जनताको करबाट पारिश्रमिक लिन उपयुक्त नहुने भन्दै जनमत पार्टीकी सांसदको राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । रूपन्देहीबाट प्रतिनिधित्व गर्ने सांसद गुरूङ जनमत पार्टीको समानुपातिक सांसद हुन् । उनी सदनमा कम उपस्थित हुन सांसदमा पर्छिन् ।
उनले सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नलागेर राजीनामा दिएको उल्लेख छ । ‘राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो,’ उनले लेखेकी छन्, ‘जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेश गर्दछु ।’
जनमत पार्टी संसदीय दलका नेता चन्द्रकेश गुुप्ता (सीके)ले सांसद गुरूङ पार्टीको सम्पर्कमा नरहेको बताए । ‘उहाँ सदनमा २५ प्रतिशत पनि उपस्थित हुनुभएको छैन । पार्टीको सम्पर्कमा हुनुहुन्न,’ उनले  भने । सांसद गीताका श्रीमान तथा जनमत पार्टीका केन्द्रीय सदस्य कैलाश गुरूङ जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका थिए । कैलाशलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले गएको चैत ९ गते भैरहवामा पार्टी प्रवेश गराएका थिए ।
श्रीमानले पार्टी छाडेपछि दबाबमा उनले राजीनामा दिएको हुनसक्ने आँकलन गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले भने राजीनामाको आधिकारिक पत्र सचिवालयमा आइनपुगेको बताए ।

सांसद गुरूङसँग यसबारे बुझ्न खोज्दा उनको मोबाइल स्विच अफ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *