आर्थिक लोभमा नपरी सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशअन्तर्गत नेपाल र भारतीय सीमा क्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
गृह मन्त्रालय र मधेश प्रदेशको विभागीय मन्त्रालयद्वारा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले खुल्ला सिमाना रहेकाले सुरक्षाको सवालमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।
गृहमन्त्री लेखकले प्रदेशको शान्तिसुरक्षाको जिम्मेवारी बोकेका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलगायत सुरक्षा निकायले देशको बदलिँदो परिस्थितिअनुसार इमान्दारिताका साथ काम गर्नुपर्नेमा जोड दिए । ‘देशमा हाल लागुऔषध, सडक दुर्घटना, आत्महत्या तथा साइबर क्राइमलगायतका सामाजिक विकृतिका गम्भीर समस्या बढ्दै छन् । मधेश प्रदेशका सबै जिल्ला भारतीय सीमासँग जोडिएकाले पनि यहाँ थप सतर्कता अपनाउन आवश्यक छ,’ उनले भने, ‘उल्लेखित  समस्यालाई के कसरी रोकथाम गर्न सकिन्छ, त्यसतर्फ पनि सुरक्षा निकायले गम्भीरतापूर्वक लाग्नुपर्ने जरूरी छ ।’

गृहमन्त्री लेखकले राष्ट्रसेवक कर्मचारीहरूले कानुनविपरीत आर्थिक लोभ र लाभमा नपरी इमान्दारी एवं निष्पक्ष भई छिटो, सरल र सहज तरिकाले  सेवा प्रवाह गर्न निर्देशन दिए ।

गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश तथा जिल्ला प्रमुख, आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायतको सहभागिता रहेको छ । रासस

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *