Blog

  • जनताको असन्तोषलाई समस्या मान्नु हुँदैन : पोखरेल

    जनताको असन्तोषलाई समस्या मान्नु हुँदैन : पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतामा बेला–बेला देखिने असन्तोषलाई समस्या मान्न नहुने बताएका छन् ।

    १५ जेठमा आयोजना गरिएको कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पोखरेलले असन्तोष जनतामा मात्र नभएर राजनीतिक दलहरूमा पनि आउने बताए ।

    ‘जनताको असन्तोष समस्या होइन । राजनीतिक दलहरूमा पनि असन्तोष हुन्छ, चाहे जति परिवर्तन भएन भन्ने हुटहुटी हुन्छ,’ उनले भने, ‘हामी पनि थप प्रगतिका लागि हतारिएका छौं । त्यसैले हामी जनताको असन्तोषलाई सामान्य मान्छौं ।’

    महासचिव पोखरेलले असन्तोषलाई सामान्य माने पनि नकारात्मकताको प्रसारलाई भने सामान्य मान्न नहुने बताए ।

    ‘हामी यति धेरै नकारात्मक बनेका छौं कि भइरहेको सुधारलाई पनि देख्न छाडेका छौं,’ पञ्चायतकालको अन्तिम समययता मुलुकले गरेको प्रगतिको लामो तथ्यांक प्रस्तुत गरेपछि उनले भने, ‘यो नकारात्मकता चिर्न राजनीतिक दलहरू जनताको बीचमा जानुपर्छ भनेर नै हामीले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउन लागेका हौं ।’

    उनले लामो समयदेखि सरकार स्थिर बन्न नसक्दा पनि जनतामा असन्तोष देखा पर्ने गरेको उनले बताए । ‘जति गर्नुपर्ने हो त्यति गर्न हामीले सकेका छैनौं । किनभने, परिणाम निकाल्न रजनीतिक स्थिरता आवश्यक छ । अस्थिरताले चाहेजति काम गर्न सकेनौं । त्यसैले अहिले बलियो राष्ट्रिय शक्ति निर्माणका लागि हामी अगाडि बढिरहेका छौं ।’

  • उपकुलपतिको कार्यकक्षमा नेविसंघको तोडफोड

    उपकुलपतिको कार्यकक्षमा नेविसंघको तोडफोड

     त्रिभुवन विश्वविद्यलयका उपकुलपति प्राडा खड्क केसीको कार्यकक्षमा तोडफोड भएको छ ।

    नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघका नेता–कार्यकर्ताले बुधबार केसीको कार्यकक्ष तोडफोड गरेका हुन् । उनीहरूले रेक्टर कार्यालयमा तालाबन्दी पनि गरेका छन् ।

    सानोठिमी, भक्तपुर, पाटन र सरस्वती क्याम्पसमा नेविसंघबाट निर्वाचित भएका स्ववियु अध्यक्षहरूले तोडफोड र तालाबन्दी गरेका हुन् ।

    उनीहरूले परीक्षाको बेला अनियमित विद्यार्थी भर्ना गर्न दबाब दिँदै तोडफोड र तालाबन्दी गरेको बताइएको छ । त्रिविको शैक्षिक क्यालेण्डर अनुसार स्नातक तहको प्रथम वर्षको परीक्षा असारभित्र गराउनुपर्ने छ ।

    सोहीअनुसार त्रिविले परीक्षा फारम खुलाएको थियो । फाराम खुलेपछि विद्यार्थी भर्ना बन्द हुन्छ । तर, नेविसंघका नेता–कार्यकर्ता शैक्षिक क्यालेन्डरविपरीत विद्यार्थी भर्नाका लागि दबाब दिन तोडफोडमा उत्रिएका हुन् ।

    यसअघि नेविसंघका विद्यार्थी नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै भर्ना खोल्न दबाब दिएका थिए । स्ववियु निर्वाचनका बेला विद्यार्थी भर्ना रोकिएकाले अहिले भर्ना खोल्नु पर्ने उनीहरूको दावी छ ।

  • यु–१६ पुरुषको क्रिकेट राष्ट्रिय प्रतियोगिता कर्णालीमा हुने

    यु–१६ पुरुषको क्रिकेट राष्ट्रिय प्रतियोगिता कर्णालीमा हुने


    यू–१६ क्रिकेट राष्ट्रिय प्रतियोगिता जेठ १९ गतेदेखि ३१ गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ । नेपाल क्रिकेट संघको आयोजना र कर्णाली प्रदेश क्रिकेट संघको सह–आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

    २०२५ मा हुने एसिसि यू–१६ इष्ट जोन कप २०२५ लाई मध्यनजर राखेर प्रतियोगिता हुन लागेको हो ।

    हाल कर्णाली प्रदेशले क्रिकेटमा ठुलो उपलब्धी हासिल गरिरहेको र कर्णाली प्रदेशको सुर्खेतमा पहिलो पटक आयोजना हुन लागेको र प्रतियोगिताले यस प्रदेशको आर्थिक गतिबिधिसँगै खेल क्षेत्रको विकासमा टेवा पुग्ने नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष तथा कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर खड्का बताए । ‘यस प्रतियोगिताबाट यु–१६ को पुरुष टिमका लागि राष्ट्रिय खेलाडी छनौट गर्ने लक्ष्य राखिएको छ,’ उनले भने,‘सातै प्रदेशका खेलाडीहरुको सहभागिता रहनेछ ।’

    खेल लिग चरणमा हुने, सातै प्रदेशबाट सहभागिता रहने र जम्मा २१ खेल हुने प्रतियोगिता संयोजक श्रीधर केसीले जानकारी दिए । उनका अनुसार सुर्खेतको कालिञ्चोक क्रिकेट मैदान र वीरेन्द्रनगर मैदानमा खेल हुने छन् ।

  • गृहमन्त्रीको राजीनामा गराएर संसद्लाई जानकारी गराउन ओलीलाई प्रचण्डको आग्रह

    गृहमन्त्रीको राजीनामा गराएर संसद्लाई जानकारी गराउन ओलीलाई प्रचण्डको आग्रह

    whatsapp sharing button
     नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री रमेश लेखकलाई लिएर बालुवाटार पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका छन् ।

    फोनमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई सदनको अवरोध खोल्न अनुरोध गरेका छन् ।

    जवाफमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई गृहमन्त्री रमेश लेखकलाई राजीनामा गराउन आग्रह गरेका छन्।

  • विदेशी मुद्राको विनिमय दर निर्धारण

    विदेशी मुद्राको विनिमय दर निर्धारण

    नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५५ रुपैयाँ २५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८५ रुपैयाँ ३८ पैसा तथा स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ७० पैसा र बिक्रीदर १६५ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।  अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८८ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४१ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ८० पैसा र बिक्रीदर १०६ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा तथा कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५५ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १६ पैसा र बिक्रीदर चार रुपैयाँ १८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३७ रुपैयाँ २६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३२ रुपैयाँ २८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९ रुपैयाँ ९६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २२ पैसा र बिक्रीदर १४ रुपैयाँ २९ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७३ पैसा र बिक्रीदर २० रुपैयाँ  ८२ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ २३ पैसा र बिक्रीदर ४४६ रुपैयाँ १९ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ९८ पैसा तथा ओमनी रियाल एकको खरिददर ३५३ रुपैयाँ ८९ पैसा र विक्रीदर ३५५ रुपैयाँ ४५ पैसा रहेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • यार्सागुम्बा राजश्व १ करोडभन्दा बढी

    यार्सागुम्बा राजश्व १ करोडभन्दा बढी

    डोल्पा जिल्लाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले यार्सागुम्बा संकलन इजाजत वितरणबाट १ करोड ५५ लाख ३२ हजार राजश्व संकलन गरेको छ ।

    सुलिगार्ड, त्रिपुराकोट, तोइजुम लगायतका पाँचवटा स्थानबाट मात्रै १ करोड ५५ लाख ३२ हजार राजश्व संकलन गरेको हो । अझै धो, सम्दो, छेक्पा, रिग्मोमा कति राजश्व उठ्यो भन्ने जानकारी आउन बाँकी रहेको निकुञ्जले जनाएको छ । बाँकी स्थानको राजश्व संकलनको जानकारी आएपछि कूल १ करोड ८८ लाखसम्म राजश्ज उठ्ने अनुमान गरिएको रेन्जर किशोर महतले जानकारी दिएका छन् । उनी भन्छन्, अघिल्लो वर्ष १ करोड ४५ लाखमात्र राजश्व उठेको हो, यो वर्ष पाँच ठाँउको मात्रै गणना गर्दा पनि दश लाख धेरै उठिसक्यो, आधाको जानकारी आउनै बाँकी छ । यो वर्ष अघिल्लो वर्षको उठेको राजश्वको तुलनामा करिब पौतालीस लाख धेरै राजश्व उठ्ने अनुमान गरिएको उनको भनाइ छ ।

    कर्मचारी दरबन्दी थप हुनुका साथै यार्सा संकलकको सङ्ख्या पनि बृद्धि भएकाले राजश्व पनि धेरै संकलन भएको रेञ्जर महतले बताए । निकुञ्ज क्षेत्रका नौ वटा स्थानबाट करिब दश हजार सर्वसाधारण यार्सा संकलनका लागि पाटन प्रवेश गरेको प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए । जेठ ५ गतेदेखि निकुञ्ज क्षेत्रमा पर्ने सम्पूर्ण यार्सा पाटन खुला गरिएको थियो । तर, डिभिजन वन अन्तर्गतका कतिपय यार्सा पाटनहरुहरु अझै खुलेका छैनन् ।

    जिल्ला सदरमुकाम दुनैमा बैशाख २१ गते भएको सर्वपक्षीय बैठकले जेठ ५ गते निकुञ्ज र वन क्षेत्रका सम्पूर्ण यार्सा पाटन खोल्ने निर्णय गरे पनि त्यसको कार्यान्वयन भने शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले मात्र गरेको छ । डिभिजन वन कार्यालय आफैं उपस्थित भएको बैठकमा आफू मातहतका यार्सा पाटनहरु तोकिएको मितिमा नखुलेको एकसाता बितिसक्दा समेत अझै खुल्न सकेका छैनन् ।

  • ज्येष्ठ नागरिकका लागि रैथाने कला र मनोरञ्जन कार्यक्रम

    ज्येष्ठ नागरिकका लागि रैथाने कला र मनोरञ्जन कार्यक्रम

    ज्येष्ठ नागरिकलाई मनोरञ्जन दिन र जिल्लाका रैथाने मनोरञ्जनका विधिको संरक्षण गर्न जिल्ला कार्यक्रम आयोजना गरिएको छ ।

    साथीसङ्गी र दौँतरीबिच भेटघाट हुन कठिन हुने उमेरमा रहेका साठी वर्षमाथिका ज्येष्ठ नागरिकलाई एकै ठाउँमा भेला पारेर स्थानीय तहमा हुने कला, मनोरञ्जन प्रदर्शन गरिएको ज्येष्ठ नागरिक सङ्घ हुम्लाका अध्यक्ष अदानसिंह रावतले बताए । कार्यक्रमले एक दिन भए पनि मनोरञ्जन प्रदान गरेको सहभागी ज्येष्ठ नागरिक तुलसिंह रोकायाले बताए । ढल्किँदो उमेरमा ज्येष्ठ नागरिकलाई मनोरञ्जन प्रदान गर्न कार्यक्रम सहयोगी भएको उनको भनाइ थियो । रैथाने मनोरञ्जन गर्ने क्रममा देउडा गाउने, मागल गाउने, चार्ची गाउने, भारी गीत गाउने, चुटकिला गाउने, बिहेमा गाउने गीत, ढाल तरबार नाच प्रस्तुत गरिएको थियो । महिला र पुरुषले फरक फरक रूपमा कला प्रस्तुत गरेका थिए ।

    जिल्लाको सामाजिक विकास कार्यालयका प्रमुख हर्क बस्नेतले ज्येष्ठ नागरिकलाई हौसला प्रदान गर्न र मनोरञ्जन दिन कार्यक्रम गरिएको बताए । उनले यस्ता कार्यक्रमबाट पुरानो पुस्ताबाट नयाँ पुस्तालाई रैथाने कला पुस्तान्तरण गर्न सहज हुने बताए । कार्यक्रममा ११७ जना ज्येष्ठ नागरिकको उपस्थिति थियो ।

  • सुनको मूल्य घट्यो

    सुनको मूल्य घट्यो

    मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ । आज सुन तोलामा रु. एक हजार ६०० ले घटेको छ । सोही परिमाणको चाँदी रु. १० ले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८९ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल रु दुई हजार पाँच निर्धारण भएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३२६ अमेरिकी डलर कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

  • विपद् प्रभावितलाई सात करोड ९२ लाख अनुदान वितरण गर्ने

    विपद् प्रभावितलाई सात करोड ९२ लाख अनुदान वितरण गर्ने

    सुर्खेत । कर्णाली प्रदेश सरकारले मनसुन र आगलागीजन्य विपदबाट प्रभावित निजी आवासको पुर्ननिर्माण तथा पुर्नस्थापनाका लागि सात करोड ९२ लाख ४० हजार रुपैयाँ अनुदान वितरण गर्ने निर्णय गरेको छ ।

    जेठ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश विपद् व्यवस्थापन कोषमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई उपलब्ध गराउने निर्णय गरेको हो । यो अनुदान ‘मनसुनजन्य विपद् प्रभावित निजी आवास पुर्ननिर्माण तथा पुर्नस्थापना अनुदान कार्यविधि, २०७४ र आगलागीजन्य विपद् प्रभावित निजी आवास पुर्ननिर्माण तथा पुर्नस्थापना अनुदान वितरण कार्यविधि, २०७५ बमोजिम वितरण गरिने कर्णाली प्रदेश सरकार भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा सरकारका प्रवत्ता विनोदकुमार शाहले जानकारी दिएका छन् । कुल आठ करोड ९५ लाख माग भएकोमा सात करोड ९२ लाख ४० हजार रुपैयाँ वितरण गर्न बाँकी रहेको रकमको आधारमा यो रकम आर्थिक मामिला तथा योजना मन्त्रालय सुर्खेतबाट उपलब्ध हुनेछ, उनले भने, जिल्लागत रूपमा रकम वितरणको क्षतिको विवरण अनुसार वितरण हुनेछ ।

    कर्णाली १० जिल्लामध्ये विपदबाट छ जिल्लामा छ सय ८१ जना लाभग्राही रहेका प्रवत्ता शाहले बताए । उनका अनुसार जुम्लाका दुई सय नौ जना लाभग्राहीका लागि तीन करोड १७ लाख ८५ हजार माग भएको मा दुई करोड ३२ लाख ८५ हजार निकासा गर्नुपर्ने, कालिकोटमा दुई सय १० जना लाभग्राहीका लागि तीन करोड १३ लाख ३५ हजार माग भएकोमा दुई करोड ९४ लाख ५० हजार निकास गर्ने र रुकुम पश्चिमका दुई सय चार जना लाभग्राहीका लागि दुई करोड ४५ लाख १० हजार माग भएकोमध्ये दुई करोड ४५ लाख १० हजार निकासा गर्ने निर्णय भएको छ । त्यस्तै, जाजरकोटका दुई लाभग्राहीका लागि ३४ लाख ३५ हजार माग भएको मध्ये छ लाख ९५ हजार निकास गर्ने, मुगुमा २६ लाभग्राहीका लागि ३९ लाख माग भएकोमा २३ लाख निकासा गर्ने र सल्यानमा ३० जना लाभग्राहीका लागि ३६ लाख माग भएकोमा ३६ लाख नै निकासा गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको प्रवत्ता शाहले बताएका छन् ।

    मन्त्रिपरिषद्को बैठकले गैरसरकारी संस्थाहरूको दर्ता र व्यवस्थापनसम्बन्धी विधेयक र डिजिटल मिडिया तथा सूचना प्रविधिसम्बन्धी विधेयक, २०८२ लाई प्रशासन तथा विधेयक समितिमा पठाउने निर्णय गरेको, उच्च मूल्यका कृषिजन्य वस्तु उत्पादन कार्यक्रमको प्रदेशस्तरीय कार्यक्रम व्यवस्थापन कार्यालय सुर्खेत, कर्णाली करिडोरअन्तर्गत जुम्ला र जाजरकोटमा करिडोर कार्यालयहरू स्थापना गर्न स्वीकृति प्रदान गरिएको प्रवत्ता शाहले बताए । यो कार्यक्रमले स्थानीय कृषकहरूलाई उच्च मूल्यका कृषि उत्पादनमा प्रोत्साहन गर्नेछ, उनले भने, आर्थिक वर्ष २०८१÷८२ का लागि तयार गरिएको अस्थायी सङ्गठन संरचना अनुसार सञ्चालन हुनेछ । यो आठ वर्षसम्म लागु हुनेछ ।

    कर्णाली प्रज्ञा प्रतिष्ठानको स्थापना र सञ्चालनका लागि तयार गरिएको विधेयक, २०८१ लाई संशोधनसहित प्रदेशसभामा पेश गर्न स्वीकृति दिइएको, आम सञ्चार तथा सूचना प्रबिधि सम्बन्धमा व्यवस्था गर्न बनेको बिद्येयक, २०८२ लाई प्रशासन तथा बिद्येयक समितिमा पठाउने र गैरसरकारी संस्था अभिलेख तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको बिद्येयकलाई पनि प्रशासन तथा बिद्येयक समितिमा पठाउने निर्णय भएको प्रवत्ता शाहले जानकारी दिए ।

  • १३ दिनदेखि स्थानीय तहका कर्मचारी आन्दोलित

    १३ दिनदेखि स्थानीय तहका कर्मचारी आन्दोलित

    सुर्खेत । कर्णालीमा स्थानीय तहका कर्मचारीहरू विभिन्न माग राख्दै विगत १३ दिनदेखि आन्दोलनमा छन् ।  प्रदेश सरकारले ल्याएको ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन—८१ लाई संशोधन गर्न बनेको विधेयक’ का विरुद्ध उनीहरू आन्दोलित भएका हुन् ।

    संशोधित विधेयकमा पनि आफ्ना मागहरू सम्बोधन नभएको उनीहरूको भनाइ छ । यद्यपि प्रदेश सरकारले भने आन्दोलनको कुनै औचित्य नभएको बताएको छ ।

    बुधवार बिहान पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता विनोदकुमार शाहले आन्दोलनको औचित्य नभएको बताए । ‘आन्दोलन गर्न पाइन्छ तर संशोधित विधेयक सभामा दर्ता भइसक्यो,’ उनले भने, ‘पहिला दर्ता भएको विधेयक हामीले फिर्ता लियौँ । त्यस्तै केही कुराहरू समावेश गर्नुपर्ने थियो । साथै निजामती ऐनसँग मिलान पनि गर्नुपर्ने थियो ।’

    अहिले स्थानीय तहका कर्मचारीमा विषयहरू समेत सम्बोधन गरेर सभामा दर्ता गराइएको उनको भनाइ छ ।  ‘त्यसकारण उहाँहरूले आन्दोलन गरिरहनुपर्ने औचित्य छैन,’ उनले भने, ‘उहाँहरू स्थानीय तहमा फर्किएर काम गर्दा राम्रो हुन्छ । अब बरु दर्ता भएको विधेयक चाँडै पारित गर्ने कुरामा सरकार लाग्छ ।’