उमेरका हिसाबले सुष्मा हमाल भर्खर १७ वर्षकी छिन् । सानो उमेर भए पनि क्षमता र विश्वासका दृष्टिले एउटा परिपक्व युवाभन्दा कम छैनिन् उनि ।
हिमाली जिल्ला जुम्ला तिला गाउँपालिका–४ जुम्लास्थित साँपुल्ली गाउँ निवासी उनि अहिले सरस्वती प्राविधिक माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छिन् । अलि चञ्चले र खुला स्वभावकी सुष्माको पारिवारिक, आर्थिक एवं शैक्षिक हिसाबले अवस्था निकै कमजोर छ । प्रौढ शिक्षा पढेर सामान्य आफ्नो नाम लेख्न बाहेक अरु खासै आउँदैन सुष्माको आमा कमला शाहीलाई । मेलापात र नानीहरुलाई दैनिक खानाको जोहो गर्ने दिनचर्याले माथि उठ्न नदिदा उनलाई सरकारी विद्यालयमा पढ्ने उनीहरुको प्रगति र दुर्गति दुवैका बारेमा बुझ्ने समय हुँदैन । मजदुरीका लागि बर्सेनि कालापहाड जाने सुष्माका बुबा खड्गबहादुर हमालको पनि सामान्य लेखपढभन्दा बढी छैन । घरमा तीन महिना पुग्ने अन्न उब्जिदैन । गिट्टी कुटेर वा बालुवा बोकेर कमाएको पैसाले हातमुख जोड्नुपर्ने बाध्यता छ, उनको परिवालाई । बुबा मजदुरीका लागि कालापहाड (भारत) र आमा सुष्मालगायत उनका भाइबहिनीको स्याहार गर्दै आएकि छिन् । खड्गबहादुर कालापहाड गएको करिब वर्ष दिन पुग्न थाल्यो, अहिलेसम्म घर फर्किएका छैनन् ।
निम्नवर्गीय परिवारकी सन्तानका रुपमा जन्मेकी सुष्माको सोच र सपना भने उच्च कोटीको छ तथापि कहिले कापी, किताब र कलम किन्न पैसाको निकै अभाव खट्किन्छ । विद्यालयमा आफ्नै साथीहरुबीच उनि फरक धारणा र प्रस्ताव प्रस्तुत गर्छिन् । अलि खरो स्वभाव भएकी सुष्मा यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बन्दै आएकि छिन् । यसमा श्री ज्योति फाउण्डेसनद्वारा यही बैशाख २७ देखि २९ गतेसम्म सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली छोरी सम्मेलन’ महत्वपूर्ण अवसर बन्यो । सम्मेलनमा उनले खस भाषामा आफ्नो एकल नाटक प्रस्तुत गरिन् । कुनै तयारी बिना नै पहिलोपटक मञ्चमा उक्लेकी उनले एकल नाटकबाट दर्शकलाई क्षणभरमै प्रभावित बनाइन् । दर्शकदीर्घामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल, मन्त्रीहरु, प्रदेशसभा सदस्यहरुसहित विशेष व्यक्तिहरुको उल्लेख्य सहभागिता थियो ।


Leave a Reply