रुकुम पश्चिमका २ हजार भूकम्पपीडित अझै टहरा अनुदानबाट वञ्चित

रुकुम पश्चिमका करिब २ हजार भूकम्पपीडितले भूकम्प गएको १९ महिना बितिसक्दा पनि अस्थायी आवास (टहरा) निर्माणका लागि पहिलो किस्ताको अनुदान रकम नपाएको गुनासो गरेका छन्।

२०८० साल कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट रुकुम पश्चिममा घर क्षति भएका दुई हजार एक जना लाभग्राहीले हालसम्म टहरा निर्माण अनुदान पाउन सकेका छैनन्।

प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका संयोजक कुलबहादुर जिसीका अनुसार मुसीकोट नगरपालिकाका १,३५६, त्रिवेणी गाउँपालिकाका २४३ र बाँफीकोट गाउँपालिकाका ४०२ जना प्रभावित अनुदानबाट वञ्चित छन्। यी लाभग्राहीलाई पहिलो र दोस्रो किस्ताका लागि झण्डै १० करोड ५० हजार रुपैयाँ आवश्यक पर्छ।

हालसम्म जिल्लाका ३४ हजार ९९७ भूकम्प प्रभावितमध्ये ३२ हजार ९९६ जनाले पहिलो किस्ताको रकम पाइसकेका छन्। तर, दुई हजार एक जनाको फाइल तोकिएको म्यादमा आए पनि विपद् पोर्टलमा समावेश हुन छुटेका कारण अनुदान निकासा हुन सकेको छैन।

बाँफीकोट गाउँपालिकाका अध्यक्ष जनककुमार बाँठाले पुनर्निर्माण सम्पन्न हुनुपर्ने समयमा पनि टहराको रकम नआउनु दुर्भाग्यपूर्ण भएको बताए। त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसीले राज्यले दिने भनेको राहत नपाउनु गम्भीर विषय भएको बताए।

यसबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव ज्ञाननाथ ढकालले विषय कार्यकारी समितिमा लैजानुपर्ने अवस्था रहेको जानकारी दिएका छन्।

उक्त भूकम्पका कारण रुकुम पश्चिममा ५३ जनाको मृत्यु, ४०७ जना घाइते, २६८ विद्यालय र १२ प्रहरी कार्यालयमा क्षति पुगेको थियो। साथै करिब २५ हजार ५८४ जना बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगी प्रभावित भएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *