Category: Banner

  • कति बाँकी छ ठेक्का तोडिने संकेत पाएको भेरीब–बईको काम ?

    कति बाँकी छ ठेक्का तोडिने संकेत पाएको भेरीब–बईको काम ?

    ठेक्का सम्झौताबमोजिम भएको भए राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध निर्माणको काम २०८० सालमा सकिईसकेको
    हुन्थ्यो । आयोजनाको सुरुङ निर्माणको काम बाँध निर्माणका लागि सम्झौता हुनअघि नै पूरा भईसकेको थियो । बाँध निर्माणका लागि २०७६ साउनमा ठेक्का सम्झौता भएको थियो । चार बर्षभित्र काम सक्नेगरि चार रमण कन्स्ट्रक्सनले बाँध र विद्युतगृह निर्माणको ठेक्का लिएको थियो । उक्त ठेक्काअन्तर्गत हेडवक्र्स, सर्ज साफ्ट, पेनस्टक र पावरहाउसको सिभिल वक्र्स निर्माण कार्यको शिलान्यास तत्कालिन उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले २०७६ मंसिर १६ मा गरेका थिए ।


    ठेक्का सम्झौता भए लगत्तै कोराना महामारीका कारण देखाउँदै ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको थियो । कोरोनाबाट प्रभावित बनेको भन्दै २०८० मंसिरमा आयोजना निर्माणका लागि कम्पनीलाई एक वर्षको समयसीमा थप गरिएको थियो । यो अवधिमा पनि आयोजनाले पूर्णता नपाएपछि त्यसयता बारम्बार म्याद थप गरी आर्थिक वर्ष २०८४÷०८५ सम्म निर्माण अवधि धकेलिएको छ । सुरुआती चरणमा खरिद प्रक्रियामा ढिलाई, कोभिड, लडकडाउनका कारण प्राविधिक कठिनाई भएको भन्दै समयमा काम गर्न नसकिएको जस्ता कारण सम्बन्धित निकायलाई निर्माण कम्पनीले देखाएको थियो । त्यही आधारमा आयोजनाले समयसीमा थप गरेको थियो ।
    पछिल्लो पटकलाई थपिएको म्यादमा पनि आयोजनाको काम पूरा नहुने संकेत देखिएपछि वर्तमान अन्तरिम सरकारले भेरीबबईको ठेक्का तोड्ने मनसाय अघि बढाएको छ । निर्माण व्यवसायीले अपेक्षित गतिमा काम नगरेको भन्दै वर्तमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङ ठेक्का तोड्नुपर्ने अवस्था आएको बताएका छन् । गत मंगलबार मन्त्री घिसिङले मन्त्रालयका सचिव, सिँचाई विभागका महानिर्देशक, भेरी–बबई डाइभर्सन आयोजनाका प्रमुख, निर्माण व्यवसायी र परामर्शदातासँग छलफल गरी ‘ठेक्का तोड्नुको विकल्प’ नरहेको बताएका छन् ।


    आयोजना निर्माणले सन्तोषजनक गति लिन नसकेपछि यस विषयमा चासो लिएका मन्त्री घिसिङले कृषि र बिजुली उत्पादनबाट राष्ट्रिय अर्थतन्त्रलाई उकास्न सघाउ पुग्ने आयोजनामा भइरहेको अस्वभाविक ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेका थिए । आयोजनालाई पूर्णता दिन निर्माण व्यवसायीले आनाकानी गरेको अवस्थामा ठेक्कालाई कायम राख्नुको औचित्य नरहेको उनले बताएका थिए । ‘आयोजनाको सुरुङ निर्माण भइसकेको छ, तर बाँध, विद्युतगृह लगायतका संरचना निर्माणमा विलम्ब भइरहेको छ,’ गत मंगलबार भएको छलफलका क्रममा मन्त्री घिसिङले भनेका थिए, ‘निर्माण व्यवसायीले सक्रियता देखाएको भए आयोजना बनिसक्थ्यो, उहाँहरुले काम गर्ने छाँट देखाउनुभएको छैन, यसकारण पनि आयोजनालाई थप अन्यौलतामा रहन दिईनु हुँदैन ।’
    ठेक्का भएको ६ बर्ष वितिसक्दा पनि निर्माण कम्पनीले ६९ प्रतिशत मात्र कार्य पूरा गरेको छ । सम्झौताबमोजिम भौतिक र आर्थिक दुवै प्रगति कमजोर देखिएको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले जनाएको छ । ‘निर्माण व्यवसायीले ठेक्का सम्झौतामा गरेको प्रतिवद्धताअनुसार काम गर्न चासो देखाएको छैन, सम्झौताबमोजिम काम गर्न बारम्बार ताकेता गर्दा पनि अटेर भइरहेको छ,’ आयोजना प्रमुख रणबहादुर बमले भने,’ ‘हालसम्म आयोजनाको समग्र प्रगति ६९ प्रतिशत मात्र पुगेको छ, तर यसैमा निर्माण सम्पन्न भइसकेको सुरुङको प्रगतिसमेत जोडिएको छ ।’ उनका अनुसार निर्माण जिम्मा लिएको रमणसँगको सम्झौता अनुसारको बाँध र विद्युत गृह निर्माणको कामको प्रगति भने ५७ प्रतिशत मात्र रहेको छ । रमणले चीनियाँ निर्माण कम्पनी ग्वाङडोङ युयानटियानसँग मिलेर जोइन्ट भेन्चर (जेभी) मा आयोजनाको काम गरिरहेको छ ।
    ‘पछिल्लो कम्पनीसँगको ठेक्का सम्झौताअनुसार हेडवक्र्स, सर्ज शाफ्ट, पेनस्टक र पावरहाउस अन्तर्गतका सिभिल वक्र्स निर्माणको प्रगति ५७ प्रतिशत मात्रै छ, उनीहरुले तोकिएको समयमा आयोजनालाई पूर्णता दिन्छौं भनेपनि कामलाई गति दिने विषयमा जिम्मेवार भने देखिएका छैनन् ।’ प्रमुख बमले भने ।
    सुरुङ निर्माणको काम चीनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) ले २०७६ मै सकिसकेको थियो । २०७४ कात्तिक २० गतेदेखि सुरुङको काम सुरु गरेको निर्माण कम्पनीसँग २०७६ चैत १५ सम्म काम सक्ने सम्झौता थियो। तर कम्पनीले एक वर्षअघि नै सरकारलाई सुरुङ हस्तान्तरण गरेको थियो । नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टिबीएम) प्रयोग गरी भेरीबबईको सुरुङ निर्माण गरिएको थियो ।
    आयोजना प्रमुख बमका अनुसार मन्त्रीस्तरिय छलफलबाट अब पनि आयोजनालाई गति दिने विषयमा निर्माण कम्पनी अग्रसर नभए ठेक्का तोड्नेसम्मको विकल्प अघि सारिएको छ । आयोजना वर्गीकरणको आधार तथा मापदण्ड, २०८० को दफा १३ बमोजिम राष्ट्रिय गौरवका आयोजनाहरुमा लागत अनुमान कम्तीमा ५० अर्ब हुनुपर्ने र दफा १६ मा राष्ट्रिय गौरवका आयोजनाहरु १० वर्षभित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ । तर, झण्डै १३ वर्षअघिदेखि सुरु भएको यो आयोजनाको सुरुङको ब्रेक–थ्रु पछिका कुनै पनि कामले तिव्रता पाउन सकेका छैनन् ।
    नेपालका हिमाली क्षेत्र स्रोत भएका नदीको पानीलाई मझौला नदीमा स्थानान्तरण गरी बाह्रै महिना सिँचाइ सुविधा पु¥याउने उद्देश्यले भेरी–बबई आयोजना अघि बढाईएको थियो । यो आयोजना नेपालका ठूला सिँचाइ परियोजनामध्येको एक हो । उद्देश्यअनुसार यो आयोजना सम्पन्न भए भेरी नदीको पानीलाई १२ किलोमिटर सुरुङमार्फत बबई नदीमा खसालेर बाँके र बर्दियाका ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा बाह्रै महिना सिँचाइ पुग्नेछ । यससँगै ४६ मेगावाट विद्युत पनि उत्पादन गरिनेछ । विद्युत गृह पानी खसालिने बबईतर्फको क्षेत्र हात्तीखालमा निर्माण गरिनेछ ।
    आर्थिक वर्ष २०६८÷०६९ बाट सरकारले भेरी–बबईलाई राष्ट्रिय प्राथमिकतामा राखेर अघि बढाइरहेको छ । आयोजनाको फिल्डस्तरमा निर्माणको कार्य भने आर्थिक वर्ष २०७१÷०७२ बाट मात्र सुरु भएको थियो । आयोजनाको कुल लागत ३३ अर्ब १९ करोड ६६ लाख रहेको छ । जसमध्ये हालसम्म १८ अर्ब १९ करोड ९७ लाख रुपैयाँ खर्च भएको देखिन्छ ।

  • ‘४१ बर्षको कमाइ खरानी बनाइदिए’

    ‘४१ बर्षको कमाइ खरानी बनाइदिए’

    प्रदेश अस्पताल सुर्खेतका पूर्वनिर्देशक डा. डम्बर खड्काले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका नाममा आफ्नो घरमा आगजनी तथा लुटपाट हुँदा आफ्नो ४१ वर्षको कमाइ जलेर खरानी भएको बताएका छन् । जेनजी आन्दोलनकारीले गएको भदौ २४ गते नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको घर भन्दै डा. खड्काको घरमा आगजनी, तोडफोड तथा लुटपाट गरेका थिए । डा. खड्का नेता पूर्णबहादुरका सहोदर भाइ हुन् ।
    बुधबार आगलागीले खण्डहर भएको निवासमै पत्रकारहरूसँग कुराकानी गर्दै डा. खड्काले आफ्नो पुख्र्यौली घरबाहेक आफ्नोमात्र करिब चार करोड बराबरको क्षति भएको बताए । दुई वर्षअघि प्रदेश आन्दोलनका क्रममा पनि आफ्नो परिवार र आफ्नो घरमा आक्रमण भएको भन्दै डा. खड्काले यसपटक पुनः जेनजी आन्दोलनसँगै रिसइबीले आफ्नो निजी सम्पत्तिमाथि ठूलो क्षति पुगेको बताए ।
    डा. खड्का घर आगलागी हुँदा मानसरोवर कैलाश दर्शनका लागि तिब्बत यात्रामा थिए । उनले आफूले कसैको पाप नगरेको हुनाले नै आज आफू यो स्थानमा पुगेको बताए । यस पटकको कैलाश यात्रामा पनि भगवान् कैलाशले आफूलाई शक्ति प्रदान गरेको उनको भनाइ छ । आफ्नो घर जलेर खरानी हुँदा पनि आफूले हार नखाएको भन्दै उनले भने, ‘मैले कर्णालीभन्दा बाहिर धेरै अवसरहरु त्यागेर यही जन्मभूमिमा बसेर ४१ वर्ष सेवा गरेँ । तर, आज मेरो श्रमको सबैभन्दा ठूलो अपमान भएको छ ।’
    उनका अनुसार, घरमा भएको आक्रमणमा सुनका गरगहना लुटिएको छ । उनको श्रीमतीले सजाएर राखेका सबै सामग्री र छोराले आमाको सम्झनामा किनेको पियानोसमेत जलेर नष्ट भएको छ । ‘मेरी श्रीमती बितेको पीडा अझै सकिएको थिएन, त्यही बेला फेरि अर्को ठूलो पीडा थपियो,’ उनले भने, ‘तर मैले हार खाएको छैन । यही ठाउँमा फेरि नयाँ घर बनाएर बस्ने हो, यस्तो भयो भन्दैमा यहाँबाट बाहिर जाने होइन ।’
    उनले आफ्ना दाइ पूर्णबहादुर खड्कामाथि भ्रष्टाचारको निराधार आरोप लाग्ने गरेको पनि बताए । ‘उहाँले भ्रष्टाचार गरेको भए छानबिन होस्, तर हामीले उहाँ मन्त्री भएको फाइदा लिएका छैनौँ र उहाँ दाइ पूर्णबहादुरजस्तो निष्कलंक नेता नेपालमा कोही भए, देखाए भयो,’ अरुले भनेको आधारमा ऊ नेता भ्रष्टाचारी हो भन्दै सबै नेताहरुलाई एकै तरिकाले हेर्न हुँदैन,’ उनले भने ।
    उनले अगाडि थपे, ‘दाइले राजनीति गरेको यतिका समय भयो, तर, आफ्नो बाससम्म बनाउन सक्नुभएको छैन, उहाँ अहिले मेरो ससुरालीले दिएको घरमा बस्दै आउनुभएको छ, भनेपछि उहाँले भ्रष्टाचार गर्नुभयो होला कि गर्नुभएन होला,’ खड्काले भने, ‘यहाँबाट पनि बुझ्न सकिन्छ, जसले चिकित्सा क्षेत्रबाट र राजनीति क्षेत्रबाट यो गाउँ ठाउँ र प्रदेशका लागि सेवा गरिरहेको छ, उसलाई किन यसरी प्रहार भएको छ ?’
    उनले आफूले कर्णाली प्रदेश अस्पताललाई देशकै अब्बल बनाउन योगदान गरेको तर समाज र राज्यले बेवास्ता गरेको गुनासो गरे । आफ्नो सुरक्षामा समेत आशंका व्यक्त गर्दै डा. खड्काले अब देशको सुरक्षाभन्दा बढी आफ्नै सुरक्षाको जिम्मा आफैँ लिनुपर्ने दिन आएको बताए । उनले सुरक्षाकर्मीको भूमिकाप्रति पनि असन्तुष्टि जनाए । उनले यस्ता आक्रमणकारीलाई कुनै हालतमा छाड्न नहुने बताए । ‘हाम्रो घर जलाइयो, सम्पत्ति लुटियो, तर, सुरक्षाकर्मीहरुले हाम्रो रक्षामा उचित भूमिका खेलेनन्,’ डा. खड्काले भने ।
    नेपाली कांग्रेस सुर्खेतका उपसभापति एवं नेपाली कांग्रेस केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काका अर्का भाइ विष्णु खड्काले पनि आफ्नो परिवारमाथि भएको आक्रमणको निष्पक्ष छानविनको माग गरेका छन् । उनले पञ्चायतकालदेखि अहिलेसम्म आफ्नो परिवारले ठूलो भूमिका खेलेको भन्दै पटकपटक आफ्नो परिवारमाथि यसरी आक्रमण हुनु भनेको दुःखद भएको बताए । उनले आफ्नो दाइ पूर्णबहादुर खड्का र आफूहरुले कहीँ कतैबाट केही भ्रष्टाचार गरेको प्रमाणित भए आफूहरु जेल जान तयार रहेको जिकिर गरे । तर आफ्नो दाइ पूर्णबहादुर खड्काले यति लामो राजनीतिक इतिहासमा आफ्नो चढ्ने एक गाडीसमेत किन्न नसकेको बताए । सबै आफूले आफ्नो व्यवसायबाट दाइलाई राजनीति गर्न सहयोग उनको दाबी छ ।

  • जेनजी आन्दोलन भएयता  सम्पर्कमा छैनन् हुम्लाका थुक्तेन

    जेनजी आन्दोलन भएयता सम्पर्कमा छैनन् हुम्लाका थुक्तेन

    हुम्लाको नाम्खा गाउँपालिका–३ खगाल गाउँका थुक्तेन पाल्वर तामाङ परिवारको सम्पर्कमा नआएको आइतबार १२ दिन पुगेको छ । गएको भदौ २३ र २४ गते भएको जेन–जी समूहको आन्दोलनपश्चात उनी परिवारको सम्पर्कमा छैनन् । थुक्तेन २४ गतेसम्म साथीभाईको सम्पर्कमा भएको खबर परिवारले पाएका थिए । त्यसयता भने न उनी परिवारको सम्पर्कमा छन्, न त साथीभाईको ।
    उनी वेपत्ता भएपछि बुवाआमाले नाम्खा गाउँपालिकामा सम्पर्क गरेका थिए । गाउँपालिकाले खोजीका लागि गृहमन्त्रालयलाई पत्राचार गरेको छ । यद्यपि थुक्तेनको बारेमा एथेष्ट जानकारी गाउँपालिकालाई प्राप्त भएको छैन । ‘आजका मितिसम्म वेपत्ता नै हुनुहुन्छ, गृहलाई खोजी गरिदिन भनेका छौं तर आधिकारिक अझैं आइपुगेको छैन ।’ नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले भने ।
    भदौ २३ गते जेनजी प्रदर्शनमा सहभागी भएर थुक्तेन कोठा फिर्ता भएको उनका बुबा टसी छिरिङको भनाई उद्धृत गर्दै पालिका अध्यक्ष लामाले बताए । २४ बर्षीय उनी काठमाडौंकै एक होटेलमा काम गर्दै आएका थिए । भदौ २४ गते पनि होटलमा बिहानको सिफ्ट काम गरिसकेर थुक्तेन दिउँसो २ बजे कोठमा आएका थिए । कोठामा आएलगत्तै उनी जेनजी समूहको प्रदर्शनमा सहभागी हुन गएको खबर उनका साथीहरुले परिवारलाई जानकारी गराएका छन् ।
    पछिल्लो दिन (२४ गते) को जेनजी प्रदर्शनमा गएको दिनदेखि भने थुक्तेन कोठामा फिर्ता नभएको बुबा टसी छिरिङको भनाई उद्धृत गर्दै गाउँपालिकाका अध्यक्ष लामाले जानकारी दिए । त्यसयता हालसम्म पनि काठमाडौँका विभिन्न ठाउँहरुमा खोजी कार्य गर्दा कतै नभेटिएको उनले जानकारी दिए ।
    उनी बौद्धमा भएको आन्दोलनमा सहभागी हुन कोठाबाट निस्केका हुन् । त्यसयता वेपत्ता भएको थुक्तेनका बुवा टसीले पालिकामा जानकारी गराएका हुन् । जेनजी प्रदर्शनमा निस्केर बेपत्ता भएको छोराको खोजी गरिदिन टसीले पालिका अध्यक्ष लामासहितका जनप्रतिनिधिलाई आग्रह गरेका थिए । वेपक्ता भएका थुक्तेन टसीका दुई जना छोरामध्ये कान्छा हुन् ।
    बुवा टसी तामाङले दिएको जानकारीका आधारमा गृह मन्त्रालयलाई खोजी कार्य गरी आधिकारिक जानकारी पठाउन भनेर पालिकाबाट पत्राचार गरिएको अध्यक्ष लामाले बताए । ‘यता त परिवार विछिप्त अस्थामा हुनुहुन्छ, गाउँमा पनि शोकको अवस्था छ, वेपत्ता युवकाको अवस्थाका बारेमा त जिम्मेवार गृह प्रशासनले जानकारी दिनुप¥यो नि १’ नाम्खा गाउँपालिकाका अध्यक्ष लामाले भने, ‘जिम्मेवार निकायको आधिकारिकता नआएसम्म उहाँको परिवार त आश गरेरै बस्छ, त्यसैले प्रशासनले उनको छिटो खोजी गरिदिनुपर्छ ।’ हुम्लाको युवा जेनजी प्रदर्शनमा गएर बेपत्ता भएपछि नाम्ख्योम हुम्ला बौद्ध समाजका अध्यक्ष अंगबहादुर लामाले पनि सूचना निकालेर खोजीका लागि गृहप्रशासनलाई आग्रह गरेका छन् । समाजका तर्फबाट गत बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाएर पनि खोजी गरिदिन आग्रह गरिएको थियो ।
    २४ वर्षका थुक्तेन नारायनथान गुम्बाबाट लामा ज्ञान अध्ययन पूरा गरेर हाल तीनचुलीस्थित कोठा लिएर आफ्ना भतिजासँग बस्दै आएका थिए । काठमाडौं बस्दाको खर्च धान्न उनले होटलमा जागिर गरिरहेको उनका बुवा टसीको भनाई उद्धृत गर्दै पालिका अध्यक्ष लामाले बताए ।

  • ढुवानीको ठेक्का नपर्दा  कर्णालीमा विस्तार भएनन् सुपथ मूल्य पसल

    ढुवानीको ठेक्का नपर्दा कर्णालीमा विस्तार भएनन् सुपथ मूल्य पसल

    यो वर्ष पनि साविककै डीपोबाट सञ्चालन गरियो, डीपोमै ढुवानी गर्न समस्या

    भदौ ३० गतेदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो वर्षको चाडपर्वलक्षित सुपथ मूल्य पसल’ सञ्चालन गरेको छ । कम्पनीको प्रादेशिक कार्यालयले यो बर्षका लागि कर्णालीका १९ ठाउँमा सुपथ मूल्य पसल सुरु गरेको हो । ठूला चाडपर्वहरु दशैं र तिहारलाई लक्षित गर्दै भदौ ३० देखि सुरु गरिएका सुपथ मूल्य पसल कात्तिक १० गतेसम्म सञ्चालन हुन्छन् ।
    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेश कार्यालय प्रमुख केशवराज बुढाथोकीका अनुसार भदौ ३० देखि कर्णालीका नौ वटा जिल्लामा पसल सञ्चालन गरिएको छ । सल्यानबाहेकका जिल्लामा पसल सञ्चालन गरिएको उनले बताए । सल्यानमा भने कम्पनीको कुनैपनि डीपो नभएकाले सुपथ मूल्य पसल नलगिएको उनले बताए ।
    कम्पनीका अनुसार हाल सुपथ मूल्य पसल सञ्चालन गरिएका १९ वटै ठाउँहरु कम्पनीका साविकका डीपोहरु भएका स्थान हुन् । प्रमुख बुढाका अनुसार अहिले सुर्खेत, दैलेख, जुम्ला र रुकुम पश्चिमको सदरमुकामस्थित डीपोमा मात्र पसल सञ्चालन गरिएको
    छ । अरु जिल्लाहरुमा सदरमुकामबाहिर पनि डीपो भएकाले ती ठाउँमा पसल सञ्चालन गरिएको उनले बताए । कालीकोटको सदरमुकाम मान्म, खल्लागाड र पदमघाट, मगुको सदरमुकाम गमगढी, सोरुकोट, फुकोट, हुम्लाको सदरमुकाम सिमकोट, सर्केगाड र श्रीनगर, डोल्पाको सदरमुकाम दुनै, जुफाल, सर्मी, जाजरकोटको सदरमुकाम खलंगा, घोगी, नायकवाडास्थित डीपोहरुबाट सुपथ मूल्य पसल सञ्चालन गरिएको हो ।
    यीमध्ये पनि कतिपय डीपोमा खाद्यान्न ढुवानी भईनसकेको उनले जानकारी दिए । ॅढुवानीमा एकदमै चुनौती छ, हामीले पसल सुरु भएको घोषणा भएका केही ठाउँमा अझैं खाद्यान्न ढुवानी गर्न सकेका छैनौं,’ उनले भने, ॅढुवानीका लागि तिव्र गतिमा काम गरिरहेका छौं, अब धेरै समय भने लाग्दैन ।’
    खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गरेका सुपथ मूल्य पसलहरुबाट सहुलियतमा खाद्यान्न पाईन्छ । सहुलियतमा बिक्रीवितरण हुने चामल र चिनीमा प्रतिकेजी ५ रुपैयाँ छुट दिईएको छ । तेलमा प्रतिलिटर ७ रुपैयाँ छुट दिइएको छ ।
    खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो बर्ष कर्णालीका साविकका डीपो र स्थानीय तहमा गरि जम्मा ४२ ठाउँमा चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने लक्ष्य राखेका थियो । ढुवानी लगायतका समस्याका कारण कम्पनीले आफ्‌नो लक्ष्य पूरा गर्न सकेन । ॅसुपथ मूल्य पसल सहरकेन्द्रित मात्रै भयो भन्ने पूरानै गुनासो हो, यो बर्षबाट यसलाई हामीले सम्बोधन गर्न सक्नुपर्छ भनेर लागेका थियौं,’ कम्पनीको कर्णाली प्रदेश कार्यालयका प्रमुख केशवराज बुढाले भने, ॅहाम्रो योजना त कर्णालीका सबै पालिकामा विस्तार गर्ने थियो, तर सम्झौता गरिएका पालिकामै ढुवानीका लागि ठेक्का नपरेपछि सफल भएनौं ।’
    उनका अनुसार योजनामुताविक २०८२ का लागि ३८ वटा स्थानीय तह र कम्पनीबीच सहुलियतमा खाद्यान्न विक्रीवितरण गर्ने गरी एमओयू (सम्झौता) पनि भईसकेको थियो । एमओयू अनुसार सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारीमा आफूहरु जुटिसक्दा पनि टेण्डरका क्रममा समस्या हुँदा तत्काल साविक डीपोमा मात्र सहुलियत दिईएको उनले बताए । ॅएक त ढुवानीको टेण्डर पनि ढिला खुल्यो, त्यसैमाथि अधिकांश पालिकामा ढुवानीका लागि टेण्डर नै परेन,’ बुढाले भने, ॅटेण्डरै नपरेपछि खाद्यान्न ढुवानी गर्न सकिएन, लक्ष्य पूरा हुन सकेन ।’
    सम्झौता भईसकेका स्थानीय तहहरुमध्ये यो बर्ष केही पालिकालाई मात्र ट्रायलका लागि पसल राख्न कम्पनीले आफ्‌नो सूचीमा समावेश गरेको थियो । कम्पनीले सूचीमा राखेका पालिकाहरुले एमओयू अनुसार गोदाम पनि तयार गरिसकेका थिए । तिनै पालिकामा ढुवानीका लागि टेण्डर नपरेको उनले बताए । ॅटेण्डर नआएका कारण तत्काल पालिकास्तरमा ढुवानी गर्न सकेनौं, वैकल्पिक रुपमा कसरी ढुवानी गर्ने भन्ने हामील सोचिराखेका छौं ।’ बुढाले भने ।
    उनका अनुसार टेन्डर खुलेको अन्तिम समयमा भने कालीकोटका ३ र सुर्खेतको एउटा पालिकामा ढुवानी गर्न टेण्डर परेका छन् । ती पालिकामा सके दशैंअघि नसके दशैं र तिहारको बीचमा खाद्यान्न ढुवानी गरेर सहुलियतमा स्थानीयलाई विक्री गर्ने योजना कार्यालयको रहेको छ । टेण्डर नपरेका ठाउँमा पनि वैकल्पिक माध्यमबाट कसरी ढुवानी गर्ने भन्ने विषयमा छलफल भईरहेको प्रमुख बुढाले जानकारी दिए । तत्काल वैठक बसेर त्यस्ता पालिकाका लागि भूल्य निर्धारण गर्ने विषयमा छलफल चलेको उनले बताए ।
    पालिकामा सहुलियत खाद्यान्न पुर्‍याउन ढुवानी नै प्रमुख चुनौतीका रुपमा रहेको बुढा बताउँछन् । यो बर्ष दैलेखको भगवतीमाई गाउँपालिका, नौमुले गाउँपालिका, गुराँस गाउँपालिका र डुंगेश्वर गाउँपालिकाका लागि ढुवानी गर्न टेण्डर आह्वान गरिएकोमा कुनै पनि ठाउँमा ढुवानी गर्न टेण्डर नपरेको उनले बताए । सानो परिमाणमा ढुवानी हुने भएकलो पनि कसैले ठेक्का नहाल्ने गरेको उनले बताए ।


    ‘एउटा पालिकामा दुई देखि चार सय क्वीन्टल खाद्यान्न जाने हो, ढुवानी पनि सानो परिमाणमा जाने भएकाले टेण्डर पर्दैन,’ बुढाले भने,यत्ति सानो परिमाणमा ढुवानी गर्दा सप्लायर्सलाई नै झन्झटिलो हुने भएर होला टेण्डर नपर्ने गरेको, वैकल्पिक माध्यमबाट ढुवानी गर्ने बलियो संयन्त्र हामीसँग छैन ।’ यही चुनौतीका कारण कम्पनीले चाहेर पनि सबै क्षेत्रमा सहुलियतमा खाद्यान्न पुर्‍याउन नसकेको उनले बताए ।

  • जेन–जी आन्दोलनको मारमा वीरेन्द्रनगरका वडा कार्यालय

    जेन–जी आन्दोलनको मारमा वीरेन्द्रनगरका वडा कार्यालय

    वीरेन्द्रनगरको वडा नम्बर १ को कार्यालयले आइतबारदेखि नगरपालिकाबाटै वडाका अत्यावश्यक सेवा सुचारु गर्ने तयारी गरेको छ । वडा कार्यालयले सेवाप्रवाह निरन्तर गर्न नगरपालिकासँग सहकार्य गरिरहेको छ । तर सबै सेवा भने निरन्तर हुने छैनन् । ‘हामीले सहकार्य गरिरहेका छौं, आइतबार (असोज ५) देखि अत्यावश्यक सेवा नगरपालिकको कार्यालयबाटै दिन सकिन्छ कि भन्ने छ,’ वडाध्यक्ष दिनेश खत्रीले भने, ‘कार्यालयबाट सेवा सुचारु गर्न सकिने सम्भावना नै छैन, जल्न बाँकी सामान केही पनि छैनन् ।’
    वडा कार्यालयबाट सम्पादन हुने कामका लागि सेवाग्राहीले दैनिक फोन गर्ने गरेको उनले बताए । ‘अहिले सेवाहरु सबै ठप्प छन्, सेवाग्राहीले दैनिक फोन गरिरहनु भएको छ, तैपनि सम्बोधन गर्न मिल्ने अवस्था छैन ।’ खत्रीले भने । भएपनि सेवा दिन सकिने अवस्था छैन ।’
    गत भदौ २३ र २४ गते भएको जेन–जी समूहको आन्दोलनका क्रममा वीरेन्द्रनगर उपत्यका क्षेत्रमा भएका १२ वटा वडा कार्यालयहरुमा क्षति भएको थियो । यी सबै कार्यालयहरुमा तत्काल सबै सेवा निरन्तर गर्न सकिने अवस्था छैन । केही वडाहरुले अत्यावश्यक सेवाहरु आ–आफ्नो तवरबाट सुचार गरेका छन् । कतिपय वडा कार्यालय अहिले पनि बन्द छन् ।
    वीरेन्द्रनगरका १६ मध्ये वीरेन्द्रनगर उपत्यकामा अवस्थित १२ वडा कार्यालयको भवन, विद्युत प्रणाली, इन्टरनेत तथा सफ्टवेयर, कम्प्यूटर र प्रिन्टर जस्ता उपकरण, दस्तावेज, फर्निचर, खानेपानी लगायतका पूर्वाधारहरु पूर्णरुपमा जलेका छन् । आगलागीबाट जलेका वडा कार्यालयका भवनहरुसमे तत्काल उपयोग गर्न सकिने अवस्थाका छैनन् । आफ्नै भवनबाट सेवा दिइरहेका ती वडा कार्यालयका संरचनाहरु आगलागी र तोडफोडपछि निष्क्रिय जस्तै छन् । यी भवनलाई पुनः अघिकै अवस्थामा फर्काउन ठूलै खर्च लाग्ने देखिएको छ ।
    वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष खिमलाल देवकोटाले तोडफोड र आगजनीका कारण वडा कार्यालयबाट तत्काल पूर्णरुपमा सेवा दिन नसकिएको बताए । आगजनीका कारण वडा कार्यालयका सम्पूर्ण कागजी दस्तावेजसँगै भौतिक सामग्रीमा पूर्णरुपमा क्षति पुगेको उनले बताए । कार्यालयको सेवा पूर्णरुपमा कसरी सुचारु गर्ने भन्नेमै अन्योल रहेको वडाध्यक्ष देवकोटाले बताए ।
    ‘आगजनी तथा तोफोडले वडा कार्यालयबाट नागरिकले पाउने जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँसराइ दर्ता लगायतका कार्य पूर्णरुपमा रोकिएका छन्,’ उनले भने, ‘यससँगै नागरिकता बनाउन आवश्यक पर्ने सिफारिस, बसोबास प्रमाणपत्र र वैवाहिक स्थिति प्रमाणित गर्ने कार्य पनि रोकिएका छन्, सहज तरिकाले कसरी सुचारु गर्ने भन्ने अन्योल छ ।’ तत्कालका लागि सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता वितरण कार्य पनि प्रभावित बनेको देवकोटाले बताए ।
    आन्दोलनमा सहभागी भएकाहरुले वडा कार्यालयमा भएका दस्तावेजहरु छानीछानी जलाएको वडा नम्बर १२ का अध्यक्ष चुडामणि चपाईले बताए । तोडफोड र आगजनी गर्नुअघि कार्यालयमा रहेका सोफा, टेबल, कम्यूटर, प्रिन्टर लगायतका भौतिक सामग्री निकालिएको उनले बताए । ‘वडामा केही व्यक्तिले घुसपैठ गरेर नियतवस् क्षति पु¥याएको देखिन्छ, उनीहरु लुटपाट गर्ने उद्देश्य प्रष्ट भएको छ,’ चपाईले भने ।’ क्षतिपछि कसरी सेवा सुचारु गर्नेमा आफूहरु पनि अन्योलमा रहेको उनले बताए ।
    वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले आगजनी र तोडफोडबाट वडा र नगरपालिकामा २० करोड बढीको क्षति भएको आँकलन गरिएको बताइन् । जेन–जी आन्दोलनका नाममा घुसेका अराजक व्यक्तिका कारण जनताको नजिकमा रहेर काम गर्ने सरकारको संरचनामा निष्क्रिय हुनेगरि क्षति पु¥याएको उनले बताइन् ।
    ‘तत्काल क्षति भएका कुनै पनि वडा कार्यालयमा बसेर काम गर्न सकिने अवस्था छैन, केही समयका लागि अत्यावश्यक सेवा दिन नगरपालिकाको कार्यालयबाट वडाको काम गर्ने प्रयास भईरहेको छ,’ मेयर ढकालले भनिन्, ‘वडा कार्यालयबाट हुने सेवाप्रवाहलाई नियमित बनाउन धेरै समय लाग्ने देखिन्छ ।’
    वडा कार्यालयमा भएको क्षतिले सेवासँगै राजस्व संकलनमा समेत समस्या भएको छ । यसले तत्काल आवश्यक पर्ने उपकरण तथा कागजात खरिदमा समस्या भएको छ ।

  • आन्दोलनका क्रममा भागेका कर्णालीका ५५ कैदी पक्राउ

    आन्दोलनका क्रममा भागेका कर्णालीका ५५ कैदी पक्राउ

    गत भदौ २३ र ३४ गते भएको जेनजी आन्दोलनका क्रममा भागेका कैदीमध्ये केही पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म ५६ जना कैदी पक्राउ परेका छन् । ३४ जना थुनुवा पनि पक्राउ परेका छन् ।


    कर्णाली प्रदेशका जुम्ला र रुकुमपश्चिम जिल्ला कारागारबाट ८४ जना कैदी र ५५ जना थुनुवा फरार भएका थिए । अझ पनि २८ जना कैदी र ११ जना थुनुवा फरार रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
    प्रहरीका अनुसार जुम्ला कारागारबाट २९ जना कैदी र १२ जना थुनुवा फरार भएका थिए । फरार भएका मध्ये १७ जना कैदी र ११ जना थुनुवालाई प्रकाउ परेका छन्। जुम्लाबाट फरार रहेका १२ कैदी र १ जना थुनुवा अझैं पनि फरार छन् ।
    रुकुमपश्चिम जिल्ला कारागारबाट फरार भएका ५५ जना कैदीमध्ये ३९ जना पक्राउ परेका छन् । १६ जना कैदीबन्दी अझै फरार छन् । रुकुमपश्चिम जिल्ला कारागारबाट भागेका ३३ जना थुनुवामध्ये २३ जना पकाउ परिसकेका छन् भने १० जना थुनुवा अझैं फरार रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


    जेनजी आन्दोलनको फाइदा उठाँदै कारागारबाट भागेका कैदीबन्दी तथा थुनुवाहरुमध्ये केही आफै फर्किएका थिए । जिल्ला भित्र र बाहिरका विभिन्न ठाउँमा लुकेर बसेका तयस्ता व्यक्तिहरुलाई लुकीछिपी बसेकै अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

  • पाँच जिल्लामा अर्बौंको क्षति

    पाँच जिल्लामा अर्बौंको क्षति

    सरकारी र निजी गरी ४५ वटा सवारी साधनमा क्षति

    भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा कर्णालीका सुर्खेतसहित पाँच वटा जिल्लामा क्षति पुगेको छ । आन्दोलनका क्रममा जाजरकोट, हुम्ला, दैलेख, सल्यान र रुकुम पश्चिमका सार्वजनिक भौतिक संरचनामा वा व्यक्तिगत सम्पत्तिमा भने कुनै पनि क्षति पुगेको छैन ।
    सुर्खेत, जुम्ला, कालीकोट, मुगु र डोल्पामा सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्‍याईएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इनसेक) कर्णाली प्रदेशले आन्दोलनका क्रममा भएको क्षतिको अनुगमनपश्चात यी पाँच जिल्लामा अर्बौंको क्षति भएको सार्वजनिक गरेको छ ।
    आन्दोलनमा सहभागी केही समूहले सुर्खेत, जुम्ला, कालिकोट, मुगु र डोल्पामा सरकारी कार्यालय, राजनीतिक दलका पार्टी कार्यालय र निजी निवासहरुमा तोडफोड र आगजनी गरी नोक्सानी पुर्‍याएका छन् । प्रदेशको राजधानी वीरेन्द्रनगरमा सबैभन्दा बढी क्षति भएको छ ।
    इन्सेक कर्णाली प्रदेश कार्यालयले आन्दोलनपछि क्षतिग्रस्त भौतिक संरचना तथा अन्य क्षतिको विवरण सङ्कलन गरेको हो । इन्सेकले संकलन गरेको विवरणअनुसार सबैभन्दा बढी क्षति सुर्खेतमा भएको छ । त्यसमा पनि प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरका सार्वजनिक सम्पत्तिमा ठूलो क्षति भएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बताए ।
    हामीले क्षतिग्रस्त संरचनाहरुको प्रत्यक्ष अवलोकन गरेका छौं, त्यसअनुसार विवरण सम्बन्धित निकायलाई बुझाएका छौं,’ सुवेदीले भने, कर्णालीका सुर्खेतसहित पाँच जिल्लामा भौतिक रुपमा क्षति भएको छ, यसको पुनर्निर्माण गर्न अर्बौं रकम खर्च हुने देखिन्छ ।’
    जेनजी आन्दोलनमा घुसेको केही समूहले जुम्लाको एउटा सरकारी कार्यालय, पाँच वटा पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका छन् । यस्तै आठ वटा सरकारी गाडी र ११ ओटा मोटरसाइकलमा पनि तोडफोड र आगजनी गरी क्षति पुर्‍याएका छन् । आन्दोलनकारीहरुले अत्यावश्यक सेवामा चल्ने एम्बुलेन्स, शववहान र दमकलमा समेत तोडफोड र आगजनी गरेको सुवेदीले बताए ।
    कालिकोटमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी सात वटा पार्टी कार्यालयमा आन्दोलनकारीले तोडफोडसँगै आगजनी गरेका छन् ।
    सुवेदीका अनुसार मुगुमा कांग्रेस र एमालेको पार्टी कार्यालय तोडफोड गरिएको छ । आन्दोलनकारीले छाँयाँनाथ रारा नगरपालिकामा नगरप्रमुखको कार्यकक्ष भित्र पसेर तोडफोड गरेका छन् । कार्यकक्षभित्र राखिएको उच्च पदस्थ व्यक्तिका तस्विरहरु निकालेर फालिएको थियो । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बगरस्थित कांग्रेस नगर समितिको कार्यालय रहेको स्थानीयको घरमा आन्दोलनकारीले ढुंगामुढा गरेर तोडफोड गरेका थिए ।
    सुर्खेतमा मात्र सरकारी, निजी तथा संस्थागत गरी ४४ वटा भौतिक संरचनामा क्षति पुगेको इनसेक कर्णाली प्रदेशले जनाएको छ ।
    २८ वटा सरकारी, ८ वटा निजी, पाँच वटा राजनीतिक दलका पार्टी कार्यालय र तीन वटा अन्य संघसंस्थाका कार्यालयमा क्षति पुगेको हो । यी संरचनामध्ये केही सरकारी र निजीमा आगजनी र तोडफोड दुवै भएको छ भने संघसंस्था लगायतका कतिपय संरचनामा तोडफोड मात्र भएको छ ।
    वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेश सभा, सिटी हल, वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, नापी कार्यालय, प्रदेश लेखा नियन्त्रकको कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, सुर्खेत उपत्याका खानेपानी आयोजना कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, मुख्य न्यायाधिवक्ताको कार्यालयमा आन्दोलनकारीले क्षति पुर्‍याएका छन् ।
    वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर २, ३, ४ र ६ कार्यालयहरुमा आगलागी र तोडफोड हुँदा पूर्णरुपमा क्षति भएको छ । वडा नम्बर १, ७, ८, ९, १० र ११ कार्यालयहरुमा आंशिक क्षति पुगेको छ ।
    यस्तै उच्च सरकारी वकिलको कार्यालय, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको कार्यालय, कृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय, मुख्यमन्त्रीको सरकारी निवास, कृषिमन्त्री, भौतिक मन्त्रीका निवास, हिमाली पुस्तकालय, भैरवस्थानमा रहेको नेपाल रेडक्रस सोसाइटी उपशाखा भवनमा क्षति पुगेको छ ।
    वीरेन्द्रनगरमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालयमा तोडफोड र आगजनी भएका छन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निवास, उनका भाई डा. डम्बर खड्का र विष्णु खड्काको निवास, विष्णु खड्काको पेट्रोल पम्प र फार्मेसी, मुख्यमन्त्री यामलाल कँडेलको निजी निवास, वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकाल र उपप्रमुख नीलकण्ठ खनालको निजी निवासमा तोडफोडसँगै आगजनी गरी क्षति पुर्‍याईएको छ ।


    आन्दोलनकारीहरुले प्रदेश सभामा रहेको एनआईसी एसिया बैंकको एटीएम समेत तोडफोडसँगै आगजनी गरेका छन् ।
    सुर्खेतमा मात्र आन्दोलनकारीहरुले गरेको आगजनीका कारण ११ वटा सरकारी गाडी र आठ मोटरसाइकलमा क्षति पुगेको छ । निजी सवारीतर्फ दुई गाडी र पाँच वटा मोटरसाईकलमा क्षति पुगेको छ ।

  • हात हातमा संविधान बोकेर निस्किँदै कांग्रेस

    हात हातमा संविधान बोकेर निस्किँदै कांग्रेस

    नेपाली कांग्रेसले असोज ३ गते संविधान दिवस देशभर मनाउने निर्णय गरेको छ। संविधान दिवसकाे अवसरमा हात हातमा संविधान बाेकेर सडकमा निस्कने बताएका छन् । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले ७७ वटै जिल्लामा संविधानको रक्षार्थ हात हातमा संविधान लिएर प्रदर्शन गर्न निर्देशन भएको बताएका हुन।

    ‘असोज ३ गते ७७ वटै जिल्लामा, देशबाहिर पनि जुनजुन देशमा छौं, पार्टीका कमिटी, भातृ संस्था, शुभेच्छुक संस्था सबैलाई अनुरोध गरिसकेका छौं,’ बुधबार सानेपास्थित केन्द्रीय कार्यालयको अवलोकन गर्न पुगेका उपसभापति खड्काले पत्रकारसँग कुराकानी गर्दै भने, ‘सबैले संयुक्त रूपमा ७७ वटै जिल्लामा शान्तिपूर्ण तरिकाले संविधान हातमा लिएर हामीले संविधान दिवस मनाउने निर्देशन गरिसकेका छौं।’

    पार्टीको कार्यसम्पादन समितिको बैठकबाट संविधान दिवस मनाउने निर्णय भएको पनि उनले बताए। ‘संविधान दिवस अत्यन्त संयमिततापूर्वक, दृढतापूर्वक संविधान रक्षाको केन्द्रीय जिम्मेवारीलाई शिरमा राखेर संविधान दिवस मनाउने निर्णय भएको छ,’ उपसभापति खड्काले भने।

  • निरन्तर घट्दैछ राउटेको संख्या

    निरन्तर घट्दैछ राउटेको संख्या

    अहिले भन्दा ११ बर्षअघि २०७१ सालमा सुर्खेतको वीरेन्द्रनगरमा उत्तरी भेगमा राउटे समुदायको बसोबास थियो । अस्थायी रुपमा बसोबास गर्ने फिरन्ते राउटे समुदाय बसेको त्यो क्षेत्रलाई अहिले राउटे गल्छिना’ भनेर चिनिन्छ । त्यहीबेला तत्कालीन स्थानीय विकास मन्त्रालय जिल्ला विकास समिति सुर्खेतमार्फत राउटेहरुको जनगणना गरेको थियो । तत्कालीन समयमा राउटेलाई सामाजिक सुरक्षा भत्ता दिने उक्ता मन्त्रालयले यकिन संख्या नभएपछि गणना गर्न पठाएको थियो । त्यो समयमा फिन्ते जीवन विताउन राउटेको संख्या १८२ जना थियो । यसअघि राउटे समुदायमा कति संख्या थियो भन्ने यकिन तथ्याङ्क छैन । पछिल्लो समय भने नियमित राउटेको गणना भयो । सामाजिक एवम् विकास साझेदार संस्था, सरकारी निकाय र अनुसन्धाताहरुले राउटेको संख्यालाई केन्द्रमा राखेको देखिन्छ ।
    यद्यपि राउटे समुदायको पछिल्लो संख्यालाई हेर्ने हो भने झनै लोपोन्मुख देखिन्छ । कर्णाली प्रदेशका केही जिल्लामा घुमन्ते जीवन विताईरहेको यो समुदायको जनसंख्या घट्दो क्रममा छ । निरन्तर जनसंख्या घट्न थालेपछि राउटे समुदायको अस्तित्वका बारेमा चिन्ता गर्न थालिएको छ । पछिल्लो ११ बर्षको अवधिमा मात्र यो समुदायको जनसंख्या २६ प्रतिशतले घटेको देखिन्छ । यो अवधिमा मात्र ४९ जना राउटेको मृत्यु भईसकेको छ । जन्मभन्दा मृत्युदर बढी हुनुले यो समुदायको संख्या निरन्तर ओरालो लागिरहेको छ । हाल राउटे समुदायमा १३५ जना मात्र
    छन् ।
    पछिल्लो ७ बर्षको अवधिमा मात्र पनि राउटे समुदायको जनसंख्या ५ प्रतिशतले घटेको देखिन्छ। राउटेसँग जोडिएको गैरसरकारी संस्था सोसेकका अनुसार २०७५ सालमा उनीहरुको संख्या १४९ जना थियो । त्यसयता बढेर समुदायभित्रको जनसंख्या १६० पुगेको थियो । २०८० बर्षसम्म यो संख्या घटेर १३७ मा पुगेको थियो ।
    पछिल्लो दुई बर्षमा तीन जना राउटेको मृत्यु भएको छ । २०८१ असोजमा २२ बर्षीय वृषबहादुर शाहीको मृत्यु भएको थियो । त्यसयता यो बर्ष भदौ ५ गते समुदायका ज्येष्ठ सदस्य नन्दबहादुर शाहीको भृत्यु भएको थियो । भदौ ३० गते ९मंगलबार० मात्र २३ बर्षीय युवक गोविन्द शाहीको मृत्यु भएको छ ।
    राउटेको जनसंख्या निरन्तर घट्नुमा मुख्यगरि उनीहरुका परम्परागत मान्यता रहेका छन् । तीमध्ये कतिपय मान्यता मानव जीवनका लागि हानीकारक छन् । राउटे समुदायले अस्पतालमा पुगेर गरिने आधुनिक उपचारलाई परम्पराविपरित मान्दछन् । उनीहरुले आफ्‌नै उपचार पद्धति र जंगलको जडीबुटीमा विश्वास गर्छन् । कतिपय रोग निदानमा राउटेको आफ्‌नै पद्धतिले काम गर्दैन । राउटे समुदायले अस्पतालमा उपचार गराउन नहुने मान्यता राख्ने गरेकाले पनि गम्भीर रोग लाग्दा समयमै उपचार गराउन नसकिने सोसेकका कार्यकारी प्रमुख हिरासिंह थापा बताउँछन् । जसले गर्दा जन्मिनेको भन्दा मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।
    राउटेभित्रको जनसंख्या सन्तुलनमा नहुँदा पनि जनसंख्या घट्ने समस्या भईरहेको छ । यो समुदायमा तीन वटा समूह छन् । जसमा रास्कोटी, कल्याल र शोवंशी समूह छन् । अरु दुई समूहभन्दा रास्कोटी समूहको जनसंख्या झण्डै दोब्बरले बढी छ । यी तीन समूहको आ–आफ्‌नो समूहभित्र वैवाहिक सम्बन्ध हुँदैन । जसले गर्दा जन्मदरभन्दा मृत्युदर बढी हुन्छ ।
    राष्ट्रिय मानव अधिकार आयोग र सोसेकले २०८० सालमा गरेको अध्ययनको प्रतिवेदनअनुसार राउटे समुदायभित्र नयाँ जन्ममा लामो अन्तराल पाईएको छ । उक्त अध्ययनले राज्यको यथोचित ध्यान पुग्न नसक्नु, कमजोर जनस्वास्थ्य, कुपोषण, उपचारमा पहुँच नहुनु र नराख्नु, प्रजनन स्वास्थ्यको अभाव, गुणस्तरहीन परम्परागत आवासमा बसोबास, मौसमअनुकुल लत्ताकपडाको अभाव, स्वच्छ खानेपानी तथा सरसफाईको अभावका कारण समुदायका मानिसहरुले अकालमा मृत्युवरण गर्नुपरेको निश्कर्ष निकालेको छ ।
    राउटेहरु अरु समुदायको बस्तीनजिक नजिक बस्न थालेको र ती क्षेत्रमा जथाभावी वितरण हुने मदिराले पनि जनसंख्या घट्नमा मद्दत पुगेको प्रा.डा. नन्दबहादुर सिंह बताउँछन् । राउटे समुदायमा लामो समय अध्ययनअनुसनधान गरेका सिंहका अनुसार हानीकारक रसायन तत्व मिसाईएको मदिरा सेवनले राउटेहरुको स्वास्थ्यमा ठूलो समस्या निम्त्याइरहेको छ । पहिले उनीहरु बस्तीभन्दा टाढाको जंगलमा बस्थे, जंगलको स्वस्थकर जडीबुटीको प्रयोग गरेर आफैंले मदिरा बनाएर खान्थे । यसले उनीहरुको स्वास्थ्यलाई असर गर्न सकेको थिएन,’ उनी भन्छन्, अहिले राउटेहरु बस्ती नजिक बस्छन्, ती बस्तीमा सस्तो मुल्यमा पाउने मदिरा सेवन गर्न थालेपछि उनीहरुको स्वास्थ्य नाजुक बनेको देखिन्छ ।’ पछिल्लो समय राउटेहरुले अत्याधिक मदिरा सेवन गरिरहेका छन् ।
    यो समुदायमा पानी र मौसमजन्य रोगको प्रभाव बढी देखिएको प्रा.डा. सिंहले बताए । रोगको समयमै पत्ता नलाग्ने र उपचार हुन नसक्ने भएपछि जन्मभन्दा मृत्युदर बढेको उनको बुझाई छ । यो समुदायको जनसंख्या घट्न नदिन मोवाइल टिम’ बनाएर काम गर्नुपर्ने उनी बताउँछन् । शिक्षा, स्वास्थ्यमा काम गरेका, समुदायमा अध्ययन गरेका विज्ञलाई समावेश गरी मोवाइल टिम बनाउनु जरुरी छ, यसले जहाँजहाँ समुदाय जान्छ, त्यहाँ गएर काम गर्ने गर्नुपर्छ,’ सिंहले भने, राउटेहरुलाई जबर्जस्ती यहाँ बस भनेर भन्न मिल्दैन, उनीहरुको आफ्‌नो परम्पराअनुसार बेलाबेलामा ठाउँ परिवर्तन गरेर बस्छन्। उनीहरु गएकै ठाउँमा मोवाइल टिम गएर आवश्यक काम गर्नु आवश्यक छ ।’
    यही टिमबाट अस्पतालको उपचार, शिक्षाको महत्वबारे राउटे समुदायलाई निरन्तर बुझाउनुपर्ने उनले बताए। सिंहका अनुसार विश्वमा यस्ता समुदायका लागि युनेस्को, युनिसेफ लगायतका संयुक्त राष्ट्रसंघीय एजेन्सीहरुले मोवाइल टिम’ अवधारणामा काम गरिरहेका छन् । समुदायको आफ्‌नो संस्कृतिलाई तत्कालै ध्वस्त पार्न खोज्नुभन्दा विस्तारै परिवर्तन गराउनु उपयुक्त हुने सिंह बताउँछन् । आदीवासी तथा लोपोन्मुख समुदायका लागि विश्वव्यापी रुपमा लागु भएको अवधारणा राउटे समुदायमा पनि लिन सकियो भने उनीहरुको जनसंख्या बढाउन सकिन्छ, नेपालको पहिचानमध्येको एक भएकाले राउटे समुदायलाई जोगाईराख्न जरुरी छ ।’ सिंहले भने । लोपोन्मुख राउटे समुदायलाई जोगाईराख्न
    तीनै तहका सरकारले निश्चित ऐन ल्याउन पनि जरुरी रहेको उनले बताए ।
    २०८१ जेठमा राष्ट्रिय मानव अधिकार आयोगले राउटे समुदायको संरक्षण, सुरक्षा, र उनीहरुको प्रथासँग सम्बन्धित अभ्यासको निरन्तरताका लागि विशेष कानुनी व्यवस्था गर्न तीन तहका सरकारलाई निर्देशन दिएको थियो । आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकरालाई यस्तो निर्देशन पठाएको थियो ।
    निर्देशनमा आयोगले राउटे बस्ती स्थानान्तरण सँगसँगै स्थानान्तरण हुने घुम्ती प्रहरी चौकी स्थापना गर्न, राउटे समुदायको सामाजिक, सांस्कृतिक संरक्षणका लागि संरक्षित क्षेत्र घोषणा गर्न, राउटे बस्ती स्थानान्तरणसँगै प्रशासन, पञ्जिकरण, खाद्यान्न, राहत, पोषण, स्वास्थ्य लगायतका सेवाहरुका लागि घुम्ती एकीकृत सेवा केन्द्र स्थापना गर्न, राउटे बस्तीमा मदिरा र सुर्तीजन्य पदार्थको विक्री–वितरण बन्द गर्न, राउटे खाम्ची भाषाको पाठ्यक्रम विकास गर्न भनेको थियो । आयोगले राउटे समुदायको उत्थान, मुलप्रवाहीकरण तथा सशक्तीकरणका लागि एकीकृत आवधिक कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गर्न र राउटेका मामिलामा काम गर्न कुनै विशेष निकायलाई जिम्मेवारी तोक्न पनि संघीय सरकारलाई निर्देशन दिएको थियो ।
    राउटे समुदाय अहिले सुर्खेतको लेकवेशी नगरपालिका–१० मा बसोबास गरिरहेका छन् । पछिल्ला केही दशक उनीहरुको मुख्य बसोबास दैलेख, अछाम, जाजरकोट, सुर्खेत र सल्यानमा हुने गरेको छ । आफ्‌नो परम्परा र समयानुकुल हुनेगरि अनुसार यी जिल्लाका विभिन्न ठाउँमा राउटे समुदाय बस्ती सार्ने गर्छन् ।
    यो समुदायको अपनत्व भने दैलेखको गुराँस गाउँपालिकाले लिएको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको रेकर्डमा नै राउटेहरु गुराँस गाउँपालिका–८ का बासिन्दा भनेर राखिएको छ । गाउँपालिकामार्फत राउटे समुदायलाई दिईने सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिएको छ । आफ्‌नो परम्परा अनुसार उनीहरु नेपालका जुनसुकै ठाउँमा पुगेर बस्न पाउने भएपनि पञ्जीकरण विभागमा भने गुराँस–८ का बासिन्दा भन्ने रेकर्ड कायम गरिएको छ । गुराँस गाउँपालिकाबाटै राउटेहरुको जन्मदर्ता हुनेगरेको छ ।
    राउटे समुदायका एक जना सदस्यले मासिक चार हजार रुपैयाँ सामाजिक सुरक्षा भत्तावापत पाउँछन् । यो रकम प्रत्येक तीन महिनामा गाउँपालिकाले नै उनीहरु बसेको ठाउँमै पुगेर वितरण गर्छ । २०७५ सालमा गुराँस गाउँपालिकाले उनीहरुलाई राउटे परिचयपत्र’ समेत दिएको छ । संघबाट आउने सामाजिक सुरक्षा भत्तावापतको रकम पालिकाले उक्त परिचयपत्र र जन्मदर्ताका आधारमा वितरण गर्ने गरेको छ ।

  • आन्दोलनले प्रदेश सरकारको भुक्तानी प्रणाली प्रभावित, तत्काल तलबबाहेकको भुक्तानी नहुने

    आन्दोलनले प्रदेश सरकारको भुक्तानी प्रणाली प्रभावित, तत्काल तलबबाहेकको भुक्तानी नहुने

    यही भदौ २३ र २४ गते जेन–जी समूहले गरेको प्रदर्शनका क्रममा पु¥याईएको क्षतिले कर्णाली प्रदेश सरकारको भुक्तानी प्रणाली प्रभावित बनेको छ । प्रदर्शनकारीले वीरेन्द्रनगरमा रहेको प्रदेश लेखा नियन्त्रक कार्यालयमा क्षति पु¥याउँदा भुक्तानी प्रणालीमा समेत ठूलो क्षति पुगेको छ । २४ गते आन्दोलनका नाममा प्रवेश गरेका अराजक समूहले कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । कार्यालयमा पुगेको क्षतिले कर्णालीको सरकारी भुक्तानी प्रणालीलाई पूर्णरुपमा नियमित गराउन सकिएको छैन ।
    पूर्णरुपमा सेवा सुचारु गरी सबै भुक्तानी प्रणाली नियमित गराउन नसकिएपछि दशैंअघि तलब भुक्तानीको काम भने गर्न सकिने भएको छ । कार्यालयले आइतबारदेखि कामकाज सुरु गरेको छ । हाल क्षति भएको कार्यालयको छेउमा भएको पुरानो सानो भवनमा आवश्यक व्यवस्थापन गरेर आंशिकरुपमा सेवाप्रवाह सुरु गरिएको हो । ‘यसअघि कार्यालय भएको भवनको बाहिरपट्टिको सानो भवनमा कार्यकक्ष स्थापना गरेर हामीले काम सुरु गरेका छौं, तत्कालका लागि यतैबाट कार्यसम्पादन गर्नुपर्नेछ ।’ प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख रत्न सुवेदीले भने ।
    कार्यालयले काम सुरु गरेपनि तत्कालका लागि तलबबाहेकको भुक्तानी भने गर्न सकिने अवस्था नरहेको उनले बताए । कागजात, इन्टरनेट लगायतका महत्वपूर्ण सेवामा क्षति पुगेकाले योजना, खरिद लगायतका भुक्तानी गर्न सकिने अवस्था नरहेको उनले बताए ।
    ‘नभइनहुने महत्वपूर्ण कागजात नै जलेका छन्, बचेको थोरै कागजात स्पष्ट छैनन्,’ कार्यालय प्रमुख सुवेदीले भने, ‘अहिले हामीले दशैंअघि कर्मचारीहरुको तलबसम्म भुक्तानी गर्न सक्छौं, बाँकी भुक्तानी कहिले र कसरी हुने भन्ने पनि अन्योल छ ।’
    उनका अनुसार आन्दोलनकारीले कार्यालय भवनमा आगजनी गर्दा वित्तीय अभिलेख राखिएका कक्षहरु नै जलेर नष्ट भएका छन् । ‘पुराना आय–व्यय विवरण, कर्मचारीको तलब तथा भुक्तानी आदेशसम्बन्धी सम्पूर्ण फाइल जलेका छन्,’ सुवेदीले भने । डिजिटल प्रणालीमा सुरक्षित गर्न प्रयोग गरिने उपकरणसँगै भौतिक अभिलेख जलेपछि हिसाब मिलान र प्रमाणीकरणमा कठिनाइ हुने उनले बताए ।
    आन्दोलनका क्रममा कर्णाली प्रदेश सरकार र मातहतका स्थानीय तहको सार्वजनिक वित्त व्यवस्थापनको पाटोलाई पारदर्शी राख्ने संवैधानिक जिम्मेवारी बहन गरेको कार्यालयमा गरिएको तोडफोड र आगजनीले लेखासम्बन्धी सम्पूर्ण कागजी दस्तावेज र उपकरणमा व्यापक क्षति पुगेको छ । यो क्षतिले तत्काल प्रदेश सरकारको महत्वपूर्ण वित्तीय व्यवस्थापनको पाटो रोकिने भएको छ ।
    प्रदेश लेखा नियन्त्रक कार्यालयमार्फत प्रदेशका विभिन्न मन्त्रालय, लोकसेवा आयोग लगायतका मातहतका कार्यालयमा कार्यरत कर्मचारीलाई तलब–भत्ता भुक्तानी गरिन्छ । यसबाहेकको सरकारले गर्ने थुप्रै कामहरुको वित्तीय व्यवस्थापन कार्यालयबाट गरिन्छ । प्रदेश सरकार मातहतका सुर्खेत जिल्लास्थित कार्यालयको तलबी प्रतिवेदन प्रदेश लेखा नियन्त्रक कार्यालयले प्रमाणित गरी तलब भुक्तानी गर्छ । अन्य जिल्लाको हकमा भने प्रदेश लेखा इकाई कार्यालयहरुले यसकै मातहत काम गर्छन् ।
    तलबबाहेक तत्काल कार्यालयहरुबाट मुक्तानी माग भएर आएका आदेशहरुको निकासा दिन कठिन भएको प्रमुख सुवेदीले बताए । ‘अहिले तत्काल कुनै पनि आपतकालीन अवस्था आएमा पनि निकासा दिन सकिने अवस्था छैन ।’ उनले भने । कार्यालयमा भएको आगजनीका कारण वेबसाइट समेत खुलेको छैन । आगजनीबाट कार्यालयका ९ वटा मोटरसाइकल र दुई वटा चारपांग्रे गाडी जलेर नष्ट भएका छन् । प्रदेश सरकारले संकलन गर्ने कर, राजस्व र अन्य आम्दानीको लेखाजोखामा समेत असर परेको छ ।
    कार्यालयबाट महालेखा परीक्षकको कार्यालयलाई पठाइने वार्षिक विवरण र लेखा परीक्षण गर्नका लागि तयार पारिएका आवश्यक कागजात नष्ट भएका छन् । आगजनीका कारण कार्यालयको विद्युत, टेलिफोन र खानेपानी सेवा पनि पूर्णरुपमा अवरुद्ध छ । क्षतिको एकिन विवरण अझै संकलन हुन नसकेको कार्यालय प्रमुख सुवेदीले बताए ।
    तोडफोड र आगजनीका कारण क्षति पुगेको भवनमा सरसफाइ गर्न मात्रै कम्तिमा एक साता लाग्ने उनले बताए । ‘तोडफोड र आगजनीका कारण कार्यालयमा ठूलो क्षति पुगेको छ, भवनबाहेक सेवा प्रवाहका लागि आवश्यक सम्पूर्ण सामग्री फेरि बनाउनुपर्ने र खरिद गर्नुपर्ने अवस्था छ,’ सुवेदीले भने, ‘यसले कार्यालयबाट नियमित सेवा प्रवाह हुन अझै समय लाग्ने देखिन्छ ।’
    भ्रष्टाचारको विरोध र सामाजिक सञ्जालमाथि लगाईएको प्रतिबनधको विरोध गर्दै गत साता भएको जेन–जी समूहको आन्दोलनका क्रममा प्रदेश राजधानी वीरेन्द्रनगरमा मा सर्वाजनिक र व्यक्तिगत ३६ वटा संरचनामा क्षति पुगेको छ । अधिकांश सार्वजनिक र व्यक्तिगत संरचना तहसनहस पारिएको छ ।
    यी सम्पत्तिमाथि भएको क्षतिको मूल्याङ्ककन गरी प्रतिवेदन बुझाउन दुई वटा समिति बनेका छन् । कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री कार्यालयका उपसचिव कृष्णप्रसाद खरेलको संयोजकत्वमा र जिल्ला प्रशासन कार्यालय सुर्खेतले सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीको संयोजकत्वमा अध्ययन समिित बनाएका छन् ।