Category: Banner

  • बाघसँग त्रसित मध्यवर्ती क्षेत्रका बासिन्दा

    बाघसँग त्रसित मध्यवर्ती क्षेत्रका बासिन्दा

    गत पुस २३ गते सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरुवानीका ५७ वर्षीय गंगा सारुको बाघको आक्रमणबाट मृत्यु भयो । घर नजिकैको जंगलमा घाँस काट्न गएकी गंगाको परिवारका अरु सदस्यले खोजी गर्नेक्रममा जंगलमा रगत देखेका थिए । सोहीअनुसार परिवारका सदस्यले प्रहरीलाइ खबर गरे । नेपाल प्रहरी, नेपाली सेना, वनका कर्मचारी र स्थानीय जनप्रतिनिधिको टोलीले सारुको शव छत्विक्षत अवस्थामा फेला पारेको थियो । सुर्खेतको उक्त गेरुवानी गाउँ बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको शक्ति सामुदायिक वन क्षेत्रमा पर्छ ।
    बर्दिया राष्ट्रिय निकुञ्जसँग नजिक भएका गाउँमा यो घटना नौलो भने होइन । सारुको मृत्यु भएको दुई दिनपछि पुस २६ गते सल्यानको कालिमाटी गाउँपालिका–७ की ४२ बर्षीया धनसरी रावतको पनि बाघको आक्रमणबाट भयो । त्यसकै तीन दिनपछि कालिमाटी–८ का ६५ बर्षीय चन्द्रबहादुर खप्तडीको पनि बाघको आक्रमणबाटै मृत्यु भयो । पिठो पिस्न घट्ट गएका उनी बाघको आक्रमणमा परेका हुन् ।
    बस्तीमै पुगेर मान्छेमाथि आक्रमण गर्ने उक्त नरभक्षी बाघ अझै नियन्त्रणमा अएको छैन । बाघलाई नियन्त्रण्मा लिन निकुञ्जको टोली घटनास्थलमा परिचालन भएपनि हालसम्म नियन्त्रणमा लिन नसकिएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले बताए । बाघलाई ‘डार्ट (बेहोस पारेर नियन्त्रणमा लिने विधि)’ प्रयोग गरेर नियन्त्रणमा लिन घटनास्थल आसपास ड्रोन प्रविधिबाटसमेत निगरानी गरिएको भएपनि सफल नभएको उनले बताए ।
    लगातार घटेका यी घटनाले निकुञ्ज नजिकका बस्तीका मानिसहरुको ज्यानै जोखिममा रहेको संकेत गर्छन् । संरक्षणका नाममा बाघको संख्या बढ्दै जान दिने हो भने यसले भयावह रुप लिने जोखिम बढेको छ । र्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्रमा अवस्थित सुर्खेतका दुई पालिका भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकाका सात वटा वडाहरु मध्यवर्ती क्षेत्रमा पर्दछन् । पुसमा भएको घटनाभन्दा अघि पनि यस क्षेत्रमा बाघको आक्रमणबाट तीन जनाको मृत्यु भएको छ । ‘अहिले बाँके राष्ट्रिय निकुञ्ज नजिकका जङ्गलमा दिनहुँजसो बाघ देखिन्छ, पहिले राति मात्रै देखिन्थ्यो । अहिले त दिउँसै पनि देखिन्छ,’ भेरीगंगा नगरपालिका–५ का स्थानीय गंगबहादुर घर्ती भन्छन्, ‘एक्लै घरबाट निस्कन डर लाग्छ, बालबालिकालाई विद्यालय पठाउन पनि चिन्ता हुन्छ ।’
    भेरीगंगा–५ का वडाध्यक्ष प्रेमबहादुर सारुमगरका अनुसार हरेक वर्षजस्तो निकुञ्ज आसपासका बस्तीमा बाघको आक्रमण हुने गरेको छ । संरक्षणमा स्थानीय बाधक नदेखिएको अवस्थामा बाघ आतंक बढ्ने हो भने निकुञ्ज र मध्यवर्ती क्षेत्रका नागरिकको दूरी बढ्ने उनले बताए । २०७९ सालमा भेरीगंगा नगरपालिका–५ गेरुवानीमा शक्ति सामुदायिक वनमा घाँस काट्न गएका दुई जनाको बाघको आक्रमणबाट मृत्यु भएको थियो । उक्त घटनापछि गेरुवानी, छिञ्चु, लेखपराजुल र चेपाङ क्षेत्रका बासिन्दा त्रसित छन् ।
    विगत ३० वर्षको अवधिमा बाघको आक्रमणबाट ३३ जनाको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जसँग तथ्याङ्क छ । बाघको आक्रमणबाट घाइते हुनेको कुनै लेखाजोखा नै छैन । सन् २०२२ सम्मको तथ्याङ्कअनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा बाघ छन् ।
    बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गतको सुर्खेत मध्यवर्ती क्षेत्रको आर्थिक वर्ष २०७५–७६ को घरधुरी र जनसंख्या विवरण अनुसार भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकाको दक्षिण क्षेत्रमा एक हजार ८३३ घर धुरीमा नौ हजार ९२५ जनसंख्या छ । यो जनसंख्या कुनै न कुनै कारणबाट जंगली जनावरको आतंक व्यहोर्न बाध्य रहेको भेरीगंगा–५ का वडाध्यक्ष सारुमगर बताउँछन् । यी पालिकाका सात वडामा चारवटा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन भएका छन् । बराहतालका १ र ३ तथा भेरीगंगाका १, २, ३, ४ र ५ नम्बर वडा मध्यवर्ती क्षेत्रभित्र पर्दछन् । यी क्षेत्रमा अधिकांश वन पैदावारमा आश्रित सिमान्तकृत गरिब समुदायको बसोबास रहेको छ ।
    मध्यवर्ती क्षेत्रमा पर्ने यी वस्तीमा बाघलगायतका जंगली जनावरकै कारण प्रमुख खाद्य बालीहरु उत्पादन र पशुपालमा नै ठूलो समस्या देखिएको छ । निकुञ्जका वन्यजन्तुका कारण परम्परागत स्थानीय खाद्यबालीसँगै पशुपालन व्यवसाय विस्थापित हुने चरणमा पुगेको भेरीगंगा नगरपालिका–५ लेखहात्तिखालका मिलन वलीले बताए । ‘वर्षेनी २५÷३० बढी पशुचौपाय बाघले मार्छ, लगाएको अन्नबाली भित्र्याउन पाइँदैन ।’ उनले भने । निकुञ्जले बेलैमा विकल्पसहितको संरक्षण नीति लिन नसके ठुलो जनसंख्या मध्यवर्ती क्षेत्रबाट विस्थापित हुने उनले बताए ।
    पछिल्लो समय बाघको आतंक बढेपछि स्थानीयहरु निकुञ्जकाविरुद्ध उत्रिन थालेका छन् । एक साता अवधिमा तीन जनामाथि बाघले आक्रमण गरेपछि स्थानीयले उचित विकल्प नदिए निकुञ्ज नै खारेज गर्नुपर्ने मागलाई बलियो बनाउँदै लगेका छन् ।
    बाघको आतंक बढ्न थालेपछि भेरीगंगा नगरपालिकाले बर्दिया राष्ट्रिय निकुञ्जसँग विकल्प दिन माग गरेको छ । मध्यवर्ती क्षेत्रमा जनावरले स्थानीयलाई आतंकित पार्न थालेपछि नगरपालिकाले निकुञ्जलाई ज्ञापनपत्रसमेत बुझाएको छ । नगर प्रमुख यज्ञप्रसाद ढकाल र नगर उपप्रमुख धनसरा बोहोराले निकुञ्जको कार्यालयमा पुगेर निकुञ्ज आसपासका बस्तीमा बाघ लगायतका जंगली जनावरबाट हुँदै आएको क्षतिका बारेमा ध्यानाकर्षण गराएका हुन् । उनीहरुले मानव–वन्यजन्तु द्वन्द्व रोक्न तत्काल दीर्घकालिन कदम चाल्न आग्रह गरेका छन् ।
    अतिजोखिमयुक्त क्षेत्रका बस्तीलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्नेदेखि मध्यवर्ती क्षेत्र स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने माग नगरपालिकाको छ । जंगली जनावरको आक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई उचित क्षतिपूर्ति तथा पीडित परिवारका एक सदस्यलाई अनिवार्य रोजगारीको व्यवस्था हुनुपर्ने नगरपालिकाको माग छ ।

     

  • पूर्व सांसदहरुको राष्ट्रिय सभा यात्रा

    पूर्व सांसदहरुको राष्ट्रिय सभा यात्रा

    आइतबार भएको राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट दुई जना चुनिएका छन् । आइतबार भएको मतदानमार्फत कर्णालीबाट अन्य क्लस्टरमा नेपाली काँग्रेसका ललितजंग शाही र महिला क्लस्टरमा नेकपा एमालेका मिनासिं रखाल निर्वाचित भएका छन् । प्रदेशस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार काँग्रेसका शाही ३ हजार २७८ मतभारसहित राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमालेका मिनासिंह रखाल जम्मा मिनासिं रखाल ३ हजार १४५ मतभारसहित निर्वाचित भएकी छन् ।
    निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय सभा निर्वाचनमा कर्णालीबाट १९८ मतदातामध्ये १९१ जनाले मतदान गरेका थिए । प्रदेश सभाका ३९ जना सांसद र स्थानी तथका प्रमुख, उपप्रमुख एवम् अध्यक्ष उपाध्यक्षमध्ये १५२ जनाले मतदान गरेका हुन् । कर्णाली प्रदेशका कुल १९८ मतदातामध्ये १९१ जनाले मतदान गरेको सहायक निर्वाचन अधिकृत उज्वल रावलले जानकारी दिए ।
    मतदान गरेका प्रदेश सभाका ३९ जना सदस्यमध्ये १३ जनाले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारलाइ मत दिएका थिए । २६ जनाले नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धनबाट उम्मेदवार बनेका रखाल र शाहीको पक्षमा मतदान गरेका थिए । स्थानीय तहका प्रतिनिधिमध्ये एमालेका उम्मेदवार रखालको पक्षमा ९३ जना र काँग्रेसका शाहीको पक्षमा १०० जनाले मतदान गरेका छन् ।
    पराजित भएका नेपाली कम्युनिष्ट पार्टीको उम्मेदवार अञ्जु महताराले प्रदेश सभाका १३ र स्थानीय तहका ५५ जना प्रतिनिधिको गरी १ हजार ७३४ मत ल्याएकी छन् । अर्का उम्मेदवार बुद्धिप्रसाद शर्माले प्रदेश सभाका १३ र स्थानीय तहका ५० जनाको गरी १ हजार ६३९ मत ल्याएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६ मत बदर भएका थिए । बदर हुनेमा स्थानीय तहका जनप्रतिनिधिमध्यका रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
    २०७६ माघमा हालको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तथा साविकको नेकपा माओवादी केन्द्रको तर्फबाट अन्यतर्फ निर्वाचित भएका जाजरकोटका मायाप्रसाद शर्मा र महिलातर्फ निर्वाचित भएकी सुर्खेतकी सुमित्रा बिसीको कार्यकाल सकिँदैछ । सोहीअनुसार रिक्त हुने प्रतिनिधि सभा सदस्यमा यो निर्वाचनबाट शाही र रखाल चुनिएका हुन् । शर्मा र विसीको कार्यकाल फागुन १९ गतेदेखि सकिँदैछ । अहिले निर्वाचित रखाल र शाहीले पनि फागुन २० देखि उक्त क्षेत्रमा प्रतिनिधित्व गर्ने भएका छन् ।
    पूर्वसांसदको राष्ट्रिय सभा यात्रा
    कर्णाली प्रदेशका राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका शाही र रखाल पूर्वसांसद हुन् । शाही संविधान सभाका पूर्वसांसद हुन् भने रखाल प्रदेश सभाका पूर्वसांसद हुन् । प्रदेश र संविधान सभामा अनुभव गरिसकेका यी दुइ नेताले अब राष्ट्रिय सभामा प्रतिनिधित्व गर्दैछन् । शाही जुम्लाका हुन् भने रखाल दैलेखकी हुन् ।
    जुम्लाका ललितजंग शाही राजनीतिक यात्राको क्रममा २०४४ सालबाट बल्ल पदमा पुग्न थालेका हुन् । उनी २०४४ सालमा तत्कालिन जिल्ला विकास समिति जुम्लाको सभापति भएका थिए । २०५० सालमा जिल्ला समितिको कार्यवाहक सभापति भए । उनको यो कार्यकाल २०५३ सम्म कायम रहेको थियो । त्यसयता जिल्लाबाट उनी निरन्तर महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधि भएर पार्टीभित्र आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए । हाल उनी काँग्रेसको कर्णाली प्रदेश सभापति छन् ।
    २०७० सालमा भएको दोस्रो संविधान सभा सदस्य निर्वाचनमा उनले जुम्लाबाट प्रत्यक्षतर्फ चुनाव जितेका थिए । २०७९ मा भएको प्रदेश सभा निर्वाचनमा पनि उनी उम्मेदवार बनेका थिए । नेपाली काँग्रेसबाट आधिकारिक उम्मेदवार बनेका उनी काँग्रेसबाटै बागी उम्मेदवार बनेका देवेन्द्र बहादुर शाहीसँग पराजित भएका थिए । त्यसपछि उनी सोझै राष्ट्रिय सभा सदस्यको टिक पाएर अहिले चुनाव लडेका हुन् ।
    कर्णालीबाट महिला क्लस्टरमा राष्ट्रिय सभा सदस्य निर्वाचित मिनासिंह रखाल कर्णाली प्रदेश सभाका पूर्वसदस्य हुन् । लामो समयदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय रखाल २०७४ को प्रदेश सभा निर्वाचनमा समानुपातिक उम्मेदवार थिईन् । उनी समानुपातिक निर्वाचन प्रणालीमार्फत् पहिलोपटक प्रदेश सभा सदस्य चयन भएकी हुन् ।
    गठबन्धनलाई आएन सबै मत
    कर्णाली प्रदेश सभाबाट राष्ट्रिय सभामा उम्मेदावार बनेका दुवैजनालाई गठबन्धनको कुल मत भने प्राप्त भएको छैन । कर्णालीमा राष्ट्रियसभा निर्वाचनका लागि १९८ कुल मतदाता संख्या छ । प्रदेशसभाका ४० जना सदस्य छन् भने ७९ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको संख्या १५८ छ । प्रदेशसभा सदस्यको मतभार एक जना बराबर ५३ हो भने स्थानीय तहका जनप्रनिधिको मतभार १९ हो । जसअनुसार प्रदेशसभा सदस्यहरुको कुल मतभार २ हजार १२० हुन्छ भने स्थानीय तहका जनप्रनिधितिको मतभार ३ हजार २ हुन्छ । दुवै तहका मतदाताहरुको कुल मतभार संख्या ५ हजार १२२ छ ।
    कुल मतमध्ये कर्णालीमा नेपाली काँग्रेसको मतभार सबैभन्दा बढी छ । काँग्रेसको कुल मतभार कर्णालीमा १ हजार ८५३ छ । त्यसपछि दोस्रोमा साविक माओवादीको १ हजार ६०१ मतभार छ । नेकपा एमालेको मतभार कर्णालीमा १ हजार १९५ छ । साविक नेकपा (एस) को कुल मतभार कर्णालीमा २४३ छ । यस्तै एक जना प्रदेश सभा सदस्य मात्र भएको राप्रपाको मतभार ५३ र स्वतन्त्रबाट जनप्रतिनिधि बनेकाहरुबाट १६७ मतभार छ । गठबन्धन गरेका काँग्रेस–एमालेको यो राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीमा जम्मा मतभार ३ हजार ४५४ हुन्छ । तर, गठबन्धनबाट उम्मेदवार बनेका एमालेकी रखालले ३ हजार १४५ र काँग्रेसका शाहीले ३ हजार २७८ मत मात्र पाएका छन् ।

     

  • राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदानः कर्णालीमा कसको कति मतभार ?

    राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदानः कर्णालीमा कसको कति मतभार ?

    आज राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । गाउाँलिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकामा प्रमुख, उपप्रमुख र प्रदेश सभा सदस्य मतदाता हुने यो निर्वाचनको मतदान समय आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मलाई तोकिएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रक्रिया गएको पुस १७ गतेदेखि नै सुरु भएको थियो । पुस २३ गते विभिन्न दलबाट उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।
    आगामी फागुन २० गतेदेखि १९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिँदैछ । त्यसमध्ये एक जना राष्ट्रपतिबाट मनोनित सांसद छन् । बाँकी १८ पदका लागि निर्वाचन हुन लागेको हो । २०७६ फागुनमा निर्वाचित भएर आएका राष्ट्रिय सभा सदस्यहरु विदा हुन लागेका हुन् । राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई÷दुई वर्षमा निर्वाचन हुन्छ ।
    आगामी फागुनमा बिदा हुनेहरुमा नेकपा एमालेका इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसी छन् । साविक नेकपा माओवादी केन्द्रका गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान छन् । साविक नेकपा (एकीकृत समाजवदी) का बेदुराम भुसाल, वामदेव गौतम, जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको कार्यकाल पनि आगामी फागुनमा सकिँदैछ ।
    निर्वाचनबाट चुनिने राष्ट्रिय सभाका १८ सदस्यका लागि देशभरबाट ४४ जनाको उम्मेदवारी परेको छ । कोशीमा महिला क्लस्टरका लागि २, दलित क्लस्टरका लागि २, अन्य क्लस्टरका लागि १ जना गरी ५ जना उम्मेदवार छन् । मधेश प्रदेशबाट महिला र दलित क्लस्टरका लागि ३÷३ जना, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायको क्लस्टरका लागि ३ र अन्य क्लस्टरका लागि २ जना गरी ११ जना उम्मेदवार छन् ।
    बाग्मती प्रदेशबाट महिला र अन्य क्लस्टरका लागि ३÷३ जना गरी जम्मा ६ जनाको उम्मेदवारी परेको छ । गण्डकी प्रदेशबाट महिला र अन्य क्लस्टरका लागि ३÷३ जना गरी जम्मा ६ जनाको उम्मेदवारी परेको छ । लुम्बिनी प्रदेशबाट महिला क्लस्टरका लागि ३, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक क्लस्टरका लागि २ र अन्य क्लस्टरका लागि ३ जना गरी जम्मा ८ जनाको उम्मेदवारी परेको छ । कर्णाली प्देशबाट महिला र अन्य क्लस्टरका लागि २÷२ जना गरी ४ र सुदूरपश्चिम प्रदेशबाट महिला र अन्य क्लस्टरका लागि २÷२ जना गरी ४ जनाको उम्मेदवारी परेको हो ।
    राष्ट्रिय सभा निर्वाचनका लागि देशभर ४६ हजार ९२५ जम्मा मतभार छ । जसमध्ये कोशीमा १० हजार १३५, बाग्मतीमा १० हजार ३५२, गण्डकीमा ६ हजार ४१०, लुम्बिनीमा ८ हजार ७५३, कर्णालीमा ५ हजार १२२, मधेशमा १० हजार ८३९, सूदूरपश्चिममा ६ हजार १५३ मतभार रहेको छ ।
    कर्णालीमा कसको कति मत ?
    आज मतदान हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि कर्णाली प्रदेशमा चार जना उम्मेदवार छन् । महिला क्लस्टरका लागि नेकपा एमालेबाट मिनासिंह रखाल र अन्य क्लस्टरका लागि नेपाली काँग्रेसका ललितजंग शाही उम्मेदवार छन् । नेपाली कम्युनिष्ट पार्टीबाट महिला क्लस्टरका लागि अञ्जु महतारा र अन्य क्लस्टरका लागि बुद्धिप्रसाद शर्मा उम्मेदवार छन् ।
    २०७६ माघमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट अन्यतर्फ निर्वाचित भएका जाजरकोटका मायाप्रसाद शर्मा र महिलातर्फ निर्वाचित भएकी सुर्खेतकी सुमित्रा बिसीको कार्यकाल सकिँदैछ ।
    नेपाली काँग्रेस र नेकपा एमाले पूर्वसहमति अनुसार गठबन्धन गरी राष्ट्रिय सभा निर्वाचनमा होमिएका छन् । सोही अनुसार कार्णालीमा पनि दुई वटै क्लस्टर भागबण्डा गरी यी दुई दलले आफ्ना उम्मेदवार उठाएका छन् । अन्तिम चरणमा गठबन्धन गर्न नचाहेको नेपाली कम्युनिष्ट पार्टीले आफ्नो तर्फबाट कर्णालीमा दुईटा क्लस्टरमा उम्मेदवार उठाएको छ ।
    कर्णालीमा राष्ट्रियसभा निर्वाचनका लागि १९८ कुल मतदाता संख्या छ । प्रदेशसभाका ४० जना सदस्य छन् भने ७९ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको संख्या १५८ छ । प्रदेशसभा सदस्यको मतभार एक जना बराबर ५३ हो भने स्थानीय तहका जनप्रनिधिको मतभार १९ हो । जसअनुसार प्रदेशसभा सदस्यहरुको कुल मतभार २ हजार १२० हुन्छ भने स्थानीय तहका जनप्रनिधितिको मतभार ३ हजार २ हुन्छ । दुवै तहका मतदाताहरुको कुल मतभार संख्या ५ हजार १२२ छ ।
    जसमध्ये कर्णालीमा नेपाली काँग्रेसको मतभार सबैभन्दा बढी छ । काँग्रेसको कुल मतभार कर्णालीमा १ हजार ८५३ छ । त्यसपछि दोस्रोमा साविक माओवादीको १ हजार ६०१ मतभार छ । नेकपा एमालेको मतभार कर्णालीमा १ हजार १९५ छ । साविक नेकपा (एस) को कुल मतभार कर्णालीमा २४३ छ । यस्तै एक जना प्रदेश सभा सदस्य मात्र भएको राप्रपाको मतभार ५३ र स्वतन्त्रबाट जनप्रतिनिधि बनेकाहरुबाट १६७ मतभार छ ।
    गठबन्धन गरेका काँग्रेस–एमालेको यो राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीमा जम्मा मतभार ३ हजार ४५४ हुन्छ । जसले कर्णालीबाट काँग्रेस र एमाले गठबन्धन उम्मेदवार चुनिने पक्का भएको छ । स्वतन्त्र जनप्रतिनिधिको मतभारमध्ये पनि केही गठबन्धनलाइ जाने देखिन्छ ।
    संयुक्त उम्मेदवार जिताउन अपिल
    नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रिय सभा निर्वाचनमा नेकपा (एमाले) र नेपाली कांग्रेसका संयुक्त उम्मेदवारलाई विजयी बनाउन अपिल गरेको छ । शनिबार कर्णाली प्रदेशसभा भवनमा बसेको नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले राष्ट्रियसभा निर्वाचनमा महिलातर्फ मीनासिंह रखाल र अन्यतर्फ ललितजंग शाहीलाई मतदान गरी विजयी बनाउन सबै अपिल गर्ने निर्णय गरेको हो ।
    दलका नेता एवं कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा सम्पन्न बैठकले नेकपा (एमाले) को एघारौँ महाधिवेशनबाट मुख्यमन्त्री कँडेल केन्द्रीय सचिव पदमा निर्वाचित भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । त्यसैगरी, बैठकले माघ १८ गतेदेखि सुरु हुने कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनमा संसदीय दलका सबै सदस्यहरु सक्रिय रुपमा सहभागी भई प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय समेत गरेको छ ।

     

  • प्रतिनिधि सभा निर्वाचन–२०८२ः कर्णालीमा गत निर्वाचनको अङ्क गणित

    प्रतिनिधि सभा निर्वाचन–२०८२ः कर्णालीमा गत निर्वाचनको अङ्क गणित

    फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कर्णालीबाट पुराना र नयाँ राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरुले निर्वाचनमा भाग लिंदैछन् । जेन–जी आन्दोलपछि विकसित राजनीतिक परिस्थितिले २०८४ मा हुनुपर्ने यो निर्वाचन अहिले हुँदैछ । अहिलेको निर्वाचनको नतिजा कस्तो आउँछ भन्ने आम चासो छ ।
    विगतका निर्वाचनहरुमा चुनावी गठबन्धन गरी दल र उम्मेदवारलाइ पाखा लगाउने परिस्थिति यो चुनावमा छैन । अहिले दलहरु एक्लाएक्लै चुनवाी प्रतिस्पर्धामा उत्रिएकाले विगतका भन्दा नतिजा फरक आउने देखिन्छ । कर्णालीको सन्दर्भमा भने विगतका निर्वाचनमा जस्तो प्रमुख राजनीतिक दलमध्ये एउटा दल शून्य अवस्थामा पुग्ने परिस्थिति अहिलेको चुनावमा नहुन सक्छ । कर्णालीमा विशेष गरी कांग्रेस, एमाले र नेकपाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यसपटक रास्वपाले पनि पुराना दललाई चुनौती दिन सक्ने अड्कल गरिएको छ । अहिलेको निर्वाचनलाई यसअघिका निर्वाचनको अङ्क गणितलाइ आधार मानेर हेर्दा काँग्रेस, एमाले र नेकपा (साविक माओवादी केन्द्र) का उम्मेदवारहरु मिश्रित रुपमा चुनिने देखिन्छ ।
    २०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तत्कालिन नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र नेपाली कांग्रेस मिलेर बनेको गठवन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा भएको थियो । गठवन्धनका कारण एमालेले प्रतिनिधिसभा प्रत्यक्षतर्फका कर्णालीका १२ वटै सिट गुमाउनुपरेको थियो । २०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रबीचको चुनावी गठवन्धनका कारण नेपाली कांग्रेसले १२ वटै सिट गुमाएको थियो ।
    तर, यस पटक भने यीनै दलहरु एक्लाएक्लै चुनावी मैदानमा छन् । कर्णालीमा दुई चुनावमा फरक–फरक दलबीच गठवन्धन भएर कुनै एक दल सून्य हुने अवस्था यस पटक नआउने देखिन्छ । विगतका दुई निर्वाचनमा गठबन्धन गरेका यी दलले योपटक आ–आफ्ना स्पष्ट जनाधार प्रस्तुत गर्नेछन् । अहिले वाम एकतापछि चुनावमा होमिएको नेपाली कम्युनिष्ट पार्टीभित्रको घटक साविक नेकपा माओवादी केन्द्रले कर्णालीलाई आफ्नो जनाधार ठान्छ । यो निर्वाचनमा अघिल्लो निर्वाचनबाट प्रतिनिधिसभातर्फ एक सिट प्रत्यक्ष जितेको राप्रपा र समानुपातिकतर्फ एक सिट पाएको रास्वापा पनि चुनावी मैदानमा उत्रिएका छन् ।
    यस्तो थियो गत निर्वाचनको अङ्क गणित
    २०७९ मा कांग्रेस–माओवादी र समाजवादीबीचको गठवन्धनका तर्फबाट उम्मेदवार बनेका प्रकाश ज्वाला सल्यानबाट विजयी भएका थिए । तत्कालिन समाजवादीका उनले ३५ हजार ७०७ मत प्राप्त गरेका थिए । उतिबेला पुतली चिन्हबाट स्वतन्त्र चुनाव लडेका राजेन्द्रबहादुर शाहले १९ हजार ७९२ मत ल्याउँदा एमालेका राजेन्द्रवीर रायले १ हजार ३३९ मत पाएका थिए । डोल्पामा कांग्रेस–माओवादीको गठवन्धनबाट उम्मेदवार बनेका साविक नेकपा (एस) का उम्मेदवार धनबहादुर बुढाले ११ हजार २९२ मत प्राप्त गरी विजयी हुँदा एमालेका गणेशबहादुर शाहीले ५ हजार ५०५ मत ल्याएर पराजित भएका थिए । मुगुबाट कांग्रेसका ऐनबहादुर शाहीले १४ हजार ७०६ मत प्राप्त गर्दा एमालेका राजबहादुर कार्कीले १० हजार सात १० मत प्राप्त गरी पराजित भएका थिए ।
    गठवन्धनमा माओवादीको भागमा परेको हुम्लाबाट छिरिङ डम्डुल लामाले १४ हजार ३७१ मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिद्वन्द्वि एमालेका दल रावलले ९ हजार ५१६ मत प्राप्त गरेका थिए । २०७९को चुनावमा गठवन्धनलाई चुनौति दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) दोब्बर मतान्तरले विजयी भएका थिए । उनले गठवन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादीकी गोमा गौतम कँुवरलाई हराएका थिए । कँुवरले ११ हजार ९५९ मत प्राप्त गर्दा एमालेका रतननाथ योगीले ६ हजार ५२८ मत प्राप्त गरेका थिए । शाही यस पटकको निर्वाचनमा पनि राप्रपाका तर्फबाट जुम्लामा उम्मेदवार छन् । कालीकोटबाट २३ हजार ७२७ मत ल्याएर गठवन्धनका तर्फबाट माओवादीका मेहन्द्रबहादुर शाही विजयी हुँदा एमालेका नगिन्द्र शाहीले १६ हजार ७१८ मत प्राप्त गरेका थिए । यी दुवै जना अहिलेको निर्वाचनमा पनि प्रतिस्पर्धीका रुपमा उभिएका छन् ।
    दुई निर्वाचन क्षेत्र रहेको दैलेख–१ बाट कांग्रेसका दिक्पालकुमार शाही २० हजार १८३ मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिद्वन्द्वि एमालेका लक्ष्मीप्रसाद पोखरेलले २० हजार १६ मत प्राप्त गरेका थिए । यस पटक पनि शाही र पोखरेल चुनावी मैदानमा छन् । यस्तै, दैलेख–२ बाट समाजवादीका अम्मरबहादुर थापा १८ हजार २९७ मतले विजयी हुँदा एमालेका रविन्द्रराज शर्माले १७ हजार ४४५ मत प्राप्त गरी पराजित भएका थिए । थापा र शर्मा पनि आगामी निर्वाचनमा उम्मेदवार छन् ।
    जाजरकोटमा गठवन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका शक्तिबहादुर बस्नेतले ३४ हजार १५१ मत ल्याएर विजयी हुँदा एमालेका निरजप्रसाद आचार्यले २५ हजार १२० मत प्राप्त गरेका थिए । बस्नेत पुनः उम्मेदवार बनेका छन् । उनका प्रतिद्वन्द्वी काँग्रेसका खडक बहादुर बुढा र एमालेका डम्बर सिंह छन् । रुकुम पश्चिमबाट तत्कालिन माओवादीबाट जनार्दन शर्मा निर्वाचित भएका थिए । शर्माले ३९ हजार ५४९ मत प्राप्त गरी विजयी हुँदा एमालेका नन्दराम देवकोटाले १२ हजार ९६१ मत प्राप्त गरेका थिए ।
    यस्तै, दुई निर्वाचन क्षेत्र रहेको सुर्खेत–१ बाट गठवन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका पूर्णबहादुर खड्का विजयी भएका थिए । उनले ४२ हजार ६०७ मत प्राप्त गर्दा एमालेका ध्रुवकुुमार शाहीले ३० हजार ९८८ मत प्राप्त गरी पराजित बनेका थिए । शाही यस पटक पनि आगामी निर्वाचनमा उम्मेदवार बनेका छन् । शाहीसँग अहिले पूर्णबहादुरका भाई विष्णु बहादुर खड्का काँग्रेसबाट उम्मेदवार छन् ।
    विगतका गठबन्धनसहितको नतिजालाई छोडेर यो पटक कर्णालीमा ठूला दलहरुको एकल प्रतिस्पर्धालाई २०७० सालसम्मको नतिजासँग तुलना गर्न सकिन्छ । यसरी तुलना गर्दा अहिलेको निर्वाचनमा रुकुम पश्चिम, जाजरकोट, कालीकोटमा नेकपाका उम्मेदवार प्रतिनिधि सभा सदस्य चुनिन सक्छन् । किन भने यी जिल्लामा साविक माओवादी केन्द्रले पकड राखेको क्षेत्र छन् । दैलेखका दुई निर्वाचन क्षेत्र, सल्यान, डोल्पा र मुगुमा एमालेका उम्मेदवार चुनिन सक्छन् । सुर्खेतका दुइ निर्वाचन क्षेत्र, जुम्ला, हुम्लामा काँग्रेसका उम्मेदवार चुनिन सक्छन् । यद्यपि विगतका चुनावको आधारमा यकिन आँकडा भने निकाल्न सकिँदैन ।

  • काँग्रेसको प्रतिनिधिसभा उम्मेदवार सिफारिसः कर्णालीबाट को–को भए सिफारिस ?

    काँग्रेसको प्रतिनिधिसभा उम्मेदवार सिफारिसः कर्णालीबाट को–को भए सिफारिस ?

    प्रत्यक्षतर्फका १२ निर्वाचन क्षेत्रबाट ५६ जनाको नाम सिफारिस, हुम्लामा निर्णयविपरित

    वर्तमान सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै तिव्र पारेको उम्मेदवार सिफारिसको काम जिल्लाहरुबाट लगभग टुंगिएको छ । नेपाली काँग्रेसले आफ्नो १५ औं महाधिवेशन पनि पुस २६ देखि २८ गतेसम्म तोकेको छ । महाधिवेशनअघि काँग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउने कामलाई तिव्रता दिएको थियो । यसअघिका निर्वाचनमा उम्मेदवार तोक्न सँधै अन्तिममा हुने काँग्रेसले यस पटक भने सुरुमा गर्न थालेको हो । प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचन–२०८२ का लागि पार्टीले मंसिर १५ गत वैठक बसेर उम्मेदवार सिफारिस गर्न जिल्ला र प्रदेश समितिहरुलाई निर्देशन दिएको थियो । पार्टीले एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाबाट मंसिर २६ गतेसम्म र दुई वटा निर्वाचन हुने जिल्लाबाट मंसिर २९ गतेभित्र उम्मेदवारका आकांक्षीहरुको नामा प्रदेश समितिमा पठाइसक्न भनेको थियो । पार्टीले हाल संसदमा रहेका पदाधिकारीलाई उम्मेदवारको रुपमा सिफारिस नगर्न पनि निर्देशन दिएको थियो ।
    कर्णाली प्रदेशका जिल्लाहरुबाट पनि उम्मेदवारका आकांक्षीहरुको सूची कर्णाली प्रदेश समितिलाई प्राप्त भइसकेको छ । कर्णालीमा दैलेख र सुर्खेतबाहेक ८ जिल्लामा एक–एक वटा प्रनिनिधि सभा निर्वाचन क्षेत्र छन् । प्रदेशका दश वटै जिल्लाबाट सोमबारसम्म उम्मेदवारका आकांक्षीको नाम सिफारिस भएर आएको नेपाली काँग्रेस कर्णाली प्रदेश समितिका प्रवक्ता दमन शाहीले जानकारी दिए । जिल्लाबाट सिफारिस भएको उम्मेदवार कसैले पनि आफ्नो नाम फिर्ता नलिएको उनले बताए । अब उनीहरुको नाम केन्द्र समितिमा पठाउने तयारी भईरहेको उनले बताए । ‘जिल्लाबाट सबै सूची आइसकेको छ, आज (मंगलबार) निर्णय गरी केन्द्रमा पठाउने कुरा थियो । पार्टी कार्यालय बन्द गर्ने निर्णय भएकाले पठाईएन,’ प्रवक्ता शाहीले भने, ‘अब यसपछि तत्काल निर्णय गरेर जस्ताको तस्तै केन्द्रमा सूची पठाउँछौं ।’ नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य अमोदप्रसाद उपाध्यायको निधनमा मंगलबार देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय भएको थियो ।
    कर्णालीका कुन जिल्लाबाट कसको नाम सिफारिस ?
    नेपाली काँग्रेसको उम्मेदवार सिफारिस तालिकाअनुसार कर्णाली प्रदेशका दशवटा जिल्लामध्ये सुर्खेत र डोल्पामा सबैभन्दा पहिले उम्मेदवारको नाम सिफारिस गरिएको थियो । सुर्खेत र डोल्पामा मंसिर २३ गते नै उम्मेदवार सिफारिस गरिएको थियो । प्रदेशका प्रत्यक्षतर्फका १२ निर्वाचन क्षेत्रबाट ५६ जनाको नाम उम्मेदवारका लागि सिफारि भएको छ ।
    प्रतिनिधि सभातर्फ दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतको क्षेत्र न १ बाट कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का एकल सिफारिस भएका छन् । यो क्षेत्रबाट समानुपातिकतर्फ नरबहादुर सोनी र भिमा मल्लको नाम सिफारिस भएको छ । खड्का २०४८ यता यही निर्वाचन क्षेत्रबाट चुनाव लड्दै आएका छन् । उनले २०७४ को प्रतिनिधि सभाव निर्वाचनबाहेक सबै निर्वाचनमा जितेका छन् । २०६४ मा भने उनी समानुपातिक निर्वाचन प्रणालीमार्फत संसदमा गएका थिए । २०४८, २०५६ को आम निर्वाचनमा पनि उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
    यस्तै, सुर्खेत क्षेत्र नम्बर २ बाट निवर्तमान प्रतिनिधिसभा सदस्य हृदयराम थानीसहित ६ जनाको नाम सिफारिस भएको छ । थानी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि यहीँ क्षेत्रबाट निर्वाचित भएका थिए । २०७४ मा उनी पराजित भए । २०७० सालको संविधान सभा निर्वाचन र २०५६ सालको आम निर्वाचनमा पनि उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए । सुर्खेत २ बाट प्रत्यक्षतर्फ नारायण कोइराला, उपेन्द्र थापा, कलम खत्री, भिस्म हमाल र बसन्ती बस्नेत जिसीको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ पनि पाँच जनाको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ गंगा नेपाली बस्याल, पार्वती गिरी, धना बिष्ट, भिम शाही नेपाली र भगे कामीको नाम सिफारिस गरिएको छ ।
    नेपाली कांग्रेस कालीकोटले प्रतिनिधि सभा निर्वाचनका लागि पहिलो नम्बरमा भुपेन्द्रजंग शाहीलाई सिफारिस गरेको छ । जिल्ला सभापति अम्बबहादुर शाही र महिलातर्फ सिता रावलको नाम सिफारिस प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार सिफारिस गरिएको छ । समानुपातिकतर्फ खसआर्यमा कालीबहादुर सहकारी, महिलामा सुशिला शाही बम र दलितमा मनबहादुर नेपालीलाई सिफारिस गरिएको छ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि टेकराज शाही र यशोधा शाहीको नाम उम्मेदवारका रुपमा सिफारिस गरिएको छ ।
    हुम्लाबाट प्रदेशसभा सदस्यसमेत रहेका नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई आगामी प्रतिनिधि समा निर्वाचनको उम्मेदवारका रुपमा सिफारिस गरिएको छ । जुन पार्टीको ‘बहालवाला जनप्रतिनिधिलाई उम्मेदवार नबनाउने’ निर्णय र निर्देशनको विपरित छ । यस्तै जयपति रोकाया र रिता शाहीको नाम पनि प्रत्यक्षतर्फको उम्मेदवारको रुपमा सिफारिस गरिएको छ । हुम्लाबाट समानुपातिकतर्फ बलबहादुर लामा, ताराबहादुर लामा र रम्बा शाहीको नाम सिफारिस गरिएको छ ।
    जाजरकोटबाट प्रत्यक्षतर्फ कांग्रेसले पाँच जनाको नाम सिफारिस भएको छ । जसमा जिल्लाका कार्यवाहक सभापति खड्गबहादुर बुढा, मैना कार्की, मुक्तिप्रसाद आचार्य, महेन्द्रबहादुर शाह र रामजंग शाह रहेका छन् । समानुपातिकतर्फ जाजरकोटबाट रामछाया शाही, हजारी नेपाली बादी, भूमिलाल रोकाय, जनक बादी र विष्णु गिरीको नाम सिफारिस भएको छ । राष्ट्रियसभाको निर्वाचनका लागि पूर्व पार्टी सभापति दीपकजंग शाह, खम्बजंग शाह र गीता नेपालीलाई उम्मेवार सिफारिस गरिएको छ ।
    प्रतिनिधिसभा प्रत्यक्षतर्फ सल्यानबाट ६ जनाको नाम सिफारिस भएको छ । जसमा केशरबहादुर विष्ट, सन्तोष केषी, एकराज डाँगी, मानबहादुर डाँगी, दीपेन्द्रकुमार खत्री र सुरेश चन्द छन् । यस्तै समानुपातिकतर्फ चक्र देवकोटा, प्रेमबहादुर डाँगी, बिरबहादुर सेजुवाल, गणेश चन्द, ध्रुवबहादुर मल्ल, शुभद्रा बस्नेत, सीता गिरी, विष्णुकुमारी शर्मा र चक्रबहादुर परियारको नाम सिफारिस भएको छ । राष्ट्रिय सभाको उम्मेदवारका रुपमा ध्रुवराज पुरीको एकल नाम सिफारिस भएको छ ।
    रुकुम पश्चिमबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ प्रेमप्रकाश ओली, गोपाल जी गंग शाहको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ मानबहादुर नेपाली र मनिषा भण्डारीको नाम सिफारिस भएको कांग्रेस रुकुम पश्चिमले जनाएको छ । राष्ट्रियसभातर्फ वीरबहादुर ओलीको नाम सिफारिस भएको छ ।
    दुई निर्वाचन क्षेत्र रहेको दैलेखमा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ १३ जनाको नाम सिफारिस भएको छ । खेमराज केसी, खेमराज वली, गणेशप्रसाद उपाध्याय, देवेन्द्रबहादुर थापा, नगेन्द्रबहादुर मल्ल, नरसिंह मल्ल, पदमबहादुर मल्ल, बखतबहादुर कटुवाल, बासना थापा, भूपेन्द्र शाही, मणिराज रेग्मी, मनोजकुमार थापा र सुशील देउजाको नाम सिफारिस भएको हो । क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा समानुपातिकतर्फ कुलबहादुर विश्वकर्मा, दिपक सोनी, दुर्गा श्रेष्ठ, निर्मलाकुमारी थापा, मिनाकुमारी थापा र मोहनमाया प्याकुरेल र गणेशबहादुर बोगटीको नाम सिफारिस भएको छ । यस्तै राष्ट्रियसभातर्फ किशोरी केसी, रंगबहादुर शाही, खड्कबहादुर सिजापती, नगेन्द्रबहादुर खत्री, सीता ज्ञवाली र हिक्मतबहादुर विश्वकर्माको नाम सिफारिस भएको छ ।
    दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ ९ जनाको नाम सिफारिस भएको छ । जसमा निवर्तमान प्रत्यक्षतर्फको निवर्तमान प्रतिनिधिसभा सदस्य दिक्पालकुमार शाही र समानुपातिकतर्फ सीताकुमारी रानाको नाम अग्रपंक्तिमा छ । त्यसपछि मधुर विक्रम खनाल, रन्जनाकुमारी शाही, बखतबहादुर शाही, लोकेशप्रसाद आचार्य, चन्द्रबहादुर शाही, नारायणप्रसाद रेग्मी, एकेन्द्रबहादुर पन्तको नाम पनि उम्मेदवारका लागि सिफारिस भएको छ । यो क्षेत्रबाट ‎‎प्रतिनिधिसभा समानुपातिकतर्फ सूर्यबहादुर विक, शेरबहादुर शाही, जानकीकुमारी बिष्ट, पूर्णबहादुर थापा, सुमित्रा शाह, भगवती प्रसाद उपाध्याय, लिलाराम उपाध्यायको नाम सिफारिस भएको छ । ‎‎राष्ट्रिय सभातर्फ शिवराज जोशी, रंगबहादुर शाही, हिमबहादुर शाही, प्रेमप्रकाश शाही, राजेश शाही र खड्गबहादुर शाहीको नाम सिफारिस गरिएको छ ।
    नेपाली काँग्रेस जुम्लाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ जिल्ला सभापति कर्णबहादुर शाही, निर्वतमान सांसद कान्तिका सेजुवाल, पूर्णप्रसाद आचार्य र खड्गबहादुर सेजुवाललाई सिफारिस गरेको छ । समानुपातिकतर्फ दिनबन्धु श्रेष्ठ, धनबहादुर बस्नेत, गोविन्द शाही, पुरिचन्द्र देवकोटा, लक्ष्मीप्रसाद आचार्य, परेकलाल घर्ती, गोरखबहादुर सुनार, माया नेपाली, नेत्रकला शाही, कर्णजंग हमाल, नविना केसी बडुवाल, जयलक्ष्मी आचार्य, लालबहादुर जिसी र रज्जब अलिमनिहारको नाम सिफारिस गरिएको छ । राष्ट्रिय सभातर्फ काँग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही, पूर्वराज्यमन्त्री भक्तबहादुर रोकाया, भिमनिधि हमाल र सुमन बुढा बस्नेतको नाम सिफारिस गरिएको छ ।
    मुगुबाट निवर्तमान वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीसहित ३ जनाको नाम प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस भएको छ । पार्टीका पूर्व जिल्ला सभापति खडकबहादुर शाही, रमाइली रावलको नाम पनि प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गरिएको छ । मीन भाम, भीम तिरुवा र केशरकला मल्लको नाम समानुपातिकतर्फका उम्मेदवारका लागि जिल्लाले सिफारिस गरेको छ । राष्ट्रियसभातर्फ मुगुबाट पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लको एकल नाम सिफारिस भएको छ ।
    नेपाली कांग्रेस डोल्पाले प्रत्यक्षतर्फ कर्णबहादुर बुढाको एकल नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ तीन जनाको नाम सिफारिस भएको छ । जसमा टंकप्रसाद उपाध्याय, जयकुमारी शाही, रमादेवी न्यौपाने छन् । आगामी माघ ११ मा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि दुधकुमारी हमाल, राजीमान सार्की र जुना मिजारको नाम सिफारिस भएको छ ।

     

  • प्रतिनिधिसभा निर्वाचन २०८२ः सक्रिय बने राजनीतिक दलहरु

    प्रतिनिधिसभा निर्वाचन २०८२ः सक्रिय बने राजनीतिक दलहरु

    सरकारले घोषणा गरेको प्रतिनिधिसभाको निर्वाचन आउन ७९ दिन बाँकी छन् । निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सम्पन्न गरिसकेको छ । सरकारले पनि निर्वाचनको आवश्यक तयारी तिव्र पारेको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारेर आवश्यक सुझाव सङ्कलन गरिरहेको छ । निर्वाचनकै लागि सरकारले सेना परिचालनको स्वीकृतिसमेत पाइसकेको छ । शान्ति सुरक्षा कायम गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक तयारी भईरहेको सरकारले बेलाबेला भनिरहेको छ ।
    प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरुले पनि देशव्यापी निर्वाचन लक्षित आफ्ना गतिविधिलाई निरन्तरता दिईरहेका छन् । तोकिएकै समयमा निर्वाचन सम्पन्न नहुने आशंका बीच पनि दलहरुले निर्वाचन लक्षित राजनीतिक सभा तथा सम्मेलनलाई तीव्रता दिएका छन् । जेनजी आन्दोलनपछि विघटन भएको प्रतिनिधिसभा पुनसर््थापनाको पक्षमा रहेका दलहरु एमाले र काँग्रेसले पनि आफ्ना गतिविधि निरन्तर गरेका छन् ।
    नेकपा एमालेले शनिबारबाट आफ्नो ११औं राष्ट्रिय महाधिवेशन जारी गरिरहेको छ । महाधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दबाब र प्रतिशोधको छाँयाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको आफ्नो पार्टी चुनावबाट नभाग्ने उद्घोष गरेका छन् । उनले सरकारले निष्पक्ष र स्वतन्त्र चुनाव हुने वातावरण बनाउनुपर्ने धारणा राखेका थिए । अध्यक्ष ओलीले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन र राजनीतिक दलका गतिविधिलाई प्रोत्साहित गर्न आग्रह गरिरहेका छन् । एमालेले निर्वाचनका लागि आयोगले तय गरेको समयसीमाभित्रै दल दर्तालगायतका गतिविधि सम्पन्न गरिसकेको छ ।
    नेपाली कांग्रेस पनि देशव्यापी रुपमा चुनावको तयारीमा छ । कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको उम्मेदवार छनोट गरिरहेको छ । यसपछि यही पुसमा आफ्नो १५ औं महाधिवेशन गर्ने तयारी गरेको छ । काँग्रेसले प्रतिनिधि सभा सदस्यको उम्मेदवारसँगै राष्ट्रियसभाको उम्मेदवारसमेत छनोट गरिरहेको छ ।
    जेनजी आन्दोलनपछि वाम घटकहरुबीच एकता भएर निर्माण भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सन्देशसभाको रुपमा देशव्यापी निर्वाचनकेन्द्रित गतिविधिलाई तिव्र बनाएको छ । नेकपाले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा जनसभाको आयोजना गरेको थियो । धनगढी, दाङ, पोखरा, विराटनगर र जनकपुरमा यसअघि नै सन्देशसभा गरिसकेको नेपाली कम्युनिस्ट पार्टीले यही पुस ५ गते काठमाडौंमा सन्देशसभा आयोजना गर्दैछ । देशभर नै सन्देशसभा आयोजना गरेर निर्वाचनको पक्षमा उभ्याएको नेकपाको दावी छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार सुर्खेतमा आयोजित सभामा निर्वाचन तोकिएको मितिमै सम्पन्न हुनुपर्ने बताउँदै त्यसका लागि आफ्नो पार्टी क्रियाशील भइसकेको बताइ सकेका छन् ।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि निर्वाचनका लागि वाचापत्र तयार पार्नेदेखि उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाइसकेको छ । समानुपातिकतर्फको उम्मेदवारको आवेदन गरेको रास्वपाले भेलामार्फत निर्वाचनकेन्द्रित गतिविधि गरिरहेको छ । रास्वपाले पनि शुक्रबार कर्णाली प्रदेशस्तरीय राजनीतिक प्रशिक्षणको आयोजना गरिसकेको छ । यस्तै, मधेस केन्द्रित दलहरु पनि निर्वाचन केन्द्रित राजनीतिक गतिविधिमा संलग्न हुँदै गएका छन् ।
    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ ११४ राजनीतिक दल सहभागी हुनेछन् । समानुपातिकतर्फ १०० राजनीतिक दल निर्वाचनमा सहभागि हुँदैछन् । निर्वाचन आयोगले जनसंख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाइसकेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेशी, थारु, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न लागिएको हो । समानुपातिक प्रणालीतर्फ कुल एक सय राजनीतिक दलले भाग लिनेछन् । निर्वाचन आयोगले शुक्रबार १०० राजनीतिक दललाई निर्वाचन चिह्नसमेत उपलब्ध गराइसकेको छ । २१–२३ मंसिरसम्म तीन दिनको समयभित्र समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि आवेदन दिएका राजनीतिक दलमध्ये अन्तिमरुपमा १०० वटा दल कायम भएको आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ एक सय दलले आवेदन दिएको भए पनि दुई वा दुईभन्दा बढी दलले एकल निर्वाचन चिह्नमा भाग लिनेगरी आवेदन दिएकाले कुल ९३ निर्वाचन चिह्न कायम गरिएको आयोगले जनाएको छ ।
    गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि गठित पूर्वप्रधानन्यायधीस सुशीला कार्की नेतृत्वको अन्तरिमक सरकारलाई निर्वाचन गराउने प्रमुख म्याण्डेट छ । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोध, भ्रष्टाचार अन्त्य र सुशासन कायम हुनुपर्ने मागसहित जेनजी समूह सडकमा उत्रिएको थियो । आन्दोलनका कारण प्रधानमन्त्रीले राजिनामा दिएपछि भदौ २७ गते कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी थिइन । जेनजीको मागबमोजिम प्रधानमन्त्री भएकी कार्की नेतृत्वको मन्त्रिपरिषद पहिलो बैठकले नै निर्वाचनको मिति घोषणा गरेको थियो ।

  • सुर्खेतमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभाः को नेताले के भने ?

    सुर्खेतमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभाः को नेताले के भने ?

    नेपाली कम्युनिस्ट पार्टीले शनिबार सुर्खेतमा ‘एकता सन्देश सभा’ सम्पन्न गरेको छ । साविक नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत १० वटा भन्दा बढी वाम घटकहरुबीच एकता गरी बनेको नेपाली कम्युनिस्ट पार्टीले देशभर सन्देश सभा गरेको थियो । अन्य प्रदेशहरुमा सकाएर अन्तिममा शनिबार सुर्खेतमा सभा आयोजना गरिएको थियो । सभामा संयोजक पुष्पकमल दाहाल प्रचण्डा, सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेताहरु झलनाथ खनाल, वामदेव गौतम, भिम रावल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु सुर्खेत आएका थिए ।
    एकता सन्देश सभालाई सम्बोधन गर्दै नेपाली कम्यूनिस्ट पार्टी (नेकपा)का संयोजक प्रचण्डले सुदूरपश्चिम र कर्णाली प्रदेशमा एक नम्बर पार्टी बन्ने दावी गरेका छन् । उनले दुई प्रदेशमा भएका एकतासभाले देशमा समाजवादी क्रान्तिको सन्देश दिएको बताए । ‘नेकपाले जारी राखेका एकता सभाहरु प्रचारात्मक नभएर विगतका कमीकमजोरीका विषयमा आत्मसमिक्षा र आत्मआलोचना गरेर आगामी दिनमा नेपाली जनतासँग एकाकार भएर सुशासनयुक्त, भ्रष्टाचारमुक्त र आर्थिकरुपले समृद्ध, सामाजिक विभेदको अत्य गरी सामाजिक न्यायसहितको समाज निर्माण गर्ने लक्ष्य हाम्रो हो ।’ प्रचण्डले भने ।
    विगतका कमजोरीहरु अब नदोहोरिने उनले दाबी गरे । उनले नेपालमा कम्युनिष्ट घटकहरु एकत्रित हुन विगतदेखिकै प्रयास भएको बताए । जेन–जी आन्दोलनलाई सही थियो भन्ने पार्टी नै नेकपा भएको उल्लेख गर्दै प्रचण्डले पछिल्लो सरकार र जेन–जीबीच भएको सम्झौता आफूहरुकै नीति तथा कार्यक्रमसँग सम्बन्धित भएको दाबी गरे ।
    नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सम्बोधनका क्रममा नेकपा इमानदारहरुको पार्टी भएको दावी गरेका छन् । भ्रष्टाचार र स्वार्थी प्रवृत्तिको अन्त्य नगरी देशलाई समृद्ध बनाउन नसकिने उनले बताए । ‘भ्रष्टाचार र स्वार्थी प्रवृत्तिलाई अन्त्य गरिएन भने तथा साझा भावना अगाडि बढाउन सकिएन भने देशलाई अगाडि बढाउन सकिँदैन, त्यसैले हामीले विगतका कमजोरी स्वीकार गर्दै इमानदार तरिकाले काम गर्ने सोचेर नै पार्टी एकता गरेका हौँ ।’ उनले भने ।
    पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका नेता नेपालले कम्युनिस्ट नेतृत्वको सरकारले गरेका कामहरुको बचाउ गरेका छन् । उनले आफू र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा धेरै राम्रा कामहरु भएको दाबी गरे । ‘म र प्रचण्डजी प्रधानमन्त्री भएका बेला राम्रा काम पनि गरेका छौँ, तर केही गरेनन् भन्छन् ।’ उनले भने ।
    मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, जनता आवास कार्यक्रम र युवालाई रोजगारी दिने जस्ता महत्वपूर्ण कामहरु कम्युनिस्ट सरकारकै पालामा भएको उनले बताए । उनले जनअपेक्षा अनुसार काम गर्न नसकिएको पनि स्वीकारे । उनले भने, ‘जति गर्न सक्नुपथ्र्यो त्यो नभएका होलान्, तर केही नभएको होइन । हामीले शिर निहुराउनुपर्ने अवस्था छैन ।’
    नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले मुलुकमा समाजवाद निर्माण गर्न नसके आफूहरुलाई जेल हाल्न जनतालाई आग्रह गरेका छन् । एकता सन्देश सभालाई सम्बोधन गर्दै गौतमले यस्तो बताएका हुन् । उनले अब नेताहरुलाई भाग्ने छुट नभएको बताए । ‘हामीले समाजवाद निर्माण गर्न सकेनौँ भने तपाईंहरुले हामीलाई जेलमा लगेर कोचिदिनुहोला, हामीलाई अब भाग्ने छुट छैन ।’ उनले भने ।
    गौतमले जनतालाई भ्रममा नपार्न दलहरुलाई नेतृत्वलाई चेतावनी दिए । केही दलहरुले जनतालाई ढाँट्नका लागि मात्र समावाद भनिरहेको बताउँदै उनले अब ढिला नगरी समाजवाद निर्माणतर्फ लाग्दै मुलुकलाई समृद्ध बनाउनुपर्ने औंल्याए । सम्बोधनका क्रममा नेता गौतमले पछिल्लो समय चर्चामा रहेको युवाहरुको ‘जेनजी’ आन्दोलन केपी ओलीकै कारण भएको टिप्पणी गरे ।
    नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले संविधानको मर्मअनुसार अघि बढ्न सुझाव दिए । नेपाली कम्युनिस्ट आन्दोलन देशको सबैभन्दा ठुलो शक्तिका रूपमा स्थापित भएको उल्लेख गर्दै उनले अबको बाटो समृद्ध समाजवादको विकास हुनुपर्नेमा जोड दिए ।
    यस्तै कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा नेपाली विशेषताको समाजवाद ल्याउनुपर्ने बताएका छन् । ‘एकता सन्देश सभा’ लाई सम्बोधन गर्दै नेता खनालले देशलाई समाजवादतर्फ लैजानु नै अबको मुख्य विकल्प रहेको बताएका हुन् । सम्बोधनका क्रममा नेता खनालले मुलुकमा विदेशीहरुको हस्तक्षेप बढेको र राष्ट्रिय स्वाधिनतामाथि प्रश्न उठेको टिप्पणी गरे । ‘पुँजीवादको अन्त्य र भ्रष्टाचारको अन्त्य गर्न सबै कम्युनिस्टहरू मिलेर समाजवाद स्थापना गर्नुको विकल्प छैन ।’ उनले भने ।
    शिक्षा र स्वास्थ्य क्षेत्रमा अपेक्षित रुपान्तरण गर्न नसकिएको स्वीकार गर्दै खनालले सबै जनताले गाँस, बास र कपाससहित शिक्षाको सहज पहुँच पाउने नेपाल निर्माण गर्न समाजवाद अपरिहार्य रहेको बताए । उनले नेकपा एमालेलाई पनि एकता र समाजवादको बाटोमा आउन आग्रह गरे । एमाले पङ्क्तिलाई लक्षित गर्दै उनले भने– ‘म एमाले महाधिवेशनमा भएका साथीहरुलाई भन्छु, आउनुहोस्, एकै बाटोमा अघि बढौँ । हामी एउटै कम्युनिस्ट शक्ति बनेर अघि बढ्नुपर्छ ।’
    सभालाई सम्बोधन गर्दै अर्का नेता नारायणकाजी श्रेष्ठले नेकपालाई घुस नखानेहरुको पार्टी बनाउने बताए । नेकपालाई घुस नखानेहरुको पार्टी भनेर चिनाउनेगरि काम गर्ने बताए । ‘भ्रष्टाचार नगर्नेहरुको पार्टी बनाएर सबैलाई एकताबद्ध गराउनुपर्ने छ, मजदुर, जनजाति, दलितलाई समेत एकताबद्ध गरेर काम गरिनेछ ।’ उनले भने ।
    श्रेष्ठले माओवादी सरकारमा हुँदा सुशासनलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको तर कांग्रेस र एमालेलाई त्यो नरुचेको बताए । ‘कांग्रेस र एमालेलाई सुशासन रुचेन, जसका कारण नेपालमा जेनजी आन्दोलन सुरु भएको हो ।’ उनले भने ।
    अर्का नेता डा.भीम रावलले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गरे । एकता सन्देश सभामा बोल्दै उनले नयाँ पुस्ता (जेनजी) को आवाज सुन्नुको साटो ओली दमनमा उत्रिएको र आन्दोलन चर्किएपछि भागेको उनले टिप्पणी गरे । ‘सिंहदरबारमा आगो लाग्दा प्रधानमन्त्री को थियो ? देश सङ्कटमा पर्दा वा आगो लागेका बेला भाग्ने प्रवृत्ति नेतामा हुनु ठिक हो ?’ उनले ओलीतर्फ प्रश्न गरे ।
    ओलीप्रति आक्रामक रुपमा प्रस्तुत भएका रावलले अगाडि भने, ‘केपी ओलीलाई देशको नेता हुँ भन्नु लाज लाग्नुपर्ने हो, देशमा आगो लागेका बेला भाग्ने ? जेनजीका माग सुन्नुपर्नेमा उल्टै दमन गर्ने अनि आन्दोलन भएपछि भाग्ने ? हाम्रा कलिला युवाहरूको आवाजले केपीजी भाग्नुभयो, यो लज्जास्पद र शर्मनाक भयो । अझ अहिले पनि म शक्तिशाली हुँ भन्न सुहाउँदैन ।’
    नेता रावलले आफ्नो सम्बोधनका क्रममा कर्णाली प्रदेशका जल्दाबल्दा समस्याहरु पनि उठाए । उनले कर्णाली राजमार्गको दयनीय अवस्था सुधार हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे । कर्णालीको स्याउ, यार्सागुम्बा र जडीबुटीको सही सदुपयोग र बजारीकरण हुन नसकेको उनको भनाइ थियो । विशेष गरी अपर कर्णाली जलविद्युत आयोजनाको सन्दर्भमा बोल्दै उनले भारतीय कम्पनी जीएमआरको आलोचना गरे । ‘अपर कर्णालीलाई जीएमआरको जिम्मा लगाईयो तर अहिलेसम्म काम भएको छैन, काम नगरी ओगटेर राख्नु भनेको कर्णाली र सुदूरपश्चिमका जनतालाई धोका दिनु हो ।’ रावलले भने ।

    ‘कुलमानको बुद्धि फिरोस्’

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङले आफूले लगाएको गुण बिर्सिएको बताएका छन् । शनिबार सुर्खेतमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री हुँदा घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएको र त्यो गुण उनले भुलेको बताए ।
    “कुलमानले जुन थालमा खाए त्यही थालमा प्वाल पार्न थाले, लोडसेडिङबाट आक्रान्त भएको नेपाललाई लोडसेडिङमुक्त बनाउने ऐतिहासिक कार्य त हामीले गरेकै हो,” प्रचण्डले भने, “त्योबेला हामीले उनलाई दुई–दुई पटक ल्याएर कार्यकारी निर्देशक बनाएका हौं, अहिले कुलमानले गुन बिर्सेर जुन थालमा खाए त्यहीँ थालमा छेद हाल्न खोजेका छन् ।”
    उनले आफ्नो विरुद्धमा नउभिन पनि घिसिङलाई आह्वान गरे । घिसिङ आफ्नो पछाडि बेइमानीका साथ हिँडेर पार नपाउने प्रचण्डले बताए । “तिनले त्यसो नगरुन भन्न चाहन्छु, कुलमानको बुद्धि फिरोस । यस्तो बैगुनी भएर तिनले पार पाउने छैनन्,” प्रचडले भने, “नेपाली जनताले यसो गरे भने तिनलाई धेरै माफ दिन्छन् जस्तो लाग्दैन ।”

     

  • कर्णालीबाट चौलागाईंको प्रतिनिधित्व

    कर्णालीबाट चौलागाईंको प्रतिनिधित्व

    वर्तमान सरकारको मन्त्रिपरिषदमा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्दै माधव चौलागार्इं मन्त्री बनेका छन् । प्रधानमन्त्री सुशिला कार्कीले शुक्रबार उनलाई वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेकी छन् । उनी जुम्लाका हुन् । जुम्लाको इतिहासमा त उनले दशकौंपछि जिल्लाबाट मन्त्रीका रुपमा केन्द्र सरकारमा प्रतिनिधित्व गरेका हुन् । २०२५ साललमा हरिश्चन्द्र महत जुम्लाबाट सहायक कृषिमन्त्री बनेका थिए । त्यसयता केन्द्र सरकारमा जुम्लाबाट मन्त्रीका रुपमा प्रतिनिधित्व हुन सकेको थिएन ।
    भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठन भएको कार्की नेतृत्वको वर्तमान सरकारमा कर्णालीको सहभागिता यसअघि पनि गराउन खोजिएको थियो । यसअघि कर्णालीबाट दुई जनाको नाम अहिलेको मन्त्रिपरिषदमा समावेश गराउन सिफारिस भएको थियो । हुम्लाकी टासी ल्हाजोम र दैलेखका खगेन्द्र सुनारको नाम मन्त्रीका लागि सिफारिस भएको थियो । उनीहरु दुवै जना विवादमा आएपछि अन्तिम अवस्थामा नाम काटिएको थियो । शुक्रबार भने माधव चौलागाई निर्विवाद मन्त्रीमा नियुक्त भएका छन् ।
    को हुन् कर्णालीबाट प्रतिनिधित्व गर्ने चौलागाईं ?
    मुख्य पेशाका रुपमा उनी जनस्वास्थ्यविद् हुन् । यसका अलावा उनी लेखन तथा सिर्जनाका माध्यमबाट समाजमा योग्दान पु¥याउने प्रयास गरिरहेका छन् । केही समयअघि निकै चर्चा पाएको एउटा गीत थियो– ‘मान्ठ हुँ म माण्ठ’ । सिस्नुपानी नेपालको कार्यक्रममा प्रस्तुत भएको यो गीत केही समय धेरैको मस्तिष्कमा बस्यो । सामाजिक सञ्जालमा भाइरल बन्यो । यही गीतका सर्जक हुन् माधव चौलागाईं । उनी समसामयिक र ऐतिहासिक विषयमा आफ्ना लेखमार्फत् कर्णाली चिनाउँदै आएका लेखक पनि हुन्। उनको ‘सपादलक्ष कर्णाली’ किताब पनि प्रकाशित छ । विशेषगरि माथिल्लो कर्णालीको इतिहास समेटिएको यही किताबमा उनले ‘माण्ठ हुँ म माण्ठ’ गीत समावेश गरेका थिए ।
    चौलागाईंले कक्षा १२ सम्मको पढाइ जुम्लामै पूरा गरेका थिए । त्यसपछि उनी स्नातक पढ्न सुर्खेत आएका थिए । छात्रवृत्तिमा स्नातकोत्तर पढ्न उनी थाइल्यान्डको बैंकक गए । त्यहाँ उनले जनस्वास्थ्य विषयमा स्नातकोत्तर गरे । थाइल्यान्डबाट स्नातकोत्तर तहको पढाइ पूरा गरेर नेपाल आएपछि सोही क्षेत्रमा उनले कर्णालीका लागि काम गरे । उनले मानवशास्त्रमा एमफिल गरेका छन् र विद्यावारिधिको तयारीमा छन् । उनी आफ्नो परिवारमा पहिलो साक्षर व्यक्तिसमेत हुन् । उनकी आमा मनोशोभा चौलागाईंले प्रौढ शिक्षाबाट आफ्नो नाम लेख्न सिकेकी थिईन् । छोरा माधव परिवारको पहिलो साक्षर व्यक्ति बने ।
    ‘जुम्लाबाट अन्यत्र पढ्न जाँदा सुरुमा त मलाई झट्का लागेजस्तो हुन्थ्यो, म मानिसहरुसँग बोल्दिन पनि थिएँ । नेपालका साथीहरुले त मलाई जुम्ली भनेर होच्याउँथे । बिस्तारै सबै डर र होच्याउने कुराबाट म माथि उठ्दै गएँ,’ चौलागाईंले केही समयअघि एउटा अन्तरवार्तामा भनेका थिए, ‘कर्णाली कति अगाडि र पछाडि छ भन्ने कुरा यहाँका मानिस कतै पुग्दा उसको आत्मसम्मान कहाँ छ र उसलाई कत्तिको साहस आइरहेको छ भन्नेले पनि निर्धारण गर्छ होला ।’
    कर्णाली पछाडि पर्नुका पछाडि ऐतिहासिक, भौगोलिकदेखि महामारी, द्वन्द्व, भूकम्पसँगै सरकारको बेवास्ता र अवहेलना पनि एक मुख्य कारणका रुपमा रहेको उनको बुझाइ छ । उनी धारणा छ, ‘यदि कुनै दौडमा नेपाल सहभागी छ भने कर्णालीलाई अलग पारेर सफल हुनै सकिँदैन, कर्णालीको समय धिमा छ भने नेपालको समय छिटो हुँदैन र कर्णालीको समय छिटो बनाउनु भनेको नेपालको समय पनि छिटो बनाउनु हो ।’ कर्णालीलाई विशेष चासो दिएर त्यसको विकासमा जोड दिने हो भने समग्र देशकै गति बढ्ने उनी बताउँछन् ।
    र्चालागाईं कर्णालीको धिमा गति छिटो बनाउन सकारात्मक विभेद आवश्यक रहेको बुझ्छन् । उनी कर्णालीलाई विशेष आरक्षणको आवश्यकता भएको औंल्याउँछन् । यो सँगसँगै कर्णालीको इतिहास पनि कर्णालीकै मान्छेले लेख्नुपर्छ भन्ने उनी ठान्छन् । यी विषयको चर्चा चौलागाईंले आफ्नो किताब ‘सपादलक्ष कर्णाली’ मा पनि गरेका छन् । उनको ‘सपादलक्ष कर्णाली’ कर्णालीको इतिहासलाई सही तरिकाले देखाउने प्रयास हो । यो किताबले सुरुमा त कर्णालीलाई चिनाउन सहायता गर्छ । कर्णालीलाई आलोचनात्मक दृष्टिले हेर्ने वातावरण पनि सिर्जना गर्छ । कर्णालीका मानिसले यो किताब पढ्ने हो भने उनीहरुले आफ्नो ठाउँमा भएका अनन्त सम्भावनालाई महसुश गर्छन् ।
    माधव सुर्खेतमा बर्षेनि हुने ‘कर्णाली उत्सव ः कुडा कर्णालीका’ मा सुरुवातदेखि नै सक्रिय छन् । कर्णाली उत्सव समसामयिक विषय र व्यक्तित्वलाई बहसका माध्यमबाट चिन्ने र चिनाउने एक प्रयास हो । जुन ६ बर्षदेखि निरन्तर चलिरहेको छ । यो बर्ष सातौं संस्करण हुँदैछ । यसका अलावा उनले हरित र साइकल अभियानमा पनि योग्दान गरेका छन् ।
    चौलागाईं सधैं पिछडिएको र अभावमा रहेको ठाउँ भनेर चिन्ने, पछि परेको ठाउँलाईसमेत कर्णालीको ‘बिम्ब’ दिनेहरुका नगरमा यो बिम्बलाई सकारात्मक बनाउने अभियानमा छन् । ‘कर्णालीको युग अब डरलाग्दो नभई जुर्मुराएको युग हो भन्नेमा म विश्वस्त छु ।’ उनी भन्छन् ।

  • काँग्रेसबाट खड्का फेरि निर्विकल्प उम्मेदवार !

    काँग्रेसबाट खड्का फेरि निर्विकल्प उम्मेदवार !

    आगामी २१ फागुनमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसले उम्मेदवार छनोटलाई तीव्रता दिएको छ । यसअघि सँधै अन्तिममा उम्मेदवार छान्ने काँग्रेसले यसपटक सुरुमै यो काम गर्दैछ । कर्णाली प्रदेशका पनि विभिन्न जिल्लाहरुमा उम्मेदवार छनोटका लागि छलफल भईरहेका छन् । काँग्रेसले सुर्खेतका भने दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारहरु सिफारिस गरिसकेको छ । नेपाली कांग्रेस कर्णाली प्रदेशसमितिका प्रवक्ता दमन शाहीका अनुसार कर्णालीका १० वटै जिल्लामा उम्मेदवार छनोटको कार्य जारी छ । ‘केन्द्रकोे परिपत्र अनुसार एक निर्वाचन क्षेत्र भएको जिल्लामा २५ गतेसम्म र एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा २६ गतेसम्म उम्मेदवार सिफारिस गरी प्रदेश कार्यसमितिमा पठाइ सक्नुपर्ने छ, सोही अनुसार यहाँका सबै जिल्लामा छलफल जारी छ,’ शाहीले भने, ‘२६ गतेसम्म सबै जिल्लाको सिफारिस भएर आइसक्छ ।’
    मंगलबार नै सुर्खेतमा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरु जिल्ला कार्यसमितिबाट सिफारिस गरिएको हो । जसअनुसार क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का प्रत्यक्षतर्फको निर्वाचनका लागि एकल सिफारिस भएका छन् । उनी काँग्रेसबाट यो क्षेत्रमा फेरि निर्विकल्प उम्मेदवार बन्दैछन् । उनी विगत २०४८ देखि यताका एउटाबाहेक हरेक निर्वाचनबाट यही क्षेत्रबाट सांसद बनेका छन् । २०६४ को निर्वाचनमा समानुपातिक प्रणालीबाट सांसद बनेका उनी अरु सबैमा प्रत्यक्ष निर्वाचित हुन् । विगतदेखि नै खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट पार्टीमा निर्विकल्प उम्मेदवार रहीआएका थिए । यसपटक पनि उनको नाम एकल नै सिफारिस भयो ।
    २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर १ बाट खड्का निर्वाचित भएका थिए । कांग्रेस–माओवादी गठबन्धनबाट उम्मेदवार बनेका खड्काले नेकपा एमालेका ध्रुवकुमार शाहीलाई फराकिलो मतान्तरले पराजित गरेका थिए । खड्काले ४२ हजार ६ सय ७ मत ल्याएर विजयी हुँदा एमालेका शाहीले ३० हजार ९ सय ८८ मत ल्याएर पराजित भएका थिए ।
    यस्तो छ खड्काको राजनीतिक यात्रा
    पूर्णबहादुर खड्का विगतदेखि पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्रका रुपमा हेरिन्छन् । २०१० सालमा सुर्खेतमा जन्मिएका खड्काले २०३१ सालबाट राजनीतिक यात्रा सुरु गरेका थिए । खड्का २०३४ सालमा नेपाली काँग्रेस सुर्खेतको सभापति बनेका थिए । त्यतिबेला उनी जम्मा २४ वर्षका थिए । पञ्चायतकालको प्रतिबन्धित अवस्थामा पनि उनी निरन्तर राजनीतिमा सक्रिय रहे । नेपाल विद्यार्थी संघमा केन्द्रीय सदस्य हुँदै खड्का हाल पार्टीको उपसभापतिसम्म भए ।
    २०३६ सालमा खड्का सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयर निर्वाचित भएका थिए । जिल्ला अदालत सुर्खेतले मेयर भएको ६ महिनामै उनलाई अपदस्थ गरिदिएको थियो । विभिन्न समयमा गरेर पाँच महिनाभन्दा बढी जेल जीवन बिताएका खड्का सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट चार पटक प्रत्यक्ष निर्वाचित भएका थिए । एकपटक भने उनी पराजित भए । २०४८, २०५१, २०५६ सालमा निरन्तर उनी प्रत्यक्ष निर्वाचनर्फात चुनाव जितेर सांसद भएका थिए । २०६४ सालमा खड्का समानुपातिक निर्वाचन प्रणालीमार्फत सांसद बने । २०७० सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा भने उनी पराजित भएका हुन् । उनको निरन्तर संसद यात्रामा त्यहीबेला ब्रेक लागेको थियो ।
    नेपाली काँग्रेसको दशौं महाधिवेशनबाट खड्का केन्द्रीय सदस्य मनोनित भएका थिए । २०५९ मा काँग्रेस विभाजन भएपछि बनेको काँग्रेस प्रजातान्त्रिकमा उनी केन्द्रीय सदस्य बने । काँग्रेस प्रजातान्त्रिकको ११ औं महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा निर्वाचित भए । २०६४ मा काँग्रेस र काँग्रेस प्रजातान्त्रिकबीच एकीकरणपछि भएको १२ औं महाधिवेशनमा पनि खड्काले केन्द्रीय सदस्य जितेका थिए । त्यहीबेला उनी सहमहामन्त्रीमा मनोनित भएका थिए ।
    १३ औं महाधिवेशनपछि खड्का महामन्त्रीमा मनोनित भएका थिए । १४ औं महाधिवेशनमा उनी काँग्रेसको निर्वाचित पहिलो उपसभापति बन्न सफल भएका हुन् । २३–२४ को जेन–जी आन्दोलनपछि खड्कालाई कार्यवहाक सभापति बन्ने अवसरसमेत जुरेको थियो ।

  • बिहान कालो झण्डा, दिउँसो सम्पत्ति हस्तान्तरण

    बिहान कालो झण्डा, दिउँसो सम्पत्ति हस्तान्तरण

    आइतबार जनार्दन शर्मा गृहजिल्ला रुकुम पश्चिम पुगेका थिए । काठमाडौंबाट जहाजमार्फत उनी रुकुम पश्चिमको सल्ले विमानस्थलमा अवतरण गरेका हुन् । आफ्नो पूर्व पार्टी नेकपा माओवादीले वाम घटकहरुबीच एकता गरेपछि चित्त नबुझाएर प्रचण्डसँग छुट्टिएपछि उनी पहिलोपटक गृहजिल्ला आएका हुन् । गएको कात्तिक १९ गते नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका १० वटा भन्दा बढी वाम घटकहरुबीच एकता भएर ‘नेपाली कम्युनिष्ट पार्टी’ बनेको छ । यसको संयोजक पूर्व नेकपा मओवादी अध्यक्ष प्रचण्ड बनेका छन् । प्रचण्डाको एकता गर्ने यही निर्णयमा चित्त नबुझेपछि जनार्दन आफू अलग भएर प्रगतिशील लोकतान्त्रिक अभियान घोषणा गरेका थिए । यसलाई उनले केही समयअघि निर्वाचन आयोगमा ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ का रुपमा दर्ता गराएका छन् ।
    नयाँ पार्टी खोलेपछि सांगठनिक कामको उद्देश्यसहित आएका जनार्दनका लागि गृहजिल्ला प्रवेश नै रोचक बनेको छ । उनलाई प्रवेश गर्नेवित्तिकै सुरुमा कालो झण्डा देखाईएको छ भने केही समयपछि दिउँसो पार्टी कार्यालयका लागि भौतिक सम्पत्ति हस्तान्तरण गरिएको छ । उनलाई कालो झण्डा देखाउने र सम्पत्ति हस्तान्तरण गर्ने दुवै पूर्व माओवादी केन्द्र थिए । तत्कालिन माओवादी केन्द्र आठविसकोट नगरपालिका कमिटीका पूर्वअध्यक्ष मानबहादुर चँदारा नेतृत्वको टोलीले उनलाई कालो झण्डा देखाएको हो । तत्कालिन माओवादी केन्द्रका पूर्व जिल्ला अध्यक्ष गोविन्द रोका (हाल नेपाली कम्युनिष्ट पार्टीका जिल्ला संयोजक) ले सम्पत्ति बाँडफाँटको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
    रोकाले कालो झण्डा देखाएको विषयलाई भने सामान्य भएको बताएका छन् । उनले सहिद परिवारले जनार्दन शर्मालाई कालो झण्डा देखाएको बताए । ‘यो विषयलाई स्वभाविकै मान्नुपर्छ, किन भने उहाँहरुको पनि शर्मासँग केही अपेक्षा थिए होलान्,’ रोकाले भने, ‘उहाँहरुको आशाको केन्द्रविन्दूले अर्को बाटो रोजेपछि यति कुरालाई असामान्य मान्न सकिँदैन ।’ शर्माको गृहजिल्ला प्रवेशका क्रममा सुरक्षाकर्मी भने बाक्लो संख्यामा तैनाथ गरिएको थियो ।
    कालो झण्डाले विरोध गरेको केही समयपछि नै उनको नयाँ पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टी र नेपाली कम्युनिष्ट पार्टीबीच कार्यालय प्रयोजनका लागि भौतिक सम्पत्ति बाँडफाँटको सहमति पत्रमा हस्ताक्षर भएको थियो । प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट रुकुम पशिचम जिल्ला संयोजक रहेका गोर्खबहादुर केसीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
    सहमतिपत्रमा तत्कालीन माओवादी केन्द्रले प्रयोग गर्दै आएका भौतिक संरचनाहरु औपचारिक रुपमा भागबण्डा गरिएको उल्लेख छ । ‘नेपाली कम्युनिष्ट पार्टी’ (नेकपा) र ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ (प्रलोपा) बीच सदरमुकामस्थित महत्वपूर्ण भवन तथा संरचनाहरु प्रयोग गर्ने सम्बन्धमा लिखित सहमतिसहित भागबण्डा भएको हो । शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीको संरक्षक छन् ।
    विगतमा एउटै पार्टीमा रहेर काम गरेको र भविष्यमा पनि सहकार्य गर्न सकिने उल्लेख गर्दै दुवै पक्षले सहमति पत्रमार्फत सम्पत्ति बाँडफाँड गरेको सार्वजनिक गरिएको छ । सहमति अनुसार मुसिकोट नगरपालिकाका दुई फरक स्थानमा रहेका भवनहरु (जसलाई यसअघि नेकपा माओवादी) ले प्रयोग गरेको थियो ।
    मुसिकोट नगरपालिका वडा नम्बर ५ सेरीगाउँमा रहेको ‘शहीद स्मृति प्रतिष्ठान’ र ‘ईस्कन्द नर्मदा फाउण्डेशनको परिसरमा रहेका भौतिक संरचना नेपाली कम्युनिष्ट पार्टीले प्रयोग गर्ने सहमति भएको छ । यस्तै मुसीकोट नगरपालिका वडा नम्बर १ स्थित खलंगा बजारमा रहेको ‘ईस्कन्द नर्मदा स्मृति फाउण्डेशन’को नाममा भएको भवनलाई भने जनार्दन नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रयोग गर्ने सहमति भएको छ । उक्त भवन फाउण्डेशन आफैंले बनाएर तत्कालिन नेकपा माओवादी केन्द्रलाई प्रयोग गर्न दिईएको थियो । ईस्कन्द नर्मदा फाउण्डेशन पनि जनार्दन शर्मा आफैंले खोलेका हुन् । उनका बुवा ईस्कन्द शर्मा र आमा नर्मदा शर्माको नाममा यो फाउण्डेशन स्थापना भएको थियो ।
    यो सहमति मंसिर १५ गते नै भएको भएपनि आइतबार औपचारिक रुपमा हस्ताक्षर गरिएको हो । यो सम्झौता आइतबार (मंसिर २१ गते) बाटै लागु हुने भएको छ ।