सांसदहरूलाई ओलीले भने- ढुक्क रहनू, हाम्रा सबै नीति सही छन्

 प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले लिएका सबै नीतिहरू सही भएको भन्दै सांसदहरूलाई ढुक्क हुन आग्रह गरेका छन् ।

सरकारी निवास बालुवाटारमा शनिबार आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

‘माननीय सदस्यहरूका लागि के आग्रह गर्न चाहन्छु भने हाम्रा नीतिहरू सही छन् । ढुक्कले सहि छन् भन्ने कुरामा अगाडि बढ्नु भए हुन्छ,’ ओलीले भने, ‘विपक्षी भएपछि जे भए पनि विरोध गर्नुपर्छ लाग्या छ । कुनै एउटा बुँदाको पनि समर्थन गर्ने छैन ।’

साथै, उनले विपक्षीले भनेको कुरामा सत्यता छ कि भनेर धेरै घोत्लिन पनि आवश्यक नरहेको पनि बताए ।

‘सही कुराको विरोध गर्न उहाँहरू बाध्य हुनुहुन्छ । जुन उहाँहरूका निम्ति भविष्यमा नराम्रा रेकर्डको रुपमा रहनेछन् । हाम्रो पुस्ताभन्दा बढी बेलामा सम्म पनि त्यो रेकर्ड रहनेछ,’ ओलीले भनेका छन् ।

सरकारले हिजो मात्रै ल्याएको नीति तथा कार्यक्रमको छलफलमा अध्ययन राम्रो बनाएर प्रस्तुत हुन ओलीले सांसदहरूलाई निर्देशन दिए ।

‘माननीयजीहरूले बोल्दा कुनै चिप्लिने खालको कुरा नहोस्, स्ट्रङ, स्पष्ट होस्,’ ओलीले भनेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *