
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले अनेक खालका चलखेल र प्रपञ्चहरू गरिरहेको आरोप लगाएका छन् ।
शुक्रबार बैतडीको पाटनबाट जनतासँग माओवादी- मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जनजागरण अभियान उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
‘राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्ति हुनुपर्ने पद हो । अहिलेसम्म सरकारले गभर्नर नियुक्ति गर्न सकेको छैन । त्यसमा अनेक खालका चलखेल र प्रपञ्चहरू भइराखेका छन्,’ प्रचण्डले भने ।
उनले अगाडि भने, ‘यो सबै कारणले सरकार गलत दिशा तिर गएको छ । राष्ट्र र जनताको हित विपरीत गएको छ । यो देशका मजदुर किसानहरूको हित विपरीत गएको छ ।’
जनताको आवाजलाई, जनताको मतलाई बेवास्था गरेर भ्रष्टाचारलाई नै प्रश्रय दिने अनि विकृति र विसंगतीलाई नै प्रश्रय दिने काम हो भने माओवादी केन्द्र मात्रै होइन तराई-मधेश-पहाड-हिमालका सम्पूर्ण जनता सबै राजनीतिक दलका कार्यकर्ताहरू पनि एउटा शक्तिशाली आन्दोलनमा आउन बाध्य हुने उनको भनाइ थियो ।


Leave a Reply