काठमाडाैं | नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।
महामन्त्री थापाविरुद्ध आइतबार अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।
प्रवक्ता कुइँकेलका अनुसार अधिवक्ता अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले महामन्त्री थापाविरुद्ध निवेदन दर्ता गराएका हुन् ।वैशाख ११ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले संवैधानिक निकायका ५२ जना पदाधिकारीको मुद्दामा मोलतोल गरिएको आरोप लगाएका थिए । थापाको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै उनीहरू रिट दर्ता गराएका हुन् ।
थापाले अदालतले डिल गरेको, झुलाएर राखेको, हेर्दाहेर्दैमा राखेको, नभ्याइनेमा राखेको जस्ता विषयले अदालतको विश्वसनीयतामा प्रश्न उठाएको टिप्पणी गरेका थिए ।
’आइतबार हेरुम, पख्लास् शुक्रबारसम्म भनेर अल्झाइरहेको छ । अदालतले डिल गर्यो अब त्यसको विश्वसनीयता के रहन्छ ?,’ थापाले भनेका थिए, ‘दुई/तीन वर्षदेखि तलाईं हान्दिउँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले हेर्न नभ्याइने भन्छ । कहिले भोलि हेर्ने भन्छ, त्यसले अदालतको विश्वसनियतामा प्रश्न गराउँछ ।’



Leave a Reply