रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १ मा बनाईएको आलु चिप्स उद्योगमा भएको लगानी सदुपयोग हुन सकेको छैन ।
निर्माण सम्पन्न भएको पाँच वर्ष बितिसक्दा पनि उक्त उद्योग सञ्चालन नभएपछि लगानी खेर जाने जोखिम बढेको छ । उक्त उद्योगमा हालसम्म ६३ लाख ४६ हजार रुपियाँ राज्यको लगानी भएको छ । राज्यको लगानी बालुवामा पानी सरह भएको स्थानीयको भनाइ छ । विवरण अनुसार वरिंगे सामुहिक फलफूल खेती तथा सिस्ने हिमाल आर्गानिक आलु चिप्स उद्योगको लागि कृषि विकास कार्यालय रुकुम पश्चिमले दुई आर्थिक वर्षमा ४९ लाख ४५ हजार रुपियाँ भुक्तानी गरेको छ । आर्थिक वर्ष ०७५÷०७६ र ०७६÷०७७ मा भवन निर्माण र उपकरण समेत खरिदको रकम भुक्तानी भईसक्दा पनि अझै सम्म सञ्चालन भएको छैन । यहि उद्योगमा गत आर्थिक वर्ष ०८०÷०८१ मा आठबिसकोट नगरपालिकाले घेराबारको नाममा मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत १४ लाख एक हजार रुपियाँ भुक्तानी दिएको छ । तर पनि यो उद्योग सञ्चालनमा आएको छैन ।
नगरपालिकाले आफूले निर्माण गरेका संरचनाको उपयोग गरी सर्वसाधारणले त्यसबाट लाभ लिएको सुनिश्चित गर्नुपर्नेमा त्यतातर्फ ध्यान नै नदिई थप लगानी गरेको पाइन्छ । यस विषयमा महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०८०÷०८१ को बार्षिक लेखा परीक्षण प्रतिवेदनमा समेत लगानीको सदुपयोग नभएको उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७५÷०७६ मै निर्माण भएर सञ्चालनमा नआएको उद्योगमा नगरपालिकाले घेराबारको नाममा थप लगानी गर्नु राज्यको लगानी सदुपयोग नभएको उल्लेख छ । उक्त संरचना तत्काल सञ्चालन गरेर नगरवासीले सेवा प्राप्त गर्ने महालेखाको भनाइ छ । यस विषयमा आठबिसकोट नगरपालिका १ का वडा अध्यक्ष देवबहादुर घर्तीले समयमै निर्माण भएको उद्योग बिद्युत आपुर्ति नहुँदा नियमित सञ्चालनमा आउन नसकेको जानकारी दिए । सुरुमा केहि समय जेनेरेटरबाट सञ्चालन गर्दा खर्चको भार बढेकोले बिद्युत लाईन बिस्तारपछि उद्योग सुरु गर्ने उनको भनाई छ ।
उक्त उद्योग सञ्चालनको लागि एक समिति नै दर्ता गरेर जिम्मा दिईएको छ भने जग्गा लिजमा लिईएको छ । उद्योग सञ्चालनका लागि आवश्यक सम्पूर्ण उपकरण तथा सामाग्रीहरु तयारी अवस्थामा रहेको बताईएको छ । उक्त वडामा बिद्युतिकरणको काम चलिरहेको छ । सडकको भागमा ल्याईसकिएका बिद्युतका पोल र तार भौगोलिक विकटताको कारण ठेकेदारले समयकै ढुवानी गर्न सकेको छैन । अब आलु उत्पादनको बेला पनि आएको र बिद्युत लाईन समेत जोडेर उक्त उद्योगबाट उत्पादन सुरु हुने आशा वडा कार्यालयले लिएको
छ ।
+ There are no comments
Add yours