Blog

  • बाढीले सल्यानमा निर्माणाधीन पुल र सडकमा क्षति

    बाढीले सल्यानमा निर्माणाधीन पुल र सडकमा क्षति

    सल्यानमा मंगलबार रातीदेखि परेको वर्षापछि आएको बाढीका कारण शारदा नगरपालिका १ श्रीनगर र १२ रेसमज्युलामा पाँच घरमा क्षति पुगेको छ । यस्तै सडक र अटो भिलेजमा राखिएका सवारी साधन पनि पुरिएका छन् ।

    श्रीनगरको अधेरीखोलामा आएको बाढी घरभित्र पस्दा ४५ वर्षीय सागरराज पाण्डे, ६५ वर्षीय डिल्लीबहादुर हमाल, ६७ वर्षीया सोबी चलाउने, ६० का रेसम श्रेष्ठको घर, ३३ की संगिता डाँगीको किराना पसल र रेसमखोलामा आएको बाढीले रेसमज्युलास्थित दिपक एण्ड पुरन डेन्टिङ्ग पेन्टिङ्ग वर्कसपमा मर्मत परेर राखेको रा १ ज ५२८ नम्बरको बोलेरो जीप आधा पुरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेसमबहादुर खत्रीले बताएका छन् ।

    खोला मिचेर सञ्चालन गरिएको उक्त वर्कसप र वर्षातपछि खोलामा आएको बाढीले बगाई ल्याएको लेदो माटो, ढुंगाले वर्कसपको आधा आगन पनि पुरिएको र अन्य सामानमा पनि क्षति पुगेको उनले जानकारी गराए । बाढीले एक किलोमिटर सडक पूर्ण रुपमा क्षतिग्रस्त बनेको, केही रोपनी खेत पुरिएको, कटान गर्दा केही व्यक्तिका घर र एडिबीको बजेटमा निर्माण गर्न थालिएको १ करोड रकम बराबरको शौचालय जोखिममा परेको वडाध्यक्ष सुरेन्द्र बुढाले बताए ।

  • नेपालद्वारा नेदरल्याण्ड्सलाई १६ रनले पराजित

    नेपालद्वारा नेदरल्याण्ड्सलाई १६ रनले पराजित

     आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालले नेदरल्याण्ड्सलाई लगातार दुई खेलमा हराएको हो ।

    मंगलवार स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २२० रनमा समेटियो ।

    नेपालको जितमा नन्दन यादव र सन्दीप यादवले तीनरतीन विकेट लिए । ललित राजवंशीले दुई विकेट लिँदा करण केसी र कुशल भुर्तेलले एकरएक विकेट हात पारे ।

    नेदरल्याण्ड्सका लागि वास्ली बारेसीले सर्वाधिक ३६ रन बनाए भने स्कट एडवार्डले ३० र केले केलिनले २५ रन बनाए । उसका लागि ओपनर मिचेल लेभिटले २७ रन बनाउँदा नोहा क्रोएसले २२ र तेजा निदामानुरुले १७ र रोएलोफ भान डेर मेरवेले १६ रन बनाए ।
  • पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी

    पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी

     पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

    साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो।

    उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको स्रोतले जानकारी दिएको छ।

  • डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

    डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

     क्यालिफोर्नियाका गभर्नर गेभिन नुजुमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन् ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पले १०औं संशोधनअन्तर्गत राज्य सरकारको अधिकारमा ‘अतिक्रमण’ गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।

    ट्रम्प प्रशासनको जालमा नपरून् भन्दै यसअघि नै लस एन्जलसकी मेयर करेन बासले एक्समा पोस्ट गर्दै प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण रूपमा विरोध गर्न आह्वान गरेकी छन्। ‘शान्तिपूर्ण रूपमा विरोध गर्नुहोस्। लुटपाट र तोडफोड सहन गरिने छैन’, उनले भनेकी छन्।

    प्रदर्शनका क्रममा त्यहाँको सुरक्षा निकाय ‘नेसनल गार्ड’को तैनाथीका सन्दर्भमा क्यालिफोर्नियाका गभर्नर नुजुम र एलएका मेयर बासले निन्दा गर्दै परिस्थिति सम्हाल्न स्थानीय प्रहरी सक्षम रहेको जनाएका थिए ।

  • डीएसपी भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

    डीएसपी भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

     नेपाल प्रहरीको नायव उपरीक्षक (डीएसपी) भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरूमा काभ्रेको चौँरी देउरालीका ४५ वर्षीय ज्ञानबहादुर लामा भनिने ज्ञानु तामाङ र सुनसरीको इटहरी पाँचघरेका ४२ वर्षीय रेवती ओझा छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काडमाडौंको टोलीले पक्राउ गरेको हो ।

    उनीहरूले ६ लाख रुपैयाँ ठगी गरेको आरोप छ र अनुसन्धानका लागि ५ दिनको म्याद लिइएको छ।

  • जनताको असन्तुष्टिलाई आधार मानेर निरङ्कुशता फर्काउन खोज्दैछन् : प्रचण्ड

    जनताको असन्तुष्टिलाई आधार मानेर निरङ्कुशता फर्काउन खोज्दैछन् : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक नेतृत्वले जनता केन्द्रित प्रभावकारी काम गर्न नसक्दा असन्तुष्टि बढेको बताएका छन्।

    म्याग्दी हुँदै मुस्ताङ जाने क्रममा आज बिहान म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित भुरुङ–तातोपानी, रुप्से झरना र अन्धगल्छीको अवलोकनपछि जनप्रतिनिधि र स्थानीयसँग अन्तरक्रिया गर्दै उनले यस्तो बताएका हुन्।

    उनले भने, ‘राजनीतिक नेतृत्वले जनता केन्द्रित प्रभावकारी काम गर्न नसक्दा जनतामा केही हदसम्म असन्तुष्टि बढ्ने गरेको छ। जनताको असन्तुष्टिलाई आधार मानेर केही तत्त्व मुलुकलाई पुनः निरङ्कुशतातर्फ फर्काउन खोजिरहेका छन् । यसका विरुद्ध सबै गणतन्त्र पक्ष एकजुट हुनु जरुरी छ।’

    देशका विभिन्न ठाउँमा पुग्दा जनताले सुशासन, समृद्धि र राजनीतिक स्थायित्व चाहेको बताउँदै उनले सबैको सहकार्य र समन्वयमा अहिलेको व्यवस्थालाई सुधार गरेर लैजानुपर्ने धारणा राखे।

    अध्यक्ष दाहालले रणनीतिक महत्त्वको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिलाई पूर्णता दिन, पहिरो तथा नदी कटान रोकथाम गर्न र कोरला नाका व्यापारिक रूपमा सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता पनि जनाएका छन्।

  • तीनकुने घटनामा घाइते खत्रीलाई सहयोग रकम हस्तान्तरण

    तीनकुने घटनामा घाइते खत्रीलाई सहयोग रकम हस्तान्तरण

     संयुक्त जनआन्दोलन समितिले तीनकुने घटनामा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्चुगलबाट प्राप्त सहयोग रकम हस्तान्तरण गरेको छ । समितिका संयोजक नवराज सुवेदी नेतृत्वको टोलीले बुधबार महाराजगन्जस्थित शिक्षण अस्पताल पुगी आठ लाख उनन्चालीस हजार चार सय रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन् ।  हस्तान्तरण कार्यक्रममा निर्देशक समितिका सदस्यहरू डा.प्रकाशचन्द्र लोहनी र हरिबहादुर बस्नेतकाे पनि सहभागिता रहेको थियो ।

    रमेशराज बास्तोलाको संयोजनमा लिजवन पोर्चुगलबाट उपलब्ध सहयोग उनीहरुले हस्तान्तरण गरेका हुन् । टोलीमा राप्रपाका प्रवक्ता सगुन सुन्दर लावती, जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाल, राप्रपाका केन्द्रीय सदस्य धनसुर शाही  पनि उपस्थित थिए । शिक्षण अस्पतालमा खत्रीको उपचार जारी छ ।
  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

      मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु. एक हजार ३०० र चाँदीमा रु. १५ ले बढोत्तरी भएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोल सुनको मोल रु. एक लाख ९१ हजार ३०० कायम भएको छ भने एक तोला चाँदी रु.दुई हजार १६५ मा कारोबार भइरहेको छ ।

    अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३४१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

  • भीरबाट लडेर एक महिलाको मृत्यु

    भीरबाट लडेर एक महिलाको मृत्यु

     कालिकोट जिल्लामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

    चौपायालाई घाँस काट्न गएकी खाँडाचक्र–२ की ४४ वर्षीया पाँचा खड्काको मंगलबार बेलुकी घटनास्थलमै मृत्यु भएको आफन्त गंगा खड्का बोगटीले जानकारी दिइन् । उनी घर नजिकैको भीरमा घाँस काट्न गएकी थिइन् । माओवादी केन्द्रकी केन्द्रीय सदस्य गंगाले भनिन् , फर्किने क्रममा घाँसको भारीसहित खसेर घटनास्थलमै मृत्यु भयो । उनको शवको जिल्ला अस्पताल मान्ममा पोस्टमार्टम गरेर बुधबार दाहसंस्कारका लागि आफन्तलाई बुझाइएको अस्पतालले जनाएको छ ।

    खड्काका पति र तीन छोराछोरी छन् । भीरबाट लडेको खबर आएपछि सशस्त्र प्रहरीसहित स्थानीयले भीरबाट निकाल्दा मृत्यु भइसकेको स्थानीय खगेन्द्र बरालले बताए ।

  • आमालाई पोषिलो पिठो वितरण

    आमालाई पोषिलो पिठो वितरण

     मातृ तथा शिशु स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यसहित सिद्धकुमाख गाउँपालिकाले ‘अध्यक्ष पोषण कार्यक्रम’ अन्तर्गत ६५९ जना हजार दिने आमाहरूलाई पोषिलो पिठो वितरण गरेको छ ।

    कुपोषण न्यूनीकरणका लागि सञ्चालन गरिएको कार्यक्रमले स्थानीयस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । गाउँपालिका अध्यक्ष भरत गिरीका अनुसार उक्त पिठो वितरण वडा नं. १ मा १७८ जना, वडा नं. २ मा १११ जना, वडा नं. ३ मा १२६ जना, वडा नं. ४ मा ८८ जना र वडा नं. ५ मा १५६ जना आमालाई गरिएको हो । कुपोषणको समस्या दीर्घकालीन रूपमा समाधान गर्न यो कार्यक्रम थालिएको हो । सिद्धकुमाख गाउँपालिका अध्यक्ष भरत गिरीले हजार दिने अवधिमा रहेका आमाहरूको स्वास्थ्यमा सुधार ल्याउन पोषिलो पिठो वितरण गरिएको हो । कुपोषणको समस्या केवल खानेकुरा अभावका कारण नभई पोषणसम्बन्धी ज्ञानको कमीका कारण पनि देखिएको छ । प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले सन्तुलित आहारबारे जानकारी अभावका कारण पनि बालबालिका कुपोषणको सिकार भएका भएकाले पिठो वितरणसँगै व्यवहार परिवर्तनका कार्यक्रम सञ्चालन गरिएको बताए । उनले भने, समुदाय स्तरमा सचेतनाका लागि कार्यक्रम गर्दे आएका छौं ।

    गाउँपालिकाले वितरण गरेको पोषिलो पिठोमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, आइरन, जिंक र फोलिक एसिडजस्ता सूक्ष्म पोषकतत्व मिसाइएको छ । स्थानीयस्तरमै उत्पादन गरिएका अन्नबाली प्रयोग गरी तयार पारिएको उक्त पिठो गुणस्तरीय र सुलभ रहेको जनाइएको छ। सिद्धकुमाख–१ की रेखा रानाले पिठो पाएपछि खुसी व्यक्त गर्नुभयो। उहाले भन्नुभयो गर्भवती महिलाका लागि यस्तो पोषणयुक्त सामग्री उपयोगी हुन्छ । काखखोलाकी ललिता रेउले पोषिलो पिठोसँगै पोषणको बारेमा जानकारी पाएपछि स्थानीय स्रोत साधनको प्रयोग गरी निरन्तरता दिने बताइन् । उनले भनिन् घरमै उत्पादन भएका अन्न, फलफुललाई पोषणका रुपमा प्रयोग गर्न सकिने रहेछ ।

    गाउँपालिकाले आगामी दिनमा विद्यालय तहमा पोषण शिक्षा कार्यक्रम सञ्चालन गर्ने, स्थानीय कृषकसँग सहकार्य गरी पोषणयुक्त बाली प्रवद्र्धन गर्ने, तथा समुदायलाई लक्षित गरी पोषणसम्बन्धी नियमित तालिम सञ्चालन गर्ने योजना बनाएको जनाएको छ। पोषण विज्ञ निरज केसीले खान नपाएर भन्दा पनि सही तरिकाले खान नजानेर बालबालिका कुपोषित हुने गरेको बताए । उनले भने स्थानीय सरकारको यस्तो कार्यक्रमले पोषण व्यवहार सुधार्न सहयोग पु¥याउँछ। गर्भावस्थादेखि शिशु दुई वर्ष पुग्दासम्मको ‘हजार दिने’ अवधिलाई शारीरिक तथा मानसिक विकासका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। सोही अवधिका आमाहरूलाई लक्षित गरी गरिएको यो पहल मातृ तथा शिशु मृत्यु दर न्यूनीकरणमा पनि प्रभावकारी हुने अपेक्षा गरिएको छ।