भीमा गुरुङ बलामीको मृत्यु प्रकरणमा एक वर्षपछि फैसला, परिवारलाई १५ लाख क्षतिपूर्ति

सुर्खेत

सुर्खेत । एक वर्षअघि (०८० चैत्र २९)कर्णाली प्रदेश अस्पतालमा डाक्टरको लापरबाहीका कारण मृत्यु भएकी २२ वर्षीय भीमा (रिजुका) गुरुङ बलामीको विषयलाई लिएर परेको मुद्दामा सुर्खेत जिल्ला अदालतले एक वर्षपछि फैसला गरेको छ ।

मृतकको पति र छोरीले प्रतिवादीहरूबाट १५ लाख रुपैयाँ क्षतिपूर्ति भराई पाउने ठहरी फैसला भएको अदालतका सूचना अधिकारी उज्जलदेव रावलले बताए । अधिवक्ता शेरबहादुर खत्रीको रोहबरका भीमाका जेठाजु नाता पर्ने धनबहादुर मगरले ०८१ वैशाख १७ गते प्रदेश अस्पताल र अस्पतालका तत्कालीन निर्देश डम्बर खड्का र उपचारमा संलग्न डाक्टर ललितजङ्ग शाहीविरुद्ध अन्तरकालीन माग गर्दै मुद्दा दायर गराएका थिए । उनले उपचारका क्रममा भएको त्रुटि, हेलचेक्राईं र लापरबाहीबाट नै मृत्यु भएको भन्दै क्षतिपूर्ति भराई पाउँ भनेर मुद्दा दिएका थिए । त्यसको ठिक एक वर्षपछि बुधबार न्यायाधीश दीपक ढकालले प्रतिवादीहरूबाट १५ लाख रुपैयाँ क्षतिपूर्ति भराई पाउने ठहरी फैसला गरेका हुन् ।

पश्चिम दैलेखको आठबिस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीय भीमा सामान्य पेट दुखेको भन्दै उपचारका लागि प्रदेश अस्पताल पुगेकी थिइन् । उनी सामान्य चेकजाँचका लागि मात्रै सुर्खेत आएकी थिइन् । वीरेन्द्रनगरको एक निजी अस्पतालमा सामान्य चेकजाँच गराउँदा पाठेघरमा केही समस्या भएको देखियो । त्यस पश्चात् उनी देशकै उत्कृष्ट मानिएको प्रदेश अस्पताल जाने निधो गरिन् । ८० चैत्र २९ गते बिहानै उनी अस्पताल भर्ना भएकी थिइन् । हिँडेर आफैँ अस्पताल पुगेकी थिइन्, भीमा । अस्पतालमा चेकजाँच गराउँदा ४ महिनाअघि प्रसूति गराउँदाका बखत पाठेघरमा केही सालनाल रहेको कुरा चिकित्सकहरूले जानकारी दिए । भीमाको पेटमा केही महिनाको बच्च समेत थियो । पाठेघरलाई सफा गर्नुपर्ने भयो । अप्रेसन गरेर सफा गर्दै गर्दा केही समयपछि नै अस्पतालले उनलाई मृत घोषणा गरिदियो ।

भीमाका आफन्त बाहिर बसिरहेका थिए, एक्कासि डाक्टरले शव बुझ्न भनिदिए । त्यसपछि परिवारहरू चकित परे । हिँडेर अस्पताल गएकी भीमाको एक्कासि शव बुझ्न भन्दा पत्याउन सकिने कुरै थिएन, भीमाका जेठाजु धनबहादुर मगर भन्छन् । अस्पतालले दिउँसो तीन बजेतिर मृत घोषणा गरेको थियो । उनका अनुसार परिवारलाई भेट्नै नदिई एक्कासि रगत अभाव भयो भन्दै रगत मगाएको र केही समयमै मृत घोषणा गरियो । आफन्तहरूले डाक्टरहरूको लापरबाहीका कारण नै उनको मृत्यु भएको भन्दै आन्दोलन गरे । भीमाको मृत्यु भएसँगै अस्पताल परिसर २० दिनसम्म तनावग्रस्त बन्यो । भीमाको ७ महिने दुधे छोरी थिइन् ।

सामान्य पेट दुखाई सम्बन्धी समस्या भई हिँडेर अस्पताल पुगेकी उनको डाक्टरहरूको लापरबाहीकै कारण मृत्यु भएको पीडित परिवारको उनीहरूको भनाइ थियो । भीमाको शव झण्डै एक महिनापछि मात्रै अस्पतालबाट लिएर जलाएका थिए, परिवारले । पीडित परिवारले उचित क्षतिपूर्तीसहित छानबिनको माग गर्दापनि सम्बन्धित निकायले सुनुवाइ नगरेपछि उनीहरू अदालत गएका थिए । प्रदेश अस्पतालमा यस्ता थुप्रै घटनाहरू घट्दै आएपनि अनुसन्धान हुने गरेको थिएन् ।

अन्य समाचार

+ There are no comments

Add yours