६ महिना देखि ‘ट्रायल सेन्टर’मै अल्झियो सुर्खेतको यातायात व्यवस्था कार्यालय

सुर्खेत

सवारी चालक अनुमति पत्रका लागि वीरेन्द्रनगरमा चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्ममा प्रयोगात्मक परिक्षा सञ्चालन भएको छैन ।

नियमित रुपमा सञ्चालन हुनुपर्ने सवारी चालक प्रयोगात्मक परिक्षा समयमा नै सञ्चालन नहुँदा यहाँका नागरिकहरु लुम्बिनी प्रदेशको बाँके धाउँन वाध्य भएका छन् ।

यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज (भेरी)मा सवारी चालक अनुमति पत्रका लागि पुगेका राज थापाले टेलिफोन सम्पर्कमा भने, ‘मेरो घर वीरेन्द्रनगर–१० मा पर्छ । मैले गाडी चलाउन वीरेन्द्रनगरमा नै सिकेको हुँ । अहिले लाइसेन्स बनाउन नेपालगञ्ज आएको दुई दिन भयो ।’

वीरेन्द्रनगरमा नै सवारी चालक अनुमति पत्रका लागि परीक्षा दिने व्यवस्था सुचारु नभएपछि थापा जस्ता कयौँ युवाहरुलाई नेपालगञ्ज धाउनुपर्ने वाध्यता छ । यसले उनीहरुलाई झन् धेरै खर्च व्यहोर्नुपर्ने अवस्था सृजना भएको छ । उनले भने, ‘सुरुको दिन आएर कार्यालयमा सम्पर्क गरे । अव आज लिखित थियो । भोली ट्रायल हुन्छ । दुई दिन त नेपालगञ्जमै बस्नुपर्ने भयो । तेस्रो दिन ट्रायल दिएर मात्र हामी वीरेन्द्रनगर फर्कन्छौ ।’

म्याद थप्दै ‘ट्रायल सेन्टर’ खोज्दै

आफ्नै ट्रायल सेन्टर नभएको यातायात व्यवस्था कार्यालय, सुर्खेतले निजी क्षेत्रबाट सञ्चालनमा रहेका ‘ट्रायल सेन्टर’मा प्रयोगात्मक परीक्षा सञ्चालनको व्यवस्था गरिएको थियो । एक वर्षसम्मको अवधि जनाउँदै सम्झौता गरेर निजी क्षेत्रले ट्रायल सेन्टर उपलब्ध गराउथे ।

गत साउनमा समेत कार्यालयले ट्रायल सेन्टर उपलब्ध गराउन सूचना जारी गरेको थियो । १५ दिने हदम्याद राखेर यातायात व्यवस्था कार्यालय, सुर्खेतले गत साउन २४ गत पहिलो सूचना जारी गरेको थियो ।

प्रयोगात्मक परिक्षा (ट्रायल सेन्टर) र सवारी साधनको सिलबन्दी प्रस्ताव आह्वानको सूचना जारी भएको ६ महिना बितिसक्दा समेत हालसम्म पनि प्रयोगात्मक परीक्षा सञ्चालन हुने टुंगो लागेको छैन ।

सो पछि भदौ ७ गते र तेस्रो पटक गत पौष ११ गते सोहि सूचना पुनः प्रकाशन गरिएको छ । अन्तिम पटक पौष महिनामा प्रकाशित सूचना यता दुई महिनाको समय पुग्न थालिसकेको छ । यातायात व्यवस्था कार्यालय, सुर्खेतले भने सेवाग्राहीलाई प्रयोगात्मक परीक्षा सञ्चालन गर्न सकिने विश्वसनीय सूचना दिन सकेको छैैन ।

जुम्लामा प्रत्येक महिना ‘ट्रायल’

कर्णाली प्रदेशमा सवारी चालक अनुमति पत्रका लागि यातायात व्यवस्था कार्यालय, सुर्खेत मात्र विकल्प होइन । जुम्लामा समेत यातायात सेवा व्यवस्था कार्यालय मार्फत सवारी चालक अनुमति पत्र लगायतका सेवा प्रदान हुँदै आएको छ ।

जुम्लामा प्रत्येक महिना कार्यालयले प्रयोगात्मक (ट्रायल) परीक्षा लिन्छ । अहिलेको समयमा समेत कार्यालयले ट्रायलका लागि आवेदन आह्वान गरिसकेको छ । हप्तामा चार दिन नियमित रुपमा ट्रायल परीक्षा सञ्चालनको व्यवस्था गरिएको यातायात सेवा व्यवस्था कार्यालय, जुम्लाका प्रमुख लोकबहादुर महतले जानकारी दिए ।

जुम्ला सेवा कार्यालयले जग्गा भाडामा लिएर प्रयोगात्मक परीक्षा सञ्चालनको व्यवस्था गरेको छ ।

प्राविधिक रिपोर्ट आएपछि सञ्चालनको तयारी छः प्रमुख लामिछाने

निजी क्षेत्रका ट्रायल सेन्टरहरुले निवेदन पेश गरेको र हाल कार्यालय मार्फत प्राविधिक अध्ययन कार्य जारी रहेको यातायात व्यवस्था कार्यालय, सुर्खेतका प्रमुख लक्ष्मीप्रसाद लामिछाने बताउछन् ।

काँक्रेविहार दैनिकसँग टेलिफोनमा कुरा गर्दै उनले भने, ‘हामीले प्राविधिक अध्ययनमा कर्मचारी खटाएका छौँ । अध्ययनपछि उहाँहरुले रिपोर्ट पेश गर्नुहुन्छ । रिपोर्टको आधारमा ट्रायल परीक्षा सञ्चालन हुन्छ ।’

‘पटक–पटक म्याद थप गर्दै सूचना निकाल्दा पनि प्रयोगात्मक परीक्षा सञ्चालन किन भएन ?’ भन्ने प्रश्नमा उनले पहिलो पटक सूचना प्रकाशित गरेपछि दुई वटा ट्रायल सेन्टरले आवेदन पेश गरेको जानकारी दिए । सो समयमा दुई वटा ट्रायल सेन्टरले मात्र आवेदन पेश गरेका कारण काम अघि नबढेको उनले बताए ।

उनले भने, ‘सुरुमा दुई वटा मात्र ट्रायल सेन्टर आएका रहेछन् । म त्यसबेला यो कार्यालयमा आएको थिएन । पछि हामीले पुनः सूचना जारी ग¥र्यौ । आवेदनहरु आए । कार्यालयले प्राविधिक समिति समेत गठन गरेर अध्ययन गरेको थियो । तर उक्त समितिले ट्रायल सेन्टरहरुको पूर्वाधार अवस्था मापदण्ड अनुसार नभएको रिपोर्ट पेश ग¥र्यो ।’

हाल नीजि क्षेत्रबाट सञ्चालनमा रहेका वाहेक यातायात व्यवस्था कार्यालयसँग अर्को विकल्प छैन । कार्यालयले आफ्नै ट्रायल सेन्टर निर्माण गर्ने योजना अनुसार अघि बढेपनि जग्गामा रहेका संरचना हटाउन सकेको छैैन । यस अवस्थामा निजी क्षेत्रलाई मापदण्ड अनुसार सुधार्न आह्वान गरिएको उनले जनाए ।

उनले भने, ‘हामीले उनीहरुलाई मापदण्ड अनुसार बनाउन भनेका छौँ । हाम्रो प्राविधिक टोलीले पनि अन्तिम रिपोर्ट पेश गरिसकेको छैन । रिपोर्ट आएपछि परीक्षा सञ्चालन हुन्छ ।’

अव कहिलेसम्ममा प्रयोगात्मक परीक्षा सञ्चालन हुन्छ भन्ने विषयमा भने उनले कुनै एकिन मिति दिएनन् ।

+ There are no comments

Add yours