Category: News

  • अन्ततः सरकार झुक्यो

    अन्ततः सरकार झुक्यो

    अन्ततः सरकार प्रमुख प्रतिपक्षी दलको मागअनुसार सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सहमत भएको छ। नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन माग राखेर लगातार संसद् अवरोध गर्दै आएको छ। संसद् अवरुद्ध भइरहे आगामी जेठ १५ गते बजेट प्रस्तुत गर्ने कार्यक्रम पनि प्रभावित हुन सक्ने भएकाले सरकार एमालेको नेतृत्वमा छानबिन समिति गठन गर्न शनिबार राजी भएको हो।

    एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री लामिछानेबीच शनिबार भएको छलफलपछि सरकार विपक्षी दलको माग सम्बोधन गर्न तयार भएको हो।

    सरकारले विपक्षी दलहरूसँग संसद्मा देखिएको गतिरोध अन्त्य गर्न छानबिन समिति बनाउने प्रतिबद्धता जनाएको छ। योसँगै संसद्को गतिरोध अन्त्य हुने भएको छ। सत्तारूढ प्रमुख तीन दलबीचको छलफलपछि अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ दल र प्रतिपक्षी दलहरूबीच भएको छलफलमा संसदीय छानबिन समिति बनाउने सहमति भएको हो।

    कांग्रेस नेताहरूले शनिबार बिहान पनि प्रधानमन्त्रीसँग छलफल गरेका थिए। उनीहरूले छलफल सकारात्मक बनेको बताएका थिए। त्यसै आधारमा प्रधानमन्त्री दाहालले मन्ध्याह्न राजधानीमा आयोजित एक कार्यक्रममा आइतबारबाट संसद् खुल्ने संकेत गरेका थिए।

    प्रधानमन्त्री दाहालले सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष ओली, गृहमन्त्री लामिछानेसँग छलफल गरेपछि कांगे्रेसका नेताहरूसँग कुराकानी गरेका थिए। प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग बालुवाटारमा करिब साढे ३ घण्टा भएको छलफलपछि सत्ता पक्ष समिति बनाउन सहमत भएको हो।

    सत्ता पक्षसँगको बैठकमा कांग्रेसका महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखक पनि सहभागी थिए। संसदीय छानबिन समितिको कार्यविधि (टिओआर) तयार पार्न कानुनमन्त्री पदम गिरीको नेतृत्वमा चार सदस्यीय कार्यदल बनाइएको छ। जसमा एमालेबाट प्रमुख सचेतक महेश बर्तोला, कांग्रेसबाट जीवन परियार र रास्वपाबाट शिशिर खनाल छन्।

    उनीहरूले आइतबार कायविधि तयार पारी शीर्ष नेताहरूलाई बुझाएपछि सम्भवतः साँझ नै संसदीय छानबिन समिति बन्नेछ। संसदीय छानबिन समिति बनेपछि गृहमन्त्री रवि लामिछानेलाई नैतिक रूपमा मन्त्रालय सम्हाल्न समस्या पर्नेछ। सहकारी ठगीमा उनको नाम जोडिएको छ। संसदीय छानबिन समिति बनेपछि नैतिक रूपमा गृह मन्त्रालय छाड्न उनलाई दबाब पर्नेछ।

    सत्तापक्षसँगको छलफलपछि कांग्रेस प्रमुख सचेतका लेखकले छानबिन समितिको टिओआर बनाउन आइतबार बिहानैबाट नेताहरू गृहकार्यमा जुट्ने बताए। ‘टिओआरमा भोलि बिहानैदेखि काम हुन्छ।

    बिहीबार कार्यविधिकै विषयमा सहमति हुन नसक्दा समिति गठनमा सहमति हुन सकेको थिएन। कार्यविधि व्यक्ति केन्द्रित हुन नहुने रास्वपा उपसभापति स्वर्णिम वाग्लेको अडानपछि बिहीबार सहमति हुन सकेको थिएन। शनिबार भने कार्यविधि बनाउन चार सदस्यीय कर्यदल बनको छ।

    आइतबार बिहानैबाट कार्यविधिबारे छलफल हुने र ११ बजेका लागि बोलाइएको संसद् बैठक केही समय सारेर संसदीय समिति बन्ने अपेक्षा कांग्रेसले गरेको छ। ‘सकभर चाँडै नै कार्यविधि तयार पारिनेछ, त्यसपछि संसद् अवरोध हट्ने विश्वास गरेका छौं,’ कानुनमन्त्री गिरीले भने।

    गत फागुन २१ गते नयाँ गठबन्धन बनेको र एमालेसहितको सरकारमा २३ गते रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भएपछि सहकारी ठगी प्रकरणले संसद्मा प्रवेश पाएको हो। लामिछानेको नाममा सुप्रिम, सूर्यदर्शन, स्वर्णिमलगायतका सहकारीबाट ऋण लिएको देखिएपछि कांग्रेसले संसद्मा सहकारी ठगी प्रकरणमा छानबिन समिति गठनको माग राख्दै आएको थियो।

    कांग्रेसले सहकारी ठगी प्रकरणमा छानबिन समिति गठनको माग राखेर संसद् अवरुद्ध गरेपछि उसलाई एमाले अध्यक्ष केपी ओलीले सत्ताको लालची भएको आरोप लगाएका थिए।

    कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग नछाडेपछि सरकारले संसद्को हिउँदे अधिवेशन एक साताअघि नै वैशाख २ गते अन्त्य गरेको थियो। यसबाट रुष्ट कांग्रेसले संसद्को हिउँदै अधिवेशनका बैठक पनि अवरुद्ध गर्न थालेपछि सरकार थप दबाबमा परेको थियो।

    संसदीय छानबिन समिति गठनको विषयलाई लिएर प्रतिनिधिसभाको बिहीबार बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच धकेलाधकेल भयो। यो घटनाले सत्ता र प्रतिपक्षी दुवैलाई गम्भीर रूपले सोच्न बाध्य बनायो। फलतः शनिबार सत्ता पक्ष प्रतिपक्षको मागअनुसार संसदीय छानबिन समिति बनाउन तयार भएको हो।

  • कोशी र बागमतीमा बिहानैदेखि वर्षा, यस्तो रहने छ आजको मौसम

    कोशी र बागमतीमा बिहानैदेखि वर्षा, यस्तो रहने छ आजको मौसम

    आज कोशी र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशमा मौसम बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

    महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार कोशी प्रदेशको केही स्थानहरू र बागमती प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    महाशाखाले आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने बताएको छ।

    कोशी र गण्डकी प्रदेशको केही बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ

    यस्तै आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

    मधेश र लुम्बिनी प्रदेश लगायत कोशी, बागमती, गण्डकी कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    यस्तो छ आगामी २ दिनको मौसम सम्बन्धी जानकारीः

    २०८१ जेठ ०७ गते (सोमवार)

    दिउँसोː कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    रातिː कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा साथै लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्का देखि मध्यम वर्षाको साथै एक–दुई स्थानमा भारी वर्षको पनि सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    २०८१ जेठ ०८ गते (मङ्गलवार)

    दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै एक–दुई स्थानमा भारी वर्षको पनि सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    रातिː लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशक थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

  • रोमाञ्चक खेलमा चेन्नईलाई हराउँदै बैङ्गलोर प्ले अफमा

    रोमाञ्चक खेलमा चेन्नईलाई हराउँदै बैङ्गलोर प्ले अफमा

    रोयल च्यालेन्जर्स बैङ्गलोर इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफमा पुगेको छ। शनिवार सम्पन्न रोमाञ्चक खेलमा बैङ्गलोरले पाँच पटकको आईपीएल विजेता चेन्नईलाई आफ्नो घरेलु मैदानमा २७ रनले हराउँदै प्ले अफको यात्रा तय गरेको हो।

    टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको बैङ्गलोरले निर्धारित ओभर खेल्दै जम्मा ५ विकेटको क्षतिमा २१८ रन बनायो। २१९ रनको लक्ष्यसहित मैदान उत्रेको चेन्नईले निर्धारित ओभर खेल्दै ७ विकेटको क्षतिमा १९१ रन मात्रै बताउन सक्यो।

    बैङ्गलोरको जितका लागि कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ५४ रनको पारी खेले भने विराट कोहलीले ४७ र रजत पाटिदारले ४१ रन जोडे। जबकी क्यामरुन ग्रिनले ३८ रन बनाए।

    यता २१९ रनको लक्ष्यसहित मैदान उत्रेको चेन्नईलाई प्ले अफमा पुग्न २०१ रन मात्रै बनाउनु थियो। तर, अन्तिम ओभरमा बैङ्गलोरका यश दयालले सानदार बलिङ्ग गर्दै चेन्नईलाई प्ले अफमा पुग्नबाट रोके। उनले अन्तिम ओभरमा १ विकेट लिँदै चेन्नईलाई रन बनाउन दिएनन् र बैङ्गलोरलाई प्ले अफमा पुग्न सहज भयो।

    योसँगै १७ औँ संस्करणको प्ले अफ समिकरण पूरा भएको छ। कोलकोत्ता नाइट राइडर्स, राजस्थान रोयल्स, सनराइजर्स हैदरावाद र बैङ्गलोरले प्ले अफमा प्रतिस्पर्धा गर्नेछन्।

  • गुप्तचरलाई प्रहरी नेतृत्वमा पूर्णविराम!

    गुप्तचरलाई प्रहरी नेतृत्वमा पूर्णविराम!

    नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरू प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवाका लागि सिफारिस भएसँगै राष्ट्रिय अनुसन्धान विभाग (राअवि) बाट नेपाल प्रहरीमा समायोजन भएका अधिकृतलाई नेतृत्वमा पूर्णविराम लागेको छ।

    गृह मन्त्रालयले शुक्रबार राति नेपाल प्रहरीका चार एसएसपीलाई बढुवाको सिफारिस गर्दा राअविबाट नेपाल प्रहरीमा आएका टोली छुटेपछि उनीहरूका लागि करिब ८० हजार प्रहरीको नेतृत्व गर्ने सर्वोच्च पद महानिरीक्षक हुने ढोका करिबकरिब बन्द भएको हो।

    सिफारिस सूचीअनुसार पहिलो नम्बरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा कार्यरत कृष्णहरि शर्मा पोखरेल छन्। दोस्रोमा प्रहरीको महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी दानबहादुर कार्की, तेस्रोमा प्रहरी प्रधान कार्यालयकै महिला तथा बालबालिका निर्देशनालयका कार्यरत डा. मनोज केसी र चौथोमा हेडक्वार्टरको तालिम निर्देशनालयमा कार्यरत राजन अधिकारी छन्।

    पोखरेल हालका एआइजी दीपक थापाका ब्याची हुन् भने अन्य तीन जना २०५४ सालमा प्रहरीका सेवा प्रवेश गरेका हुन्। २०५४ सालमा कार्की, केसी र अधिकारीलाई बढुवाका लागि सिफारिस गरेसँगै प्रहरीको भावी नेतृत्व पनि उनीहरूमध्ये एक जनाले गर्ने निश्चितजस्तै भएको छ।

    प्रहरीमा हाल तीन डिआइजीको दरबन्दी भए पनि यही जेठ १० मा अर्का डिआइजी सुरेन्द्र मैनाली उमेर हदका कारण अवकाशमा जाने भएपछि गृह मन्त्रालयले उनको ठाउँमा समेत जोडेर चार जनालाई बढुवाका लागि सिफारिस गरेको हो।

    प्रहरी महानिरीक्षक (आइजिपी) कै ब्याचका गणेश चन्द, भोला रावल र ध्रुवराज राउत भने एसएसपीबाटै बिदा हुने सम्भावना बढेको छ। तीनमध्ये चन्द भने बढुवाका लागि दौडधुप गरिरहेका थिए। अन्य दुई जना विगतमा कारबाहीमा परेकाले उनीहरूले बढुवा लागि खासै प्रभाव राख्न सकेका थिएनन्। उनीहरूले अघिल्लो ब्याच भन्नुबाहेक कार्यसम्पादन मूल्यांकन कमजोर रहेका कारण डिएसपी बढुवाबाटै पछि धकेलिँदै आएका थिए।

    अहिलको बढुवामा जसमा २०५१, २०५२, २०५३ र २०५४ सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर) मा भर्ना भएका चार ब्याचका करिब तीन दर्जन एसएसपी प्रतिस्पर्धामा भए पनि २०५२ सालको एक जना र २०५४ सालका तीन मात्रै बढुवा लागि सिफारिस भएका हुन्। जसमा २०५२ सालमा वैकल्पिक समूहबाट इन्स्पेक्टरमा प्रवेश गरेका पोखरेलसँगै २०५४ सालका कार्की, केसी र अधिकारीलाई सिफारिस गरिएपछि प्रहरीको भावी नेतृत्वमा पनि २०५४ सालकै टोलीको सम्भावना देखिएको हो।

    पोखरेल हालका एआइजी दीपक थापासँगै अवकाशमा जानेछन्। यसपल्टको बढुवामा २०५१ सालको टोलीबाट चन्द र राउत छुटेका छन्। चन्दलाई भने यसअघि डिआइजी दुर्गा सिंह चन्दलाई गण्डकी प्रदेशको जिम्मेवारी दिएर बढुवा हुन नसक्ने संकेत गरिएको थियो। चन्द र सिंह पति–पत्नी हुन्।

    २०५३ सालको समूहबाट भने बढुवा छुटेको छ। २०५३ सालको समूहमा डिआइजी बढुवाको प्रतिस्पर्धामा सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदीलगायत थिए।

    शाह, राठौर, चतुर्वेदीसहित राष्ट्रिय अनुसन्धानबाट आएको टोलीलाई नै यसपटकको बढुवामा छुटाइएको हो। २०५३ सालमा इन्सपेक्टर भएका एसएसपीहरू आफूहरू बढुवा नभए पनि कुनै पनि हालतमा २०५४ सालको टोलीलाई बढुवा हुन नदिने पक्षमा थिए तर प्रहरीमा भावी नेतृत्वलाई परिपक्व बनाउन भन्दै गृह मन्त्रालयले यसपटकको बढुवामा २०५४ सालको ब्याचलाई प्राथमिकतामा राखेको देखिन्छ।

    कार्की र केसी भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका अधिकृत हुन्। उनीहरूसँगै बढुवा भएका २०५४ सालकै टोलीका अधिकारी पनि विवादरहित छन्। ‘यसपल्टको बढुवामा २०५४ मा इन्सपेक्टरमा भर्ना भएकाहरूले अहिले नै डिआइजी बढुवामा लबिङ गरेका थिए। उनीहरूलाई राअविको समूहले रोक्ने कसरत गरेको थियो तर त्यो प्रत्युत्पादक हुन पुग्यो,’ प्रहरी प्रधान कार्यालयका एक अधिकृतले भने।

    २०५२ कात्तिक २७ मा इन्सपेक्टरमा भर्ना भएका पोखरेल एसएसपीमा बढुवा भएको मितिले सबैभन्दा सिनियर थिए। उनी बढुवाको पहिलो नम्बरमा परेका छन्। उनी २०७७ माघ ९ मा एसएसपीमा बढुवा भएका थिए। उनीअघि २०५१ चैत ५ मा भोलाबहादुर रावल, ध्रुवराज राउत र गणेश चन्दले इन्सपेक्टरको नियुक्त लिएका थिए। तर एसएसपी बढुवामा भने शर्मा सधैं पछि थिए।

    रावल र राउत २०७८ मंसिर १२ मा एसएसपीमा बढुवा भएका थिए। चन्द भने उनीहरूभन्दा पछि २०५३ र २०५४ सालको टोलीसँगै २०७९ साउन १ मा एसएसपीमा बढुवा भएका थिए। उनीहरू तीनै जना बढुवामा छुटेका छन्। २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएका र २०५४ चैत १८ मा प्रहरी इन्सपेक्टरमा भर्ना भएकाहरूबीच बढुवाका लागि द्वन्द्व थियो।

    २०५४ सालको टोली डिएसपी बढुवा हुने बेलामा राष्ट्रिय अनुसन्धानबाट स्थानान्तरण भएर आएकाहरू डिएसपीमा बढुवा भएका थिए। राष्ट्रिय अनुसन्धानबाट आएकाहरू एक वर्षपहिले भर्ना भएको सिनियर टोली भन्दै २०५४ सालको टोलीलाई छुटाएर २०६४ पुस ३० मा डिएसपीमा बढुवा भएका थिए। उनीहरूकै कारण २०५४ सालका टोलीको डिएसपी बढुवा दुई वर्ष पछाडि धकेलिएको थियो।

    २०५४ सालको समूह २०६६ मंसिर २६ मा बल्ल डिएसपीमा बढुवा भएको थियो। त्यसपछि एसपी र एसएसपीमा भने २०५३ र २०५४ सालका टोलीहरूको एकै पटक क्रमशः २०७४ असार ३१ र २०७८ मंसिर १२ मा भएको थियो।

    नेपाल प्रहरीको २०५६ सालको ब्याचभन्दा पछि २०५८ सालमा राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएकाहरूले प्रहरीको तालिम गरेका थिए। उनीहरूले तालिम सकेर द्वन्द्वको समयमा कठिनभन्दा कठिन कार्यमा खटिएका थिए। तर राअविबाट नेपाल प्रहरीमा आएकाहरू कहिल्यै पनि द्वन्द्वकालमा खटिनुपरेन। उनीहरूले कमान्ड सम्हाल्ने बेलामा द्वन्द्वकाल समाप्त भइसकेको थियो।

    राष्ट्रिय अनुसन्धानबाट आएकामध्ये सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, माधवप्रसाद श्रेष्ठ, डम्बरबहादुर विक, उमाप्रसाद चतुर्वेदी, ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, विमल बस्नेत डिआइजी बढुवाका स्वाभाविक दाबेदार थिए।

    २०५४ सालमा प्रहरी निरीक्षक भएका टोलीबाट ईश्वर कार्की, मनोजकुमार केसी, रेवती ढकाल, दिनेशकुमार आचार्य, अरूण पौडेल, राजेन्द्रप्रसाद भट्ट, मनोजकुमार यादव, किसनसिंह थापा, गोविन्द थपलिया, सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे पनि प्रतिस्पर्धी थिए।

    यसैगरी जीवनकुमार श्रेष्ठ, दीपक रेग्मी, दीपककुमार बस्नेत, जयराज सापकोटा, शारदाप्रसाद चौधरी, लोकेन्द्र श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, रामेश्वरप्रसाद यादव, दिलीपसिंह देउवा, सञ्जीव शर्मा दास पनि प्रतिस्पर्धी थिए। यीमध्ये मनोज, विनोद, जयराम, शारदाप्रसाद, लोकेन्द्र, रामेश्वर, दिलीपसिंह र सञ्जीव पनि राअविबाटै २०५८ मा स्थानान्तरण भएका अधिकृत हुन्।

  • बालेन, कान र काठमाडौं

    बालेन, कान र काठमाडौं

    शनिबार सञ्चारमाध्यमहरूमा काठमाडौं महानगरपालिकाका युवा मेयर बालेन्द्र साह (बालेन) फ्रान्समा कान सहरमा आयोजित ७७ औं कान फिल्म फेस्टिभलको रेड कार्पेटमा हिँडिरहेको खबर सार्वजनिक भयो। चलचित्रकर्मीका लागि कानको निमन्त्रण सम्मानसँगै आफ्नै समुदायसँग साक्षात्कार हुने पर्वकै बराबर हुने गर्छ। तर, हाम्रा मेयर आफ्नो कार्यगत क्षेत्र र जिम्मेवारी नहुँदानहुँदै किन व्यस्त समय खर्चेर चलचित्र महोत्सवमा गए ? समाचारका अनुसार समकक्षी कानका मेयर डेभिड लिसनार्दको निमन्त्रणामा उनी त्यहाँ पुगेका हुन्। तर, फ्रान्सको त्यो दक्षिणपूर्वी कुनोमा अरू समय र सन्दर्भमा पनि जान त सकिन्थ्यो होला नि ? यी र यस्ता जिज्ञासालाई खारेज गरिहाल्न पनि मिल्दैन । तर, बालेन कान पुगिसकेका छन्। त्यसैले अब उनी त्यहाँ किन पुगेभन्दा पनि उनले त्यहाँबाट के–के सिक्न सक्छन्, त्यसबाट काठमाडौं महानगर र पुरै मुलुकले कसरी लाभ लिन सक्छन् भन्ने दिशामा विमर्श गरिनु उचित हुनेछ।

    पहिलो त प्राचीन ग्रिक सभ्यताको समेत झलक पाइने फ्रान्सको यो पुरानो सहर कान पर्यटकीय दृष्टिमा समेत देशकै प्रमुख सहरमध्ये एक हो, काठमाडौंजस्तै। त्यसो त काठमाडौं र कानका आधारभूत चुनौती नै अलग छन्। त्यहाँ नागरिक दायित्व र करदाता संरक्षण प्रमुख मुद्दा छ तर हामीकहाँ भौतिक विकास, पूर्वाधार र नागरिकका लागि आधारभूत सेवासुविधाकै जोहो दुरुह बनिरहेको छ। तर, कान सहरले कसरी ती समस्यासँग संघर्ष गरेर आजको विकाससँग आत्मसात् गर्न सक्यो ? मेयर बालेनका लागि त्यो सिकाइ हुन सक्छ। आजका कानवासीका समस्या भोलि काठमाडौंवासीका पनि हुन सक्छन्, त्यसतर्फ पनि उनको ध्यान पुग्नु जरुरी हुनेछ।

    र्‍यापर, इन्जिनियर र मेयरको ख्यातिका लागि ठीक एक वर्षअघि द न्युयोर्क टाइम्सले व्यक्तिचित्र नै छापेर चर्चित गराइदिएकाले बालेनका लागि कानका मेयर लिसनार्द स्वयं पनि एक पाठ हुन सक्छन्। राजनीति सिक्दै, बुझ्दै उपमेयरबाट सन् २०१४ मा पहिलोपटक कानका मेयरमा निर्वाचित लिसनार्दले २०२० मा भएको दोस्रो कार्यकालको निर्वाचनमा ८८ प्रतिशत मत ल्याउँदै ऐतिहासिक विजय हासिल गरेका थिए। राजनीतिको विगत नभएर पनि स्वतन्त्रकै हैसियतमा प्रशस्त मतले मेयरमा निर्वाचित बालेन आफूलाई राजनीतिकर्मी नै बनाइराख्न चाहन्छन् भने लिसनार्दको नेतृत्व अनुभव पनि उनका लागि मननयोग्य हुन सक्छ। तर, बालेनको कान कार्पेटबाट सबैभन्दा बढी उत्साही कोही छन् भने ती चलचित्रकर्मी नै हुन्। र, उनीहरूको भनाइमा मेयर बालेनले कानको भव्यताबाट नेपाल लिएर आउन सक्ने महŒवपूर्ण र खास चिज पनि कानसँगै जोडिएको छ। के कान महोत्सवबाट फर्किदा मेयर बालेनसँग काठमाडौंलाई पनि ‘अर्को कान’ बनाउने सपना हुनेछ ? यस्तो महŒवाकांक्षा हुनेछ, जसले काठमाडौंलाई पनि विश्वका कलाकर्मीको एक गन्तव्य बनाओस् ?

    कतिपयलाई यो अतिशयोक्ति पनि लाग्न सक्ला। तर, हामी काठमाडौंवासीसँग यति भन्ने र गर्ने आत्मविश्वास छ। र, यसको आधार पनि निर्माण भइसकेको छ। काठमाडौंमा अबको ठीक १० दिनपछि हुने २१औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) यस्तो एउटा महोत्सव हो, जसमा विश्वभरिका गैरआख्यान र आख्यान चलचित्रहरू प्रतिस्पर्धाका लागि आउँछन्। प्रत्येक दुई वर्षमा हुने फिल्म साउथ एसिया (एफएसए) अर्को मञ्च हो, जहाँ यसैगरी हाम्रा छिमेकी राष्ट्रका चलचित्रकर्मीहरू आफ्ना साझा कर्म र कठिनाइलाई आपसमा साटासाट गर्छन्। फोटो काठमाडौं, काठमाडौं ट्रिएना काठमाडौंमा हुने यस्ता दुर्लभ कला महोत्सव गर्छन्, जहाँ विश्वस्तरका कृति प्रदर्शन गरिन्छन्। ज्याजमान्डु अर्को सफल प्रतियोगिता हो। यस्ता अरू पनि पहल छन्, जसले सभ्यता र सम्पदाको यो सहरमा सुन्दरता थपेका छन्।

    आधारसँगै काठमाडौंसँग यस्तो ठुला महोत्सवहरू आयोजन गर्ने वातावरण पनि छ। जसरी इटालीको भेनिस फिल्म फेस्टिभलमा मुसोलोनी र हिटलरको हस्तक्षेपपछिको विद्रोहले सन् १९४६ मा कान फेस्टिभल स्थापनामा मद्दत ग¥यो, छिमेकी देशहरूमा बढिरहेको अलोकतान्त्रिक र धार्मिक अतिवादको राजनीतिविरुद्ध काठमाडौं त्यस्तै प्रतिरोधको सहर बन्न सक्छ। सबै मत र वादसँगको समभाव, सहिष्णु र सुरक्षित सहर बन्न सक्छ।

    वास्तविकता के भने कतिपय अर्थमा काठमाडौंमा राज्यको प्रत्यक्ष सहयोगबेगर नै वर्षौंदेखि यस्तो अभ्यास पनि हुँदै आइरहेका छन्, जहाँ भारत, पाकिस्तान, श्रीलंकामा भन्न नसकिने कुरा भनिएका छन्, गर्न र देखाउन प्रतिबन्धित सिर्जना हाकाहाकी प्रदर्शनमा आइरहेकै छन्। तर, राज्यको निरन्तरको उदासीनताले केही संस्था, दातृ निकायमा भर परेका यस्ता पहलकदमी यतिबेला लरखराएका छन्। कति त एकाध वर्ष चलेर बन्द पनि भएका छन्। कतिले धुकधुकीसम्म बचाएका छन्।

    आशा छ, कान दर्शनबाट फर्किएपछि मेयर बालेनले आफ्नो नगरले बनाएको दक्षिण एसियाकै सांस्कृतिक राजधानीको ‘सफ्ट पावर’को शक्तिमा विश्वास गर्नेछन्, यो पहिचान बचाउन लागिपर्नेछन्। काठमाडौंमा भइरहेका र हुने यसखाले उत्सवहरूलाई जोगाउन उदार मनले हात फैलाउनेछन्, सँगै सरकार र राज्यका अन्य निकायका लागि पनि उदाहरण बन्नेछन्।

    यो पनि आग्रह छ कि कान पुगेका हाम्रा मेयर बालेन आउँदो मे २९ मा किम्फ पनि पुगून् !

  • खुकुरी प्रहार गरी सिटी सफारी चालकद्वारा साइकल यात्रीको हत्या

    खुकुरी प्रहार गरी सिटी सफारी चालकद्वारा साइकल यात्रीको हत्या

    इटहरीमा शनिबार साँझ सिटी सफारी चालकले खुकुरी प्रहार गरी एक साइकल यात्रीको हत्या गरेका छन्।

    इटहरी वडा नं-७ का २८ वर्षीय भीम भनिने रामकुमार पण्डितको हत्या भएको हो। उनलाई सिटी सफारी चालक सोही ठाउँका ३० वर्षीय उमेश चौधरीले खुकुरी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ।

    घटनाक्रम अनुसार इटहरी वडा नं-७ को बज्राहामा सिटी सफारी चालक चौधरी दक्षिणबाट इटहरी चोकतर्फ आउँदै गर्दा पण्डित साइकलबाट दक्षिणतर्फ जाने क्रममा एक आपसमा ठोकिएका थिए।

    त्यसपछि चौधरीले सिटी सफारीबाट खुकुरी निकालेर लखेट्दै केही मिटर पूर्वतर्फ पुगेपछि खुकुरी प्रहार गरेर हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए।

    उनका अनुसार दुवै जनाबीच पुरानो रिसिइबी रहेकाले घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनालगतै चौधरीले आफै प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए। घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

  • जोखिममा परेका श्रमिकलाई विदेशबाट उद्धार गर्न छुट्टै कोष

    जोखिममा परेका श्रमिकलाई विदेशबाट उद्धार गर्न छुट्टै कोष

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गैरकानुनी माध्यमबाट वैदेशिक रोजगारीमा गई जोखिममा परेका श्रमिकलाई उद्धार गर्न छुट्टै कोष स्थापना गर्ने भएको छ।

    श्रम मन्त्री डोलप्रसाद अर्यालले शनिबार सुर्खेतमा पत्रकारसँग कुरा गर्दै यस्तो कोषको तयारी भइरहेको जानकारी दिएका हुन्। हालको व्यवस्था अनुसार श्रम मन्त्रालयले श्रम स्वीकृति लिएर जाने श्रमिकलाई मात्रै उद्धार गरिँदै आएको छ।

    विदेशमा जाने श्रमिकले कल्याणकारी कोषमा जम्मा गरेको कोष मार्फत जोखिममा परेका यस्ता श्रमिकको उद्धार गरिँदै आएको हो। तर, गैरकानुनी रुपमा गएका श्रमिकलाई उद्धार गर्ने कोषको व्यवस्था सरकारले गरेको थिएन।

    ‘गैरकानुनीमा रुपमा गएका श्रमिक पनि नेपाली नागरिक नै हुन्,’ मन्त्री अर्यालले भने, ‘उनीहरुको उद्धार गर्नु सरकारको दायित्व हो। त्यसैले छुट्टै कोषको व्यवस्था गर्न आगामी बजेटमा अर्थमन्त्रालयसँग प्रस्ताव गरेका छौ,’ उनले भने।

    त्यस्तै, वैदेशिक रोजगारीको नाममा ठगिएमा तुरुन्तै सम्बन्धित निकायमा उजुरी गर्न श्रममन्त्री अर्यालले आग्रह गरेका छन्। ‘वैदेशिक रोजगारीको नाममा ठगिएमा वैदेशिक रोजगार विभागमा तुरुन्तै उजुरी दिनुहोस्,’ उनले भने, ‘त्यो सम्भव भएन भने पनि हाम्रो सचिवालयमा ठगी गरेको संस्था वा व्यक्तिको विवरण टिपाउनु होस।’

    अर्यालले ठगी गर्ने व्यक्ति वा संस्थालाई निमर्म कारबाही गरिने दृढता व्यक्त गरे। मन्त्रालयले अगामी दिनमा श्रमिकलाई अनिवार्य सीप तालिमको व्यवस्था गर्ने, रोजगार बैक स्थापना गर्ने र भारतमा जाने श्रमिकको तथ्यांक संकलन गरिने जानकारी दिए।

  • खेलकुदमन्त्रीले गरे राष्ट्रिय हक्की खेल मैदानको निरीक्षण

    खेलकुदमन्त्रीले गरे राष्ट्रिय हक्की खेल मैदानको निरीक्षण

    युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आज काभ्रेपलान्चोकको सदरमुकाम धुलिखेलमा निर्माण हुने राष्ट्रिय हक्की खेलमैदानको निरीक्षण गरेका छन्।

    उनले खेलमैदान निर्माणका लागि धुलिखेल नगरपालिकाद्वारा प्रदान गरिएको जमिनलाई व्यवस्थित बनाउन गुरुयोजनासहितको बजेटका लागि निरीक्षण गरेका हुन्।

    मन्त्री श्रेष्ठले धुलिखेल नगरको वडा नं-११ र १२ को सिमानामा निर्माणाधीन खेल मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सहयोग गर्ने बताए। उनले भने, ‘नेपाल हरेक हिसाबले सम्भावना नै सम्भावना भएको देश हो, हामीले पूर्वाधारमा भन्दापनि व्यवस्थापनमा ध्यान दिनुपर्छ।’

    मन्त्री श्रेष्ठले नेपालमा हरेक खेलका लागि पर्याप्त भौगोलिक संरचना भएकाले पूर्वाधारमा लगानी गर्नु नपर्ने तर खेलअनुसारका जमिन व्यवस्थापनमा अनुगमन, निरीक्षणमा जोड दिनुपर्ने बताए।

    खेलमैदानको अवलोकनका लागि नेपाली हक्की सङ्का केन्द्रीय पदाधिकारी, जिल्लास्थित पदाधिकारी एवं स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

    उक्त खेल मैदानलाई बाग्मती प्रदेश सरकारले चालु आवमा आवश्यक गुरुयोजना बनाउने गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    नेपाल हक्की सङ्घका केन्द्रीय अध्यक्ष अनिल शर्माका अनुसार बागमती प्रदेशस्थित खेलकुद विकास परिषद्द्वारा रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० को तयारी अन्तिम चरणमा पुगेको छ।

    तीन वर्षमा तीन चरणमा निर्माण हुने भनिएको रङ्गशालाको पहिलो चरणमा मैदान, दोस्रोमा प्याराफिट र त्यसपछि होस्टेल निर्माण हुनेछ। करिब ८० करोडमा रङ्गशाला तयार हुने प्रारम्भिक अनुमान गरिएको शर्माले बताए।

    मन्त्री श्रेष्ठले आजै धुलिखेलको हजार सिँढी, भैरव मुर्तिस्थललगायत विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन गरेका थिए।

  • समृद्ध नेपाल बनाउने सङ्कल्प एमालेले पूरा गर्छ: उपाध्यक्ष पाण्डे

    समृद्ध नेपाल बनाउने सङ्कल्प एमालेले पूरा गर्छ: उपाध्यक्ष पाण्डे

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपाध्यक्ष सुरेन्द्र पाण्डेले समाजवादको आधार तयार गर्नका लागि नगर, गाउँ कमिटीले स्पष्ट योजना र दृष्टिकोणसहित काम गर्नुपर्ने बताएका छन्।

    एमाले काठेखोला गाउँ कमिटीको दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा उनले वामपन्थी एकतासहितको एमालेले समृद्ध नेपाल: सुखी नेपालीको सङ्कल्प पूरा गर्ने र त्यसका लागि ‘मिसन २०८४’ लाई योजनाबद्ध रूपमा अगाडि बढाउन आग्रह गरे।

    उपाध्यक्ष पाण्डेले प्रत्येक निर्वाचनमा भएको कमीकमजोरीलाई समीक्षा गरी अघि बढ्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिए।

    पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले मुलुकको अर्थतन्त्र उकास्न संस्थागत पहल, नीतिगत व्यवस्थासँगै समाजको प्रवृत्तिगत समस्या सुधारमा जोड दिए।

  • काठमाण्डौंका जनप्रतिनिधिले सहयोग नगर्दा लगानी फिर्ता जाने अवस्थामा पुग्यो: कुलमान

    काठमाण्डौंका जनप्रतिनिधिले सहयोग नगर्दा लगानी फिर्ता जाने अवस्थामा पुग्यो: कुलमान

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाण्डौं उपत्यकामा बिजुलीको तार भूमिगत तथा वितरण प्रणालीमा स्वचालित गर्ने काममा स्थानीय तहको सहयोग नहुँदा एडिभिको लगानी फिर्ता जान लागेको बताएका छन्।

    चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको ३३/११ केभी क्षमताको सब स्टेसन तथा गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइनको उद्घाटनको क्रममा शनिबार घिसिङले काठमाण्डौंका जनप्रतिनिधिले सहयोग नगर्दा लगानी फिर्ता जाने अवस्थामा पुगेका बताएका हुन्।

    ‘काठमाण्डौं उपत्यकामा काम सुरु भएको पाँच वर्ष पुग्यो। काम गर्न नपाएर ठेकेदार भाग्ने अवस्थामा छन्। एडिभिले काम ड्रप गर्न अवस्थामा पुगेको छ,’ उनले भने ‘आएको योजना फिर्ता हुनु भनेको हाम्रो लागि दुर्भाग्यको कुरा हो।’

    उनले काठमाण्डौंको लगानी चितवनमा ल्याएको भए धेरै सजिलो हुने समेत बताए।

    ‘काठमाण्डौंमा मलाई यति गाह्रो भइरहेको छ। अचेल मलाई यस्तो लाइरहेको छ। वास्तवमा काठमाण्डौंको स्कोप भरतपुरमा राखेको भए मलाई धेरै सजिलो हुने थियो,’ उनले भने ‘काठमाण्डौंमा काम गर्न नै सकेको छैन।’

    काठमाण्डौं उपत्यकामा सञ्चालन भएको योजना फर्किनु भनेको त्यहाँका जनताका लागि दुर्भाग्यपूर्ण हुने बताए। ‘भोलि महानगरपालिकालाई नै आवश्यक हुने हो। सुन्दर सिटी बनाउनका लागि तारलाई भूमिगत बनाउनु पनि हो। पोलहरु हट्यो भने महानगरपालिकालाई नै राम्रो हो,’उनले भने ‘यस्तो अवस्थामा महानगरपालिकाले हाम्रा कर्मचारी लगेर थुन्छ भने कसरी विकास हुन्छ ?।’

    कार्यकारी निर्देशक घिसिङले देशका मुख्य सहरमा विद्युत्को वितरण प्रणाली र सब-स्टेसन विस्तारका लागि अध्ययन भइरहेको बताए। गुरुयोजना अनुसार भरतपुर, पोखरा र बुटवलका सडकमा विद्युतीय सवारी साधनका लागि लक्षित गर्दै इयू र केएफडब्लुको सहयोगमा अध्ययन समेत भइरहेको उनले जनाए।

    यी क्षेत्रमा ३३ केभिए प्रसारण लाइनको ठुलो योजना आउने उनकाे भनाइ छ। विद्युतीय सवारी साधन उपभोक्ताका लागि सस्तो र सर्वसुलभ समेत रहेको उनले सुनाए।

    कार्यक्रममा उनले नेपालमा ९९ प्रतिशत नागरिकमा विद्युत्को पहुँच पुगेको समेत बताए। चितवनको पहाडी क्षेत्रमा समेत करिब करिब विद्युत्को पहुँच पुगेको उनको दाबी छ।

    उनले आगामी ५० वर्षमा महानगरपालिकामा हुने विद्युत् मागमा प्रक्षेपण गरी २४ सै घण्टा विश्वसनीय, गुणस्तरीय र पर्याप्त विद्युत् आपूर्तिका लागि काम अगाडि बढाइसकेको बताए।

    महानगर क्षेत्रमा भइरहेको तीव्र सहरीकरणका कारण बढिरहेको विद्युत् मागलाई सम्बोधन गर्न ३३ केभीको रिङमार्फत १२३ केभी सब स्टेसनमा जोड्ने गरी काम भइरहेको उनको भनाई छ।

    यस्तै, चितवनको देवनगर सब स्टेसन आजदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको ३३/११ केभी क्षमताको सब स्टेसन तथा गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन उद्घाटन गरिएको हो।

    भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार संयुक्त रुपमा सब-स्टेसन तथा प्रसारण लाइनको उद्घाटन गरेका हुन्।

    देवनगर सब स्टेसनबाट महानगरपालिकाका वडा नं-५, ६, ८, ९, १३, १४, १५, २२ र २३ मा विद्युत् आपूर्ति दिइएको छ। सब-स्टेसनमा २४ एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ। त्यसबाट करिब २२ मेगावाट विद्युत् आपूर्ति गर्न सकिने छ।

    वडा नं-११ स्थित १३२ केभी बसेनी सब स्टेसनबाट गएको ३३ केभी लाइनलाई गोन्द्राङमा ट्यापिङ गरी वनदेवी, सल्लेनी, गौरीगञ्ज, बरुवा, केशरबाग हुँदै देवनगर सबस्टेसनसम्म पुर्‍याइएको छ।