
हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिका–१ जिमाना गाउँका बासिन्दाले अब शुद्ध खानेपानी घरमै पाइरहेका छन्। स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (LIP) र ताँजाकोट गाउँपालिकाको सहलगानीमा करिब ८० लाख रुपैयाँको लागतमा सम्पन्न खानेपानी आयोजनापछि वर्षौंदेखि दूषित पानी पिउनुपर्ने तथा पानी लिन घण्टौं टाढा जानुपर्ने बाध्यता अन्त्य भएको हो।
गाउँपालिकाका अध्यक्ष लालकेश जैसीका अनुसार “एक घर, एक धारा” योजना अन्तर्गत जिमाना र भैँसाबाझका ४७ घरधुरीमा धारा जडान गरिएको छ। आयोजना सम्पन्न भएपछि गाउँमा वर्षायाममा धमिलो खोला पानी पिउनुपर्ने अवस्था हटेको छ।
अध्यक्ष जैसीले खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर योजना अघि बढाइएको उल्लेख गर्दै, साना बजेटलाई छरेर नबढाई ठूला योजनामा केन्द्रित गरिएको बताए। उनले खानेपानी सेवा सुरु हुनुले तरकारी खेती र पशुपालनजस्ता आयमुखी क्रियाकलापमा समेत टेवा पुग्ने बताए।
स्थानीय मिमबहादुर खड्का र मेनुका रिठालले विगतमा दूषित पानीका कारण झाडापखला फैलिने समस्या थियो भने अहिले सफा पानी घरमै आएपछि राहत महसुस भएको बताए। उनीहरूले पानी बोक्नुपर्ने झन्झट हटेपछि दैनिक जीवन सहज बनेको प्रतिक्रिया दिएका छन्।
खानेपानी सेवा सुरु भएसँगै स्थानीयमा उत्साह छाएको छ। गाउँपालिकाले छोटो समयमा योजना सम्पन्न गरेको भन्दै स्थानीयले धन्यवादसमेत दिएका छन्।

Leave a Reply