कालिकोट जिल्लामा माओवादी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी कालिकोटको तेस्रो जिल्ला भेलाबाट सलिना खड्काको संयोजकत्वमा १०१ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ ।
लैंगिक असमानताविरुद्ध क्रान्तिकारी महिला, सुशासन र समावेशीकरणको पक्षमा तेस्रो जिल्ला भेला भन्ने नाराका साथ बिहीबार आयोजित भेलाले सहसंयोजकमा सृजना शाही र सचिवमा अलैपुरा हमाललाई सर्वसम्मत चयन गरेको महिला नेतृ मनशोभा बुढाले बताइन् । संगठनका केन्द्रीय उपाध्यक्ष टीका बुढाको प्रमुख आतिथ्यतामा उदघाटन् भएको भेलाले जिल्लाभर संगठन विस्तार तथा परिचालन, उद्यमशीलता विकास, क्षमता अभिवृद्धिसहितको कार्ययोजना बनाएको छ ।
भेलाले स्थानीय तहको चुनावमा माओवादीको तर्फबाट निर्वाचित भएका पूर्व र वर्तमान गाउँपालिका उपाध्यक्ष तथा नगर उपप्रमुखलाई सम्मान पनि गरेको महिला नेतृ गंगा खड्काले जानकारी दिइन् । प्रहरीले गाउँमा गएर दुःख दिएपछि कालिकोटको मालकोटका महिलाले ०५४ मा प्रहरीको हतियार खोसेर माओवादीलाई बुझाएका थिए ।









