एकता महाधिवेशनको तयारी अन्तिम चरणमा : उच्चस्तरीय समिति

काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनए उच्चस्तरीय समितिले मे ३–५ मा काठमाडौँमा आयोजना गर्न लागेको एकता महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
सदस्यता वितरणको काम सम्पन्न भए पछि अहिले पूर्णरुपमा डेलिगेट्स प्रतिनिधि छनोटको काममा व्यस्त रहेको सचिवालयले जनाएको छ ।
यही अप्रिल २२ तारिख (नेपालको समय राती १२ बजे सम्म) सचिवालयको वेबसाइटमा गएर आवेदन दिन सकिने उच्चस्तरीय समितिकी प्रचारप्रसार संयोजक रविना थापाले जानकारी दिइन् । उनले भनिन्, ‘सदस्यतामा उत्साहजनक सहभागिता रहेको छ, डेलिगेट्समा पनि साथीहरूले आवेदन दिइरहनु भएको छ, समय अझै बाँकी रहेकाले पक्कै डेलिगेट्समा सङ्ख्या बढ्छ भन्ने हाम्रो अपेक्षा हो ।’
अहिलेसम्म झन्डै १४ सय जनाले डेलिगेट्समा आवेदन दिएका छन् । उनीहरूको कागजात जाँच गरेर उच्चस्तरीय समितिले उक्त सूची निर्वाचन समितिलाई हस्तान्तरण गर्ने छ । निर्वाचन समितिलाई अधिवेशनको ५ दिन अघि सूची बुझाउने गरी काम अघि बढेको समितिको भनाइ छ ।

सर्वोच्च अदालतको परमादेश अनुसार गठित उच्चस्तरीय समितिलाई एकताको महाधिवेशन गर्ने जिम्मेवारी रहेको छ । एकता महाधिवेशनका लागि नयाँ कार्यसमिति (अन्तर्राष्ट्रिय समन्वय परिषद् ) निर्वाचित गर्नका लागि निर्वाचन समिति गठन भई सकेको छ। वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेको संयोजकत्वमा गठित निर्वाचन समितिमा सेवा निवृत्त मेजर डमर घले तथा अधिवक्ता आशीष उप्रेती सदस्य रहेका छन् । यसै गरी संघका पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका सदस्य देवमान हिराचनको संयोजकत्वमा निर्वाचन अनुगमन समिति पनि गठन गरिएको छ।
अधिवेशनका लागि समितिले भेन्यु तय गरिसकेको छ । एकताको अधिवेशनको होटेल हायातमा उद्घाटन हुने छ भने निर्वाचनको कार्यक्रम याक एन्ड यति होटेलमा आयोजना गरिने समितिले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *