हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना रोक्न ट्रम्प प्रशासनको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थी भर्ना गर्ने योग्यता रद्द गरेको छ। अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले हार्वर्डको विद्यार्थी तथा विनिमय आगन्तुक कार्यक्रमको प्रमाणीकरण तत्काल रद्द गर्न गृह सुरक्षा विभागलाई आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
हाल, विश्वविद्यालयमा अध्ययनरत सबै विदेशी विद्यार्थीलाई अन्य संस्थामा स्थानान्तरण गर्न भनिएको छ। अन्यथा, उनीहरूले देश छोड्नु पर्ने हुन सक्छ।
विगत केही दिनदेखि हार्वर्ड र सरकारबीच विदेशी विद्यार्थीहरूसँग सम्बन्धित रेकर्डलाई लिएर विवाद भइरहेको थियो । गृह सुरक्षा विभागले हार्वर्डलाई अप्रिल ३० सम्ममा विदेशी विद्यार्थीहरू संलग्न गैरकानूनी र हिंसात्मक घटनाहरूको पूर्ण रेकर्ड उपलब्ध गराउन भनेको थियो । तर, विश्वविद्यालयले उपलब्ध गराएको रेकर्डसँग प्रशासन सन्तुष्ट छैन।

हार्वर्ड विश्वविद्यालयमा लगभग २७ प्रतिशत बाह्य विद्यार्थीहरू छन् । हाल त्यहाँ लगभग ६ हजार ८०० विदेशी विद्यार्थीहरू अध्ययनरत रहेको बीबीसीले जनाएको छ ।

हार्वर्डले ट्रम्प प्रशासनको कार्यलाई गैरकानूनी भनेको छ। विश्वविद्यालयले एक विज्ञप्तिमा भन्यो, ‘हार्वर्डमा १४० भन्दा बढी देशका विद्यार्थीहरू छन्। हामी अन्तर्राष्ट्रिय विद्यार्थी र विद्वानहरूलाई भर्ना गर्ने हाम्रो क्षमता कायम राख्न पूर्ण रूपमा प्रतिबद्ध छौं।’

यस आदेशविरुद्ध विश्वविद्यालयले अदालतमा मुद्दा पनि दायर गरेको छ। विश्वविद्यालयले ट्रम्प प्रशासनले राजनीतिक दबाब सिर्जना गरेर शैक्षिक कार्यलाई नियन्त्रण गर्न चाहेको आरोप लगाएको छ । हार्वर्ड विश्वकै प्रतिष्ठित विश्वविद्यालय हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *