मूल्यवृद्धि यस वर्षकै न्यून बिन्दुमा

काठमाडौँ । उपभोक्ता मूल्य सूचकाङ्क (मुद्रास्फीति) अर्थात् महँगी चालू आर्थिक वर्षकै न्युन बिन्दुमा झरेको छ । चालू आर्थिक वर्षको वैशाख महिनामा मुद्रास्फीति यस वर्षकै न्युन २.७७ प्रतिशतमा झरेको हो ।

मंगलबार नेपाल राष्ट्र बैकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.४० प्रतिशत थियो ।

राष्ट्र बैंकका अनुसार वैशाख महिनासम्म खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत रहेको छ ।

त्यस्तै, खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.०८ प्रतिशत, फलफूलको ६.१५ प्रतिशत, दाल तथा गेडागुडीको ५.१७ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ४.७० प्रतिशतले बढेको छ भने तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८.११ प्रतिशत, मरमसलाको २.२० प्रतिशत र माछा तथा मासुको ०.४८ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ९.०४ प्रतिशत, शिक्षाको ५.८८ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ५.२३ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ३.९९ प्रतिशत र रेष्टुरेण्ट तथा आवास सेवाहरुको ३.१६ प्रतिशतले बढेको छ ।

वैशाखमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.२१ प्रतिशतले र शहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.६१ प्रतिशतले बढेको छ ।

प्रदेशगत रूपमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२९ प्रतिशत, मधेशको २.८१ प्रतिशत, बागमतीको २.४० प्रतिशत, गण्डकीको २.२३ प्रतिशत, लुम्बिनीको २.१५ प्रतिशत, कर्णालीको २.२१ प्रतिशत र सुदूरपश्चिमको ३.१४ प्रतिशत रहेको छ ।
यता, काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.६४ प्रतिशत, तराईको २.६४ प्रतिशत, पहाडको २.६५ प्रतिशत र हिमालको ४.०१ प्रतिशत रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *