मणिसाँघुमा सुरक्षित सुत्केरी सेवाका लागि डेढ करोडको बर्थिङ सेन्टर

 जुम्ला र डोल्पाको सिमा क्षेत्रमा पर्ने दुर्गम मणिसाँघु गाउँमा सुविधायुक्त प्रसुती गृह निर्माण हुने भएको छ ।

भौगोलिक रुपमा विकट मणिसाँघुका गर्भवती महिलाहरु स्वास्थ्य संस्थामा पुग्न नसक्ने र घरमै सुत्केरी हुनु पर्ने बाध्यतालाई मध्यनजर गर्दै सुविधायुक्त प्रसुति गृह (बर्थिङ सेन्टर) निर्माण हुने भएको हो । हिमानी कोषको एक करोड ५० लाख लगानीमा बन्ने प्रसुति गृहको शनिवार हिमानी शाह र उनका छोरा हृदयन्द्र शाहले संयुक्त रुपमा शिलान्यास गरे । दुर्गमका महिलालाई सुत्केरी गराउन कठिन भइरहेको अवस्थालाई मध्यनजर गर्दै कोषले मणिसाँघुमा बर्थिङ सेन्टर बनाउने योजना बनाएको कोषका जुम्ला संयोजक गोर्कण कठायतले बताए । गाउँमा सडक पुगेपनि भनकै बेला एम्बुलेन्स सेवा नपुग्ने,एम्बुलेन्स पुगेपनि कर्णाली स्वास्थ्य विज्ञान सम्म पुराउदैँ गर्दा ज्यानै सम्म जाने जोखिम समेत रहेकाले मणिसाँघुमै निर्माण प्रसुति गृहले ग्रामिण महिलालाई राहत पुग्ने अपेक्षा गरिएको छ । संयोजक कठायतले भने, कोषले प्रसुति गृह निर्माणका लागि एक करोड ५० लाख रुपैयाँ लगानी गर्ने छ । हिउँदमा अत्यधिक चिसो हुने भएकोले चिसोलाई मध्यनजर गर्दै संरचना निर्माण हुने छन् । अबको ६ महिनाभित्र प्रसुति गृह निर्माण सम्पन्न हुने छ ।

राष्ट्यि प्रजातन्त्र पार्टीका प्रमुख सचेतक सांसद ज्ञानेन्द्र शाहीले सरकार पुग्न नसकेको ठाउँमा हिमानी कोषले सेवा भावका दृष्टीले डेढ करोड लगानी गरेर प्रसुति गृह निर्माण गर्नु स्वागत योग्य काम भएको बताए । यो पूर्वाधार निर्माणले सरकारकै संस्थागत सुत्केरीलाई शतप्रतिशत पुराउने अभियानलाई सघाउने उल्लेख गरे । भौगोलिक कठिनाईकै कारण समयमै औषधी उपचार नपाएर मृत्युवरण गर्नुपर्ने विवस्था अहिले पनि छ । स्थानीय तहमा सिमित स्रोतका कारण एकै क्षेत्रमा करोड खर्च गर्न सक्ने स्थिती नहुने भएकोले आबश्यकता मशसुस गर्दै हिमानी कोषले मणिसाँघुमा प्रसुति गृह बनाउन लागेकोमा गुठिचौर गाउँपालिका अध्यक्ष दान बहादुर बुढाले धन्यबाद दिए । डेढ करोड लागतमा दुईवटा सुविधायुक्त भवन बन्नेछन् । ६ महिनाभित्र बर्थिङ सेन्टर निर्माणको काम सम्पन्न भएर सेवा प्रारम्भ हुने लक्ष्य राखिएको गुठिचौर गाउँपालिका १ का अध्यक्ष अर्जुन महाताराले बताए । उक्त प्रसुति गृह बनेपछि गुठीचौर–१ र २ का ९ वटा बस्तीका हजारौ महिला लाभान्वित हुने छन् ।

गाउँमा भरपर्दो स्वास्थ्य सेवा नपाउदा कैयौं गर्भवती घरमै सुत्केरी हुने गरेका छन् । केही त अस्पताल लैजाँदा बाटोमै सुत्केरी भइरहेको भेटिन्छन् । वडाध्यक्ष महताराले भने, अब बर्थिङ सेन्टरमै सुरक्षित रुपमा सुत्केरी गराउने वातावरण बनेको छ । यो दुर्गममा हाम्रा लागि निकै खुसीको कुरा पनि हो । सबैभन्दा प्रभावित महिला केन्द्रित यस्ता पूर्वाधार निर्माण तीनै तहको सरकारले ध्यान दिन जरुरी छ । बर्थिङ सेन्टरका लागि गुठीचौर–१ का लेखक महताराले निःशुल्क जग्गादान गरेका छन् । उनलाई हिमानी शाहले दोसल्ला ओढाई कदरपत्रले सम्मान गरिन् । यसैबीच हिमानी कोषकै लगानीमा हिमा गाउँपालिका वडा नं. ७ को माथिकुडुमा निर्माण भएको बृहत्त सिँचाई पोखरीको समेत उद्घाटन गरिएको छ । त्यस क्षेत्रका खेती योग्य बाँझो जमिनमा सिँचाई सुविधा विस्तार गर्न स्थानीयको मागका आधारमा बृहत्त सिँचाई पोखरी निर्माण गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *