पर्खाल बिना सवारी जोखिममा, मरोट खोलामा अव्यवस्था

सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिकाको लान्ती–लेखपोखरा–दमाचौर–रोल्पा सडकखण्डको मरोट खोलामा भत्किएको पक्की पर्खाल पुनर्निर्माण नहुँदा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् ।

गत वर्ष निर्माण गरेको पर्खाल एक महिना नबित्दै भत्किएको थियो । बर्सातको समयमा यहाँ गाडी नचल्दा यात्रुले हिँडेर आउजाउ गर्नुपर्ने बाध्यता छ । बिरामीलाई उपचारका लागि अस्पताल लैजाँदा झनै कष्ट हुने गरेको स्थानीय बताउँछन् । स्थानीय पूर्वाधार विकास आयोजना सुर्खेतको करिब एक करोड बजेटमा जनचाहना ओली जेभी कम्पनी जाजरकोटले गत वर्ष यो खण्डको छेउछाँउमा पहिरो नियन्त्रणका लागि मेसिनरी तथा ग्याबिन पर्खाल लगाउने जिम्मेवारी पाएको थियो । पर्खाल असार १९ गते भत्किएको हो । मर्मतको काम गराउन स्थानीय पूर्वाधार विकास आयोजना सुर्खेतलाई पत्र लेखे पनि अहिलेसम्म ठेकेदारले काम नगरेको छत्रेश्वरी गाउँपालिका–५ का वडाध्यक्ष फौदबहादुर बस्नेतले बताए । निर्माण कम्पनीले गतिलो काम नगरेकै कारण पर्खाल बर्सातको पानीले भत्किएको उनको भनाइ छ । सडकको आधा भाग पर्खालसँगै बगेकाले सडक साँगुरो हुँदा अहिले गाडी सञ्चालनमा कठिनाइ भएको छ । दैनिक तीन÷चारवटा बस चल्ने गरे पनि यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन ।

गाउँपालिकाको १,२, ५ नम्बर वडा र रोल्पाका सर्वसाधारण प्रभावित भएपछि पालिकाको डोजर प्रयोग गरी भित्ताबाट काटेर गाडी सञ्चालनमा ल्याए पनि अहिले जर्षा लागिसकेकाले समस्या भएको अध्यक्ष बस्नेतले बताए । समयमै मर्मतको काम नभए बचेको पर्खाल पनि बच्ने देखिँदैन, उनले भने, निर्माण कम्पनीका ठेकेदारलाई विभिन्न माध्यमबाट सम्पर्क गर्न खोजे पनि सम्पर्कमा आएका छैनन् । ठेकेदारले पक्की पर्खाल लगाए पनि माटोले मात्र पुरेकाले भत्किएको र सडकसमेत बगेको स्थानीय दलबहादुर घर्तीले बताए । वर्षा हुँदा पानीले माटो बगाउने गरेकाले थप क्षति भइरहेको उनको भनाइ छ । स्थानीय पूर्वाधार विकास आयोजना सुर्खेतका प्रमुख पुस्करप्रसाद पोखरेलले वडाध्यक्ष बस्नेतले जानकारीका साथै माग पत्र पेस गरेपछि गत असार २२ मै निर्माण कम्पनीका ठेकेदारलाई पत्राचार गरे पनि निर्माणको काममा अटेर गरेको बताए । कार्यालयले जतिसक्यो छिटो काम सम्पन्न ताकेता गरिरहेको उनको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *