Blog

  • महिनावारी स्वच्छता दिवस सम्पन्न

    महिनावारी स्वच्छता दिवस सम्पन्न

     जुम्ला जिल्लाको हिमा गाउँपालिकामा महिनावारी स्वच्छता दिवस विभिन्न कार्यक्रम गरि मनाईएको छ ।

    समाजमा रहेको महिनावारी विभेद न्युनिकरण गर्न तथा नागरिकलाई सचेत बनाउन विभिन्न सचेतना मुलक कार्यक्रम आयोजना गरि हिमामा महिनावारी स्वच्छता दिवस मनाईएको हो । हिमा गाउँपालिका सुस्वा परियोजनाका वास संयोजक सुमिता शाहीका अनुसार दिवसको अबसरमा र्याली,सडक नाटक प्रर्दशन,वक्तित्वकला प्रतियोगिता लगायतका कार्यक्रम गरिएको छ ।

    हिमा-३ मोफ्ला स्थित राहदेव माध्यमिक विद्यालयमा आयोजित मर्यादित महिनावारी विशेष वक्तित्वकला प्रतियोगिता गरिएको हो । जसमा प्रथम अबिजेल परियार,द्वित्तिय बिस्मता रोकाया,तृतीय बिकास रोकाया र सान्त्वना रेखा रोकाया भएकी छन् ।

  • धौलिगाड खानेपानी आयोजना अलपत्र

    धौलिगाड खानेपानी आयोजना अलपत्र

     जुम्लामा निर्माणधिन राष्ट्यि गौरबको आयोजनाका रुपमा रहेको बृहत्त धौलिगाड खानेपानी आयोजनाको काम बजेट अभावले रोकिएको छ ।

    बजेट माग भएको र बजेट प्राप्त नभई काम अघि बढाउने स्थिती नभएपछि आयोजना रोकिएको हो । कूल एक अर्ब २६ करोड लागतको बृहत्त धौलिगाड खानेपानी आयोजना दुई वटा प्याकेजमा निर्माण भईरहेको छ । पटक पटक म्याद थपेर पनि निर्माणले गति नलिएको उक्त आयोजना अहिले अलपत्र जस्तै बनेको छ । आयोजनाको मुहान क्षेत्रबाट काम सुरु हुनु पर्नेमा ठेकेदार र कार्यालयले हचुवाका भरमा गाउँ गाउँमा पाईप बिछ्याउने,धारा निर्माण गर्ने जस्तो उल्टो बाटोबाट काम गरेको भन्दै आयोजना पहल समिति समेत आक्रोसित भएको छ । मुहान क्षेत्रमा शुन्य काम भएको छ । भने,गाउँगाउँमा ट्यांकी,धारा निर्माणदेखी पाईप लाईन समेत विस्तार भईसकेको छ । यदपी भविष्यमा मुहानको पानी छिरेको खण्डमा हाल सम्मको लगानी बालुवामा पानी हुन सक्ने जोखिम छ । त्यसैले अबको काम मुहान क्षेत्रमा गर्नुपर्नेमा सरोकारवालाको जोड छ । यदपी,भौगोलिक कठिनाई,बजेट अभाव तथा पानी नजम्ने पाईप नेपालमा नपाईने जस्ता कारण देखाउदैँ निर्माण व्यवसायीले बाहनाबाजी गरिरहेको छ ।

    संघिय खानेपानी आयोजनाको कार्यालयको प्रतिवेदननुसार दुई प्याकेजमा काम भएको उक्त आयोजनाको पहिलो प्याकेजको कूल बजेट ५४ करोड ४१ लख ५५ हजार ४५३ रुपैयाँ मध्य हाल सम्म ३४ करोड ७९ लाख ३५ हजार ९५० रुपैयाँ खर्च भएको छ । उक्त प्याकेजको काम कालिका सिएबी कन्काई जेभीले लिएको थियो । उक्त प्याकेजमा अहिले १० करोड ५९ लाख १७ हजार रुपैयाँ अभाव रहेको र बजेट माग गरिएको कार्यालय प्रमुख ज्योतिष कुमार मिश्रले बताएका छन् । उनका अनुसार पहिलो प्याकेज अन्तरर्गत ७० किमी पाइपलाईन मध्य ६० किमी निर्माण,१३ वटा ट्यांकी मध्य ७ वटा निर्माण भईसकेका छन् । २ वटा बन्दैछन् । भने ९ वटा डिसी मध्य ३ वटा निर्माण भइरहेका छन् । त्यस्तै दोस्रो प्याकेजको कूल बजेट ३७ करोड ७ लाख ५ हजार ३७१ लगत मध्य हाल सम्म २२ करोड ३७ लाख ६५ हजार ५७४ रुपैयाँ खर्च भएको छ । उक्त प्याकेजको काम सिएबी कन्स्ट्रक्सन प्रा।लीले गरिरहेको छ । भने ६ करोड ५८ लाख ८४ हजार ७५८ रुपैयाँ अभाव रहेकोले माग गरिएको छ । दोस्रो प्याकेज अन्तरर्गत २ सय किमी पाईप लाईन मध्य १६५ किमी पाईप लाईन निर्माण गरिएको छ । भने कूल ८ हजार ६०५ धारा मध्य ३ हजार धारा जडान गरिएको छ ।

    दुबै प्याकेज आयोजनामा करिब १७ करोड बढी रुपैयाँ अभाव रहेको देखिन्छ । बजेटको सुनिश्चिता नभएसम्म काम अघि बढाउन नसकिने निर्माण व्यवसायीको भनाई छ । खानेपानी मन्त्री जुम्ला आएको बेला धौलिगाड खानेपानी आयोजनामा बजेट अभाव नहुने आश्वासन दिएपनि अभाव भएको बजेट निकासा हुने निश्चित छैन् । काम गरेको ३ करोड भुक्तानी पाउन समेत बाँकी रहेको ईन्जिनियर दिपेश शाहले बताए । बजेट अभावका कारण आयोजना निर्माणको काम रोकिएको उनको भनाई छ ।

    खानेपानी आयोजना निर्माणमा कार्यालय र निर्माण व्यवसायीले लापरबाही गरेको भन्दै पहल समिति आक्रोसित बनेको छ । मुहान क्षेत्रमा शुन्य काम भएकोप्रति सरोकारवाला आक्रोसित बनेको हो । बुधबार भएको छलफलमा पहल समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चाय,चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत,तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले आयोजना अलपत्र परेको भन्दै आक्रोस पोखे । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले मुहान क्षेत्रबाट काम सुरु हुनु पर्ने उल्टो तरिकाले सजिलो ठाउँमा काम भएको प्रति ध्यानर्कषण गराए । कार्यालयले ताकेता नगर्दा ठेकेदारले लापरबाही गरेको हो । उनले भने, सजिलो ठाउँमा मात्रै काम गर्ने ? मुहान क्षेत्रमा कामै सुरु नगर्ने ? मन्त्री आउँदा सबै गर्छौ ठिक छ भन्न,अहिले बजेट अभाव देखाउने विभिन्न बाहना गर्ने ? की यथाशिघ्र काम सुरु गर्नुहोस् । होईन भने जिल्ला छोडेर जानुहोस् । अब धेरै लापरबाही सहन सकिदैन् ।

    चन्दननाथका मेयर र तातोपानीका अध्यक्षले संघिय खानेपानी आयोजनाका कर्मचारीले स्थानीयतहबाट असहयोग भएको भ्रम फैलाएको प्रति सचेत गराए । तातोपानीका अध्यक्ष नन्द चौलागाईले आयोजना सफल बनाउन आफू सधै तयार रहेको उल्लेख गरे । नकेपा एमालेका अध्यक्ष शान्तिलाल महतले कार्यालय प्याकेज–२ को काम छोडेर पहिलो प्याकेज अन्तरर्गत मुहान क्षेत्रको काम तत्काल सुरु गर्न सुझाब दिए । उनले भने, मुहानको पानीको अबस्था के छ ? भोली सुक्न सक्ने वा पानी छिर्ने पनि समस्या हुन सक्छ । मुहानबाट बनाउनु पर्नेमा पहिला धारा र पाईपलाईन बिछ्याएर काम भईरहेको छ । यसले आयोजना अनश्चिता तर्फ धकेलिएको छ । सचेत हुन जरुरी छ ।

    यता संघिय खानेपानी आयोजनाका प्रमुख ज्योतिष कुमार मिश्रले मुहान क्षेत्रमा ४ किमी पानी नजम्ने (प्रिईन्सोलिटेड) पाईप नेपालमा नबन्ने देश बाहिरबाट ल्याउनु पर्ने भएकोले ढिलाई भएको बताए । विभागबाट उक्त पाईप ल्याउन स्वीकृती हुन बाँकी रहेको छ । बुधबार भएको छलफलबाट मुहान क्षेत्रमा असार मसान्तसम्म ईन्टेक बनाउने र पानी नजम्ने पाईप खरिदका लागि स्वीकृत दिन पत्रचार गर्ने र तत्काल बजेट व्यवस्थापन गर्न माग गर्ने निर्णय भएको छ । यो निर्णय कार्यान्वयमा निर्माण व्यवसायीले ढिला सुस्ती गरे कारबाही प्रक्रिया अघि बढाउने समेत चेतावनी दिएका छन् ।

  • गणतन्त्रलाई जनकेन्द्रित अभ्यासले परिपक्क बनाउन सकिन्छ : कंडेल

    गणतन्त्रलाई जनकेन्द्रित अभ्यासले परिपक्क बनाउन सकिन्छ : कंडेल

     कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले जनतालाई केन्द्रबिन्दुमा राखेर जनताको इच्छा र जनताका लागि सञ्चालित हुने अभ्यासले नै गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउने उनले बताए ।

    बिहीबार १८ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै यस्तो बताएका हुन् । मुख्यमन्त्री कंडेलले शासन प्रणाली विकासका क्रममा कमजोरीहरू देखा पर्ने भन्दै कतिपय कार्यशैली, व्यवहार र आचरणहरू सुधार गर्नु सक्नुपर्ने उल्लेख गरे । लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका सङ्घर्षमा आफ्नो अमूल्य जीवन आहुती गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनको अगुवाइ गर्ने सबै अग्रजहरुमा सम्मान व्यक्त गरे । उनले आन्दोलनमा सहभागी आम जनसमुदाय, नागरिक समाज, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू एवम् सबै क्षेत्र र वर्ग समुदायको योगदानको उच्च प्रशंसा गरे ।

    गणतन्त्र दिवस जनताले सफलता प्राप्त गरेको र जनता विजयी भएको महान उत्सव भएको उनको भनाइ छ । उनले भने, जनता सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्त्वपूर्ण र अविस्मरणीय दिन पनि हो । व्यक्तिको जन्मका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नेपाली जनताको सङ्घर्ष, त्याग र बलिदानबाट हरेक नागरिक समान हुने प्रणाली स्थापना हुनु हाम्रो गणतन्त्रको प्रमुख विशेषता हो ।

    यस युगान्तकारी परवर्तनको आयामलाई सामाजिक आयामसँग जोडेर समुन्नत प्रणाली विकास गर्न सकेमा मात्र गणतन्त्र दिगो बन्न सक्ने उनले बताए । लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामहरूलाई समुचित सन्तुलनका साथ अगाडि बढाउनु अहिलेको प्रमुख आवश्यकता रहेको उनको भनाइ छ ।

  • यार्सागुम्बा टीप्न गएका युवकको मृत्यु

    यार्सागुम्बा टीप्न गएका युवकको मृत्यु

     डोल्पा जिल्लाको काइके गाउँपालिकास्थित नावरपानी यार्सा पाटनमा यार्सागुम्बा संकलन गर्न गएका एक युवकको मृत्यु भएको छ।

    जाजरकोटको नलगार्ड नगरपालिका–८ बस्ने १९ वर्षीय युवक धनलाल बिकको नावरपानी यार्सा पाटनमा लेक लागेर मृत्यु भएको हो। मृतक बिक एक साताअघि बुवा हरिबहादुर बिकसँग यार्सागुम्बा खोज्न डोल्पा पुगेका थिए । प्रहरीले मृतक बिकको शव बोकेरै अस्पताल पुर्‍याएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक टोपेन्द्र बुढाले जानकारी दिएका छन् । यसअघि जुम्लाको गुठीचौर गाउँपालिका-१ मनिसाँघुका भीमबहादुर बोहोराको डोल्पाकै जगदुल्ला पाटनमा लेक लागेर मृत्यु भएको थियो । बोहोरालाई लेक लागेपछि घरतर्फ ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    केही दिन अघि मात्र ठुलीभेरी नगरपालिकामा पर्ने साइकुमारी पाटनमा एक जना र शे–फोक्सुन्डो गाउँपालिकामा पर्ने सागर यार्सा पाटनमा एक जना यार्सागुम्बा संकलकको मृत्यु भएको जानकारी स्थानीयबाट आए पनि प्रहरीले भने पुष्टि गर्न सकेको छैन । यार्सा पाटन उच्च हिमाली क्षेत्रमा पर्नुका साथै त्यहाँ फोनले समेत काम नगर्ने र सबै ठाउँमा प्रहरी जान नसक्ने भएकाले यार्सा संकलनका क्रममा भएका कतिपय घटनाहरू प्रहरीसम्म नपुग्ने गरेको बताइएको छ ।

  • राजावादी प्रदर्शनमा घुस भएको भन्दै दुई जना प्रहरी नियन्त्रणमा

    राजावादी प्रदर्शनमा घुस भएको भन्दै दुई जना प्रहरी नियन्त्रणमा

    काठमाडौंमा जारी राजावादीहरूको प्रदर्शनमा घुसपैठ भएको भन्दै दुई जनालाई प्रहरीको जिम्मा लगाइएको छ ।

    केहीबेर अघि मात्रै दुई व्यक्तिलाई रत्नपार्कबाट प्रहरीको जिम्मा लगाइएको हो ।

    राजसंस्था पुनर्स्थापना लगायतका माग राख्दै राजावादीहरूले आज काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।

    आन्दोलनका लागि उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस भृकुटीमण्डप पुगेको छ ।

  • विद्युत् उत्पादन क्षमता ३६ सय २ मेगावाट

    विद्युत् उत्पादन क्षमता ३६ सय २ मेगावाट

     नेपालको विद्युत् उत्पादन क्षमता ३ हजार ६ सय २ मेगावाट पुगेको छ ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार विद्युत् उत्पादन क्षमता उक्त परिमाण बराबर पुगेको हो ।

    वैकल्पिक ऊर्जासहित विद्युत् पहुँच ९९ प्रतिशत जनसंख्यामा पुगेको पाइएको छ । चालु आव फागुनसम्म भारततर्फ १ हजार ७ सय ७५ गिगावाट निर्यात भएको छ । ९ सय २९ गिगावाट विद्युत् भारतबाट आयात भएको छ ।
  • आगामी मनसुनजन्य विपद्‌मा २० लाख मानिस प्रभावित हुने आकलन

    आगामी मनसुनजन्य विपद्‌मा २० लाख मानिस प्रभावित हुने आकलन

     आगामी मनसुनजन्य विपद्का कारण करिब २० लाख मानिस प्रभावित हुने प्रक्षेपण गरिएको छ। गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बुधबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२औँ बैठकले सो आकलन गरेको हो। मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ समेत अनुमोदन गरेको छ।

    प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले प्राधिकरणको नेतृत्वमा विभिन्न सरोकारवाला मन्त्रालय तथा विभागका प्रतिनिधि रहेको समितिले तयार गरेको कार्ययोजनामा यस वर्षको मनसुनजन्य विपद्‍बाट देशभर करिब चार लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसंख्या प्रभावित हुने आकलन गरिएको जानकारी दिए।

    बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख एवं कार्यकारी समितिका सदस्य सचिव इ दिनेशप्रसाद भट्टले कार्यकारी समितिको ३१औँ बैठकबाट भएका निर्णयको समीक्षा, स्वीकृति, आपत्कालीन गोदामघर सञ्चालन कार्यविधि, २०८१ ९प्रथम संशोधन०, विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना (२०१८–२०३०) को कार्यान्वयनको अवस्थाबारेको अनुगमन प्रतिवेदन र चोभार गल्छीमा नदी प्रवाह सुचारुलगायतका प्रस्ताव पेस गरेका थिए।

    बैठकले यस वर्षको मनसुनको पूर्वानुमान, विपद्‍बाट प्रभावित हुने अनुमानित केसलोड, मनुसनजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि सरोकारवाला मन्त्रालय, विभाग तथा निकायको जिम्मेवारी, विषयगत क्षेत्र तथा सम्बन्धित निकायको मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना, पूर्वतयारी र प्रतिकार्यका लागि आवश्यक सम्पर्क विवरण, सामग्रीहरुको मौज्दात तथा दक्ष जनशक्तिहरुको विवरण समेटिएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ पारित गरेको केसीले जानकारी दिए।

    जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको उल्लेख गरेको छ। बैठकले चोभार गल्छी साँघुरो भई गत वर्ष असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षाको कारण बागमती नदीमा पानीको सतह बढ्न गई काठमाडौँ उपत्यकाका नख्खु, कुलेश्वर, थापाथली, बल्खुलगायतका भू–भागमा डुबान भएको हुँदा पुनः उक्त प्रकारको क्षति हुन नदिन नेपाली सेनाबाट सहयोग लिई चोभार गल्छीमा रहेको अवरोध हटाउन शहरी विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। बैठकले आपत्कालीन गोदामघर सञ्चालन कार्यविधि, २०८१ (प्रथम संशोधन) सम्बन्धी प्रस्ताव पारित गरेको केसीले जानकारी दिए।

    “कार्यकारी समितिको ३१ औँ बैठकबाट भएका निर्णयको कार्यान्वयनको सन्दर्भमा भए गरेका कामको समीक्षा पनि गरेको छ। विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना (२०१८–२०३०) को कार्यान्वयनको अवस्थाको सम्बन्धमा तयार भएको वार्षिक अनुगमन प्रतिवेदनबारे बैठकलाई जानकारी गराइएको छ,” उनले भने।

  • शेयर बजारमा उत्साह , दोहोरो अंकको वृद्धी

    शेयर बजारमा उत्साह , दोहोरो अंकको वृद्धी

     आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट सार्वजनिक हुने अघिल्लो दिन आज शेयर बजारमा उत्साह देखिएको छ । आज नेप्से दोहोरो अंकले बढेसँगै साढे ८ अर्ब बढीको कारोबार भएको हो ।

    नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.४४ अंकले माथि उक्लिएको छ । ०.६५ प्रतिशतले बजार बढ्दा नेप्से २६९३.०६ अंकमा उक्लिएको छ ।

    समग्रमा बजार बढे पनि जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य समूह क्रमशः०.२४, ०.२६, ०.२६ र ०.०६ प्रतिशतले घटेका छन् । बाँकी अरु समूहमा भने हरियाली छाएको छ । बैंकिङ समूह १.८८ र विकास बैंक समूह १.२९ प्रतिशतले बढेका छन् ।

    आज ३२३ कम्पनीका २ करोड ७ लाख ५९ हजार ५ सय ४७ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५८ करोड ६० लाख ४ हजार ३ सय ३४.२५ रुपियाँ बराबरको कारोबार भएको छ ।

    ओम मेगाश्री, ग्रीन डेभलपमेन्ट बैंक, पियोर इनर्जी र भूगोल इनर्जीका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९, ९.८५ र ९.१५ प्रतिशतले नाफा कमाएका छन् ।

    त्यस्तै बाराही हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.२६ प्रतिशतले घाटा व्यहोरेका छन् ।

  • जेठ १५ लाई गणतन्त्रको उत्सव मनाउने दिन बनाऔं: महासचिव

    जेठ १५ लाई गणतन्त्रको उत्सव मनाउने दिन बनाऔं: महासचिव

     नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बजेट प्रस्तुत गर्ने दिन बदल्नु पर्ने बताएका छन् । जेठ १५ गणतन्त्रको उत्सवको दिन भएकाले त्यस दिन बजेट ल्याउन नहुने उनको भनाइ छ ।

    पार्टी केन्द्रीय कार्यालय च्यालसमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले जेठ १५ मा सरकारले नै विशेष कार्यक्रम गरेर गणतन्त्रको उत्सव मनाउनु पर्ने बताए ।

    ‘१५ जेठ भनेको नेपाली जनता सार्वभौम भएको दिन हो । यो दिनको महत्व जनतालाई दर्शाउँदै सरकारले उत्सवका रूपमा मनाउनुपर्छ । त्यसैले यो दिन बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था बदल्नु उपयुक्त हुन्छ,’ उनले भने ।

    पोखरेलले अन्य राजनीतिक दलहरूसँग पनि सहमति जुटाएर संविधान संशोधन गरी बजेट ल्याउने मिति फेर्न एमाले तयार रहेको बताए ।