गणतन्त्रलाई जनकेन्द्रित अभ्यासले परिपक्क बनाउन सकिन्छ : कंडेल

 कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले जनतालाई केन्द्रबिन्दुमा राखेर जनताको इच्छा र जनताका लागि सञ्चालित हुने अभ्यासले नै गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउने उनले बताए ।

बिहीबार १८ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै यस्तो बताएका हुन् । मुख्यमन्त्री कंडेलले शासन प्रणाली विकासका क्रममा कमजोरीहरू देखा पर्ने भन्दै कतिपय कार्यशैली, व्यवहार र आचरणहरू सुधार गर्नु सक्नुपर्ने उल्लेख गरे । लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका सङ्घर्षमा आफ्नो अमूल्य जीवन आहुती गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनको अगुवाइ गर्ने सबै अग्रजहरुमा सम्मान व्यक्त गरे । उनले आन्दोलनमा सहभागी आम जनसमुदाय, नागरिक समाज, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू एवम् सबै क्षेत्र र वर्ग समुदायको योगदानको उच्च प्रशंसा गरे ।

गणतन्त्र दिवस जनताले सफलता प्राप्त गरेको र जनता विजयी भएको महान उत्सव भएको उनको भनाइ छ । उनले भने, जनता सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्त्वपूर्ण र अविस्मरणीय दिन पनि हो । व्यक्तिको जन्मका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नेपाली जनताको सङ्घर्ष, त्याग र बलिदानबाट हरेक नागरिक समान हुने प्रणाली स्थापना हुनु हाम्रो गणतन्त्रको प्रमुख विशेषता हो ।

यस युगान्तकारी परवर्तनको आयामलाई सामाजिक आयामसँग जोडेर समुन्नत प्रणाली विकास गर्न सकेमा मात्र गणतन्त्र दिगो बन्न सक्ने उनले बताए । लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामहरूलाई समुचित सन्तुलनका साथ अगाडि बढाउनु अहिलेको प्रमुख आवश्यकता रहेको उनको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *