नेपाली कांग्रेस जुम्लाले वैशाख र जेठ महिनामा परेको असिनाले पुर्याएको क्षतिमा राहत उपलब्ध गराउन माग गरेको छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लामार्फत प्रधानमन्त्री कार्यालय र मुख्यमन्त्री कार्यालय सुर्खेतमा ध्यानाकर्षण पत्र बुझाउँदै कांग्रेसले असिनाले ८० प्रतिशत उत्पादन नष्ट गरेको जनाएको हो । ठूलो असिना परी जुम्ली किसानहरुको खेतबारीमा भएको स्याउ लगायतका फलफूलहरु ८० प्रतिशत र भित्र्याउन लागिएको जौ, गहुँसमेत नस्ट भयो, ध्यानाकर्षण पत्रमा भनिएको छ, किसानहरुको मुख्य आम्दानीको स्रोतहरूमा तुसारापात हुँदा निकै मर्कामा छन् । सरकारले प्रभावकारी अनुगमन गरेर राहतको व्यवस्थापन होस् । कांग्रेस जुम्लाले स्याउ बिमाको राहत रकमसमेत किसानले पाउन नसकेको बताएको छ । गत वर्षको बिमा रकम किसानले पाएका छैनन्, कांग्रेस जुम्लाका कार्यबाहक सभापति कार्मा बुढाले भने, यो वर्ष पनि बिमा गरिएको छैन । जसले किसान मर्कामा छ । सरकारको यसमा ध्यानाकर्षण होस् ।
बिमा कम्पनीहरूले के, कति, कारणले फलफूल बिमाको रकम नदिएका हुन् र बिमा के कति कारणले नगरेका हुन् ? त्यस्ता बिमा कम्पनीहरुलाई कारबाहीको दायरामा ल्याउनसमेत माग गरिएको छ । हालै परेको असिनाबाट पीडित जुम्ली किसानलाई आवश्यक राहतका लागि प्रधानमन्त्रीका ध्यानाकर्षण गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले ध्यानाकर्षण पत्र प्रधानमन्त्री कार्यालय र मुख्यमन्त्री कार्यालयसम्म पठाउने बताए । उनले भने, असिनाले बालीनालीमा क्षति पुर्याएकोमा हामी दुःखी छौं । सबै मिलेर पीडितलाई राहत उपलब्ध गराउनु जरुरी छ ।









