ भन्ने निष्कर्ष आगामी डिसेम्बरसम्म आउने अपेक्षा गरिएको छ।

  • रास्वपाले असार ७ मा तेस्रो स्थापना दिवस मनाउने

    रास्वपाले असार ७ मा तेस्रो स्थापना दिवस मनाउने

    whatsapp sharing button
     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही असार ७ गते तेस्रो स्थापना दिवस मनाउने भएको छ ।

    ‘लुटतन्त्रको खारेजी एवम् सुसंस्कृत राजनीतिको संवद्र्धनका लागि सडक र संसद्मा’ भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गर्दै तेस्रो स्थापना दिवस मनाउने रास्वपाको सचिवालय बैठकले निर्णय गरेको हो ।

    बुधवार बसेको पार्टीको सचिवालयको बैठकले स्थापना दिवसका दिन बिहान पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बस्नेलगायत विभिन्न नौ बुँदे निर्णय गरेको छ ।

  • अमेरिकाले फेरि थाल्यो विदेशी विद्यार्थीलाई भिसा दिने प्रक्रिया राख्यो

    अमेरिकाले फेरि थाल्यो विदेशी विद्यार्थीलाई भिसा दिने प्रक्रिया राख्यो

     अमेरिकाले एक महिना अगाडि स्थगित गरेको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना प्रक्रिया पुनः सुचारु गर्ने भएको छ।

    यद्यपि जसका लागि केही शर्त थपिएको छ। प्रमुखरुपमा पढन् जाने विद्यार्थीको सामाजिक सञ्जालको एकाउन्ट भने पब्लिक बनाउन भनेको छ।

    यसका लागि, सबै आवेदकहरूलाई उनीहरूको सामाजिक सञ्जाल प्रोफाइलको गोपनीयता सेटिङ सार्वजनिक राख्न निर्देशन दिइनेछ।

    ‘हामी हाम्रो भिसा जाँचमा उपलब्ध सबै जानकारीहरू अमेरिकामा प्रवेशको लागि योग्य नहुन सक्ने आवेदकहरू, विशेष गरी राष्ट्रिय सुरक्षामा खतरा निम्त्याउन सक्ने व्यक्तिहरू पहिचान गर्न प्रयोग गर्छौँ,’ मन्त्रालयले एक प्रेस विज्ञप्तिमा भनेको छ।

    नयाँ दिशानिर्देशहरू अन्तर्गत, आवेदकहरूको अनलाइन उपस्थिति सहित व्यापक र कडा छानबिन गरिने बताइएको छ।

    मन्त्रालयका अनुसार विदेशमा रहेका अमेरिकी दूतावास र वाणिज्य दूतावासहरूले चाँडै नै यी भिसा आवेदनहरूको तालिका पुनः सुरु गर्नेछन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका आफ्ना दूतावासहरूलाई विद्यार्थी भिसाका लागि अपोइन्टमेन्ट रोक्न आदेश दिएका थिए।

    ट्रम्प प्रशासनले आवेदकहरूको सामाजिक सञ्जाल खाताहरूको गहन अनुसन्धान गर्ने योजनामा काम गरिरहेको बताएको थियो।

    ओपन डुअर्सका अनुसार अमेरिकामा २०२३(०२४ मा ११ लाख अन्तर्राष्ट्रिय विद्यार्थी थिए। जसमा पहिलो भारतबाट साढे ३ लाख बढी, दोस्रोमा २ लाख ८० हजारसहित चीनबाट छन् भने करिब १७ हजार नेपाली त्यहाँ अध्ययनरत छन्।

     

  • सर्पको टोकाइबाट १३ वर्षीय किशोरको मृत्यु

    सर्पको टोकाइबाट १३ वर्षीय किशोरको मृत्यु

    whatsapp sharing button
     परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पले डसेर मृत्यु भएको छ । जोगबुडास्थित इलाका प्रहरी कार्यालयका अनुसार आज बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो ।

    तत्काल अस्पताल पुर्‍याइएका निजको उपचारका क्रममा मृत्यु भएको हो । उनी स्थानीय शिवशङ्कर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत रहेका थिए ।

  • ११ महिनामा बढ्यो सवा दुई खर्ब सार्वजनिक ऋण

    ११ महिनामा बढ्यो सवा दुई खर्ब सार्वजनिक ऋण

     
     चालु आर्थिक वर्षको ११ महिनामा देशमा सवा दुई खर्ब बढी सार्वजनिक ऋण थपिएको छ ।

    चालु आर्थिक वर्षको असार मसान्तसम्म कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ रहेकोमा जेठ मसान्तसम्म आइपुग्दा उक्त ऋणको हिस्सा दुई खर्ब २० अर्ब ५८ करोडले थपिएर २६ खर्ब ५४ अर्ब ६६ करोड ८ लाख पुगेको हो ।

    ११ महिनामा सवा दुई खर्ब ऋण थपिएसँगै देशको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४३.४७ प्रतिशत पुगेको छ ।

    जुन ऋणमा वैदेशिक ऋणको हिस्सा ५२.०६ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.९४ प्रतिशत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार जेठ मसान्तसम्म आन्तरिक ऋण दायित्व १२ खर्ब ७२ अर्ब ५३ करोड ३० लाख रुपैयाँ रहेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको २२.३१ प्रतिशत हो ।

    त्यस्तै, समीक्षा अवधिसम्म वैदेशिक ऋण दायित्व १३ खर्ब ८२ अर्ब १२ करोड ७८ लाख रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको २४.२३ प्रतिशत हो ।

    सरकारले चालु आर्थिक वर्षमा पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा जेठ मसान्तसम्म चार खर्ब १४ अर्ब १९ करोड प्राप्ति गरेको जनाएको छ । त्यस्तै, लक्ष्य अनुसार समीक्षा अवधिमा आन्तरिक ऋण ९५.४५ र बाह्य ऋण ४५.७२ प्रतिशत प्राप्त भएको कार्यालयले प्रतिवेदनमा उल्लेख गरेको छ ।

    कार्यालयका अनुसार सरकारले चालु आर्थिक वर्षका लागि सार्वजनिक ऋण सेवाका लागि चार खर्ब दुई अर्ब ८५ करोड २६ लाख बजेट व्यवस्था गरेको थियो । जसमध्ये जेठ मसान्तसम्म ८१ प्रतिशत खर्च भएको छ ।

    सो अवधिसम्म कुल ऋण भुक्तानीमध्ये आन्तरिक ऋण भुक्तानीको लागि ८२.४२ प्रतिशत र बाह्य ऋण भुक्तानीको लागि ७८.७२ प्रतिशत खर्च गरेको छ ।

     

  • रुकुमपश्चिमका तीन पालिका पूर्णखोप सुनिश्चित

    रुकुमपश्चिमका तीन पालिका पूर्णखोप सुनिश्चित

    रुकुम पश्चिमका तीन वटा पालिकालाई पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिकालाई जेठ २६ गते, मुसिकोट नगरपालिका असार १ गते र आठबिसकोट नगरपालिकालाई असार ३ गते पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषणा गरिएका हो । तीन वटै पालिकाका १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै खोप पाएपछि पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापक डा. महेश चौलागाईले जानकारी दिए । उनले राष्ट्रिय पूर्ण खोप निर्देशिका, २०७१ को तेस्रो संस्करण २०७७ बमोजिम सम्पूर्ण प्रक्रियाहरु पुरा गरेर पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको बताए ।

    “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता: पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ पालिकालाई पूर्णखोप सुनिश्चतता तथा दिगोपना घोषणा गरिएको हो । चौरजहारी नगरपालिका, बाँफिकोट र सानीभेरी गाउँपालिकालाई पनि घोषणाको तयारी भईरहेको स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाईजर निरीक्षक कृष्णा खड्काले जानकारी दिए । उनका अनुसार जिल्लाका छ वटै पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएपछि यसै आर्थिक वर्षभित्र जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने कार्यक्रम रहेको छ । स्वास्थ्य सेवा कार्यालयका अनुसार त्रिवेणी गाउँपालिकाका १६ महिनादेखि ५९ महिनासम्मका एक हजार २२० जना, मुसिकोट नगरपालिकाका एक हजार ७३२ जना र आठबिसकोटका दुई हजार १२५ जना बालबालिकाले पूर्ण खोप पाएका छन् ।

    पालिकाभित्र रहेका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाएपछि पालिकालाई पूर्णखोप सुनिश्चिता पालिका घोषणा गर्ने गरिन्छ । स्वास्थ्यचौकीबाट खोप लाएको प्रमाणीकरण वडास्तरीय खोप समन्वय समितिले गरेपछि पालिकालाई सिफारिस गर्ने गर्दछ । नगरप्रमुख तथा गाउँपालिका अध्यक्षको नेतृत्वमा रहेको पालिकास्तरीय खोप समन्वय समितिले स्वाथ्यकर्मीहरुको संलग्नतामा घरधुरी सर्वेक्षण तथा लगत संकलन गरी प्रमाणीकरण गरेपछि पालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिने प्रावधान रहेको छ । पालिकाले जिल्ला खोप समन्वय समितिलाई प्रमाणीकरणसहितको सिफारिस गरेपछि मात्रै जिल्लालाई नै पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिन्छ ।

  • कोपिला भ्याली स्कूल विश्वकै उत्कृष्ट १० मा

    कोपिला भ्याली स्कूल विश्वकै उत्कृष्ट १० मा

    विश्वकै उत्कृष्ट १० मा कोपिला भ्याली स्कूल पर्न सफल भएकोछ । उत्कृष्ट विद्यालय पुरस्कार २०२५ (World s Best School Prizes 2025) अन्तर्गत वातावरणीय कार्य श्रेणीमा शीर्ष १० मा स्थान बनाउँदै नेपालको नाम विश्वमा रोसन गरेको छ ।
    विश्वव्यापी रूपमा शिक्षा क्षेत्रमा दिगो, नवप्रवर्तनशील र समाजमा सकारात्मक प्रभाव पार्ने विद्यालयहरूलाई सम्मान गर्न सन् २०२२ देखि सुरु गरिएको यस पुरस्कारमा नेपालबाट पहिलोपटक कुनै विद्यालय अन्तिम १० मा छनोट भएको हो ।
    ‘ग्रीन स्कूल’ अवधारणामार्फत वातावरण संरक्षणलाई शिक्षाको अभिन्न अङ्ग बनाउने यस विद्यालयको प्रयासलाई विश्व समुदायले उच्च मूल्याङ्कन गरेको छ ।
    कोपिला भ्याली स्कूल एक स्वतन्त्र, गैरनाफामूलक संस्था हो, जसले कर्णाली प्रदेशको वीरेन्द्रनगरमा विपन्न पृष्ठभूमिका ४ सय भन्दाबढी बालबालिकाहरूलाई गुणस्तरीय शिक्षाका साथै वातावरणीय सचेतना र दिगोपनासँग सम्बन्धित शिक्षा प्रदान गर्दै आएको छ ।
    यो पुरस्कार वातावरणीय कार्य, समुदाय सहकार्य, नवप्रवर्तन, चुनौती पार गर्ने क्षमता, र स्वस्थ जीवनशैली यी पाँच विधामा प्रदान गरिन्छ । विज्ञ निर्णायक मण्डलद्वारा विजेताहरू छनोट गरिनेछन् । साथै, हाल सार्वजनिक अनलाइन भोटिङ पनि खुल्ला गरिएको छ, जहाँ विश्वभरका मानिसहरूले आफ्नो मनपर्ने विद्यालयलाई समर्थन गर्न सक्नेछन् ।
    सन् २०२५ अक्टोबरमा विजेता विद्यालयहरूको घोषणा गरिनेछ । यसका साथै, शीर्ष ५० मा छनोट भएका सबै विद्यालयहरूलाई नोभेम्बर १५–१६ मा अबुधाबी, यूएईमा आयोजना हुने ग्लोबल नीति संवाद कार्यक्रममा आमन्त्रण गरिनेछ ।
    त्यहाँ विद्यालयका प्रतिनिधिहरूले विश्वभरका नीति निर्माताहरू तथा शिक्षाविद्हरूसँग आफ्ना अनुभव र कार्यदिशा साझा गर्ने अवसर प्राप्त गर्नेछन् । नेपालको तर्फबाट यस्तो उपलब्धि हासिल गर्नु केवल कोपिला भ्याली स्कूलको मात्र नभई, समग्र नेपाली शिक्षा क्षेत्रको लागि गर्वको विषय हो ।