सुर्खेत । कर्णाली प्रदेशका कुल ७१८ वडामध्ये आठ वटा वडा औलोको जोखिममा रहेका पाइएको छ ।
स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीको हुम्ला जिल्लाका तीन वटा वडा उच्च र मुगु तथा सुर्खेतका पाँच वटा वडा मध्य जोखिममा छन् । औलोको उच्च जोखिममा हुम्लाको ताँजाकोट गाउँपालिकाका–२, ३ र ४ रहेका छन् । यस्तै मुगुको खत्याड गाउँपालिका–८, सोरु गाउँपालिका–४ र ५ तथा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ र गुर्भाकोट नगरपालिका–३ रहेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर श्यामलाल आचार्यले कर्णालीमा हुम्ला, मुगु र सुर्खेतका आठ वटा वडा औलोको जोखिममा रहेका बताए । उनले हुम्लामा स्थानीय प्रजातिको औलो र अरू सबै बाहिरबाट आएको औलो भएको जनाए । यहाँका ४१० वटा वडा न्यून जोखिममा छन् भने २९८ वटा वडामा अहिलेसम्म औलोको कुनै केस देखा नपरेको उनले बताए ।
कर्णालीमा चालु आवमा ३८ वटा औलोका केस छन् । तिनमा ३७ वटा भारततिरबाट आएका हुन् भने एउटा स्थानीय प्रजातिको औलो भएको उनले बताए। सन् २०३० भित्र नेपाललाई औलोमुक्त गराउने लक्ष्य पूरा गर्न औलो रणनीतिक योजना बनाएर काम थालिएको निर्देशनालयले जनाएको छ । सबै स्वास्थ्य संस्थामा औलो परीक्षण गर्ने व्यवस्था मिलाइएको, औलोको उपचार पद्धति बढाइएको, प्रत्येक पालिकामा परीक्षणका लागि माइक्रोस्कोपी सेन्टर बढाउने तथा पालिकाहरूले औलो मुक्त गराउने जस्ता काम यो अवधिमा गरिने छ । कर्णालीवासी कमाइ गर्न भारत जाँदा झुल लैजान पनि सुझाव दिने गरिएको छ । भारतबाट फर्केका कर्णालीवासीमा औलो देखिँदा सङ्ख्या बढेको भन्दै सुपरभाइजर आचार्यले आइसकेपछि तिनको परीक्षण गर्दा औलो देखिएमा उपचारमा संलग्न गराइएको बताए।
+ There are no comments
Add yours