२०८३ जेठ ५ , मंगलबार

हुम्लामा संस्कृति संरक्षणका लागि वेशभूषा प्रदर्शनी



हुम्ला जिल्लामा आफ्नो परम्परागत संस्कृति जगेर्ना र संरक्षण गर्न सिमकोटमा वेशाभूषासहितको प्रदर्शनी गरिएको छ ।

संस्कृति जर्गेना गर्दै नयाँ पुस्तालाई यसबारे जानकारी गराउन प्रदर्शनी गरिएको सिमकोट गाउँपालिका–५ का वडाध्यक्ष चीनबहादुर रावतले बताए। आफ्नो पहिचान विस्तारै लोप हुने अवस्थामा देखिन थालेपछि यसको संरक्षणका लागि यस्तो कार्यक्रम आवश्यक रहेको उनले बताए । उनले गाउँपालिकाबाट बजेट व्यवस्थापन गरेर कार्यक्रम गरिएको जानकारी दिँदै नयाँ र पुरानो पुस्ताबाट सांस्कृतिक झाँकी प्रदर्शनी गरिएको बताए । प्रदर्शनीमा महिलाले चोली, दोपट्टालगायत परम्परागत पोसाकमा गरगहनासहित सजिएर मागल, चाँर्ची, चुटकिला, फाग, भारी गीत गाएका थिए ।

पुरुषले पनि आफ्नो परम्परागत पोसाकमा सजिएर ढाल, तरबार, फुर्का नाच प्रस्तुत गरेका थिए । त्यसै गरी बाझा नाच, हुड्के, फुर्का नाच पनि प्रदर्शनीमा प्रस्तुत गरिएको थियो । सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला भामरोकायाले यस्ता कार्यक्रमबाट सांस्कृतिक पहिचानलाई बढावा मिल्ने बताइन् ।

प्रकाशित मिति : २०८२ असार ३ गते मंगलबार