२०८३ भदौ ६ , शनिबार

कांग्रेसले ढुण्डिराज शास्त्रीको निधनमा तीन दिन झण्डा आधा झुकाउने



sharethis sharing button
 नेपाली कांग्रेसले पूर्वमन्त्री ढुण्डिराज शास्त्रीको निधनको शोकमा तीन दिनसम्म पार्टीको तीनै तहका कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यसमितिको बुधबार बसेको आकस्मिक बैठकले असार ४, ५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको हो । बैठकले असार ५ गते बिहीबार केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय पनि गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठकले पूर्व केन्द्रीय सदस्य शास्त्रीको स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका पनि राख्ने निर्णय गरेको छ ।शास्त्रीको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा असार २ गते निधन भएको थियो ।

अर्घाखाँचीको किमडाडामा १९९३ जेठ २५ गते जन्मिएका शास्त्री पटक–पटक पार्टीको केन्द्रीय सदस्य भएका थिए । उनी ०४८ र ०५१ को आम निर्वाचनमा अर्घाखाँची निर्वाचन क्षेत्र नं। २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
प्रकाशित मिति : २०८२ असार ४ गते बुधबार