हुम्ला । हिमाली जिल्ला हुम्लामा हवाई यात्रुलाई टिकट पाउन सास्ती भएको छ । नेपालगन्जबाट उडान सङ्ख्या कम हुँदै जाँदा हाल जिल्लाबाट बाहिरिने यात्रुलाई टिकट पाउन सास्ती खेप्नु परिरहेको हो ।
शुक्रबार सिमकोटबाट नेपालगन्ज झर्ने तयारी गरेको तर टिकट पाउन नसकिएको स्थानीय सुरेश परियारले बताए । उनले आइतबारबाट सुर्खेतमा कार्यक्रम परेको भए पनि टिकट पाउने सम्भावना नदेखिएका कारण समस्यामा परेको गुनासो गरे । उनले पैदलमार्गबाट कर्णाली कोरिडोरको हुम्ला खण्डको बोक्चे गौडा, भिगौडा र याङ्चु कुनामा सेनाले सडकको स्तरोन्नति गर्ने कामले सडक बन्द भएको र नियमित उडान हुनै छोडेपछि हवाई यात्रु समस्यामा परेको जनाए ।
हवाई टिकट पाउन कठिन भएपछि धेरै यात्रुले आफ्नो यात्रा रद्द गरेको र कतिपय लोक सेवा आयोगलगायतका परीक्षार्थीले परीक्षा दिन नपाएको अवस्था छ । नेपाल नागरिक उड्डयन प्राधिकरण सिमकोटका प्रमुख महेन्द्रबहादुर सिंहले हप्तामा तीनदेखि चार उडान हुन थालेपछि सिमकोटबाट बाहिरिने यात्रु मर्कामा परेको बताए । दैनिक तीन उडान यात्रु हवाईयात्रा गर्ने भए पनि हप्तामा सीमित उडान हुन थालेपछि यात्रुलाई टिकट पाउन सास्ती खेप्नु परेको उनको भनाइ छ । यसअघि नेपाल एयरलाइन्स र निजी एयरलाइन्सहरू सीता, समिट र तारा एयरका जहाजले दैनिक उडान भर्दा त समस्या हुने अवस्था रहेकोमा हाल ती एयरलाइन्सले हप्तामा एक उडान मात्र भर्न थालेपछि झन् समस्या बढेको उनले बताए ।
सडक निर्माण र कर्णाली कोरिडोरको हुम्ला खण्डको सडक पहिरोले भत्काएका कारण यातायात सेवा सञ्चालनमा रहेको छैन । यात्रुलाई यतिबेला हवाईमार्गको विकल्प नभएको समिट एयरका हुम्ला इन्चार्ज गोविन्द लामाले बताए । यो समस्या नेपालगन्जबाट हुम्ला भित्रिने यात्रुका लागि पनि उस्तै भएको बताउँदै उनले अब यो समस्या सधैँ भोग्नुपर्ने अवस्था रहेको दुःखेसो पोखे ।
+ There are no comments
Add yours